वज्र विवाद

  • भूकम्पमा भत्केका मल्लकालीन सम्पदा पुन:निर्माणमा वज्र प्रयोग कति ठीक, कति बेठीक ?

- गोकर्ण गौतम

हनुमानढोका परिसरको दुई तले जगन्नाथ मन्दिर विसं १९९० को महाभूकम्पले ढल्कियो तर भत्किएन । दुई वर्षपछि मन्दिर भत्काएर पुन:निर्माण गरियो, पुरानै काठ प्रयोग गरेर । जमिनबाट चार फिटसम्म वज्रको जोडाइ, त्यसभन्दा माथि माटोको । तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाले हनुमानढोका क्षेत्रको सम्पदाको पुन:निर्माणको जिम्मा दिएका थिए, इन्जिनियर डिल्लीजंग थापालाई । यिनै थापालाई दुई दशकअघि भेटेका थिए, आर्किटेक्ट इन्जिनियर रोहित रञ्जितकारले । ऐतिहासिक सम्पदा बचाउमा सक्रिय काठमाडौँ उपत्यका संरक्षण ट्रस्टका नेपाल निर्देशकसमेत रहेका रञ्जितकार त्यतिबेला छक्क परे, जब थापाले चार फिटसम्म वज्र र त्यसभन्दा माथि माटो प्रयोग गर्नुको कारण खोले । रञ्जितकार भन्छन्, “पुरातात्त्विक महत्त्व बोकेको काठलाई ओसबाट जोगाउन वज्र अनि माथिचाहिँ मल्लकालको स्वरूप र शैली बचाउन माटोको प्रयोग गरिएको रहेछ ।” १२ वैशाख ०७२ को भूकम्पबाट यस मन्दिरमा क्षति पुगेको छैन । 

जगन्नाथ मन्दिरको प्रसंग किन झिकिएको हो भने यतिबेला हनुमानढोका क्षेत्रमा ०७२ को भूकम्पले ध्वस्त बनाएका १२ मध्ये सात सम्पदाको धमाधम पुन:निर्माण भइरहेको छ । जसमध्ये अधिकांश मल्लकालीन सम्पदा हुन्, जसको जोडाइ माटोको हुन्थ्यो तर पुन:निर्माणका क्रममा माटोलाई ‘अघोषित निषेध’ गरिएको छ । पुरातत्त्व विभागले बनाएको मापदण्ड पछ्याउँदै यहाँ मात्र होइन, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, स्वयम्भू, चाँगुनारायण, पशुपति क्षेत्रलगायतमा रहेका सम्पदाको पुन:निर्माणमा पनि वज्रको मात्र प्रयोग भइरहेको छ । 

मल्लकालमा बनेका सम्पदाको मूल विशेषता माटोको जोडाइ हो । वज्र परम्परागत प्रविधि त हो तर राणाकालको, त्यसमाथि आयातित । फेरि जगन्नाथ मन्दिरको झैँ बडो बुद्धिमत्तापूर्वक वज्र र माटोको सन्तुलित प्रयोग गरिएको पनि छैन । त्यसैले वज्रको प्रयोगले मल्लकालका सम्पदाको साख, स्वरूप र शैली नजोगाउने विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । पुरातत्त्वविद् तथा पुरातत्त्व विभागका पूर्वमहानिर्देशक कोषराज आचार्य भन्छन्, “वज्रबारे बृहत् अध्ययन भएको छैन । त्यसैले सम्पदाको पुन:निर्माणमा वज्रको प्रयोग उपयुक्त हुँदैन । अलि हतार गरियो ।” 

वज्रका बारेमा यथार्थ भन्दा पनि अतिरञ्जित हल्ला बढी चलेको छ समाजमा । सुर्की (इँटाको धूलो) र चुन मिसाएर प्लास्टर गर्न र इँटा जोड्न प्रयोग गरिने निर्माण सामग्री हो वज्र । जुन नेपालमा जंगबहादुरको बेलायत यात्रापश्चात् भित्रिएको थियो । पुरातत्त्वविद् आचार्यका अनुसार यो ‘न्युयो क्लासिकल स्टाइल’मा पर्छ । राणाकालमा बनेका मन्दिर, दरबार र अन्य संरचनामा वज्रको व्यापक प्रयोग भएको पाइन्छ । त्यतिबेला कालीगढहरू भारतबाट ल्याइएको थियो । वसन्तपुर गद्दी बैठक र सिंहदरबार यसका उदाहरण हुन् । धरहरा पनि वज्रको जोडाइ हो । त्यतिबेला सुर्की र चुनसँगै मासको दाल र चाकु मिसाएर वज्रलाई अझ बलियो बनाउने गरेको चर्चा धेरै सुनिन्छ । तर, यसको कुनै लिखित अभिलेख छैन । पुरातत्त्वविद् आचार्य भन्छन्, “धरहरा र सिंहदरबार बनाउँदा मासको दाल, घिउ र चाकुको प्रयोग गरेको मिथ मात्र हो । प्रयोगशालामा त्यसको परीक्षण गरिएको छैन ।” 

वज्र पनि परम्परागत र सम्पदा भएकाले पुरातत्त्व विभागले निर्माण कार्यमा यसको प्रयोग गरेको दाबी गर्छ । विभागको यो दाबी आफैँमा गलत छैन । किनभने, पुरातात्त्विक ऐन अनुसार सय वर्ष भएपछि हरेक कुरा सम्पदामा दरिन्छ । तर, सम्पदा भनेर मात्र भएन, कुन कालखण्डको हो भन्ने महत्त्वपूर्ण हुन्छ । आर्किटेक्ट इन्जिनियर तथा सम्पदाका जानकार रञ्जितकार भन्छन्, “वज्र राणाकालीन सम्पदा हो । त्यसैले मल्लकालको संरचना बनाउँदा वज्रको प्रयोग परम्परागत हुन सक्दैन ।”

नेपाली ऐतिहासिक आर्किटेक्चर, सहरीकरण र संस्कृतिका विज्ञ प्रा सुदर्शनराज तिवारी पनि सम्पदा पुन:निर्माणमा वज्रको प्रयोगलाई सकारात्मक रूपमा लिँदैनन् । मल्लकालको झैँ माटोकै जोडाइ गर्दा हरेक दृष्टिले उपयुक्त हुने तिवारीको मत छ (हेर्नूस्, ‘माटो नै उत्तम’) । अध्ययन र बहसबिनै वज्रलाई प्राथमिकतामा राखेको विज्ञहरूको गुनासो छ । तर, पुरातत्त्व विभाग अन्तर्गतको भक्तपुर स्मारक संरक्षण तथा दरबार हेरचाह संरक्षण क्षेत्रका इन्जिनियर मोहनकृष्ण श्रेष्ठ अहिले भक्तपुर दरबार क्षेत्रमा शिल महादेव, सिद्धिलक्ष्मी, नारायण र रामेश्वर मन्दिरको पुन:निर्माणमा वज्रको प्रयोग भइरहेको बताउँछन् । 

“सकेसम्म परम्परागत सामग्री उपलब्ध नभए नयाँ प्रयोग गर्नैपर्छ । मल्लकालको जस्तो स्तरीय माटो अहिले पाइँदैन,” श्रेष्ठ भन्छन्, “त्यसैले सिमेन्टभन्दा वज्रमा जानु उपयुक्त देखियो । युनेस्कोले पनि चुनलाई परम्परागत मसला भनेको छ ।” अचम्म त के छ भने चुन र सुर्कीमा बालुवा पनि मिसाइएको छ । उनका अनुसार एक भाग चुन, एक भाग सुर्की र तीन भाग बालुवा राखेर मसला तयार पारिएको छ । घटीमा एक हप्ता कुहाएपछि मात्र वज्र प्रयोगयोग्य र प्रभावकारी हुन्छ । तर, भक्तपुरसहित अन्य क्षेत्रमा चुन, सुर्की र बालुवालाई मसला बनाउनासाथ धमाधम जोडाइमा हालिन्छ । इन्जिनियर श्रेष्ठ स्वीकार्छन्, “मोलेर एक हप्ता त राख्नैपर्ने हो तर राखिएको छैन ।” यद्यपि, उनले यो वज्रको जोडाइ सय वर्ष टिक्ने दाबी गरे । 

हामीकहाँ पाइने चिम्टाइलो, पहेँलो र गाढा खरानी रंगको प:चा माटोको खोजमा विभागले बेवास्ता गरेको विज्ञहरूको गुनासो छ । “हरेक कालखण्डमा बनेका सम्पदाको आ–आफ्नै विशेषता हुन्छन् । यद्यपि, भिन्न कालखण्डका सामग्री र प्रविधिलाई मिश्रण गर्नै हुन्न भन्ने पनि होइन,” आर्किटेक्ट इन्जिनियर रञ्जितकार भन्छन्, “तर, बनावटको समरूपता र स्वरूप मिल्छ/मिल्दैन, थाहै नभई प्रयोग गरिनु चाहिँ हुन्न ।” 

यसरी बनाइन्छ वज्र

सबैलाई थाहा छ, वज्र बनाउन चुन र सुर्की चाहिन्छ । तर, चुन र सुर्कीचाहिँ कस्तो हुनुपर्छ ? त्यसको मात्रा र प्रयोगविधि के हो ? यथेष्ट अध्ययन/अनुसन्धान र परीक्षणको अभावको कारण स्पष्ट छैन । पुराना वज्रकर्मी अष्टराज बज्राचार्य, ७६, का अनुसार वज्रका लागि चाहिने सुर्की इँटाको धूलो त हो तर भट्टाबाट निस्कने धूलो भने होइन । असली वज्रका लागि इँटालाई कुटेर बनाइएको धूलो हुनुपर्छ । चुन बनाउन त झन् धेरै मिहिनेत र समय लाग्छ ।  

चुनका लागि पहिले इँटाजसरी ढुंगालाई पोल्नुपर्छ । ढुंगा पाकेपछि पानीमा डुबाउनु पर्छ । त्यस्तो बेला ढुंगा फुट्छ, मकै भुट्दा फुटेजसरी अनि नरम हुन्छ । पुराना दिन सम्झँदै बज्राचार्य भन्छन्, “यसरी तयार पारिएको इँटाको धूलो दुई भाग र चुना एक भाग राखेर पर्याप्त लस्सेदार नभइन्जेल पानीमा बेस्कन मोल्नुपर्छ । तीन–चार दिन त्यत्तिकै पकाएपछि मात्र हामी वज्र प्रयोग गथ्र्यौं ।” यस्तो वज्र जोडाइ र प्लास्टर दुवैका लागि उत्तिकै उपयोगी हुन्छ । तर, यसरी तयार पारिएको बज्र प्रयोग नगरेको वर्षौं भइसकेको उनले सुनाए । 

‘माटो नै उत्तम’

– सुदर्शनराज तिवारी, वरिष्ठ आर्किटेक्ट

पुरातत्त्व विभागको निर्देशिका अनुसार भूकम्पले भत्केका सम्पदाहरूको पुन:निर्माणमा वज्रको प्रयोग भइरहेको छ । सिमेन्ट आधुनिक भएकाले प्रयोग गर्नु हुन्न भनेर आवाज उठ्यो । माटोको त वास्तै गरिएन । सिमेन्ट र माटोको बीचमा भएर वज्र प्रयोग गरिएको हुनुपर्छ, वैकल्पिक बाटोका रूपमा । तर, वज्र बलियो हुन्छ भन्ने आधार छैन । माटोको जोडाइ गर्दा हामीलाई चाहिनेजति बलियो हुन्छ । संसार थाम्ने बनाउने होइन । मन्दिर तीन–चार तले त हो नि ! गारो भने अलि मोटो बनाउनुपर्छ । तर, अहिलेको जस्तो बालुवा मिसिएको माटोचाहिँ होइन । 

काठमाडौँ पहिले ताल भएको ठाउँ हो । त्यसैले हामीकहाँको माटोमा ‘अग्र्यानिक कन्टेन्ट’ छ । पर्खाल, भुइँ, कौसी, झिँगटी बनाउन थरीथरीका माटो हुन्छ । काष्ठमण्डपमा त कालो माटो मिसाइएको छ । खस्रो भन्दा लस्सेदार माटो उपयोगी हुन्छ । हामीले काष्ठमण्डपको उत्खनन गर्दा अहिलेसम्मकै बलियो माटोको जोडाइ भेट्यौँ, त्यसको नमुना लिएका छौँ । परीक्षण गर्न बाँकी छ । बाहिरबाट हेर्दा पनि काफी बलियो नै छ, जब कि त्यो १४ सय वर्ष भइसक्यो । माटोले हावाबाट पानी सोस्ने र आफैँ ‘ब्रिदिङ’ (श्वास फेर्ने) भएकाले ‘स्ट्रेन्थ’मा गिरावट आउन्न । 

अहिले त हामी आँखा चिम्म गरेर हिँडेका छौँ, सिमेन्ट भएपछि बलियो हुन्छ भनेर । तर, आधुनिक इन्जिनियरिङले माटोको परीक्षण नगरी नराम्रो भनिदियो, जब कि सिमेन्ट त एक सय वर्षमा धूलो हुन्छ, हुन्छ । मल्लकालमा ढुंगाको जोडाइ गर्दा खोटो, ढुंगाको धूलो, कपास हालिन्थ्यो भनिन्छ । १५ वर्षअघि पाटनको कृष्ण मन्दिर उत्खनन गर्दा त्यस्तो पाइएको थियो । तर, अहिले भनिएको चुन र इँटाको धूलो हो । ढुंगाको मन्दिर बनाउँदा प्रयोग भएको सामग्री वज्र होइन, अर्कै निर्माण सामग्री हो । किनभने, चुनको प्रयोग नै राणाकालपछि मात्र भएको पाइन्छ ।

वज्रकै जोडाइ गर्ने हो भने पनि त्यसको प्रयोग र मात्रा मिलाउन जरुरी हुन्छ । सुर्की र चुन मिसाउनासाथ प्रयोग गर्दा प्रभावकारी हुन्न, वज्र तीन–चार दिन त राख्नैपर्छ । बुझ्नुपर्ने अर्को कुरा के हो भने परम्परागत सम्पदा एक ढिक्का हुने शैलीबाट बनाएकै होइन, सर्ने/हल्लिने शैलीमा हो । ढिक्का पार्नासाथ भूकम्प प्रतिरोधक हुन्न । बरू, यस्तो संरचना ढल्यो भने इँटा पनि फुट्छ, त्यसैले पनि एक ढिक्का हुने शैली उपयुक्त होइन । इँटा हाम्रो सम्पदा हो, फुट्न दिनुहुन्न । सम्पदाका लागि लस्सेदार र उन्नतस्तरको माटो उत्तम हुन्छ ।

प्रकाशित: पुस २६, २०७३