नेपाली जीनको अवैध निकासी

  • प्रयोगशाला परीक्षणका नाममा जथाभावी स्याम्पल पठाउने गैरकानुनी कारोबार

- बाबुराम विश्वकर्मा

बिरामीको स्वास्थ्य जाँच गर्न भनेर काठमाडौँको पानीपोखरीमा खोलिएको थाइरोकेअर नामक संस्थासँग स्वास्थ्य परीक्षण गर्न नभई नहुने आफ्नै प्रयोगशाला (ल्याब) छैन । तैपनि, उसले हरेक दिन करिब ५० जनाको स्वास्थ्य नमुना (होल स्याम्पल) संकलन गर्छ । नमुना संकलनको काम काठमाडौँमा मात्र सीमित छैन, देशैभरिबाट प्रतिनिधिमार्फत संकलन हुन्छ । स्थापनाको डेढ वर्षमै यसले मुलुकका ८० स्थानका पोलिक्लिनिकलाई एजेन्ट बनाएको छ, नमुना संकलन गरेर काठमाडौँ पठाउन ।

यस संस्थाले एजेन्ट र आफूले जम्मा गरेको नमुना भारतको मुम्बई र दिल्ली पठाएर परीक्षण गराउँछ । ५ माघमा सधैँझैँ बिरामीको नमुना जम्मा गरेर दिल्ली पठाउन कर्मचारीहरू व्यस्त थिए । थाइरोकेअरका मार्केटिङ म्यानेजर विशाल नेपाल भन्छन्, “मध्याह्न १२ बजेअघि नै कुरियरलाई संकलित नमुना नदिए जहाजै छुट्ने खतरा हुन्छ र समयमा रिपोर्ट आउँदैन ।” यसरी विदेश पठाइने नमुनासँगै ठूलो धनराशि त विदेशिएको छ नै, नेपाली बिरामीको स्वास्थ्यसम्बन्धी सम्पूर्ण विवरण (होल स्याम्पल) भारतीय प्रयोगशालाको नियन्त्रणमा पुगेको छ । 

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार थाइरोकेअर, डा लालप्याथ ल्याब, एसआरएल, अनक्वोस्ट,  कोर डाइग्नोस्टिक र रिलायबल डाइग्नोस्टिक सेन्टरचाहिँ देशभरिबाट संकलन गरिएका स्वास्थ्य स्याम्पल भारत पठाउने मुख्य एजेन्टमा पर्छन् । तिनले देशभरिका पोलिक्लिनिक, अस्पताल तथा स्वास्थ्य संस्था र आफ्ना संकलन केन्द्रबाट संकलित नमुना भेला पारेर भारतस्थित आ–आफ्ना सम्पर्कका ल्याबमा पठाउने गरेका छन् ।

यो कारोबार नेपालमा फैलाउन अरू पनि ल्याबहरू संगठित रूपमा लागेका छन् । यसै मेसोमा भारतकै डा लालप्याथ ल्याबले नेपालमा आफ्नो सञ्जाल फैलाइसकेको छ, जसको काम हो नेपाली बिरामीको नमुना संकलन गर्ने र भारतमा रहेको आफ्नो प्रयोगशालामा पठाउने । यहाँ बिरामीको रगत तान्नेबाहेक आफ्नो गतिलो ल्याब नभएको लालप्याथ ल्याबले महाराजगन्ज, चाबहिल, भरतपुर, पोखरा र जनकपुरमा आफ्नै संकलन केन्द्र खोलेर नमुना संकलन गर्छ, त्यसबापत केन्द्रले कमिसन पाउँछन् ।

यहाँका बिरामीको स्वास्थ्य नमुना संकलन गरी भारत पठाउन सुरु गर्नेमा सबैभन्दा पुरानो ल्याबमा पर्छ, महाराजगन्जको एसआरएल ल्याब । यसले सुरुमा काठमाडौँमा आफ्नो प्रयोगशाला नभएकाले संकलित नमुना भारत पठाएर परीक्षण गर्ने गरेको थियो भने अहिले आफ्नै ल्याब स्थापना गरेको छ ।
स्वास्थ्य जाँचका नाममा बिरामीको ढाड भाँचिने गरी रकम असुलेर बिरामीका नमुना भारत निकासी गर्दाको सबैभन्दा खतरनाक पक्ष हो, ती नमुना र नतिजा भारतीय प्रयोगशालाको सम्पूर्ण नियन्त्रणमा हुनु । स्वास्थ्य परीक्षण र रिपोर्टको गोपनीयता चिकित्सा विज्ञानमा संवेदनशील मानिन्छ । तर, नेपालबाट निर्बाध भारत गएका स्वास्थ्य नमुना के कसरी राखिएका छन् वा कुन–कुन काममा प्रयोग गरिएका छन् भन्नेतर्फ कसैले ध्यान दिएको छैन । नेपाली एजेन्ट र बिरामीले प्रयोगशाला प्रतिवेदन प्राप्त गरेपछि आफ्नो सरोकार सकिएको ठान्छन् । तर, आफ्नो व्यक्तिगत विवरणसहित भारत पुगेको नमुना कहाँ, कसरी, कसले प्रयोग वा अध्ययन गरेको छ ? भारतीय ल्याबबाहेक नेपाली एजेन्टहरूलाई पनि थाहा छैन । यसबारे जिज्ञासा राख्दा स्वास्थ्य मन्त्रालयका प्रवक्ता भोगेन्द्रराज डोटेल आफैँ आश्चर्यचकित भए । उनको प्रतिक्रिया थियो, “ओहो यो त गम्भीर सन्दर्भ हो ।”

रगत र मानव तन्तुका नमुनाबाट मान्छेको सम्पूर्ण वंशानुगत अध्ययन गर्न सकिन्छ र यस्तो अध्ययनका लागि नेपाली नमुनाहरूको माग बढ्दै गएको छ । नेपालीहरूको स्वास्थ्यसम्बन्धी नमुनाको सुरक्षा कति गहन छ भन्ने बुझ्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १० माघ ०७२ मा गरेको एउटा निर्णय पर्याप्त छ । परिषद्ले नेपालबाट जेनेटिक लगायतका कुनै पनि अनुसन्धान गर्न नेपालीहरूको स्वास्थ्यसम्बन्धी नमुना (होल स्याम्यल) विदेश लैजान नपाउने निर्णय गरेको छ । त्यसअघिसम्म विभिन्न अध्ययनका लागि नेपाली जीन संसारभरि पुग्थ्यो । परिषद्का सदस्य सचिव डा खेम कार्कीका अनुसार नेपाली जीन निर्वाध रूपमा विदेश लाने र आफूखुसी अनुसन्धान तथा परीक्षण गर्नु असाध्यै खतरनाक भएकाले रोकिएको हो । डा कार्की भन्छन्, “संसारका कुनै पनि देशको जीन अर्को देशमा कुनै पनि नाममा लैजान पाइन्न । त्यसैले हामीले अनुसन्धानका नाममा नेपाली जीन पैठारी हुने क्रममा रोक लगाएका हौँ । तर, परीक्षणका नाममा भारत गइरहेकै छ ।”

नेपाली जीवजन्तुको जीन संरक्षणका सन्दर्भमा वन मन्त्रालयले ०६० मै नेपालमा अनुसन्धान तथा परीक्षण असम्भव भएको खण्डमा मात्र कुनै जन्तु र पंक्षीको रगत एवं भुत्ला अनुसन्धान तथा परीक्षणका लागि विदेश लैजान सकिने निर्णय गरेको छ । तर, त्यसका लागि सरकारको पूर्वस्वीकृत लिनुपर्ने, विदेशमा लगिएको पशुपंक्षीको जीनको परीक्षण तथा अनुसन्धानको नतिजाको हकाधिकार नेपालको समेत हुने सर्त पनि वन मन्त्रालयले निर्धारण गरेको छ । तर, मानव स्वास्थ्य परीक्षणका नाममा बर्सेनि भारत निकासी हुने मानव जीनबारे स्वास्थ्य मन्त्रालयले कुनै नीतिगत तथा कानुनी व्यवस्था गरेको छैन । वार्षिक करिब एक लाखभन्दा बढी नेपाली नमुना (होल स्याम्पल) विभिन्न माध्यमबाट भारतीय प्रयोगशाला पुर्‍याइएको अनुमान यस क्षेत्रका विज्ञहरूको छ ।

स्वास्थ्य परीक्षणका नाममा ल्याबहरूले भारत निकासी गरेका नेपाली जीन भारतीय प्रयोगशालाहरूले आफ्नो डाटा बैंकमा राखेका छन् । दृष्टान्तका लागि एसआरएल ल्याबले आफ्नो वेबसाइटमा परीक्षणका लागि त्यहाँ पठाइएका स्वास्थ्यसम्बन्धी रिपोर्ट आफ्नो डाटा बैंकमा सुरक्षित रहेको उल्लेख गर्दै कसैले थप अध्ययनका लागि माग गरेमा उपलब्ध गराउन सकिने उल्लेख गरेको छ । प्याथोलोजिस्ट डा गिरिष्मा श्रेष्ठ भन्छिन्, “बिरामीको पूर्वस्वीकृतिबिना कुनै पनि नमुना र रिपोर्ट अरू कुनै प्रयोजनका लागि प्रयोग गर्न मिल्दैन । तर, देशबाहिर गएका नमुना र रिपोर्ट सदुपयोग वा दुरुपयोग के हुन्छ, कसले भन्न सक्छ र ?”

यस्तो संवेदनशील विषयमा पनि कुनै नियमन र कानुनी कारबाहीको व्यवस्था मुलुकमा छैन । सरकारी निरीहता कतिसम्म छ भने निजी क्षेत्रबाट खुलेका सबै ल्याबलाई अहिलेसम्म आफ्नो दायरमा समेत ल्याउन सकेको छैन स्वास्थ्य मन्त्रालयले । मन्त्रालयको यही कमजोरीले गर्दा स्वास्थ्य परीक्षणका नाममा जथाभावी खुलेका ल्याबहरूको मनोमानी बढ्दै गएको छ । थाइरोकेअरलाई नै उदाहरण मान्ने हो भने पनि अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र जिल्ला जनस्वास्थ्य कार्यालयमा यो संस्था दर्ता भएको छैन । कानुनत: कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएपछि सरकारी मापदण्ड अनुसार नेपालमा खुल्ने हरेक प्रयोगशाला जिल्ला जनस्वास्थ्य कार्यालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दर्ता हुनुपर्छ ।

सही स्वास्थ्य परीक्षणले बिरामीको रोगको अवस्था, उपचार विधि, उपचारपछिको बिरामीको अवस्थाजस्ता अति महत्त्वपूर्ण कुराहरू निर्धारण हुन्छन् । सही स्वास्थ्य परीक्षणले मात्र सही उपचार सम्भव हुन्छ । “प्रयोगशालाले गलत रिपोर्ट दिएमा बिरामीको ज्यानै जोखिममा पर्छ, त्यसैले चिकित्सा विज्ञानमा स्वास्थ्य परीक्षणलाई जीवन र मृत्युको मानक मानिएको छ,” डीएनए विशेषज्ञ दिवेश कर्माचार्य भन्छन् । यति महत्त्वपूर्ण क्षेत्रलाई पूरै हेलचक्र्याइँ र बेवास्ता मात्र गरिएको छैन, नाफाखोर कम्पनीका एजेन्टहरूको जिम्मामा छोडिएको छ । हुँदाहुँदा कति नमुना भारत गए, ती कहाँ कसरी परीक्षण भए र रिपोर्ट कसरी तयार भयो भन्नेबारे कसैले खोजीसमेत गरेको छैन । मन्त्रालयका प्रवक्ता डोटेल भन्छन्, “जथाभावी गर्ने ल्याबहरूलाई कारबाही गर्न र अहिले देखिएका विकृति रोक्न हामी छुट्टै ऐनको मस्यौदाको तयारीमा जुटेका छौँ । ल्याब टेस्टका नाममा भएको बेथिति कहालीलाग्दो छ । जनस्वास्थ्यसम्बन्धी ऐन ल्याएर मात्र अहिले भएका गैरकानुनी र अवैध काम रोक्न सकिन्छ ।” 

चक्कर कमिसनको

भारतीय ल्याबहरूले आफूकहाँ नमुना पठाइदिने नेपाली ल्याबलाई कमिसन दिन्छन् भने नेपाली ल्याबले स्वास्थ्य नमुना संकलन गर्ने पोलिक्निकलाई । पोलिक्लिनिकले प्रेस्किप्सन लेख्ने चिकित्सकलाई कमिसन दिन्छन् । पाइलैपिच्छे कमिसनको खेल हुँदा नेपालमै हुने स्वास्थ्य जाँचका नमुना अनियन्त्रित रूपमा भारत पुग्ने गरेका छन् । एक ल्याब सञ्चालकका भनाइमा नेपाली बिरामीको सामान्य रोग पत्ता लगाउनसमेत स्वास्थ्य नमुना भारत पठाउँदा ल्याबहरूले ४० प्रतिशतसम्म कमिसन पाउँछन् । 

विज्ञहरूका अनुसार क्यान्सरका सबै परीक्षण नेपालमै सम्भव भइसकेको छ । क्यान्सरको सेल परीक्षण गर्न अत्यधिक महँगो मानिने फ्लोसाइटोमेट्री प्रविधिमा आधारित मेसिनसमेत भरतपुर क्यान्सर अस्पतालले ल्याइसकेको छ, जसको लागत नै करिब तीन करोड रुपियाँ पर्छ । माइक्रो बाइलोजी, ब्याक्टेरिया टेस्ट, बायोकेमेस्ट्री, हिमाटोलोजी, हिस्टोप्याथोलोजी, सेरोलोजी, इमुनोलोजी आदि अधिकांश जाँचहरू यहीँ सम्भव रहेको डीनए विशेषज्ञ दिवेश बज्राचार्य बताउँछन् । तर, भारतीय ल्याबका नेपाली एजेन्टहरूले मधुमेह, स्तन तथा अन्य क्यान्सर, थाइराइडको प्रोफाइल टेस्ट, भिटामिन डी, ट्युमर मार्करको लेबल, हर्मोनको लेबल, इन्फेक्सन, हेपाटाइटिस सी आदि जस्ता सामान्यभन्दा सामान्य परीक्षणका लागि समेत भारत लैजाने गरेका छन् ।

नेपाली नमुना भारत पठाउनुमा ल्याबको मात्र दोषचाहिँ छैन, भारतमा राम्रो परीक्षण हुन्छ भन्ने बिरामीहरूको आममनोविज्ञानले पनि यो कारोबार फस्टाउन मद्दत गरेको छ । स्याम्पल भारत लगेर परीक्षण गर्ने भनेपछि जति पैसा तिर्न पनि तयार हुने बिरामीका कारण ल्याबहरूले फाइदा उठाउन पाएका हुन् । त्यस्तै नेपाली बिरामीको स्वास्थ्य स्याम्पल भारतीय प्रयोगशालामा पठाउने खेलमा चिकित्सक, पोलिक्लिनिक, काठमाडौँमा क्रियाशील भारतीय ल्याब र भारतका ल्याबबीच फैलिएको कमिसनको जालोले मुख्य भूमिका खेलेको छ । 

यसरी स्वास्थ्य परीक्षणका नाममा आर्थिक कारोबार थोरै छैन । निजी स्तरमा खुलेका ल्याबहरूले मात्र वर्षमा करिब १५ अर्ब रुपियाँभन्दा बढीको कारोबार गर्ने गरेको अनुमान छ । यो रकममध्ये स्वास्थ्य परीक्षणका लागि नेपाली प्रयोगशाला र तिनका एजेन्टमार्फत करिब तीन अर्ब रुपियाँभन्दा बढी भारत जाने गरेको अनुमान छ । “स्वास्थ्य परीक्षणका लागि बर्सेनि भारत जाने गरेको रकमले नेपालमै विश्वस्तरको ल्याब खोल्न सकिन्छ,” थापाथलीस्थित एक ल्याबका सञ्चालक मृगेन्द्रमान लाभाजु भन्छन्, “बिरामी र देशको माया कसैलाई छैन, स्वास्थ्य परीक्षणका नाममा भएको ब्रह्मलुट कहिले रोकिएला ?”

‘कमिसनबाहेक केही होइन’
डा गीता शाक्य, प्रमुख, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु​

नेपालमा खुलेका सबै ल्याब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दर्ता हुनुपर्ने नियम छ । तर, भारत स्याम्पल पठाउने केही ल्याब यहाँ दर्ता नै छैनन् । दर्ता हुनुपर्छ भन्दा दिल्लीबाटै डेलिगेसन आउँछ, कि त हामीलाई झुक्याइन्छ । भारतमा हुने सबै स्वास्थ्य परीक्षण नेपालमा सम्भव भइसकेको छ तर सानातिना रोगको परीक्षणका लागि पनि भारत पठाउनु दुर्भाग्य हो । नेपालमा महँगो पर्ने र भारतमा परीक्षणका लागि पठाउनुपर्ने नमुना नगण्य होला । भारतमा उपलब्ध सबै प्रविधि नेपालमै आइसकेको छ । अहिले स्वास्थ्य परीक्षणका नाममा भारतमा जुन स्याम्पल पठाइन्छ, त्यसको कारण कमिसनबाहेक केही होइन । त्यसै गरी त्यहाँ पठाइएका हाम्रा स्याम्पल अन्य प्रयोजनमा उपयोग गरिएको छैन भनेर ढुक्क हुने आधार पनि छैन । 

स्वास्थ्य परीक्षणका नाममा भारत स्याम्पल पठाएर जथाभावी गर्ने प्रयोगशालाहरूलाई अनुगमन, नियमन तथा कारबाही गर्न हामीसँग अधिकार छैन । अहिले ल्याबहरूले जे गरे पनि टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था छ । अधिकारै नभएकाले हामीले कारबाही पनि गर्न नमिल्ने, कारबाही गर्न खोजे ल्याबले हामीलाई नटेर्ने अवस्था छ । प्रयोगशालाको समग्र समस्या र विकृति समाधान गर्ने गरी छुट्टै ऐन ल्याउनुपर्छ, जसले नेपालमा हुने परीक्षणहरू विदेश पठाउन प्रतिबन्ध लगाओस् र भारत पठाइएका नेपाली जीनको सुरक्षा लगायतका संवेदनशील मुद्दालाई पनि सम्बोधन गर्न सकोस् ।

 

प्रकाशित: माघ ११, २०७३