राजाका अगाडि जनताका समस्या

  • धेरैजसो बडाहाकिमले राजा त्रिभुवनको स्वदेश फिर्तीसँगै मुलुकमा उन्नति नै उन्नति भएको, जनता साराले अमनचैन र शान्तिको महसुस गरेको र राजाको जयजयकार नै गरिरहेको भनाइ राखे ।

- अनिरुद्धप्रसाद सिंह

राणाकालमा श्री ३ महाराजहरूको परिवर्तनसँगै मुलुकको वस्तुस्थिति बुझ्न प्रशासनिक निकायका अधिकारीका अतिरिक्त समाजका प्रतिष्ठित र गिनेचुनेका व्यक्तिलाई राजधानी बोलाएर जानकारी लिने परम्परा थियो । यो परम्पराले ००७ सालको परिवर्तनपछि पनि निरन्तरता पायो ।

प्रजातन्त्र बहालीपछि निर्माण भएको राणा, कांग्रेस र राजाको त्रिपक्षीय संयुक्त सरकार गृहमन्त्री बीपी कोइरालाको राजीनामासँगै विघटन भयो । मातृकाप्रसाद कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसको एकल सरकार बन्यो । त्यसको करिब ६ महिनापछि अर्थात् जेठ २००९ को कुरा हो । म बडाहाकिमका रूपमा दाङबाट सरुवा भएर त्यतिबेलाको शिवराज–तौलिहवा जिल्ला (हालको कपिलवस्तु) पुगेँ ।

त्यसपछि सिंहदरबारमा ३२ जिल्लाकै बडाहाकिमहरूको भेला बोलाइएको थियो । त्यो भेला सिंहदरबारको बैठक कक्षमा हुँदै थियो । कक्षको दाहिनेतिर राजा त्रिभुवन र अर्थमन्त्री सुवर्णशमशेर राणा, गृह र खाद्यमन्त्री सूर्यप्रसाद उपाध्याय, रक्षामन्त्री जनरल केशरशमशेर जबरा र जंगल उपमन्त्री धर्मरत्न यमी बसेका थिए भने देब्रेतर्फ प्रशासनिक क्षेत्रका उपल्लो तहका व्यक्तिहरू । हाम्रा लागि त्यसको ठीक तलपट्टि चार लहरमा कुर्सीको व्यवस्था थियो । 

खास गरी राजा त्रिभुवन मुलुकको राजनीतिक परिस्थिति, नेपाली कांग्रेसभित्रको आन्तरिक झगडाका कारण सरकार अस्थिर बनिरहेको र मातृका सरकार पनि विघटनको सँघारमा पुगेकाले चिन्तित देखिन्थे । भेलामा उनले दिएको मन्तव्यबाटै त्यो बुझ्न सकिन्थ्यो । उनले मुलुकको तत्कालीन राजनीतिक अवस्थाका साथै प्रशासनिक क्षेत्रका बारेमा केही कुरा राखेपछि पाँच मिनेटभन्दा बढी समय नलिईकन आफ्ना कुरा राख्न हामीलाई निर्देशन दिए ।

धेरैजसो बडाहाकिमले राजा त्रिभुवनको स्वदेश फिर्तीसँगै मुलुकमा उन्नति नै उन्नति भएको, जनता साराले अमनचैन र शान्तिको महसुस गरेको र राजाको जयजयकार नै गरिरहेको भनाइ राखे । थोरै मात्र बडाहाकिमले विषयकेन्द्रित भएर विचार व्यक्त गरेका थिए । आफ्नो बोल्ने पालो आउँदा मैले दुई मिनेटमै आफ्नो भनाइ सकेँ, ‘जनताको पेट भोको छ, बाली रोक्का छ । आँखामा आँसु छ, खाना पाएका छैनन्, मानिसहरूको भागाभाग छ ।’ 

मैले मोही समस्याले ग्रस्त भएका किसानहरूको पक्षमा यो कुरा उठाएको थिएँ । मोही समस्याले तौलिहवामा जमिनदार र किसानका बीचमा ठूलो संघर्षको अवस्था थियो । मैले बुँदागत रूपमा वस्तुस्थितिबारे जानकारी गराएपछि बैठकमा सन्नाटा छायो । मेरो कुरा सुनेपछि राजाले गृह तथा खाद्यमन्त्रीतर्फ नजर फर्काउँदा उनले अर्थ मन्त्रालयलाई रकम निकासाका निम्ति लेखी पठाएको बताए । त्यसपछि राजाले अर्थमन्त्रीतर्फ नजर लगाए । उनले पनि गृहमन्त्रीकै भाषामा जवाफ दिए । त्यसपछि पुन: मलाई नै सोधनी भयो । मैले भनेँ, ‘अस्तिसम्म त पुगेको थिएन । हिजो पुगेको भए मलाई थाहा भएन । हिजो मात्रै जिल्ला छाडेर यता आएको हुँ ।’

बडाहाकिमको भेलामा आउनुपूर्व नै मैले जिल्लाका समस्या अवगत गराउँदै सम्बन्धित मन्त्रालयलाई विभिन्न निवेदन लेखी पठाएको थिएँ, जसको लामो समयसम्म पनि सुनुवाइ भएको थिएन । सायद त्यही रोषका कारण पनि मेरो प्रस्तुति कडा भएको हुन सक्छ ।

बेलुका त्यस्तै ६ बजेतिर बैठक समाप्त भएपछि हामीलाई बस्ने व्यवस्था मिलाइएको त्रिपुरेश्वरस्थित गेस्टहाउस पुगेँ । रातभरि मनमा कुरा खेलिरह्यो, आखिर राजाका अगाडि मानिसहरू समस्या राख्न किन हिचकिचाउँछन् ? समस्या त तौलिहवामा मात्र थिएन । दोस्रो दिन बिहानै दुई जना रिसल्ला घोडा लिएर गेस्टहाउस आइपुगे । बाहिरैबाट मेरो नाम लिएर बोलाए । राजा त्रिभुवनका एडीसी जनरल योगविक्रम राणाको पत्र लिएर आएका रहेछन्, जसमा ‘ दिउँसो १२ बजे राजा त्रिभुवनद्वारा दर्शनभेटका निम्ति बोलाइबक्सेको’ उल्लेख थियो ।

दरबार पुगेर एडीसी राणालाई भेटेँ । उनले सीधै भने, ‘अब तपाईंको भाग्य खुल्यो । राजाले दर्शनभेटका निम्ति यतिबेला बोलाएपछि पक्कै केही बक्स हुन्छ ।’ हुन पनि राजासँग करिब आधा घन्टा कुराकानी भयो । उनले आफ्ना कुरा संक्षेपमा राखे तर मलाई भने बोल्न हौस्याइरहे । राजासँगको त्यही भेट मेरो दरबार प्रवेशको मुख्य कडी हुन पुग्यो । त्यसपछि मोफसल फर्किनु नै परेन । दरबार सक्रिय रहुन्जेल कुनै न कुनै भूमिकामा रहेर सेवा गर्ने मौका पाएँ ।

मैले तौलिहवाबासीको समस्या उठाइदिएकाले पछि त्यो समस्याको समाधान पनि गरिदियो सरकारले । त्यही काम गरेबापत त्यहाँका जनताले मेरा नाममा निम्न माध्यमिक विद्यालय नै स्थापना गरे, जो अद्यापि अनिरुद्धप्रसाद निम्न माध्यमिक विद्यालयका नामले सञ्चालित छ । तौलिहवाका जनताले मेरो सम्झना त्यस रूपले गरेको देख्दा मन भरिएर आउँछ । मैले उनीहरूका निम्ति गरेको भन्दा उनीहरूले मेरा निम्ति उच्चस्तरको सम्मान दिएका छन्  ।

प्रस्तुति : ईश्वरी ज्ञवाली

प्रकाशित: माघ १२, २०७३