‘अबको सरकार हाम्रा सभापतिको नेतृत्वमा’

- सन्तोष आचार्य

माओवादीले १६ वर्षअघि पति चन्द्रनारायण यादवको हत्या गरेपछि राजनीतिमा आएकी सीतादेवी यादवले नेपाली कांग्रेस सिरहाको नेतृत्व सम्हालिन्, त्यो पनि लगातार तीन कार्यकाल । दोस्रो संविधानसभामा सिरहा–३ बाट निर्वाचित यादव २५ फागुन ०७२ मा ‘हेभिवेट’हरुलाई हराएर पार्टीको कोषाध्यक्ष निर्वाचित भइन् । अहिले शान्ति तथा पुन:निर्माण मन्त्रीको जिम्मेवारीमा रहेकी यादवसँग नेपालले गरेको कुराकानी: 

सर्वोच्च अदालतको आदेशपछि मुलुक फेरि सहमतिको राजनीतिमा अघि बढ्छ र संविधान कार्यान्वयनका लागि चुनाव हुन्छ भन्नेमा तपाईं आशावादी हुनुहुन्छ ? 
सर्वोच्चको जुन निर्णय आएको छ, त्यसले राजनीतिक गतिरोध हटेको छ । सहमतिको ढोका खुलेको छ । संविधान संशोधन विधेयक पारित हुन्छ । 

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ८३ वटाजति माग संशोधन गर्नुपर्ने भनेको छ, त्यसैले मोर्चा सहमतिको मार्गमा फेरि बाधक भएर आउँछ कि भन्ने एकथरीको आंशका छ नि ? 
मधेसी मोर्चा अब बाधक हुँदैन । कांग्रेसको मुटु नै मधेस हो । मधेसबिना कांग्रेसको अस्तित्व छैन । मोर्चाको मात्र त्यो माग होइन, कांग्रेसको पनि त्यही माग हो । मधेसी जनताको माग पनि हो । 

तपाईंहरूले तत्कालीन पार्टी सभापति सुशील कोइरालालाई यो संविधान जारी हुन नदिन दबाब दिनुभएको थियो, होइन ? 
यो संविधान जारी हुनुभन्दा अघि मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेसका २५ जना सभासद् तत्कालीन पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालालाई भेट्न गयौँ । संविधान जारी गर्न हतार नगर्न भन्यौँ । संविधानका केही बुँदा संशोधन गर्न आग्रह गर्‍यौँ । तर, सुशील दाइले आँखामा आँसु लिएर भन्नुभयो– म पनि मधेसमा जन्मिएको हो । बढेको हो । मधेसको अन्न खाएको छु । तपाईंहरूले मधेसलाई संविधानले सम्बोधन नगर्ला भनेर नसोच्नु होस् । अहिलेलाई संविधान जारी हुन दिनूस् । 
पार्टी सभापतिमाथि सबैले विश्वास गर्‍यौँ । संविधान पनि जारी भयो । दबाब दिएको होइन । आफ्नो असन्तुष्टि मात्र व्यक्त गरेका हौँ । 

मधेसलाई पहाडबाट छुट्याउने कि नछुट्याउने भनेर प्रदेश–५ को सन्दर्भमा विवाद चलिरहेको छ, यसमा तपाईंको दृष्टिकोण के हो ? 
सबैका आ–आफ्ना धारणा हुन्छन् । संविधान संशोधनका लागि पार्टी सभापतिजीलाई सम्पूर्ण अधिकार केन्द्रीय कार्य समितिका साथीहरूले दिइसकेका छन् । 

तपाईं आफैँ पनि अंगीकृत नागरिक हुनुहुन्छ । यो समस्या पनि राजनीतिसँग जोडिएर आउने गरेको छ । कसरी हल होला ? 
अंगीकृत नागरिक पनि दुई किसिमका हुन्छन् । विवाह गरेर नेपाल आउने वैवाहिक अंगीकृत नागरिक र व्यापार–व्यवसायका लागि आउने अर्काथरी अंगीकृत नागरिक । मेरो वैवाहिक अंगीकृत नागरिकता हो । 
नागरिकताको मुद्दामा गलत नियत लुकेको छ भन्ने एकथरीको आशंका छ नि ? 
अंगीकृत महिलालाई निश्चित पदमा बन्देज गरिएको छ । यो राम्रो कुरा होइन । समय–सीमा तोकेर अपमानित नहुने व्यवस्था गर्नैपर्छ । अपमानित हुन कसैलाई मन पर्दैन । चाहे महिला हुन्, उनको छोरा होस् वा श्रीमान् । 

फरक प्रसंग, ‘जनताको सेवा गर्छु, समाज परिवर्तन गर्छु’ भनेर विगत १६ वर्षदेखि तपाईं राजनीतिमा हुनुहुन्छ । के योगदान दिनुभयो ? 
सबै सपना एकैचोटि पूरा हुँदैनन् । तर, केही हदसम्म पूरा भएका छन् । अरू सपना पनि पूरा गर्ने आशा र विश्वास लिएकी छु । 

तपाईंले ‘द्वन्द्वपीडितहरूका लागि केही व्यवस्था गर्छु, द्वन्द्वमा ध्वंश भएका पूर्वाधार बनाउँछु’ भन्नुभयो । तर, तपाईंले सम्हालेको शान्ति तथा पुन:निर्माण मन्त्रालय नै सुस्त छ त ? 
हो, सबभन्दा पहिला मृतकको नजिकको हकदारलाई सरकारले ६ वर्ष पहिला निर्णय गरेको पाँच लाख रुपियाँ दिने निर्णय कार्यान्वयन भयो । शान्ति कोषको म्याद पनि थपियो । तर, म आफैँ आफ्नो कामबाट सन्तुष्ट छैन । द्वन्द्वकालमा भत्केका संरचनाहरू पूर्ण रूपमा निर्माण भएका छैनन् । सबै ठाउँमा मन्त्रालयका सचिव/सहसचिवहरूलाई पठाइरहेकी छु । द्वन्द्वपीडितका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा न्याय हो । त्यससँगै राहत, रोजगारी, द्वन्द्वकालमा जफत भएको सम्पत्ति फिर्ता, अपहरणमा परेकाको मुक्ति, विस्थापित भएका र टुहुरा बालबालिकाका लागि स्वास्थ्य उपचार, मनोचिकित्सालगायतका धेरै काम बाँकी छन् । 

जुन पार्टीको कारणले पति गुमाउनु पर्‍यो, उही नेतृत्वको मन्त्रिपरिषद्मा बसेर अपराध क्षमा गर्ने क्षमता तपाईंमा कसरी आयो ? 
गिरिजाबाबुले देश र जनताका लागि आफ्नो दु:ख पनि बिर्सिनुपर्छ भन्नुभएको थियो । उहाँको त्यही वचनले मलाई प्रेरणा मिलेको हो । मेरो दु:ख त आफ्नो ठाउँमा छँदै छ । अरू द्वन्द्वपीडितको दु:खले मलाई अझ दु:खी तुल्याएको छ । माओवादी द्वन्द्वपीडितका लागि केही गर्न सकिनँ भने त मेरो जीवनको केही अर्थ हुँदैन, केही सार्थकता हुँदैन । यो कुर्सीको केही महत्त्व हुँदैन । 

नेपालको राजनीतिमा कांग्रेसले स्पष्ट दृष्टिकोण बनाउन सक्ने र त्यसलाई नेतृत्व गर्न सक्ने जुन क्षमता थियो, त्यो अहिले क्रमश: गुमाउँदै गएको हो ? 
कार्यरूप लिन नसकेको मात्र हो । प्रयास जारी छ । तर, जति राम्रो ढंगले पार्टी अघि बढ्नुुपर्ने हो, त्यो भइरहेको छैन । 

माओवादीसँग भएको सहमति अनुसार अब कांग्रेसको नेतृत्वमा सरकार बन्छ ? 
बन्छ । किन नबन्ने ? माओवादीले राजनीतिक बेइमानी गर्न मिल्दैन । 

तर, राजनीतिमा बेइमानी त हुन्छ नि ? 
म आशावादी छु । अबको सरकार हाम्रा सभापतिको नेतृत्वमा बन्छ । 

प्रकाशित: पुस २७, २०७३