[संस्मरण] त्रासको आकाशमा लालझन्डा

- खगेन्द्र संग्रौला

फासफुसे पुस महिनाको २३ गते ०७३ साल । बेलुकी ८ बजे म लमजुङ, खुदीमा पुगेको छु । लक्का जवान छँदा म अलिन्जेल रैथाने अमर हाई स्कुलको हेडमास्टर भएको थिएँ, ०२७ सालमा । पछि शाही ‘नयाँ शिक्षा’ आयो र हाई स्कुलको नाम अमर माध्यमिक विद्यालयमा अनुवादित भयो । यसो गम खान्छु, समय बित्न के बेर लाग्छ र † मान्छे मूलाको छोटो जिन्दगी, म बूढो भएँ ।

मेरोभन्दा कतिकति लामो आयु भएको अमर माविले ५० वर्षको किशोर वयमा पाइला टेकेछ । शिक्षक, विद्यार्थी र रैथानेजन उमंगले फुरुंग हुँदै स्वर्ण महोत्सव मनाउन एक सुर, एक तालमा डटेका छन् । र, प्रेमिल हातहरूबाट सम्मानित हुन गुणग्राही जनहरूद्वारा सविनय डाकिएका छौँ हामी पूर्व प्रधानाध्यापकहरू । ५० वर्षमा हामी ११ जना प्रधानाध्यापक भएछौँ । रमाइलो कुरा, अहिले ११ मध्ये १० जनाको सुखद पुन:मिलन भएको छ । धन्य ५० वर्ष, धन्य स्वर्णिम महोत्सव ।

खुदी किनारको माया होटलमा जाडाले स्यूस्यू काम्दै गाँस टिपेर म सिरकमा घुस्रिन बासमा भित्रिएको छु । साथमा दुई जना पूर्वप्रअ छन्– मुक्तिनाथ घिमिरे र कृष्णविलास अधिकारी । मुक्ति सर विद्यालयका संस्थापक उर्फ आदि प्रअ हुन् । समयको रोलक्रमले म परेँ तेस्रो र कृष्णविलास सर परे छैठौँ प्रअ । हामी तीन पूर्वप्रअको बास एउटै कोठामा छ । कोठा सुरुङ टाइपको छ । कोठाका दुई ओछ्यानबीच मेरो भाँटे ज्यान जेनतेन अटाउन पुग्ने खाली ठाउँ छ ।

ढ्याके ज्यानका धनी घिमिरे र अधिकारी दुई ओछ्यानबीच चेप्टिएर हल न चल हुने डर छ । भित्तामा लुगा झुड्याउने काँटीधरी कतै छैनन् । सिरानी छन् बेस्मारी बालुवा कोचेर बनाएजस्ता, कडा न कडा । बाहिर खुला आकाशमुनि बनेको चर्पीको चुकुल चेट् भएको छ । वस्तुको स्तर र इज्जत स्थानसापेक्ष हुने रहेछ । र नै त, माया होटल खुदी बजारको तारे होटलमा पर्छ । मान्नुपर्छ, बडो प्रेमले प्राप्त भएको यो तारे होटलको सुविधामा हामीलाई मनग्गे सुबिस्ता छ । 

काठमाडौँदेखि बाटाभरि माइक्रो भ्यानले हल्लाएर जर्जर जीउ थिलथिला भएका दुई थकित पूर्व बूढा सुत्नु के छ, फुस्स निदाइहाले । म भने जागै छु । छेवैका खुदी र मस्र्याङ्दीको समवेत सुसाइले मलाई अतीतका सम्झनाहरूतिर डोर्‍याउँछ । आफ्नै इतिहासका पन्ना पछिल्तिर पल्टाउँदै मेरो न्यास्रिएको मन ०२७ सालमा पुग्छ । म देख्छु, खुदीको जनजीवनको रंगमञ्चको अभिनयमा मुख्यत: पाँच जना रैथाने पात्र छन् । विद्यालय सञ्चालक समितिका झोँक्की सभापति खगेन्द्रजंग गुरुङ । रिपट लेखक प्रधानपञ्च टुकमान थापा । अद्वैतमार्गी गफास्टकद्वय गंगाराम र सागर श्रेष्ठ । र, मलाई भात खुवाउने ममतामयी हात्तीआमा ।

उसो त यो रंगमञ्चमा पूरक पात्रको भूमिकामा हामी दुई जना बाहिरिया पनि छौँ । देब्रे ढल्कुवा भोजपुरे मास्टर खगेन्द्र पूर्वेली र देब्रे ढल्कुवा म पान्थरे मास्टर खगेन्द्र संग्रौला । मैले खुदी टेक्दा पूर्वेली त्यहीँ थिए । विचारका वागी पूर्वेली किञ्चित लहडी र निकै झोँक्की थिए । विचारको इतर वृत्तमा उनी भयानक शत्रु मानिन्थे । कति ठाउँमा त बाटो हिँड्दैमा उनीमाथि ढुंगामुढा ओइरिन्थे । जान्न खोजेँ, उनीसँग आखिर त्यत्रो रिस किन ? जडी कुरो मलाई भएन ।

अँ, यो रंगमञ्चका केन्द्रीय पात्र परे खगेन्द्रजंग गुरुङ । असलमा खुदीको सेरोफेरोका यावत् गतिविधिका कम्पन–केन्द्र उनै त हुन् । उनै हक्की र झडंगे खगेन्द्रजंग । उनै गर्जनमय एवं रहस्यमय खगेन्द्रजंग । यो शाही कठोर कालमा एकातिर उनी खराखरी लाल वामपन्थको पैरवी गर्छन्, अर्कातिर उनी राजसभा स्थायी समितिका सदस्य छन् । छाँटले उनमा भुइँमान्छेप्रति समभाव र करुणा म लेस मात्र पनि देख्दिनँ । तैपनि, उनी अमुर्त विद्रोह र क्रान्तिको गर्जन यसरी गर्छन्, खुदीमाथिको पहरो थर्किन्छ ।

उनको काठमाडौँ जाइ–आइ चलिरहन्छ । राइफल बोक्ने एक जना उनको अघि लाग्छ । र, उनका पछि लाग्छ मानिसहरूको लम्बेतान लर्को । ठाउँठाउँमा उनलाई नोटका माला पहिराइन्छन् । त्यो सब देख्छु र चकित हुँदै म तर्कना गर्छु– यी लाल वामपन्थी क्रान्तिकारी हुन् कि रैथाने राजा ? यी जो उनको छायाँझैँ उनको पछिपछि लुखुुर–लुखुर हिँडिरहेका छन्, यी को हुन् र किन त्यसरी हिँडेका हुन् ? उनीप्रतिको सहज श्रद्धाभावले डोरिएर वा हीनभावनाग्रस्त दास मनोवृत्तिले घिसारिएर वा उनको डरले थर्कमान भएर ? यसरी तर्कना गर्छु र म पक्क परेर उनको ठाँटबाँट हेर्छु ।

प्रधानपञ्च टुकमान थापा छन् फेरि अर्का अजीवका जीव । खुदी बजारको सिरानमा उनको पञ्चे अड्डा छ । अड्डा भन्नु के छ, टुक्रुक्क एउटा छाप्रो छ । न कण्ठमा वाणी, न ओठमा मुस्कान, न अनुहारमा कान्ति– टुकमान झुत्रे अड्डामा ठुस्स परेर बसेका देखिन्छन् । उनी प्राय: कसैसँग हाइहेलो गर्दैनन् । न त उनी कसैसँग वार्तालाप नै गर्छन् । उनको पद छ सत्ताको रैथाने नोकररूपी प्रधानपञ्च, मान्छे छन् यस्ता बकै नफुटेजस्ता । उनी जुम्सा छन् । उनी लास्टै टीठलाग्दा छन् । तैपनि, हाम्रा लागि उनी डरको मुहानतुल्य छन् । किन ? किनभने, उनी रिपट लेख्छन् । खुदी बजारमा म खासखुस सुन्छु– टुकमान दिनको कम्तीमा पनि एक–दुइटा रिपट लेख्छन् र सत्ताका ख्यामित्हरूछेउ पठाउँछन् । रिपटमा उनी के लेख्छन् ? उनी यस्तो लेख्छन् भनी म गाइँगुइँ सुन्छु— ‘तीन खगेन्द्रले सेरोफेरोको जीवन, जल, जमिन र जंगल सारा चीजलाई लाल–लाल बनाएर खुदीको आकाशमा लालझन्डा फहराउन लागेका छन् । प्रभु, खुदीको भूमि लाल प्रलयको सँघारमा छ ।×’ म यो पनि सुन्छु, रिपट लेख्न कथ्यको खाँदो पर्दा उनी कल्पनाको उडान भर्छन् । कल्पनाको उडानमा उनी यस्तो रिपट लेख्दा हुन् भनी म लख काट्छु– ‘एउटा चुस्स दाह्रीजुँगा पालेको, कपाल छरपस्ट भएको, अँध्यारमुखे, दुब्लो, झलक्क हेर्दैमा कम्निस्टजस्तो लाग्ने मान्छे आयो र खगेन्द्रलाई भेटेर गयो । यसको चाल निको छैन, ख्वामित् !’

 

अद्वैतमार्गी गंगाराम र सागर श्रेष्ठ छन् टुकमानका ठीक उल्टा । ती बोल्छन्, बोल्छन् र बोलिरहन्छन् । पुष्टकारी पाक–परिकारकाले गोजेरो टन्न भरेर ती सन्तोषका उपदेश दिन्छन् । भोकाहरूलाई ती भन्छन्– ‘ लोभ नगर, तीर्खा नमान । आफूसित जे छ, त्यसैमा चित्त बुझाओ । आफूसित जे छैन, त्यसको तृष्णा नगर । नपाइने कुरा चिताउनु व्यर्थमा दु:ख बिसाउनु हो । बस्, सन्तोषम् परमम् सुखम् ।’ यी गफास्टक अद्वैत रैथाने परिवेशमा हुनुसम्म अलोकप्रिय छन् । यिनका कान छलेर मानिसहरू यिनलाई क्षितिशचन्द्रको पुच्छर भन्छन् । र भन्छन्– ‘यी हरिपले धूर्त वचनले लाटासिधा गरिबहरूलाई गाँजेर आफ्ना द्रव्यपूजक गुरुलाई बोराका बोरा पैसा टक््रयाए ।’ निज गंगा र सागर मसँग रुष्ट छन् । यो रोषको कारण छ । धर्म र अध्यात्मका नाममा चलेको तिनको धन्दालाई नांगेझार पार्न मैले कुनै कसर बाँकी राखेको छैन । र, म सुन्छु– यी गफास्टक अद्वैत पनि टुकमानकै भाकामा रिपट लेखेर पठाउँछन् । कसलाई ? सायद अस्तित्वहीन भगवान्लाई ।

अनि, हात्तीआमा ? हात्तीआमा मेरी आमापछिकी प्रिय आमा । उनको लोग्ने छैन । ऊ सौता हालेर मलाया छाउनीमा हरायो । तीन भाइ छोरा पनि उतै कतै अलप भए । साथमा एक मात्र सहारा उनको कान्छो छोरो छ । ज्यान हत्केलामा राखेर ऊ मस्र्याङ्दीमा जाल हान्छ । दु:खजिलो गरी पेट पाल्ने धन्दा दुखिया चिया पसल छ । हात्तीआमा दिनदिनै गुनासो गर्छिन्– ‘ बाबु, चिया खाने आधाजसो चोरहरू पैसै तिर्दैनन् ।’

हाई स्कुलको दशा दयनीय छ । सरकारी सहायता एक पैसो छैन । मासिक शुल्क नाम मात्रको छ । पुग्दो संख्यामा मास्टर छैनन् । कहिले त मैले स्याँस्याँ र फ्याँफ्याँ गर्दै एकै पिरिडयमा तीनवटा कक्षा भ्याउनुपर्छ । जब तलब थाप्ने बेला आउँछ, मास्टरहरूका ओठ–तालु सुक्छन् । विद्यालयका नानाओली झैझमेला, परिवेशमा व्याप्त रहस्यमय लाल गर्जन, चाकरीमुखी रिपट र कपटकारी अर्तीले जब मनमा तनाव पैदा गर्छन्, चित्त शान्त गर्न म हात्तीआमाको छाप्रोमा लुसुक्क छिर्छु । म किताब लिएर एक कुनामा बस्छु । चिया पिउँछु । साँझपख यदाकदा राँकेको रन्कोले कान तताउँछु । कहिले त ढिब्रीको गाजलु उज्यालोमा राती १२/१ बजेसम्म पढेर काठे पिराको सिरानी लगाएर गुन्द्रीमा लमतन्न सुत्छु । पछि ब्यूँझिँदा चाल पाउँछु, हात्तीआमाले मलाई आफ्नो मजेत्रो ओढाइदिइछन् ।

हामी तीन खगेन्द्रका चित्तका अन्तरमा खुदी भेगमा लालझन्डा गाड्ने इच्छा नभएको होइन । तर, गरेको खास केही छैन । न भुइँमान्छेहरूसँग अटुट र जीवन्त सम्पर्क छ, न कतै भेला र प्रशिक्षणको चाँजोपाँजो छ, न संगठन गर्ने धुन छ । केही छैन । छ त केवल तीन खगेन्द्रको लिन्ठिंग उपस्थिति छ । खगेन्द्रजंग पञ्च–कांग्रेसलाई थर्काउन गर्जन–तर्जन गर्छन् । खगेन्द्र पूर्वेली ‘हामीले यो माटोमा फुक्काफाल हिँड्न पाउनुपर्छ’ भनेर छाती पिट्छन् । म पढाउनु र पढ्नुसिबाय केही गर्दिनँ । म यसै पनि पदीय पिन्जराको कैदी भएको छु । पदीय मर्यादाले मलाई चित्तको भाव खुलस्त पोख्न दिँदैन । अचम्म लाग्छ, हामीले केही ठोस कर्म नै नगरी रैथाने शाही सत्ता किन यसरी हल्लिएको ? वैचारिक र नैतिक रूपले हदै टाट पल्टिएर ?

हाम्रा तीन जोर हातबाट लालझन्डा फहराउने हल्ला चैते डढेलोझैँ फैलिन्छ । र, त्यसको प्रतिध्वनि पर–परसम्म गुन्जिन्छ । एक दिन सदरमुकाम बेँसीसहरतिरबाट एउटा झुन्ड खुदी आउँछ । सत्ताका द्वारपालेहरूको झुन्ड हो त्यो । झुन्डको अगाडि अञ्चलाधीश दानबहादुर शाक्य छन् । तिनका पछाडि छन् इज्जतदार कांग्रेसी महलबाट प्रलोभनको आहालमा खसेर पञ्चांग्रेस बनेका दुई जीव– वाचाल श्रीकान्त अधिकारी र लोखर्केको पुच्छरजस्ता जुँगा भएका लेखनाथ अधिकारी । लाजमर्नु कुरा छ, तीन वाममार्गी खगेन्द्रलाई कुल्चिन यी पञ्चांग्रेस अञ्चलाधीशका शरण गर्छन् । ती आउँछन् । ती हामीलाई विद्यालयमा लाल राजनीति गरेको फत्तुर लाउँछन् । र, यो लालक्रीडा गर्न नछाडे हामीलाई पक्रिने र थुन्ने ध्वाँस दिएर ती लाग्छन् मनाङतिर उकालैउकालो । 

त्यसउप्रान्त खुदीमा छद्मभेषी सुलसुलेको बिगबिगी हुन्छ । म जता जान्छु, कोही न कोही पछि लागेकै हुन्छ । अब मैले फुक्काफाल भई कतै जानु नहुने भो । डेरा–विद्यालय, विद्यालय–डेरा, बस् खुदीको भूगोलमा मेरो निसासलाग्दो जीवनवृत्त यत्तिमै कैद हुन्छ । एक दिन विद्यालयमा सञ्चालक समितिको बैठक चल्दै छ । एक शुभचिन्तक–सूत्र कुद्दै आएर भन्छ– लौ है दाज्यै, प्रहरीको टुकडी यता आइरहेछ । पक्राउबाट जोगिन हामी मस्र्याङ्दी किनारको झ्यासझाडीतिर बेत्तोडले कुद्छौँ । पछि थाहा हुन्छ, नभन्दै त्यो टुकडी हामीलाई पोको पार्न आएको रहेछ । अब गर्ने के ? अब लाग्ने हो बाटो । पोका–पन्तुरा बोकेर सुलसुलेका आँखा छल्दै म बाटो लाग्छु । खाली हात र किञ्चित् उदास ।

अहिले ४७ वर्षपछि म फेरि खुदीमा छु । स्वर्ण महोत्सवमा मलाई सम्मान र मेजमान उपलब्ध छ । परिवारजन आफूदेखि बिच्किएर एक्ला भएका दु:खी खगेन्द्रजंग काठमाडौँमा रहेछन् । ती खुदी आएनन् । खगेन्द्र पूर्वेलीको कतै खुटपत्तो छैन । हात्तीआमा बितेर खुदी खोलामा कतिकति पानी बगिसकेछ । जुग पल्टियो । बूढो पञ्चायत ढल्यो र पञ्चायतकै पछि लागेर ढल्यो जर्जर राजतन्त्र पनि । रिपट लेखक टुकमान, पञ्चायतका अवशेष, जीवितै रहेछन् । जीवितै तर एकदम फुकीढल । खुदीमा म अहिले मुक्त छु । जता मन लाग्यो उतै जान, जे मन लाग्यो त्यो भन्न मलाई छूट छ । यो मुक्त वातावरणको सिर्जनामा नेपाली लालवामको ठूलो हात छ । लमजुङे सांसद जमीन्द्रमान घले मेरो भारी तारिफ गर्दै भन्छन्– यी बूढाहरूले ऊबेला वामचेतनाको बीउ छरेका थिए, त्यही बीउमा टुसाएर हामी झांगिन पायौँ ।

यो कथन केवल प्रतीकात्मक सत्य हो । झर्रो सत्य के हो भने सत्ताका चौकीदारहरूले तीन खगेन्द्रलाई खुदीबाट खेदे । यी जो खेदिए जनसाधारणका दृष्टिमा ती खुलदुलीका विषय र सहानुभूतिका पात्र बने । र, त्यही खुलदुली र सहानुभूतिको भूमिमा वाम चेतनाले फाटफुट जरा गाड्यो । धन्य हुन् ती वामद्वेषी जीवहरू, जसले तीन खगेन्द्रलाई खेदेर खुदी ओरपर वाम चेतना उम्रिने सानै भए पनि ड्याङ बनाइदिए । 

प्रकाशित: माघ १३, २०७३