नोटबुक

- रविन्द्र मानन्धर

‘मास्तर प्लान’ 
करिब १६ वर्ष भयो, ३५ हजार रुपियाँमा पाइने कम्प्युटर २५ हजार रुपियाँमै दिने घोषणा गरे एक व्यापारीले । पाँच हजार रुपियाँ बुकिङ शुल्क तिरेर दुई–तीन महिनामा कम्प्युटर पाएर केही उपभोक्ता दंग पनि भए । पहिला केही उपभोक्ताको विश्वास जिते उनले । तर, पछिल्ला ग्राहकलाई योजना अनुसार कम्प्युटर दिएनन्, न त पैसा नै फिर्ता दिए । उपभोक्ताले उनको कार्यालय घेराउ गरे । तर, उनी स्वेच्छाले जेल गए । ‘टाट पल्टेपछि म कसरी पैसा दिऊँ !’ उनले आफ्नो बचाउ गरे । कानुन अनुसार केही वर्ष काराबासपछि पचाएको लाखौँ रूपियाँ भोग गर्ने ‘मास्तर प्लान’ रहेछ उनको, लुट फिल्मको जस्तो । बुकिङ शुल्क पाँच हजार रूपियाँ जम्मा गर्न नसकेर धन्न जोगिएको थिएँ म ।

समय बित्यो तर केही फेरिएको छैन । लुटको शैली उस्तै छ । लोडसेडिङ गर्नुपर्ने अवस्था नै रहेनछ भन्ने रहस्य उजागर भइसकेको छ । तर, यति लामो समयसम्म अँध्यारोमा राखिदिने साहूजीहरुलाई केही कारबाही छैन । अघिल्ला साहूजीलाई झैँ काराबास त के होला र ! भए पनि काराबासपछि सुनकै भात खाएर जीवन बिताउने धन त अँध्यारोले दिएकै छ । मानियो, मास्तर प्लान !

हैट्, हाम्रा दु:ख

स्मार्ट लाइसेन्स भन्नेबित्तिकै कार्टुनी दिमागमा टाई–सुटवाला चालक अनुमतिपत्रको चित्र आउँथ्यो । चालकका विवरणहरु डिजिटल्ली सुरक्षित राखिने यसको प्राविधिक पक्ष हो । लाइसेन्स नवीकरणका क्रममा यातायात व्यवस्था विभागको फोटो खिच्ने शाखामा पुगियो । अपरेटरहरु कम्प्युटरको मोर्चा सम्हालेर बसेका थिए भने सेवाग्राहीको पनि बाक्लै उपस्थिति थियो । सेतो पर्दालाई पृष्ठभूमि राखेर वेब क्यामले फोटो खिचिने र डिजिटल हस्ताक्षर गर्नुपर्ने रहेछ । तर, फोटो खिच्ने कर्मचारीले पृष्ठभूमिमा ओहोरदोहोर गरिरहेका अन्य सेवाग्राहीको उपस्थितिलाई वास्तै नगरी खिचिक्क गरिदिँदा रहेछन् । अझ फोटो खिच्दा लगाइरहेको चस्मासमेत फुकाल्न लगाउँदा नरमाइलो लाग्यो । सधैँ चस्मा लगाउने व्यक्तिको आधा परिचय चस्मामै हुन्छ । फुकालेको अवस्थामा लामो समयदेखि नदेखेका आफन्तले पनि चिन्न गाह्रो हुन्छ ।

त्यसैले डेढ महिनापछि लाइसेन्स हात पर्दा त्यो आफ्नै हो भनेर ठम्याउन पनि केही समय लाग्यो मलाई । त्यसमा आफ्नै श्यामश्वेत तस्बिर स्पष्ट त थिएन नै, चस्मा नहँुदा सुन्निएको जस्तो देखिएको अनुहार घरीघरी ऐना हर्दै रुजु गर्न थालेँ । फेरि, प्रत्येक पल्टको चेकिङमा ट्राफिक प्रहरीले पनि चस्मा फुकाल्न लगाउने त होला ! हैट् हाम्रा दु:ख ! 

पेट्रोलले आगो निभाउने !

शिक्षकले ‘माई हेड, माई हेड माने मेरो टाउको’ भनेर पढाए । विद्यार्थीले ‘माई हेड, माई हेड माने सरको टाउको’ भनेर बुझेछन् ।सहरमा जोडतोडसाथ भइरहेको सडक विस्तारलाई देख्दा विकासका ठेकेदारहरुलाई यही ठट्यौलीसित जोड्न मन लाग्छ । उहाँहरुले पढ्नुभएको होला, ‘सडक विकासको पूर्वाधार हो ।’

यस मानेमा दुर्गम क्षेत्रलाई स्तरीय सडकले जोडेमा त्यहाँ विकास पुग्ने थियो, समग्र देश बन्ने थियो । तर, जिम्मावालहरुका आँखाले ट्राफिक जामले अस्तव्यस्त भएका सहरका सडकबाहेक दुर्गमका दु:ख देख्न भ्याएनन् । तसर्थ, सहरका सडक चौडा पारेर ट्राफिक जामको समस्या निर्मूल पार्न कम्मर कसेका छन् । सवारी नियममा कडाइ, साधन आयातमा नियन्त्रण, सेवा र सुविधाको विकेन्द्रीकरणले पनि सहरको ‘ जाम’लाई कम गर्न सकिँदो हो कि ! विकासका नाममा ऐतिहासिक संरचनाको अस्तित्व मेट्नैपर्छ भन्ने त छैन होला । एक विदेशी विशेषज्ञले भनेका छन्, ‘सडक विस्तारलाई ट्राफिक जामको समाधानका रुपमा लिनु भनेको पेट्रोलले आगो निभाउन खोजेजस्तै हो ।’ हाम्रातिरका विशेषज्ञले यो कुराको के अर्थ लगाउने हुन्, कुन्नि !

नदीलाई पाइप
वाग्मती संरक्षणमा जीवन सुम्पेका हुतराम वैद्यले खोला किनारमा हरियाली प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । किनाराका बस्ती खोलादेखि टाढै राख्नुपर्ने र नदी किनारमा कंक्रिटको तटबन्ध (रिटेनिङ वाल) बनाउन नहुने उनको चेतावनी एकदम वैज्ञानिक हो । किनभने, यसो गर्नाले जमिनमुनिको पानी रिचार्ज हुन पाउँदैन, इनारहरु स्वत: सुक्नेछन् । 

तर, सक्ने र गर्नुपर्नेहरुले कानमा तेल हालेर बसे । खोलाछेउ बनाइएका बाटाहरु दशक पुराना पनि भएका छैनन्, खोलालाई साँघुरो पारेर रिटेनिङ वाल बनाउँदै धमाधम सडक फराकिला बनाइँदै छन् । हामीले त मोटर गुडाउन चिल्ला फराकिला सडक पाउने भयौँ । अब भावी सन्ततिले इनार भनेको सुक्खा गहिरो खाल्डो हो भनेर बुझ्ने होलान् । अनि, अहिले पाइपमा ढल बगेजस्तै संरक्षणका नाममा खोलाहरुलाई स–साना पाइपमा बग्न दिइने होला । सायद, यही हो विकास । 

प्रकाशित: माघ २, २०७३