सहिद काण्डपूर्वको सन्त्रास

  • १९९७ साल कात्तिक पहिलो साता उनको घरमा पुग्दा गंगालाललाई देखेनौँ । सधैँ हामी स्कुल जान लाग्दा उनी कलेज जान ठीक्क परेका हुन्थे ।

- गोरक्षबहादुर न्हुछें प्रधान

बुबा जागिर यात्राका क्रममा विसं १९८४ मा गोरखा सरुवा हुनुभयो । साहिँलो छोराका रूपमा पाटेचौर, गोरखामै म जन्मेँ । त्यसपछि बुबा प्यूठान सरुवा हुनुभयो । मेरो बाल्यकालीन केही समय प्यूठानमा बित्यो । त्यहीँ मैले गुरु कृष्णप्रसाद अधिकारीको सानिध्यमा नेपाली भाषा पाठशालामा हितोपदेश, अमरकोशजस्ता पुस्तक कण्ठस्थ गर्ने मौका पाएँ । लघुकौमुदी पढाउने क्रममा बुबाले अब नेपाली र संस्कृत मात्र पढेर हुँदैन, अंग्रेजी पनि पढ्नुपर्छ भनेर काठमाडौँ पठाउनुभयो । काठमाडौँ आएर करिब एक वर्ष १ देखि ५ कक्षासम्मका अंग्रेजी र गणितका पुस्तक घरमै शिक्षक राखेर पढेपछि विसं १९९६ मा जुद्धोदय पब्लिक हाई स्कुलमा कक्षा ६ मा भर्ना भएको थिएँ ।

७ कक्षामा पढ्दाको कुरा हो । गंगालाल श्रेष्ठका साहिँला भाइ देवीलाल र म ज्यादै मिल्ने साथी थियौँ । हामी साहिँला–साहिँला भएर मात्र होइन, एकार्काको भावना पनि बुझ्थ्यौँ । मेरो पुख्र्यौली घर गणेशस्थान, मरुटोलबाट उनको घर नजिकै पथ्र्यो । उनकै घर भएर सँगै स्कुल जान्थेँ । त्यतिबेलाका हाम्रा सहपाठीमा षडानन्द गिरी, पुष्करनाथ उपाध्याय, हरिचरण श्रेष्ठ, गजसुन्दर प्रधान, साम्बभक्त पन्त, शारदाभक्त पन्त, अर्जुन केशरी, रमेशप्रसाद उपाध्याय र हिक्मतसिंह भण्डारीहरू थिए । 

मेरा अत्यन्तै मिल्ने साथी देवीलाल मसँगै पढ्थे भने उनका दाजु गंगालाल त्रि–चन्द्र कलेजमा आईएस्सी पढ्थे । गंगालालका अगाडि हामी ज्यादै फुच्चे देखिन्थ्यौँ । उनको व्यक्तित्व आकर्षक थियो । दौरा–सुरुवाल लगाएर स्टाइलिस ढंगले निधारसम्म आएको जुल्फी काइँयोले माथि फर्काउँदा बेग्लै देखिन्थ्यो उनको व्यक्तित्व । सबैसँग उनी आत्मीय व्यवहार गर्थे । ‘राम्रोसँग पढ है, पढाइभन्दा ठूलो कुरा केही छैन’ भनेर हामीलाई बारम्बार सम्झाउँथे । उनी तीनवटा पुस्तक दाहिने हातले छातीमा च्यापेर घरको माथिल्लो तलाबाट टक्टक् तल ओर्लिएको र त्रिचन्द्र कलेजको बाटो लागेको दृश्य अहिले पनि झल्झली आँखाअगाडि आइरहन्छ । पर पुगुन्जेलसम्म हामी उनलाई हेरिरहन्थ्यौँ । ‘यसरी हिँड्ने हाम्रा दिन कहिले आउलान् ?’ भनेर मनमनै सोच्दै हामी पनि स्कुलतिर लाग्थ्यौँ । 

१९९७ साल कात्तिक पहिलो साता उनको घरमा पुग्दा गंगालाललाई देखेनौँ । सधैँ हामी स्कुल जान लाग्दा उनी कलेज जान ठीक्क परेका हुन्थे । त्यस दिन नदेखेपछि मैले देवीलाललाई सोधेँ, “गंगालाल दाइ खोइ त ?” उनले शिर झुकाएर जवाफ दिए, “दाइलाई त २ कात्तिकमै राणाका पुलिस आएर समाएर लगे ।” म तर्सिएँ । त्यति राम्रो कुरा गर्ने, हामीलाई माया गर्ने त्यस्ता व्यक्तिलाई किन समाएर लगेका होलान् भन्ने मनमा लागिरह्यो ।

माघ पहिलो साता । सधैँझैँ हामी स्कुलमा थियौँ । ४ बजे छुट्टी भएको घन्टी बजेपछि हामीहरू हुरुरु बाहिर निसक्न खोज्यौँ तर निस्कन दिइएन । राणा सरकारका आठ पहरियाले स्कुल घेरा हालेका रहेछन् । एक हुल प्रहरी स्कुल हाताभित्र प्रवेश गरे अनि प्रधानाध्यापक तीर्थराजसिंह सुवाल र शिक्षक दमनराज तुलाधरलाई हत्कडी लगाएर लिएर गए । हामी हेरेको हेर्‍यै भयौँ । त्यसपछि हामीलाई लाइन लगाएर खानतलासी गर्न थाले ।

राणा परिवारका विद्यार्थीलाई एकातिर र हामी दुनियाँ (सर्वसाधारण)का छोराछोरीलाई बेग्लै लाम लगाएर खानतलासी गरियो । ‘बाबुसाहेब केही छ कि झोलामा ?’ भनेर राणा परिवारका केटाकेटीलाई बाहिरबाट यसो छामछुम गरेजस्तो गर्थे भने हाम्रा झोला भने पूरै टकटकाउँथे । करिब दुई घन्टा स्कुल हाताभित्रै हामीलाई बन्दीजस्तो बनाइयो । घर पुगेपछि पनि यो सब केका लागि गरिएको होला भन्ने बालसुलभ जिज्ञासा मनमा रहिरह्यो । बुबाबाट थाहा पाएँ, काठमाडौँमा राणाविरोधी क्रियाकलापमा संलग्न भएको आशंकामा सबैजसो स्कुल र व्यक्तिका घर–चोटामा त्यसरी नै खानतलासी गरेका रहेछन् । एक किसिमले अभियान नै चलाइएको रहेछ । सरकारी जागिरेहरूका घरमा त्यसको ठूलो असर परेको कुरा बुबाबाट थाहा पाएँ । किनभने, राणाविरोधी अभियानमा सरिक हुनेमा धेरैजसो जागिरेकै छोराछोरी थिए । हाम्रो बुबालाई पनि यस कुराले धेरै सताएको रहेछ । उहाँको कुराकानीबाट यस्तै बुझिन्थ्यो ।

माघ दोस्रो साता राणा सरकारकाले आफ्नो विरोधमा आवाज उठाएको र राणाविरोधी आन्दोलनको बिगुल फुक्ने चेतावनी दिएको आक्रोशमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलाई मृत्युदण्डको सजाय सुनायो । १० माघमा शुक्रराज शास्त्रीलाई टेकु–पचली र १३ माघको मध्यराती धर्मभक्त माथेमालाई सिफलमा झुन्ड्याएर मृत्युदण्ड दिइयो भने १५ माघ बिहान २ बजे गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा गोली हानेर हत्या गर्‍यो राणा सरकारले । गंगालालले शुक्रराज र धर्मभक्तलाई झुन्ड्याएर मारेको थाहा पाएपछि ‘हिम्मत भए जुद्ध सरकार † गोली ठोकेर मार्’ भनेकाले चन्दका साथ उनलाई बाँसको एउटै घारोमा दुईतिर फर्काएर बाँधी चार–चारवटा गोली हानेर हत्या गरिएको थियो ।

कलिला बालबालिकालाई पढ्नुपर्छ, पढाइभन्दा ठूलो कुरा अर्को छैन भनेर सम्झाउने त्यस्ता व्यक्तिलाई कायरतापूर्वक हत्या गरिएको थाहा पाउँदा राणा शासकप्रति मेरो बाल मस्तिष्कमा पनि आक्रोश बढेर गयो । १ सय ४ वर्षे निरंकुश राणाविरोधी अभियानमा प्रत्यक्ष सहभागी हुन मलाई सायद यस घटनाले नै प्रेरित गर्‍यो ।

(पूर्वप्रशासक प्रधान पहिलो विद्यार्थी संगठन नेपाल छात्र संघका संस्थापकमध्येका एक हुन् ।)

प्रकाशित: माघ १६, २०७३