बडापत्र फिर्ता

- अनिरुद्धप्रसाद सिंह

राणा शासन भनेको पानीलाई आगो र आगोलाई पानी भने पनि त्यसैलाई सही ठान्नुपर्ने काल थियो । त्यतिबेला जिल्लाभरिका कार्यालय प्रमुखहरूको पनि प्रमुख बडाहाकिम हुन्थ्यो । उसलाई जिल्लाका कार्यालयहरूको निगरानीदेखि न्यायिक अधिकारसम्म थियो । वास्तवमा बडाहाकिमको अधिकार र जिम्मेवारी असीमित हुन्थ्यो ।

झापामा बडाहाकिमका रूपमा बस्दा मैले गरेका कुनै निर्णय र फैसला उच्च न्यायालयबाट उल्टिएनन् । त्यसबापत सरकारले मलाई पुरस्कृत गर्नुका साथै वार्षिक रूपमा पाँच सय रुपियाँ भत्ता बढाइदिने निर्णय गरेको थियो । त्यतिबेला राम्रो काम गर्नेलाई पुरस्कृत र खराब काम गर्नेलाई दण्ड–सजाय र जरिवाना गर्ने प्रचलन पनि थियो । तर, दण्डका नाममा परिबन्द र नियतवश कसैलाई फसाउने प्रवृत्ति पनि उत्तिकै हुन्थ्यो । 

विसं २००५ को प्रसंग हो । प्रधानमन्त्री श्री ३ मोहनशमशेर राणाको हस्ताक्षर रहेको एउटा पत्र मकहाँ आइपुग्यो । मेरो मातहतको झापा माल अड्डाका हाकिम ‘सुब्बा भगीरथ उपाध्यायलाई कारबाही गर्नू’ भन्ने बेहोराको पत्र थियो, त्यो । विश्वनाथ उपाध्याय, जो पछि ख्यातिप्राप्त प्रधानन्यायाधीश नै भए, का पिता भगीरथ इज्जत र मर्यादामा बसेका व्यक्ति थिए । उनका पदचाप पछ्याएर हिँड्ने मानिस झापामा थुप्रै थिए । म आफैँ पनि उनको बेदाग छविको प्रशंसा गर्थें ।

बडाहाकिम कार्यालयको आफ्नो कक्षमा त्यो पत्र खोलेर पढ्दा मेरो त दिमाग नै घुम्यो । सपना पो हो कि भनेर आफ्नै शरीरलाई चिमोटेँ, दुख्यो । विपना नै रहेछ । त्यसपछि एकछिन पनि अफिसमा बस्न सकिनँ । तुरुन्तै निवासमा फर्किएँ र आफ्नो बैठक कक्षमा बसेर त्यो पत्र ओल्टाइ–पल्टाइ, दोहोर्‍याइ–तेहर्‍याइ पढ्न थालेँ । मनमा अनेक कुरा खेल्न थाले । भगीरथका छोरा विश्वनाथ हाम्रो निवासमा आएर खेलेको र रमाएको दृश्य मेरो मानसपटलमा नाच्न थाल्यो । उनी आफ्ना मावली हजुरबुबाका साथ लागेर हामीकहाँ आउँथे र रमाइ–रमाइ मेरा केटाकेटीका साथ खेल्थे । 

खासमा उनलाई फसाउने उद्देश्यले कसैले झूटो उजुरी हालेको रहेछ । त्यही उजुरी अनुसार कारबाहीको आदेश आएको रहेछ । मेरो व्यक्तिगत निकटताका कारण मात्र होइन, भगीरथजस्तो इमानदार राष्ट्रसेवकलाई बिनाकसुर दण्ड दिनु भनेको मेरो आत्माले स्वीकार गर्न नसक्ने कुरा थियो । मनले यो कुरा निश्चित गरेपछि मैले भगीरथ र आफ्नो मातहतका कुनै पनि कर्मचारीलाई नभनीकनै सीधै प्रधानमन्त्रीलाई पत्र लेखेर सत्यतथ्य जानकारी गराउनु आफ्नो कर्तव्य सम्झेँ । र, सादा कागज लिएर जवाफ लेख्न बसेँ ।

माल अड्डाको हाकिम भएर उनले गरेका काम र ती कामका कारण सरकार र जनताको इज्जत एवं प्रतिष्ठा बढेका अनेक उदाहरण थिए मसँग । उनको निर्विवाद र असल छविबारे बढाइचढाइ गर्नै पर्दैनथ्यो । केही प्रसंग उल्लेख गर्दा नगर्दै झन्डै चार पाना सिद्धिएको मैले पत्तै पाइनँ । अन्त्यमा ‘यो आरोप उनका विरोधीले फैलाएको हल्ला मात्र हो । र, त्यस कुरामा कुनै सत्यता नरहेकाले कारबाही गर्नु मनासिब देखिन आएन’ भनी जवाफी पत्र तयार गरेँ । अर्को दिन पत्र प्रधानमन्त्री मोहनशमशेरका नाममा रजिस्टरी गरी हुलाकमार्फत काठमाडौँ पठाएँ ।

पत्र त पठाएँ तर मनमा अनेक आशंका मडारिरहे । मुलुकको प्रधानमन्त्री श्री ३ मोहनशमशेरलाई उनको एक कारिन्दाले यस्तो पत्र लेख्नु कतै दुस्साहस त ठहरिन्न ? २६/२७ वर्षे एक नौजवान ठिटोको आवेश र जोश मात्रै त होइन यो ? हुन त पत्र लेख्दा नै यी कुरा मनमा नखेलेका होइनन् । ‘कन्भिन्सिङ वे’मा पत्र लेखेकाले जोखिम नै भए पनि होस् भन्नेमा पुगेँ म ।

करिब एक महिनासम्म मैले त्यस पत्रको जवाफ र प्रतिक्रिया पाइनँ । एक दिन अचानक सप्तरीका रामराजाप्रसाद सिंहका बुबा जयमंगलप्रसाद सिंहले फोन गरेर तुरुन्त काठमाडौँ आउन आग्रह गरे । म अधैर्य भएँ र कारण सोधेँ । उनले भारदारी सभामा मोहनशमशेरले ‘ अनिरुद्धप्रसाद सिंहले जस्तै गरी सरकारको हित चिताएर काम गर्ने हो भने त जनतामा सरकारको छवि उँचो हुने र हामीलाई कुनै दोषै आउँदैन । आधिकारिक र गोप्य भनिएका सूचना पनि सच्याएर अघि बढ्न सहयोग नै मिल्छ’ भनेर मेरो प्रशंसा गरेको खबर मात्रै सुनाएनन्, काठमाडौँ आएर राम्रो ठाउँमा सरुवा माग्न पनि सुझाव दिए । म त झन् आश्चर्यचकित भएँ ।

यो वार्तालापको १० दिन मात्र बितेको थियो, प्रधानमन्त्रीको अर्को पत्र आइपुग्यो, जसमा लेखिएको थियो, ‘तिमीले जाहेर गरेको कुरा बहुतै मनासिब लाग्यो । उप्रान्त यस्तै बुद्धि पुर्‍याई काम गर्नेछौ भन्ने उम्मिद राखेका छौँ । पठाइबक्सेको बडापत्र फिर्ता पठाइदिनू ।’ मोहनशमशेरको यो पत्र पाउनासाथ ‘भगीरथ उपाध्यायलाई कारबाही गर्नू’ भन्ने बेहोराको गोप्य बडापत्र फिर्ता पठाइदिएँ । जीवनमा उचित लागेको कुरा गर्न मैले कहिल्यै सम्झौता गरिनँ । अहिले पनि यसैमा सन्तोष लाग्छ ।

 प्रस्तुति : ईश्वरी ज्ञवाली

प्रकाशित: पुस २८, २०७३