आँसुका अक्षर बोकेर आइरहेछु

एक हातमा उपन्यास र एक हातमा दर्शनको प्रेस प्रति बोकेर आइरहेछु । विदेशमा बगिरहेका नेपाली अाँसु बटुलेर पानाभरि अक्षर बनाएर आइरहेछु ।

- कृष्ण धरावासी

सन् २०१३ डिसेम्बरको तेस्रो सातातिर अमेरिकाको भिसा लागेको दिन मलाई खासै खुसी लागेको थिएन । मलाई मात्र के, घरमा कोही पनि उत्साहित थिएनन् । मञ्जुजीको नाममा परेको डीभी चिट्ठाले हाम्रा पासपोर्टमा छाप हनाएको थियो । सन् २००९ मै मैले युरोपका केही देश घुमिसकेको र विकासको चरम नमुना देखिसकेको हुनाले अमेरिका देख्न वा घुम्न उति उत्ताउलो थिएन मन । दस वर्ष बेलायतमा बिताएकी मञ्जुजीले पनि कुनै रोमाञ्चक अनुभूतिसँग जोड्नु भएको थिएन ।

केटाकेटीहरूमा दोहोरो मनस्थिति थियो । एक मनले उनीहरू उत्साहित थिए, हामी उता पुगेर प्रक्रिया चलाइदिए उनीहरू पनि बिस्तारै छिर्न पाउनेछन् । तर, त्यसका लागि उनीहरूले हाम्रो सान्निध्य गुमाउँदै थिए ।

लामो जागिरे जीवनबाट स्वैच्छिक अवकाश लिएर पूर्णकालीन लेखक बन्ने घोषणा गरी घरमै लेख्नमा व्यस्त भएको म एकाएक कलम रोकेर अलमल्ल परी उभिन पुगेको थिएँ । भिसा लागिसके पनि त यसै पनि गर्दै गरेका काम छोडेर हिँड्ने तयारीमा लाग्नु नै थियो । फेरि यो केही हप्ता या महिनामा फर्किने कुनै विदेश यात्रा थिएन । घटीमा पनि दस वर्षसम्म स्थायी बसोवास गर्ने पाउन स्वीकृति प्राप्त भिसा थियो । सोच्थेँ, के गर्नु मैले दस वर्षसम्म अमेरिकामा ? अमेरिकाका बारेमा भन्नेहरू भन्थे अमेरिका त पृथ्वीको स्वर्ग नै हो । त्यहाँ जान पाउनु मानिसको जन्म सार्थक हुनु हो । किन उनीहरू त्यसो भन्थे ? त्यस बेला पनि बुझेको थिइनँ र आज पनि बुझेको छैन । मनमा कुनै हर्ष र उत्साह थिएन तर साथीभाइ र आफन्तहरूका किसिम किसिमका मिश्रित प्रतिक्रिया थिए । कोही भन्थे, तिमीजस्तो मान्छेले पनि यो उमेरमा आएर देश छोड्नुहुन्छ ? तिमीलाई अझै के पुगेन ? कोही भन्थे तिमी त भाग्यमानी रहेछौ संसार घुम्न पाउने भयौ । लौ यो मौका नचुकाऊ ।

आफूलाई भने मनमनमा त्यसै विरक्त लागेर आइरहेको थियो । साँच्चै नै यो ५० को बाटोमा पाइला चलाइरहेको म अब कता हिँड्न लागेको होला त ! साँझ परेपछि चराहरू पनि बास बस्न गुँडतिर फर्किन्छन् । जीवनको साँझतिर उक्लँदै गरेको यो उमेरमा मचाहिँ कहाँ, किन र केका लागि हिँड्न लागेको हुँला ? सपनाहरू पनि विरक्तलाग्दा देखिन्थे ।

तारानाथ शर्माले सात वर्षसम्म अमेरिकामा बसेर गरेको अनुभवमा आधारित कृति पाताल प्रवासमा ‘बिलाउनेको देशमा’ शीर्षकको एक मार्मिक लेख पढेको थिएँ । धेरै साहित्यकार, पत्रकार, लेखक, खेलाडी अमेरिकामा आएर हराएका, बिलाएका थिए । मलाई पनि डर थियो, कतै म पनि बिलाउने त होइन ?

मैले सम्झेँ, सात वर्षको उमेरमा ०२४ पुसमा आमाबुबाले पाँचथरको अमरपुरबाट पैदल हिँडाउँदै पाँच दिनमा इलामको साँगरुम्बा निकालेका थिए । त्यसपछि झापाको शनिश्चरेमा ४० वर्ष किलो गाडिएको थियो । ०६४ सालमा जागिरको सिलसिलामा काठमाडौँ पस्दा एउटा छोरो विवेक सँगै पछि लागेको थियो । त्यसको तीन वर्षपछि काठमाडौँकै बासिन्दा हुँदै सपरिवार भेला भएका थियौँ । त्यसको ६ वर्षपछि मेरो नामको पासपोर्टमा अमेरिकी छाप लागेर बास बस्न लागेका घुँडा फेरि तन्किन लागेका थिए । सात वर्षको उमेरदेखि बसाइँ हिँड्न थालेको म ५२ वर्षपछि पनि बसाइँ नै हिँडिरहेको थिएँ । बिरालाले बच्चा सारेझैँ म अझै पनि बच्चै ओसार्ने काममा खटिएको थिएँ सायद । कैयौँ कुरा यस्ता हुन्छन्, जसलाई मनले मान्दैन तर गर्नुपर्छ । देख्नेहरूका लागि सामान्य एक झलक, एक सुझाव वा एक प्रतिक्रिया हुन्छ तर भोग्नेका लागि पाइलैपिच्छे तनाव र असहजता मडारिइरहन्छ ।

अमेरिका आइपुगेपछि मलाई हिँड्नुअगाडि जुन असहजता थियो, त्यो झन् बढेर आयो । आँखाले देख्ने यहाँका कुनै पनि कुरा र सौन्दर्यले मनलाई तान्न सकेन । भाषिक तथा शारीरिक कठिनाइले गर्दा म यहाँ झन् अयोग्य साबित हुँदै गएँ । जति–जति आफूलाई कमजोर देखिन्छ, त्यति नै त्यति आफ्ना पूर्वभूमिकाहरूको याद आउँदो रहेछ । मलाई पनि म त लेखक कृष्ण धरावासी पो हुँ त भन्ने अहम्ले पोल्न थाल्थ्यो तर त्यसको यहाँ के अर्थ ?

हतार–हतारमा गेस्टापोको विमोचन गरेर हिँडेको थिएँ । यहाँ आइपुगेपछि कागजको मान्छेमाथि काम गर्न थालेँ । अमेरिका आइपुगेर पनि दिनभरि घरमा बसेर नेपाली किताब लेखिरहनु भनेको एक प्रकारको अनौठै कुरा थियो । घन्टाको १० डलर कमाउन छोडेर सिंगै किताब लेखिसक्दा पनि एक हजार डलर नकमिने काममा लागेको देखेर मानिसहरू छक्क पर्थे । अप्रत्यक्ष रूपमा मलाई भन्दै पनि हुन्थे, यो लेख्ने मात्रै काम हो भने त नेपालमै बसेको भए भइहाल्थ्यो त † त्यसको लागि मसँग कुनै जवाफ थिएन । न म रहरले अमेरिका आएको थिएँ, न म मेरो खुसीले यहाँबाट फर्किन सक्थेँ ।
 विदेशको लामो अनुभव बोकेकी मञ्जुजीले चाँडै नै गाडी कुदाउन सिकेर काममा जान थालिसक्नुभएको थियो । म भने दिनभरि घरमै बसेर इमेल, इन्टरनेट, फेसबुक, च्याट र यूट्युबमा दिन बिताउन थालेँ । जीवनको १८ वर्षदेखि ५० वर्षसम्म आफँैले काम गरेर सबैका आवश्यकता पूरा गराएको अहम् पनि रैछ मसँग । अरूले कमाएर ल्याएकामा पालिनुपर्दा हुने हीनताबोधको अनुभूति त्यसअघि कहिल्यै भएको पनि रहेनछ । नेपालमा हुँदा आयस्रोतको पहिलो व्यक्ति मै थिएँ । म आफ्नो खुसीले आर्थिक निर्णय गने सक्थेँ । अब मलाई बिनाकारण आफू पराश्रित हुँदै गएको अनुभूति हुन थाल्यो । हुन त मलाई मञ्जुजीले केही भन्नुभएको थिएन । उहाँले तपाईं आफ्नो लेख्ने काम नै गरेर बस्नुहोला, तपाईंले काम नगरे पनि हामीलाई पुग्छ भन्नुभएको थियो तर यो अहम्ले भरिएको लोग्नेमान्छेको मन । सायद स्वास्नीको कमाइ खानुपरेकामा उसको अहम्मा चोट परेथ्यो होला ।
पाँच महिना बिताउन मलाई पाँच वर्षझैँ भयो । बिहानदेखि बेलुकासम्म नेपालको समाचार हेरेर बस्थेँ । पहिलो संविधानसभाले संविधान बनाउन नसकेको समाचारले मन विरक्त भएको थियो । एउटा सचेत नागरिकको मन जसले ०३६ देखि ०६३ सालसम्म हरेक आन्दोलनमा सक्रिय रूपमा भाग लिएको थियो र गणतन्त्रको नारा लगाएका दिन अत्यधिक खुसी भएको थियो । तर, त्यसपछि बनेको संविधानसभाले संविधान बनाउनै नसकी विघटन भएका दिन ऊ अत्यधिक दु:खी भएको थियो । दोस्रो संविधानसभाको चुनावको मिति तोकिएपछि मैले नेपाल जाने टिकट काटेँ । मलाई लाग्यो, अबको सभाले जसरी भए पनि संविधान बनाउँछ । त्यो बन्ने संविधानमा यदि मैले यो चुनावमा मत नखसाले मेरो स्वामित्व कहाँनेर रहला त ? मैले यो संविधान मेरो पनि हो भन्ने गर्व कसरी गर्नू ? अनि, इतिहासमा घरिघरि यस्ता चुनाव भइरहँदैनन् । मैले जीवनमा यदि देशलाई केही पनि दिन सकिनँ भने पनि मेरो भोटले मैले देशप्रति गरेका सबै पाप काटिनेछन् । यो विचार मनमा आउनासाथ म धेरै भावुक भएँ । मैले यति चाँडै फर्किहाल्नुपर्ने उस्तो पारिवारिक कारण पनि केही थिएन । आर्थिक अवस्था पनि लगत्तै ११ सय डलर खर्च गरेर टिकट काट्ने भइसकेको थिएन । मित्र मोहन संग्रौलासँग टिकटको रकम सापटी मागी म त चढेँ हवाईजहाजमा ।

अमेरिका जाँदा भन्दा फर्किंदाको त्यो क्षण सारै हर्षलाग्दो थियो । सायद मैतालु फर्किएकी छोरीको मन यस्तै रमाएको हुँदो हो । मलाई भेटेर आफन्त र साथीभाइहरू फेरि पनि मिश्रित भएका थिए । कोही भन्थे, तिमीले फर्केर ठीक गर्‍यौ । तिमीजस्तो मान्छे त्यहाँ कहाँ बस्न सक्छौ र † कोही भन्थे, तिम्रो यहाँ के बित्तो थियो र पुग्नेबित्तिकै फर्केको ? यसो दुई–चार वर्ष ढुक्कले काम गरेर केही पैसा कमाएर आएको भए भइहाल्थ्यो नि † आ–आफ्ना ठाउँमा दुवै प्रतिक्रिया ठीकै थिए । म मसुमुसु हाँसिदिन्थेँ मात्र ।

यो पाँच महिनामा फर्किंदा मैले यात्रा संस्मरण कागजको मान्छे पूरा गरेर फर्केको थिएँ । प्रज्ञा भवनमा फेरि एकपल्ट मेरा काठमाडौँका साथी र शुभचिन्तक भेला भइदिए । यो अर्को हर्षको कुरा थियो । तर, दु:खको अर्को कुरा के थियो भने यसपालि मलाई कुनै समारोहमा आसन ग्रहण गराउनुपर्दा भर्खरै अमेरिकाबाट आउनुभएका साहित्यकार कृष्ण धरावासी भन्न थाले । मलाई पटक्कै मन नपर्ने सम्बोधन उनीहरूलाई किन मन परेको होला, मैले कहिल्यै बुझेको छैन । न अमेरिका भन्नु त्यस्तो ठूलो कुरा हो, न म नै अमेरिकी भएको हुँ !

त्यसको पाँच महिनापछि अमेरिका फर्किंदा मसँग मेरो झोलामा यादव भट्टराईले झोला फिल्मको सीडी पनि हालिदिएका थिए । अमेरिका उत्रिसक्दा यसपालि मसँग एउटा विशेष काम थियो मेरो रुचि र सरोकारको । नभन्दै मलाई त्यो फिल्मले निकै नै व्यस्त राख्यो । भर्जिनिया उत्रेको केही दिनमै आर्लिन्टनको लाइब्रेरीमा पहिलो पल्ट अमेरिकामा झोलाको प्रदर्शनी गरियो । त्यसको दुई हप्तापछि नै रुसका नेपाली साथीहरूको निमन्त्रणमा मस्कोतिर उडियो । १० दिनको मस्को यात्राको अनुभवमाथि तयार भएको रेड स्क्वाएर भन्ने पुस्तक पाठकले हेरिरहनुभएकै होला । झोलाले अमेरिका भ्रमण गराउने क्रममा एक वर्षमा २५ भन्दा बढी राज्यको भ्रमण गर्न पाइयो । त्यसैको उपलब्धि हो अमेरिकी नेपालीहरूको जीवन भोगाइमा आधारित उपन्यास ग्रेट फल्स ।

अर्को एक वर्षपछि दोस्रोपल्ट नेपाल फर्किंदा मसँग दुइटा नयाँ किताबका कम्प्युटर प्रति थिए । अमेरिका पुगेर हराउँछु कि भन्ने डरका परिणाम पनि हुन सक्छन् ती । दोस्रो नेपाल फिर्ती पनि उपलब्धिमूलक नै थियो । दुई कृतिको लोकार्पण र छोरीको विवाह दुवै असल कर्म हुन् भन्ने लागेको छ । विदेशमा आएर नेपालीका आँसु बटुल्ने काममा लागेको छु । ठीक गर्दै छु कि बेठीक, थाहा छैन । तेस्रो पल्ट अमेरिका फिर्दा पनि मैले यादव भट्टराईबाट एउटा घरको काम लिएर आएको थिएँ । मधेसकेन्द्रित कथानकमा आधारित फिल्मको पटकथा लेख्ने । यहाँ आएको केही महिनामा त्यो काम सकेर पठाइसकेको छु ।

यो एक वर्षमा मैले फेरि दुईवटा पुस्तक तयार गरेको छु । २७ वर्षदेखि लगातार लागिरहेको लीलालेखनमाथिको सैद्धान्तिक विश्लेषणको एक पुस्तक तयार भएको छ लीलाबोध नाम बोकेर । यो पुस्तक मेरो लेखकीय अहम्को एक प्रस्तुति पनि हुन सक्छ । दोस्रो एक उपन्यास छ, जसमा दलाललाई लाखौँ रकम खुवाएर वर्षौं लगाई अमेरिका छिर्नेहरूको यात्रा कथा समावेश छ । लगातार दुई वर्ष लगाई अत्यन्त मिहिनेतसाथ राधा किताबको अंग्रेजीमा अनुवाद गरी भर्खरै महेश पौडेलले पठाइदिएका छन् । त्यसलाई यतैबाट प्रकाशन गर्न प्रक्रियाको थालनी भएको छ । 

पहिलोपल्ट अमेरिकाका लागि उड्न लाग्दा ममा जुन निराशा थियो, आज त्यो छैन । यहाँ आएर पनि मैले आफ्नै रुचिको काम गर्न पाइरहेको छु । मेरा पाठक र शुभचिन्तकहरूलाई सायद म बाँचुन्जेलसम्म निरास पार्दिनँ पनि होला । ०३५ सालमा धरावासी उपनाम राखिरहँदा यो नामले मलाई यसरी बोकेर कुदाउला भन्ने कल्पना पनि गरिएको थिएन । आज यसले साँच्चै नै धरावासी नै बनाइरहेको छ । घुमाइरहेको छ ।

आगामी फेब्रुअरी १८ को टिकट काटेर ढुक्कले झोला कस्न लागेको छु । एक हातमा उपन्यास र एक हातमा दर्शनको प्रेस प्रति बोकेर आइरहेछु । विदेशमा बगिरहेका नेपाली अाँसु बटुलेर पानाभरि अक्षर बनाएर आइरहेछु । 

प्रकाशित: माघ ३, २०७३