जाडो छल्न औल

  • उच्च हिमाली भेगमा बस्नेको ओरालो यात्रा, ओरालोमा पेसा

- अर्जुन शाह

मार्तडी ।। बाजुराको पाण्डुसेनकी पेमा योङ्जा गुरुङ चिसो छल्न र भेडाच्यांग्राको चरिचरनका लागि अछाममा छिन् । उच्च हिमाली भेगमा हिउँदमा बस्न मुस्किल छ । अत्यधिक चिसो र हिमपातसमेत हुने भएकाले भेडाच्यांग्रा चरिचरनको समस्याले धेरै परिवार औल झरेका छन् यतिबेला । 

बाजुराका मार्तडी, पाण्डुसेन, कोल्टी, कोटीला, बाँधु र बिच्छ्याँ गरी ६ गाविसमा हिमाली जनजाति समुदायको बसोवास छ । यो समुदायका अधिकांश परिवार मंसिर–पुस महिनामा गाउँघर छाड्छन् । गर्मी चढेपछि चैत–वैशाखमा घर फर्किन्छन् । पेमा भन्छिन्, “हिउँदमा हाम्रा गाउँघर सुनसान हुन्छन् ।”
घर छाड्नुअघि गाउँघर हेरचाह गर्न एक–दुई परिवारका बूढापाका मात्रै गाउँ बसाल्ने सबैको सरसल्लाह हुन्छ । घर बस्ने र औल झर्नेहरू एकसाथ बसेर मीठो–मसिनो खाएर भोलिपल्ट चार–पाँच महिनाका लागि छुट्टिन्छन् । अभिभावक हिँडेपछि उनीहरूका स्कुले केटाकेटी एक्लै घर बस्ने कुरै भएन । बाबुआमासँगै बालबच्चा समेत हिँड्छन् । जाडो छल्न औल झर्ने हिमाली जनजातिका बालबालिकाहरू हिउँदे अवधिको ६ महिना पढाइबाट वञ्चित हुन्छन् । 

पाण्डुसेनका पासाङ थापा (भोटे)को परिवार गत वर्षझैँ यसपालि पनि औल झरेको छ । पासाङको परिवारले आफ्ना तीन बच्चासहित भेडाच्यांग्रा लिएर घर छोडेपछि स्थानीय सिद्धेश्वरी प्राथमिक विद्यालयमा कक्षा ४ मा पढ्दै आएकी छोरी डोल्माको पनि विद्यालय छुटेको छ । “घर–जहानै बसाइँ सरेपछि छोरीलाई मात्रै कसको भरमा गाउँमा राख्नू ?” थापा भन्छन्, “मनले नचाहेर पनि बालबच्चाको स्कुल छुटाउनैपर्ने बाध्यता हुन्छ ।” 

भेडाच्यांग्रा पालनलगायत परम्परागत व्यापार–व्यवसाय मुख्य पेसा भएका बाजुरालगायत हुम्ला र मुगुमा बसोवास भएका हिमाली भेगका बासिन्दाको जीवन चिसोमा साह्रै कष्टकर हुन्छ । “भोटे भनेर धेरैले हेप्छन्, धम्क्याउँछन्, भेडाच्यांग्रा चोरी गर्छन्,” थापा भन्छन्, “चरिचरनका नाममा बर्सेनि धान्नै नसक्ने रकम जरिवाना गर्छन् ।” 

पाण्डुसेनको अंगउपानीका श्रीलाल विष्टलाई पाँच वर्षअघिसम्म पनि पुर्खौंदेखि चल्दै आएको भेडाच्यांग्रा पालनलगायतका परम्परागत व्यवसाय संकटमा पर्लान् भन्ने कल्पनै थिएन । तर, अहिले श्रीलालको परिवार पुख्र्यौली पेसाबाट लगभग विस्थापनको अवस्थामा छ । “अब पसल व्यवसाय लगायतलाई आयआर्जनको माध्यम बनाउने सोचेका छु,” श्रीलाल भन्छन् । अहिले ग्रामीण क्षेत्रमा समेत सडक विस्तार हुँदै गएको र सदरमुकाम मार्तडीसम्म यातायात सुविधामा पहुँच विस्तार हुन थालेपछि आफूहरूको परम्परागत पेसामा धक्का लागेको श्रीलाल बताउँछन् । 

प्रकाशित: माघ १२, २०७३