सूर्य छाप स्वतन्त्र

  • पछिल्लो समय ४५ वटा जातीय संस्थाको छाता संगठन आदिवासी जनजाति राष्ट्रिय आन्दोलनको नेतृत्व गरिरहेका पद्मरत्न संघीयता र पहिचानको शुभ दिन आउनेमा निकै आशावादी छन् ।

- राजकुमार बानियाँ

‘स्वतन्त्र वामपन्थी ।’ 

बडो असजिलो परिचय छ पद्मरत्न तुलाधरको । उनका बारेमा धेरै भ्रम छन् । कोही भन्छन्– पद्मरत्न एमाले हुन् । कोही भन्छन्– उनी माओवादी हुन् । उनीचाहिँ आफूलाई एमाले–माले–माओवादी केही पनि मान्दैनन् । अहिलेसम्म कुनै दलको औपचारिक सदस्यता लिएका पनि छैनन् ।

पद्मरत्नको राजनीतिक इतिहास खोतल्ने हो भने ०४३ को राष्ट्रिय पञ्चायत चुनावसम्म नपुगी सुखै छैन । दलमाथि प्रतिबन्ध भएकाले त्यतिबेला स्वतन्त्र रूपमा लड्नुको विकल्प थिएन । तर, उनी साबित भए, चर्का बहुदलवादी । 

वसन्तपुरको चुनावी भाषण कति लोकप्रिय भने उनलाई नै थाहा नदिईकन क्यासेट बनाएर बिक्री गरिन्थ्यो । क्यासेट विदेशसमेत पुगेछन् । सार्वजनिक स्थानमा बजाउँदा तत्काल जफत हुन्थ्यो । 

पद्मरत्नको चुनावी चिह्न थियो– सूर्य । उनले रोजेको होइन, टिनको बाकसमा गोलाप्रथामा तानेको । त्यो चिह्नमा उनी अत्यधिक बहुमत ल्याएर राष्ट्रिय पञ्चायत सदस्य (रापंस) भए । वास्तवमा त्यो ०३८ सालदेखिको जनइच्छाको प्रतिविम्ब थियो । एक चिनारु महिलाले ‘पद्मरत्न पनि पञ्चे बन्न लागेको’ भनेर व्यंग्य कसेपछि मैदान छाडेका थिए उनले । 

“जस्तो बहुदलवादी भएर चुनाव जिते पनि पञ्च नै भइदिने, मन्त्री नै खाइदिने प्रवृत्ति थियो रापंसमा,” उनी भन्छन्, “म पञ्च पनि होइन, कांग्रेस–कम्युनिस्ट पनि होइन, स्वतन्त्र हुँ भन्थेँ ।” तर, खाँटी रापंसहरूले बोल्न दिए पो ! आपत्ति र नियमापत्तिको शृंखला चलिहाल्थ्यो, ‘पञ्च होइन भन्न पाइँदैन ।’ त्यसको अग्रपंक्तिमा थिइन्, सुशीला थापा । सूर्यबहादुर थापा, राजेश्वर देवकोटा, कमल थापालगायतका ‘राजनीतिक खालका पञ्चहरू’ विचार सुन्ने पक्षमा हुन्थे रे !

राष्ट्रिय पञ्चायत भवनमै पटक–पटक रोए पद्मरत्न । “बहुदलका कुरा गर्दा पनि मलाई रुन आउँथ्यो, भ्रष्टाचारका कुरा गर्दा पनि मलाई रुन आउँथ्यो,” उनी सम्झन्छन्, “सेन्टिमेन्टल कुरा आउँदा रुन आउँथ्यो, आफूलाई रोक्नै सक्दिनथेँ ।” 

पद्मरत्न चुनावी अभियानमा पनि रोए, किसानलाई खेतमा भेट्दा पनि रोए, अपांगता भएका व्यक्ति भेट्दा पनि रोए । खगेन्द्र नवजीवन केन्द्र पुग्दा कति भावुक भए भने कसैका आँखा छैनन्, कसैका हात छैनन्, कसैका खुट्टा छैनन् ।

०४३ को त्यो व्यक्तिगत चुनाव चिह्न ०४८ मा आएर पार्टीगत हुन पुग्यो । अर्थात्, नेकपा एमालेको चिह्न । उनलाई धर्मसंकट पर्‍यो, अब कुन चिह्न लिने ? नयाँ लिने कि पुरानोमै लड्ने ? अन्तत: काठमाडौँ–४ बाट चुनाव लडे सूर्य छाप स्वतन्त्र भएर ।

एमाले उम्मेदवार मनमोहन अधिकारी, साहना प्रधान, मदन भण्डारीलगायतका चुनावी सभामा भाषण गरे पद्मरत्नले । केपी ओलीको क्षेत्र दमकसमेत पुगेथे । उनलाई सबैले डाक्थे आफ्नो सभामा । तर, आफ्नो सभामा उनले कसैलाई बोलाएनन् । टोलटोलमा उनका छुट्टै सहयोग समिति थिए । 

प्रतिनिधिसभा सदस्य भएपछि सदनमा एमालेकै लहरमा बसे पद्मरत्न । तर, पार्टी सदस्यता लिएनन्, लेबी तिरेनन्, प्रमण्डलमा पनि परेनन् । “पार्टी सदस्य नहुँदा विदेश जाने डेलिगेसनमा म कहिल्यै परिनँ,” उनी सुनाउँछन्, “सभामुख दमननाथ ढुंगाना सोधिरहनुहुन्थ्यो, तपाईंको नाम किन आउँदैन ?” स्वतन्त्र हुनुको प्रमाणजस्तो भयो त्यो पनि । 

०५१ मा फेरि एमालेकै टिकटमा चुनाव लडे पद्मरत्न । पहिलो कम्युनिस्ट क्याबिनेटमा नौ महिना स्वास्थ्यमन्त्रीसमेत भए । स्लाइन पानीमा सहुलियत दिलाए । गाउँगाउँमा घुम्ती अस्पताल राख्न लगाए । जिल्लामा नबस्ने डाक्टरलाई हटाइदिए । नयाँ डाक्टर नियुक्त गरे । गणेशमान सिंहका कुरा पनि सुनेनन्, एमालेका कुरा पनि सुनेनन् । 

धरानको एउटा सभामा उनले गाईको मासु खान पाउनु हिन्दुइतर धर्मावलम्बीको मानव अधिकार भएको धारणा राखे । बारा गएर त्यही कुरा दोहोर्‍याए । संसद्मा हंगामा भयो । मन्त्रीको राजीनामा मागियो । उपप्रधानमन्त्री माधवकुमार नेपालले स्पष्टीकरणका लागि नेपाल टेलिभिजनमा पठाए । उनले त्यहाँ पनि त्यही भने, ‘धर्म र संस्कृति अनुसार गाईको मासु खान मिल्छ । भन्सारमै गाईको मासुको दरभाउ तोकिएको छ ।’

महाकाली सन्धिको विपक्षमा मत हालेका पद्मरत्न पछि वामदेव गौतम नेतृत्वको नेकपा मालेनजिक देखिए । ०५६ को आमनिर्वाचनमा नेकपा माले र तारा चिह्नसँगै पद्मरत्न पनि नराम्ररी ‘रिजेक्ट’ भए । ६० वर्ष लागेपछि त उनले सक्रिय राजनीति नै छाडिदिए ।

राणाकालमा काठमाडौँको असन र बांगेमुढानजिकै न्हाय्कँतला टोलमा जन्मेका पद्मरत्नको पुस्तैनी व्यापार ल्हासामा थियो । बाजे, बाबु, काका र दाजुले ल्हासामा ओमेगा घडी, कस्मिराको कपडालगायतको व्यापार गरे । उनको पालो आउने बेला ल्हासा चिनियाँ सरकारको नियन्त्रणमा गइहाल्यो । “मलाई पनि ल्हासा गएर व्यापार सम्हाल्ने रहर थियो,” उनी स्वीकार्छन्, “तर, घरको कान्छो छोरा भएकाले मेरो पालो आएन ।”

ल्हासामा निजी व्यापार नचल्ने भएपछि उनको परिवार काठमाडौँ नै फर्कियो र न्हाय्कँतलाको साढे पाँचतले घरमा खुद्रा तथा थोक व्यापार थाल्यो । त्यतिबेलाको सबभन्दा अग्लो ‘सिमेन्टको घर ।’ ०१४ मा बहिनीसित एसएलसी दिएका पद्मरत्न त्रिचन्द्र कलेज पढ्थे, फुर्सदमा पसलमै बस्थे । 

त्यतिबेला पत्रकार फत्तेबहादुर सिंहले नेपाल भाषा पत्रिका दैनिक निकाल्थे । त्यो पत्रिकामा नर्मदेश्वर प्रधान र पद्मरत्नले सघाउँथे । सुरुमा पद्मरत्न रासस र एएफपीको समाचारलाई नेपाल भाषामा उल्था गरिदिन्थे । पछि त सिंहले सम्पादकीय नै लेख्न लगाए । नाइँ भन्न नसक्ने स्वभावका कारण कालान्तरमा उनी त्यो पत्रिकाको स्वयंसेवी सम्पादक नै भए, ०४३ मा रापंस हुनुअघिसम्म । 

०१३ मा पद्मोदय स्कुल पढ्दादेखि नै नेपाल भाषा आन्दोलनमा जोडिएका हुन् पद्मरत्न । सुरुमा प्रेमबहादुर कंसाकारको उत्प्रेरणा पाए । मंका खल:को अध्यक्ष भए, भिन्तुना आन्दोलन चलाए । च्वस: पासा, नेपाल भाषा परिषद्मा पनि आबद्ध भए । 

अर्को एउटा घटना पनि छ । त्रिचन्द्र कलेजले साहित्यिक पत्रिका निकाल्थ्यो, ज्योति । उनले नेवारी भाषामा लेखिएका सामग्री राख्न अनुरोध गरे तर त्यसलाई स्वीकार गरिएन । त्यसपछि उनले नेपाल भाषाको छुट्टै पत्रिका निकाले– ज: । त्यसको अर्थ पनि ज्योति नै हुन्थ्यो । उनले त्रिचन्द्रमा नेपाल भाषा साहित्य पाला: खोले ।

०१५ को आमनिर्वाचनमा पुष्पलाल श्रेष्ठ र गणेशमान दुवै उम्मेदवार थिए । राजनीतिक भन्दा पनि छिमेकीका नाताले पुष्पलालको पक्षमा उभिएछन्, पद्मरत्न । अर्का छिमेकी दुर्गालाल श्रेष्ठले पनि उनकै पक्षमा गीत लेखे । नारायण गोपाल र प्रेमध्वज प्रधानले ट्रकमा गीत गाएर प्रचार गरे । 

कुनै बेला पद्मरत्नले आफ्नै घरमा प्रेस पनि चलाए । मदन प्रिन्टिङ भन्ने पुरानो प्रेस किने पनि कमाउन भने सकेनन् । पोस्टर/पम्प्लेट छाप्नु परे विद्यार्थीले पनि पद्मरत्नलाई सम्झन्थे, शिक्षकले पनि उनैलाई । पैसा आउला आउला भन्दाभन्दै शिक्षक–विद्यार्थी नेता समातिन्थे, पैसा आउने बाटै बन्द हुन्थ्यो । 

“राती राती बसेर, मजदुरलाई ओभरटाइम राखेर काम गराउँथेँ,” उनी ०३६ ताकाको प्रसंग उप्काउँछन्, “म पैसा उठाउन नजान्ने, सबै उधारोमा काम गर्दा असनको घर नै बेच्नुपर्‍यो ।” त्यो प्रेसको उत्तराधिकारी उनकै जेठा छोरा सुजनरत्न छन् । न्यु कान्तिपुर प्रिन्टर्स उनको घरमै छ । 

उनको प्रेसमा शिक्षक–विद्यार्थीको मात्र नभएर कांग्रेस–कम्युनिस्टका पत्रिका पनि छापिन्थे । तत्कालीन नेकपा मालेको मुखपत्र छलफल छाप्दा नियमितजस्तै पैसा आउँथ्यो तर देशान्तर साप्ताहिकचाहिँ छापिने तर पैसा कहिल्यै नआउने ।

सबैले चिनेजानेका पद्मरत्नबाट ‘फ्रि प्रिन्टिङ’ त भइहाल्यो । तत्कालीन अखिल पाँचौँका नेता रघु पन्त, टंक कार्की, भीम रावल, भीम न्यौपानेहरूले उनलाई पहिलो पटक नेपाली भाषामा नि:शुल्क भाषणसमेत गराएछन् । पछि शिक्षकहरूले पनि भाषण गराउन थाले । त्यही सम्पर्कका कारण उनको लैनचौरस्थित घरमा साइकल चढेर पुगिरहन्थे माधव नेपाल । 

रापंस भएपछि पद्मरत्नलाई विदेशी राजदूतहरूले बहुदलीय व्यवस्था स्थापनाका लागि कांग्रेस–कम्युनिस्ट सहकार्य गर्नुपर्ने सुझाव दिन्थे । उनी कम्युनिस्ट नेताहरूसहित गणेशमान सिंहको निवास चाक्सीबारी पुग्थे । तथानाम कम्युनिस्टको विरोध गरिरहन्थे गणेशमान । भनिरहन्थे, ‘कम्युनिस्टलाई त पत्याउन सकिन्नँ । ०१४ सालकै सत्याग्रहमा धोका दिए । अब कति समूहसँग मिल्ने, कुन कुन पार्टीसँग मिल्ने ? पहिले कम्युनिस्टलाई नै एक ठाउँमा ल्याउनूस् ।’ 

त्यतिबेला कम्युनिस्ट घटक नै १२ वटा थिए । तिनीहरू एउटै टेबलमा बस्नु त परै जाओस्, हातसमेत मिलाउँदैनथे । पद्मरत्नले बल्लबल्ल आफ्नै घरमा सुकुल बिच्छाएर सात कम्युनिस्ट घटकको जमघट गराए । तुलसीलाल अमात्य मानार्थ अध्यक्ष रहेको संयुक्त वाममोर्चा बनाएपछि बाबुराम भट्टराईले फोन गरे, ‘हामी पाँच वामपन्थी घटकको संयुक्त राष्ट्रिय जनआन्दोलनमा तपाईं पनि सदस्य बसिदिनुपर्‍यो ।’ पद्मरत्न कस्ता भने राजा वीरेन्द्रले समेत पौने दुई घन्टा दर्शनभेट दिए । 

संयुक्त वाममोर्चा गणेशमानलाई सर्वमान्य नेता मानेर जनआन्दोलनमा जान सहमत भयो । घरमै गएर तुलसीलालले त्यो प्रस्ताव राखेपछि गणेशमानले भने, ‘आज मेरा लागि अत्यन्त हर्षको दिन हो । कम्युनिस्टले समेत मलाई नेता माने ।’ कांग्रेस–कम्युनिस्ट हातेमालोबाटै ०४६ को जनआन्दोलन सफल भयो । 

माओवादी सशस्त्र द्वन्द्वताका सरकार–विद्रोहीको सम्पर्क व्यक्ति पनि भए पद्मरत्न । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई प्रस्ताव गरे, ‘वामपन्थीबारे हामीलाई थाहै हुन्न । लौन माओवादीलाई वार्तामा ल्याइदिनु पर्‍यो ।’ थाहा दिन उनले बालुवाटारमा रिमको मुखपत्र अ वल्र्ड टू विन पठाइदिए । 

बाबुराम भट्टराई, मोहन वैद्यसित उनको पुरानै चिनजान थियो । त्यसबीचमा प्रचण्डसित पनि सम्पर्क भयो । आफ्नो छोरालाई गाडी हाँक्न लगाएर तत्कालीन गृहमन्त्री रामचन्द्र पौडेल र माओवादी नेता रवीन्द्र श्रेष्ठबीच भेटघाट गराए । रवीन्द्रले कुरा सुरु गरे, ‘मैले नेविसंघबाट राजनीति सुरु गरेको हुँ, तपाईंले अखिलबाट ।’ लगत्तै तीन चरणमा औपचारिक वार्तासमेत भयो ।

लोकेन्द्रबहादुर चन्दका पालामा सेक्रेट सिरियस टक अब्रोड (एसएसटीए)को तयारी भयो । त्यसमा जेनेभास्थित ह्युमनेटेरिएन डाइलग सेन्टरले सघाउने पनि तय भयो । ६ सिटे जहाज एयरपोर्टमा आयो पनि । तर, अन्त्यमा चन्दले ‘डिस्क्लोज’ भइसकेको भन्दै रद्द गरिदिए । त्यसमा जानेवाला थिए, कमल थापा, शरदचन्द्र शाह, कृष्णबहादुर महरा, सुरेश आलेमगर र पद्मरत्न । त्यसयता बृहत् शान्ति सम्झौतासम्म उनको सहजकर्ताको सक्रिय भूमिका रह्यो । संविधानसभामा एमालेले समानुपातिक सांसद र माओवादीले सभामुख अफर गरे पनि उनी तयार भएनन् । 

नेपाल मानव अधिकार संगठन र मानव अधिकार संरक्षण मञ्च दुवैमा काम गरेका पद्मरत्नका नेपाल भाषामा आधा दर्जन पुस्तक प्रकाशित छन् । रमाइलो के भने उनले आफैँले सोचेर कहिल्यै लेखेनन्, लेखिदेऊ भनेपछि मात्रै लेखे । जीवनमा उनले फुटबल पनि खेले । तर, अन्तर्मुखी स्वभावका कारण कहिल्यै टिममा परेनन् । टिममा परेको भनेको प्रधानमन्त्री ११ विरुद्ध रापंस ११ मा हो । 

कुनै बेला गितार र बेन्जो बजाउने पद्मरत्नसित पारिवारिक जमघटमा अन्ताक्षरी खेलेको अनुभव पनि छ । १८ वर्षको उमेरमा दुई काकासहित उनको बिहे भएको थियो, एउटै लगनमा । घरबाट पाँच मिनेटको दूरीमा थियो ससुराली । १४ वर्षकी नीलशोभाको परिवार पनि ल्हासामै व्यापार गथ्र्यो । 

उनका दुई छोरा छन्, सुजनरत्न र श्रवण । दुई छोरी छन्, सुनीता र सुम्निमा । सरकार–माओवादी उच्चस्तरीय संवाद भएको दिन जन्मेका नातिको नाम राखेका छन्, शिखर संवाद प्रधान (सुम्निमा–गौरी प्रधानका छोरा) । 

घरेलु पूजाआजामा सामेल हुँदैनन् पद्मरत्न । तर, क्रिसमसको शुभकामना दिन भने पुगिहाल्छन् । घरमा धर्म नमान्ने, बाहिर धर्मकै भाषण दिने भनेर आलोचना पनि खेप्छन् । चुरोटका अम्मली उनी ०४८ मा मदन भण्डारीको चुनाव क्षेत्रमा एक घन्टा लामो भाषण गर्दागर्दै ढलेका थिए । उनको मुटुमा तीनवटा स्ट्रेन राखिएको छ । लजालु र शान्त स्वभावका उनले रापंस हुँदा ह्विस्की खान सिकेका रहेछन् । 

पछिल्लो समय ४५ वटा जातीय संस्थाको छाता संगठन आदिवासी जनजाति राष्ट्रिय आन्दोलनको नेतृत्व गरिरहेका पद्मरत्न संघीयता र पहिचानको शुभ दिन आउनेमा निकै आशावादी छन् । आजपछि भोलि, अँध्यारोपछि उज्यालो, दु:खपछि सुख आउँछ भन्ने उनको अटल विश्वास छ । उनलाई लाग्दैन, आज जे भएको छ, भोलि पनि त्यही हुन्छ । 

‘भर्खर ७६’

नियमित फ्रेन्च कट दाह्रीमै भेटिन्छन्, पद्मरत्न तुलाधर । ४० वर्षदेखि उनले त्यो स्टाइल बदलेका छैनन् । पसलमा साथीहरूसित गफिँदागफिँदै आएको सोख थियो त्यो । असमयमै उनको दाह्री सेताम्मे फुल्यो । सबै उनलाई ‘दाइ, दाइ’ भन्छन् । 

जनआन्दोलन–२ ताका सशस्त्र प्रहरीको गण दुवाकोटका बस्दा पूर्वन्यायाधीश लक्ष्मण अर्यालले सोधेछन्, ‘पद्मरत्न दाइ कति वर्ष ?’ उनले भनेछन्, ‘६७ ।’ लक्ष्मणले भनेछन्, ‘दाइ त मभन्दा पनि कान्छो हुनुहुँदो रहेछ !’

अहिले कसैले उमेर सोधे पद्मरत्न एक्लो दाँत देखाएर भन्छन्, ‘भर्खर ७६ ।’ लौरोबिना बाहिरफेर ननिस्कने पद्मरत्नले त्यो दाँत उखेल्नुपर्छ भनेर नयाँ सेट पनि लगाएनन् । उनले ‘भर्खर’ थेगो किन थपेका हुन् भने आफ्नै टोलका राष्ट्रकवि माधव घिमिरे ९७ वर्षमा पनि स्वस्थ जीवन बिताइरहेका छन्, एउटै संस्थामा रहेका सत्यमोहन जोशी ९६ वर्षमा पनि ठमठम हिँडिरहेकै छन् । 

तीन दशकदेखि मुटुरोगको औषधि खाइरहेका उनी हिँडडुल गर्न सक्दैनन् । तल–माथि गर्दा स्याँस्याँ भइहाल्छ । धाराप्रवाह बोल्न पनि गाह्रो हुन्छ । “सत्यमोहन दाइ पाटनबाट हिँडेर रत्नपार्क आउनुहुन्छ,” उनको स्वीकारोक्ति छ, “म त जता गए पनि ट्याक्सीमै हो ।”

 

प्रकाशित: माघ ५, २०७३