नुवाकोटदेखि ल्याक्मेसम्म

  • ट्रान्सजेन्डर अञ्जली लामाको संघर्ष र सफलताको यात्रा

- गोकर्ण गौतम

नेपाल टेलिभिजनमा संघर्ष नामक कार्यक्रम प्रसारण भइरहेको थियो । यौन अल्पसंख्यक र आफ्नो असली पहिचान खोजिरहेकाहरूको व्यथा समेटिएको उक्त कार्यक्रम हेरिरहेका नवीन बाइवाको आङ सिरिंग भयो । ओठ–मुख सुक्यो । आफूले भोगेको तर कहिल्यै भेउ नपाएको कुरा जो देखिरहेका थिए । मनबाट निश्चिन्त भए, ‘आफू पनि त्यस्तै हुँ, जस्तो टेलिभिजनमा देखाइरहेको छ ।’ तर पनि, छेवैको साथीलाई केही भन्नै सकेनन् । बरू, भित्रभित्रै पिल्सिए । १३ वर्षअघिको कुरा हो यो ।

अहिले उनै नवीन फेसनको दुनियाँमा चर्चाको केन्द्रमा छन् । तर, नवीन नाम भने बिरानो र पुरानो भइसकेको छ । उतिबेलाका नवीन अहिले अञ्जली लामाका नामबाट पूरा  फेसनवृत्तमा ‘हटकेक’ बनेकी छन् । उनको सुन्दरताको जति तारिफ भइरहेको छ, त्यसभन्दा बढी छ, उनको साहस र संघर्षको कदर । 

नेपालकी पहिलो ट्रान्सजेन्डर मोडलका रूपमा पहिचान बनाएकी अञ्जली जसै भारतको ल्याक्मे फेसन विकका लागि छनोट भइन्, एक्कासि अन्तर्राष्ट्रिय ख्याति चुलियो । नेपाल र भारत मात्र होइन, पश्चिमा मिडियाले पनि उनलाई महत्त्वसाथ ठाउँ दिइरहेको छ (हेर्नूस्, बक्स) । ग्ल्यामर उद्योगको नयाँ आयाम र दक्षिण एसियामा सीमान्तीकृत यौन समुदायमा आएको बदलाबको प्रतीकका रूपमा हेरिएको छ उनलाई । 

आखिर नुवाकोटको गरिब परिवारमा छोराका रूपमा जन्मिएकी अञ्जलीले भारतको सबभन्दा प्रतिष्ठित फेसन सप्ताहमा आफ्नो कला पस्किने अवसर पाएकी छन्, त्यो पनि आरक्षण वा टीके प्रणाली होइन, खुला प्रतिस्पर्धा (अडिसन)बाट । चर्चित बलिउडकर्मी, सुपरमोडल र फेसन डिजाइनरहरूको बाक्लो उपस्थिति रहने ल्याक्मे फेसन विक त्यही प्लेटर्फम हो, जसबाट अर्जुन रामपाल, दीपिका पादुकोण, मलाइका अरोराजस्ता हस्तीले करिअर सुरु गरेका थिए । विख्यात सौन्दर्य प्रशाधन उत्पादक कम्पनी ल्याक्मे इन्डियाको प्रायोजनमा हुने यो फेसन सप्ताहलाई भारतकै प्रिमियम र्‍याम्प सो मानिन्छ ।

“ल्याक्मेमा र्‍याम्प वाक गर्ने मेरो सपना पूरा भएको छ । सम्भावनाको नयाँ ढोका पनि खुलेको छ,” मुम्बईमा सोको तयारीमा व्यस्त अञ्जलीले सुनाइन्, “अझै लामो यात्रा तय गर्नु छ ।” माघको तेस्रो साता हुने यो फेसन सप्ताहमा चर्चित डिजाइनरका आकर्षक पहिरनमा उनले ‘ क्याटवाक’ गर्नेछिन् । 

नवीन छोडेर अञ्जलीलाई आत्मसात् गर्नु आफैँमा एउटा क्रान्ति थियो भने नुवाकोटदेखि ल्याक्मेसम्मको यात्राचाहिँ संघर्ष र धैर्यको फल । पहिले पहिचानका लागि लडिन्, आफैँसँग र त्यसपछि समाजसँग । मोडलिङ करिअर उकास्न पनि उनको लिंग बाधक बनिदियो, प्रत्येक पाइलामा । उनकै शब्दमा, “चुनौती र अवरोधको पहाडले कहिल्यै छोडेन ।” 

अञ्जलीका बाबुआमा चाहन्थे, छोरी होस् । किनभने, चार छोरा भइसकेका थिए । पाँचौँ सन्तान पनि छोरा नै जन्मिएपछि उनकी आमा डाँको छोडेर रोएकी थिइन् । नवीन हुर्कंदै गए । तर अचम्म † शारीरिक बनोट र अंग केटाको थियो तर स्वभाव र चालढाल भने पूरै केटीजस्तै । बुबाभन्दा आमासँग नजिक हुने, स्कुलमा पनि केटी साथीसँग बढी घुलमिल हुने, केटीकै जस्तो पहिरन लगाउन मन लाग्ने । “नवीन त छोरीजस्तै छ भनेर साथीहरू जिस्क्याउँथे, गिल्ला गर्थे, घरमा चाहिँ गाली खानुपथ्र्यो,” अञ्जलीले ती कठोर दिनहरू सम्झँदै भनिन्, “केटाजस्तै हुन खोज्थेँ तर अहँ ! सक्दै सक्दिनथेँ ।” घरमा झर्को र फर्को मात्र, स्कुलमा साथीहरूबाट अपमान । न पढाइ राम्रो हुन सक्यो, न मनमा खुसी । बरू, आफूलाई किन यस्तो भएको होला भनेर सोच्दासोच्दै पागलजस्तै हुन्थिन् । त्यसैले त बल्लतल्ल एसएलसी पास गरेर काठमाडौँ छिर्दा उनी जेलबाट उम्केजस्तै फुरुंग थिइन् ।

तर, उनलाई के थाहा, तावाबाट फुत्किए पनि अब झन् भुग्रोमा पर्दैै छु भन्ने । सहरमा झन् ठूलो अपमानको सिकार हुन थालिन् । घरबाट पैसा ल्याएर पढ्ने स्थिति थिएन, रेस्टुराँमा काम गर्न थालिन् तर जति राम्रो काम गरे पनि एक–दुई महिनामै साहूले निकालिदिन्थे । चाबहिलको पशुपति क्याम्पसमा भर्ना भइन्, कोही मिल्ने साथी भएनन् । कतिसम्म भने उनी शौचालय छिर्न लाग्दा पनि केटाहरू केटीतिर धकेलिदिन्थे ।  अञ्जली भावुक भइन्, “आफ्नो पीडा बाँड्ने कोही थिएन, बाहिर निस्कनासाथ अवहेलना मात्र सहनुपथ्र्यो । त्यसैले कोठामै रोएर बस्थेँ । मानसिक रूपमा अति कमजोर भएकी थिएँ ।” 

यति बेलासम्म जीवनका १८ वसन्त पार गरिसकेकी थिइन् तर आफ्नो वास्तविकताबारे अन्योल र अलमलमै थिइन् । सामाजिक यातनाको यही शृंखलाबीच ‘भाग्यवश’ उनले ‘संघर्ष’ कार्यक्रम हेर्न पाएकी थिइन् । त्यसपछि उनले आफू को हुँ भनेर हल्का छनक त पाइन् । तर, कहाँ जाने, कसलाई भन्ने, आफूजस्ता मान्छे कहाँ भेटिन्छन् ? केही पत्तो थिएन । त्यही क्रममा एक दिन रेस्टुराँको काम सकेर घर जाँदै थिइन्, बाटोमा केटीको कपडा र शृंगार गरेर हिँडिरहेका केटाहरू देखिन्, ठ्याक्कै टेलिभिजनमा देखाएजस्तै अनि ठ्याक्कै भित्री मनबाट आफूलाई गर्न मन लागेको भेष र हुलिया देखिन् । उनलाई आफ्नो प्रियजन मात्र होइन, भगवान् नै भेटेजस्तो महसुस भयो । हत्तपत्त उनीहरूसँग आफ्नो व्यथा सुनाइन् । आखिर त्यही क्षण, उनको जिन्दगीको प्रस्थानविन्दु बनिदियो । भोलिपल्टै उनीजस्तै यौन अल्पसंख्यकहरूको गैरसरकारी संस्था ब्लु डायमन्ड सोसाइटीमा पुगिन् । खासमा त्यहीँ उनको पुन:जन्म भएको थियो, नवीनबाट अञ्जलीको नयाँ नामसँगै केटीका रूपमा आफूलाई स्वीकारिन् पनि । सम्झिन्छिन्, “बच्चैदेखि केटीजस्तै हुने सपना पूरा भएको त्यो क्षण म कति खुसी भएँ, शब्दमा व्यत्तैm गर्न सक्दिनँ । त्यसपछि नै हो, आफ्नो जीवनसँग माया लागेर आएको ।” 

यता, नयाँ साथीहरूसँग निकटता बढ्यो, उता परिवारसँग दूरी । बिस्तारै गाउँघरमा हल्ला पुगेछ, नवीन केटीजस्तै भएर हिँड्न थालेको छ । दाइले फोन गरेर सोधे, उनले जे हो, त्यही भनिदिइन् । ‘हाम्रा लागि आजदेखि मरिस् । कहिल्यै घर आउनु पर्दैन । तेरो जिन्दगी जिउनु,’ त्यतिबेला दाइको मुखबाट खसेका वाक्यले उनलाई अझ पनि झस्काउँछ बेला–बेला । तैपनि, आफ्नो निर्णयप्रति उनलाई पश्चात्ताप छैन । किनभने, कम्तीमा पलपल मरेर बाँच्नु त परेन नि त्यसपछि । 

प्लस टू पढिरहेकाले त्यही गैरसरकारी संस्थामा जागिर पनि पाइन् । साथीहरूको घेरा पनि फराकिलो भइरहेको थियो । उनीहरू अञ्जलीको उचाइ र शारीरिक बनोटको खुब तारिफ गर्थे । फेसन टीभी हेरिरहेको पल एउटा साथीले भनेछ, ‘ तिमी पनि मोडल बन ।’ उनी नढाँटी भन्छिन्, “मैले पहिलो पटक मोडल भन्ने शब्द त्यही बेला सुनेको । मोडल कस्तोलाई भनिन्छ, केही थाहा थिएन ।” ऐनामा हेर्दा आफू राम्री छु जस्तो लाग्थ्यो तर मोडलिङमा छिर्ने कुनै ज्ञान थिएन उनलाई । सन् २००७ मा ब्लु डाइमन्ड सोसाइटीले मिस पिंक नामको सुन्दरी प्रतियोगिता आयोजना गर्‍यो । अञ्जलीले भाग नलिने कुरै भएन, ताज त जितिनन् तर क्याट वाक र ‘पोज’का बारेमा धेरथोर थाहा पाइन् । मोडलिङप्रतिको चाह अझ बढ्यो । त्यही वर्ष उनीजस्तै ट्रान्सजेन्डर भाग लिन पाउने मिस इन्टरनेसनल क्वीन प्रतियोगिता आयोजना भयो, थाइल्यान्डमा । नेपालको प्रतिनिधित्व गर्ने अवसर पाइन् । त्यहाँ पनि विदेशी मोडलहरूले उनको तारिफ गरे, फुक्र्याइदिए । नेपाल फर्किएपछि भाउ नामक अंग्रेजी म्यागजिनले उनलाई आवरण बनायो, ट्रान्सजेन्डर मोडलका रूपमा । उनको व्यावसायिक मोडलिङ यात्रा यहीँबाट सुरु भयो । 

काठमाडौँबाट प्रकाशित हुने प्राय: सबै अंग्रेजीभाषी म्यागजिनको ‘कभर’मा अञ्जली अटाइन् । फेसन सो र र्‍याम्प मोडलिङहरूमा सहभागिता जनाउन थालिन् । र्‍याम्प र फेसनसम्बन्धी प्रशिक्षण पनि लिइन् । प्रशंसा सबैले गर्थे तर काम कसैले दिँदैनथे । काठमाडौँकै गिनेचुनेको एउटा मोडलिङ एजेन्सीका सञ्चालकले त उनलाई ट्रान्सजेन्डर मोडलको भविष्य छैन भन्दै मोडलिङ नै छोड्नसम्म भनेछन् । हुन पनि एजेन्सीवालाहरू ट्रान्सजेन्डर भएको थाहा पाउनासाथ मतलब नै गर्दैनथे । तर, उनले हरेस खाइनन् । बरू, सुपरमोडल बनेर देखाउने कसम खाइन् आफैँसँग । “सपना देख्न जति सजिलो हुन्छ, पूरा गर्न त्यति नै मुस्किल,” ५ फिट ८ इन्च अग्ली यी मोडलले सुनाइन्, “तर, म ट्रान्सजेन्डर भएकाले महामुस्किल झेल्नुपर्‍यो ।” पाँच वर्षअघि भारतका चल्तीका डिजाइनर विशाल कपुरको डिजाइनमा फोटो सुट गरेपछि भने उनको मोडलिङ यात्राले केही रफ्तार लियो । तर, नेपालको चर्चित फेसन सप्ताह ‘नेपाल फेसन विक’मा लगातार तीन वर्ष अस्वीकृत भइन् । अनुभव, हाइट, फिगर र अन्य दक्षता पर्याप्त भए पनि ट्रान्सजेन्डर भएकै कारण आफूलाई छनोट नगरिएको दाबी छ उनको । 

न मोडलिङको काम पाउँछिन्, न गिनेचुनेका र्‍याम्प सोहरूले पत्याउँछन् । अब उनीसामु मोडलिङ मोह त्याग्नुको विकल्प रहेन । तर, मुम्बईका साथीले विदेशमा प्रयास गर्न सल्लाह दिइन् । किनभने, मोडलमा चाहिने अन्तर्राष्ट्रिय गुण सबै थियो उनीसँग । त्यही साथीको सहयोगमा अघिल्लो वर्ष ल्याक्मे फेसन विकमा अडिसन दिइन् । तर, फेल भइन् । विरक्तिएर नेपाल फर्किइन् । भन्छिन्, “अबचाहिँ मोडलिङ पूरै छाड्छु भन्नेमा पुगेकी थिएँ तर मोडलका रूपमा नाम कमाउन गरेको संघर्ष सम्झिएपछि अन्तरआत्माले मान्दै मानेन । त्यही भएर मंसिरमा फेरि मुम्बई आएँ ।” 

यसपटक साँच्चै उनी कठोर निर्णय गरेर मुम्बई हानिएकी थिइन् । यताको जागिरबाट राजीनामा दिएकाले फर्केर के गर्ने केही टुंगो थिएन । अरू अवसरको ढोका पनि करिब बन्द थियो । किनभने, मोडलिङबाहेक अरू केही ज्ञान थिएन । त्यसैले ‘गर या मर’को स्थितिमा मुम्बई पुगेकी थिइन् । फेसन उद्योगका सयौँ मान्छेलाई फेसबुकमा म्यासेज गरिन्, इमेल लेखिन् । सानाठूला सबै फेसन सोमा सहभागी हुन थालिन् । पुसमा ल्याक्मेका लागि आवेदन दिइन् । खुसी हुँदै उनले सुनाइन्, “यसपटक भने भाग्यले साथ दियो, अत्यन्त कडा प्रतिस्पर्धाका बीच स्पटमै छानिएँ । त्यसयता त अन्तर्वार्ता दिन पनि भ्याइनभ्याइ छ । रातारात स्टार भएको महसुस हुँदै छ ।” कतिसम्म भने हिजो नेपालमा उनलाई देख्नासाथ ओठ लेप्राउनेहरू आज बधाई दिन थालेका छन् । 

जवानी ढल्कँदै गएपछि मोडलिङमा टिक्न मुस्किल हुन्छ । २५ वर्ष कटेपछि अक्सर मोडलहरू अर्को क्षेत्रतिर पाइला बढाउँछन् । तर, ल्याक्मेसम्म आइपुग्दा अञ्जली ३२ वर्ष भइसकेकी छन् । अर्थात् अवसरको ढोका खुल्न नपाउँदै मोडलिङको परम्परागत मानक अनुसार उनको उमेरले नेटो काटिसकेको छ । तैपनि, उनी आत्तिएकी छैनन् । ढुक्क छिन्, आफूलाई ‘मेन्टेन’ गर्‍यो भने मोडलिङका लागि उमेर बाधक बन्दैन । 

मोडलिङबाट नाम मात्र होइन, दाम पनि कमाउनु छ उनलाई । किन त ? “चार हजार डलर खर्चेर कृत्रिम स्तन राखेदेखि आफूलाई पूर्ण महिला भएको आभास भएको छ तर शरीरमा अझ पुरुष अंग छ,” अञ्जली भावुक सुनिइन्, “त्यसैले अब मेरो एउटै सपना छ, थाइल्यान्ड गएर लिंग परिवर्तन गर्ने ।” यसका लागि झन्डै २५ हजार डलर चाहिन्छ । 

विदेशी मिडियामा अञ्जली

ल्याक्मे फेसन विकको १८ वर्षे इतिहासमा कुनै ट्रान्सजेन्डर मोडल छनोट भएको यो पहिलो घटना हो । त्यसैले पनि मिडियाले अञ्जलीलाई अचाक्ली प्राथमिकतामा राखेका हुन् । भारतीय मिडियामा छाएसँगै पश्चिमा मिडियामा पनि उनलाई ‘आइकन’का रूपमा प्रस्तुत गरिएको छ । उनको सफलतालाई खास गरी नेपाल र भारतमा यौन अल्पसंख्यकलाई हेर्ने दृष्टिकोणमा आएको बदलावका रूपमा चित्रित गरिएको छ । डेली मेलको अनलाइन संस्करणमा लेखिएको छ, ‘उनको उपस्थिति यौन अल्पसंख्यकको समुदायमा बृहत्तर स्वीकारोक्तिको प्रतीक हो । जहाँ कानुनमा अवसर र अधिकारको सुनिश्चितता भए पनि व्यवहारमा अक्सर निषेधजस्तै छ ।’ वासिङ्टन पोस्टको अनलाइन संस्करणमा पनि उनीबारे लामै फिचर पढ्न सकिन्छ । नेपाल र भारतमा बढिरहेको उनको स्टारडमलाई पछिल्लो वर्षमा दुवै देशका ट्रान्सजेन्डर समुदायमा आएको प्रगतिका रूपमा उल्लेख गरिएको छ । हफिङ्टन पोस्टमा सोनम जोशीले उनको साहसको प्रशंसा गरेकी छन् । 

भारतको दैनिक अखबार डीएनएले अञ्जलीलाई चेक रिपब्लिकका ‘जेन्डर न्युट्रल’ पिटर नित्कासँग दाँजेको छ । “यस्तो मायावी ब्रेक पाउन कठिन संघर्ष गर्नुपर्छ, अञ्जलीले पनि गरेकी छन्,’ डीएनएमा भनिएको छ, ‘तर, नेपालको ट्रान्सवुमनका रूपमा उनले तीन दशकमा भोगेको ‘रिजेक्सन’ सामान्य मान्छेले जीवनभर भोग्ने भन्दा धेरै छ ।” टाइम्स अफ इन्डिया, इन्डिया टाइम्स, एबीपी न्युजलगायतका भारतका प्रतिष्ठित मिडियामा पनि अञ्जलीबारेका सामग्री प्रकाशन/प्रसारण भएका छन् । 

 

प्रकाशित: माघ १२, २०७३