तेस्रोलिंगी ‘सुपरमोडल’

- नेपाल संवाददाता

नेपाल टेलिभिजनमा आउने ‘संघर्ष’ कार्यक्रममा एकपटक त्यस्ता मानिसहरु झुल्किए, जसलाई सामाजिक रुपमा जुन लिंगको भनिन्थ्यो, उनीहरु त्यस्ता थिएनन् । अञ्जली लामालाई त्यस दिन आफू पनि त्यस्तै छु भन्ने थाहा भयो । उनै अञ्जलीको जीवनमा त्यसयता थुप्रै मोड आए । १९ माघबाट भारतको मुम्बईमा सुरु हुने बहुचर्चित ल्याक्मे फेसन सप्ताहमा पहिलो तेस्रो लिंगी मोडलका रुपमा सहभागिता जनाउादै छिन् । 

उनी छोराका रुपमा जन्मिइन् । नाम राखियो नवीन लामा । हुर्कंदै जाँदा भने उनमा छोरीको गुण हाबी हुन थाल्यो । शिक्षकहरुले उनको स्वभावबारे प्रश्न उठाउन थाले, साथीहरुले जिस्क्याउन । केटाकै जस्तो व्यवहार गर्न उनले पनि नखोजेकी होइनन् तर सकिनन् । गरिब परिवारमा जन्मिएकी लामालाई नुवाकोटको आफ्नो गाउँमा यी सब कुरा बुझ्न र बुझाउन गाह्रो थियो । ३२ वर्षे उनी अन्तर्राष्ट्रिय सुपरमोडलका रुपमा छिन् । वासिङ्टन पोस्टका लागि समान्था स्मिथले लेखेकी छन्, ‘उनको यो उदय नेपाल र भारतजस्ता मुलुकमा तेस्रो लिंगी समुदायका लागि आइरहेको परिवर्तनको प्रतिविम्ब हो ।” 

प्रकाशित: माघ ७, २०७३