‘हिमालयको स्वर्ग’

- नेपाल संवाददाता

सीएनएन अनलाइनले नेपालको पयर्टनमा भूमिका खेल्ने पाँच बुटिक होटललाई ‘हिमालयको स्वर्ग’ भन्दै छनोट गरेको छ । उसको सूचीमा काठमाडौँको द्वारिकाज होटल, पाटनको स्वथा ट्रेडिस्नल होम्स, पोखराको पेलिभियन्स हिमालय, चितवनको बाराही जंगल लज र भक्तपुरको हेरिटेज होटल छन् । 

मल्लकालीन समय र नेपाली संस्कृतिको झल्को भेटिने द्वारिकाजलाई ‘लिभिङ म्युजियम’का रुपमा बुझिन्छ । पाटनको स्वथा होम्स ७० वर्ष पुरानो नेवारी शैलीको घरको पुन:जीवन हो । पोखराको पेलिभियन्स हिमालय ‘ इको रिसोर्ट’ हो, जसको आफ्नै फार्म छ । त्यहाँ स्थानीयहरु नै काम गर्छन्, फार्मलाई परम्परागत शैलीबाट सिञ्चित गरिन्छ, उस्तै गरी ऊर्जा सिर्जना गरिन्छ ।

राप्ती किनारमा रहेको बाराही लजमा थारु संस्कृति र प्रकृतिको सुन्दर समिश्रण छ । भक्तपुरको हेरिटेज होटलका सबैजसो फर्निचर शताब्दी पुराना दरबार र घरबाट जम्मा पारेर प्रयोगमा ल्याइएका हुन्, जसले होटल बसाइलाई दरबारकै झैँ बनाउँछ । 

प्रकाशित: माघ ३, २०७३