नोटबुक

- रवि मानन्धर

शौच सन्दर्भ

एक मित्रलाई भेट्न चक्रपथमा पेट्रोल पम्पअगाडि उभिरहेको थिएँ । कलंकीतिरबाट हुत्तिँदै आएको बस मेरोअगाडि रोकियो । बसको ढोकाबाट एक अधबैँसे गोरो वर्णका पुरुष हतारहतार बाहिर निस्किए । भित्रबाट कसैले जोडले फालेको हुनुपर्छ, उनको पछिपछि एउटा ठूलो ब्याग हुत्तिँदै धूलो उडाउँदै मेरो नजिकै भुइँमा बज्रियो । उनी ब्याग घिसार्दै ल्याएर एकछिन ‘हेर्दिनू है’ भन्दै नजिकै भित्तातर्फ फर्केर शौच गर्न थाले । अँध्यारोले खासै राज जमाइसकेको थिएन । बाटोमा हिँड्नेहरु उनलाई देखेर लजाउँदै थिए । कोहीचाहिँ कस्तो पात्तिएको मान्छे भनेर गाली गर्दै थिए । 

यो पारा देखेर मलाई पनि रिस उठ्यो । मनमनै उनलाई गाली गर्ने उपयुक्त शब्द सोच्दै थिएँ । तर, मैले कुरो झिक्नु पहिल्यै सुरुवालको तुना कस्दै उनले आफ्नो भनाइ सिध्याए । उनको कुरा सुनेपछि मलाई उनीसँग होइन, उनी आएको बससँग रिस उठ्यो । डाइबिटिजका बिरामी उनी सजिलो होस् भनेर महँगो भाडा पर्ने टुरिस्ट बसमा आएका रहेछन्, पोखराबाट । बाटोमा दुई बोतल पानी पनि दिएको रहेछ । तर, पिसाब फेर्नका लागि दुई ठाउँमा मात्र रोकेछ । उनले नागढुंगाको उकालो चढ्नुअघि नै बस रोकिदिन आग्रह गर्दा पनि चालक र सहचालक दुवैले अलि अगाडि रोक्छाँै भन्दै कलंकी नै ल्याइपुर्‍याएछन् । उनको गुनासो थियो, ‘पिसाब फेर्न नरोक्ने बसले पानीचाहिँ किन दिएको ? खाएपछि निकाल्न पनि पर्छ भन्ने बसवालालाई थाहा छैन कि कसो !’ 

उनको गुनासो ठीकै पनि हो । तर, स–सानो दूरीमा रोकी–रोकी हिँड्दा बस गन्तव्यमा पुग्न ढिलो हुन सक्छ । बरु, बसभित्रै शौचालयको व्यवस्था गर्ने र शौच गरेको पैसा लिने व्यवस्था गर्दा राम्रो होला कि ! कि कसो ?

अस्पतालको भाइबर सेवा

प्रसंग केही समयअघिको हो । घर बनाउने क्रममा फलामको काम गर्दै गरेका मिस्त्रीको गोडामा चोट लागेछ । ठेकेदारले ‘छिटो आउनूस्’ भनेर खबर गरेपछि अफिस हिँडेको म फनक्क फर्किएँ । गोडाको बूढी आैँलामा प्लास्टिक बेरेर बसेका उनलाई हतारहतार स्वयम्भू चक्रपथनजिकैको मनमोहन मेमोरियल अस्पताल पुर्‍याएँ । 

आकस्मिक कक्ष पूरै खाली थियो । डाक्टर/नर्सहरु तयारी अवस्थामा थिए । टिटानसको सुई दिने, एक्सरे लिनेदेखि घाउ सफा गर्नेसम्मका काम फटाफट भए । अब पालो थियो, काटिएको ठाउँमा टाँका लगाउने । टाँका लगाउनै लागेका चिकित्सकले हाड चर्किएको वा काटिएको हुन सक्ने शंका गरी पुन: एक्सरे मागे । एक्सरेमा देखिएको सानो सेतो धर्साे हाडमा लागेको चोट हो वा होइन भन्ने विषयमा त्यहाँ रहेका चिकित्सकबीच व्यापक छलफल भयो । अन्तत: हाडजोर्नी विशेषज्ञलाई देखाउनुपर्ने निधो भयो । हाडजोर्नी विशेषज्ञ अस्पतालमा थिएनन् । फोनबाट खबर भयो । केही मिनेट कुर्नुपर्ने भयो । 

केही मिनेट भनिएको समय एक घन्टा, दुई घन्टा हँुदै १ बजेतिर अस्पताल पुगेको हाम्रो घडीमा ५ बज्यो । अब हामीलाई भन्दा त्यहाँ रहेका चिकित्सकहरुलाई छटपटी हुन थाल्यो । हामी काउन्टरमा देख्ने गरी बसेका थियाँै । एक चिकित्सकले अलि टाढा गएर फोनमा कुरा गरेलगत्तै हामीसँग एक्सरे मागेर लाइटबक्समा राखेर फटाफट फोटो खिच्न थाले । फोटो खिचेपछि उनले आफ्नो मोबाइलको कि–प्याडमा आँैला चलाउँदै भने, ‘फोटो पाउनुभो ? हेर्नूस् है, मैले भाइबरमा पठाएको छु ।’ उताबाट के भनियो, सुनिएन । केहीछिनमा उनै चिकित्सकको मोबाइल बज्यो । छोटो कुराकानीपछि हामीलाई हाडमा कुनै चोट नलागेको जानकारी दिइयो र टाँका लगाएर भोलि फलोअपमा आउन भनियो । बिरामीचाहिँ अस्पतालमा बस्न नपरेकाले खुसी थिए । मलाई भने भाइबरबाट लिएको सेवामा विश्वास लागिरहेको थिएन । 

भोलिपल्ट फलोअपमा एक्सरे हेरेपछि पनि हड्डीमा चोट नलागेको प्रमाणित भयो । चार खेप ड्रेसिङ र केही दिनको आरामपछि मिस्त्री तगडा भए । शंका लागेर के गर्नु, निको भएपछि भाइबर सेवा पनि मान्नै पर्‍यो । जय मनमोहन भाइबर सेवा !

बजारमा नचल्ने हजार 

अचेल बैंकहरुका एटीएमबाट पाँच सय रूपियाँभन्दा तलका नोट निस्कँदैनन् । अझ कतिमा त पाँच सयको नोट नै राखिएको हुँदैन या सकिएको हुन्छ । एटीएमबाट निकालिएको हजारको नोट बोकेर सामान किन्न गयो, १ सय ५०, दुई सयसम्मको सामान किन्दा पनि पसलेहरु त्यो नोट साटेर सामान दिनुभन्दा बरु सामान नै नलगे नलगोस्जस्तो व्यवहार गर्छन् । कोही मोबाइलको रिचार्ज कार्ड भिडाएर साट्ने लोभ देखाउँछन् । यसरी बिहान–बिहानै धेरैपटक हजारको नोट बोकेर म मात्र होइन, अरु पनि थुप्रै भौँतारिरहेको भेटेको/देखेको छु । भारतमा त मोदी सरकारले हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाएर त्यहाँका जनताले दु:ख पाएका छन् नै, हामीले हजार र पाँच सयको नोट चल्दा पनि दु:ख पाउनुपरेको छ । बैंकले हजारको नोट मात्र दिने, पसलेहरुले हजारको नोटै नलिने । फसादै फसाद ! 

प्रकाशित: माघ १०, २०७३