‘मूल थिम मासु बेच्नु’

- नेपाल संवाददाता

वि सं ’४० को दशकमा मासु पसलबाट सुरु भएको भ्याली कोल्ड स्टोरले तीन दशकमा उद्योगको आकार लिएको छ । अहिले यस मातहत दाना, मार्ट, रिसर्च फार्म र चेन रेस्टुराँसमेत खुलेका छन् भने चाँडै कुखुरा फार्म सञ्चालनको तयारीसमेत छ । केएफसी चेन रेस्टुराँ तथा चल्तीका होटलमा मासु आपूर्ति गर्छ । यिनै विषयमा भ्याली ग्रुपका निर्देशक बाबुराजा रावलसँगको छोटो वार्ता :

यो पुस्तौनी व्यवसाय हो ? 

०३८ तिर मेरा बुबा हरिकृष्ण रावल, कृष्णप्रसाद घिमिरे र सानोबाबु विन्दुकार अर्थात् क्षत्री, बाहुन र नेवार मिलेर खोलेको हो । 

यो जातीय संरचना त्यत्तिकै मिलेको हो कि योजनाबद्ध ? 

काम गर्ने क्रममा मिलेको, सबै जना पोल्ट्रीमै संलग्न भएकाले । क्षत्री, बाहुनहरूले मासु व्यवसाय, त्यसमा पनि कुखुरा अनि ब्रोइलर एकदमै नयाँ र सामाजिक रूपमा अमिल्दो थियो, त्यो । 

तपाईंचाहिँ कहिले जोडिनुभयो ? 

०५० पछि संलग्न भएँ । 

तपाईंले चाहिँ किन यही व्यवसायलाई निरन्तरता दिने सोच बनाउनुभयो ? 

म संलग्न हुने समयमा यसले एउटा उद्योगको रूप लिन खोजिरहेको थियो । यो उद्योगलाई स्थापित गर्नुपर्छ भनेर लागेको हुँ । 

पहिले र अहिलेको बजारमा के फरक छ त ? 

धेरै फरक छ । पहिले मासु लिन आउनेकै अगाडि जिउँदो कुखुरा काटेर बिक्री गर्नुपथ्र्यो । नभए विश्वास हुँदैन थियो, सायद । होटलहरूले भने काटेकै मासु लैजान्थे । तर, अहिले उल्टो छ । पहिल्यै काटिएका मासु बढी लगिन्छ र कोहीकोही भने आफ्नै अगाडि कटाएर लैजान्छन् । 

उद्योगकै रूप दिने सोचचाहिँ कसरी आयो ? 

काम गर्ने क्रममा भएको हो । सुरुमा त आफ्नै काम गरौँ भनेर थालेको हो । तर, प्रविधिको विकासपछि र समय अनुसार व्यवसाय बदल्दै लैजानुपर्छ भन्ने लागेपछि भने उद्योगको आकार लिँदै गएको हो । त्यससँगै हामीले हलाल, आईएसओजस्ता मासुको गुणस्तर प्रमाण कायम गर्‍यौँ । हलाल प्रमाणीकरण भने हामीले पर्यटकमार्फत थाहा पाएको हो । 

पर्यटकसँग तपाईंहरूको सोझो सम्पर्क त हुँदैन होइन ? 

हुँदैन । तर, हामीले यहाँका तारे होटलमा समेत मासु आपूर्ति गर्ने हुँदा भारत, पाकिस्तान, बंगलादेशबाट आएका पर्यटकले हलाल प्रमाणीकरणयुक्त मासु खोज्दा रहेछन् । त्यसअघि हलाल भनेको मासु काट्नु मात्रै हो भन्ने बुझेका थियौँ हामीले । 

तपाईंहरूले चल्ला उत्पादन एवं आपूर्ति, दाना आदि पोल्ट्री उद्योगका लगभग सबैतिर हात हाल्नुभएको छ । बजारमा अरूलाई सहजै पत्याउन सक्ने स्थिति नभएर हो ? 

बजारमा अरूलाई नपत्याएर भन्दा पनि आफैँले गर्दा सजिलो हुने भएर हो । अरूसँग काम गर्दा दाना गुणस्तरको ग्यारेन्टी नहुन सक्छ । 

तपाईंहरूले भ्याली एक्सप्रेसका नाममा चेन रेस्टुराँ पनि खोलिरहनुभएको छ ? के अब व्यवसाय सिफ्ट गर्ने हो ? 

सिफ्ट होइन, विस्तार गरेको हो । पहिले हामीले जिउँदो कुखुरा काटेर बेच्यौँ । त्यसपछि मारेर बेच्न थाल्यौँ । दाना उद्योग खोल्यौँ । वधशाला मात्रै चलाएर हुँदैन, यससँग सम्बन्धित व्यवसाय पनि फैलाउनुपर्छ भनेर हामीले यहीँ ब्रोइलरका तयारी खाना बेचेका हौँ । जसरी पनि मासु बेच्नु हाम्रो थिम हो । 

पुस्तौँदेखि मासु काटेर बसिरहेका परिवारले समाजमा आर्थिक हैसियत बढाएका छैनन् । तपाईंहरूले चाहिँ के त्यस्तो गर्नुभयो र उद्योगको रूपमा चिनाउनुभयो ? 

हामी हतियार र अचानो लिएर मात्रै बसेनौँ । समय अनुसार व्यवसायको स्वरूप बदल्यौँ । एकअर्कालाई टेवा पुग्ने किसिमका व्यवसाय थाल्यौँ । गुणस्तर, प्रविधिलाई ल्यायौँ । अरूसँग प्रतिस्पर्धा गर्ने होइन, आफैँसँग प्रतिस्पर्धा गर्नु हाम्रो मन्त्र हो । 

आफैँसँग प्रतिस्पर्धा भन्नाले ? 

आफ्ना पुराना कुरालाई सुधारेर अझै राम्रो सेवा दिनु, बनाउनु । 

अबचाहिँ यत्तिमै सीमित रहने कि अझै फैलने हो ? 

रेस्टुराँका मेनुहरू बढाउने र कुखुरा फार्म स्थापना गर्ने सोच छ । 

मनबहादुर बस्नेत

प्रकाशित: माघ ३, २०७३