किन विरोध भयो, टोपी दिवसको ?

  • ढाका टोपी र दौरा–सुरुवाल निर्जीव पहिरन हुँदाहुँदै पनि तिनमा शासकको सांस्कृतिक आत्मालाई घुसाइयो ।

- श्रेय पौडेल

जनवरी १ लाई टोपी दिवसका रूपमा मनाइन थालिएको भर्खरै हो । सामाजिक सञ्जालले यस दिवसमा ढाका टोपीलाई नै विशेष महत्त्व दियो । खासमा यो दिवस यस्तो समयमा मनाउन थालियो, जब ढाका टोपी र दौरा–सुरुवालजस्तै बक्खु र धोतीको आवाज पनि प्रखर रूपमा सुनिन थाल्यो । यस्तो अवस्थामा ढाका टोपीलाई एक निर्जीव टोपीका रूपमा मात्र नभई एक राजनीतिक–सांस्कृतिक प्रतीकका रूपमै हेर्नुपर्छ ।

ढाका टोपीको सन्दर्भलाई खोतल्दा, यसलाई कसले पहिरिन्छ भन्ने बुझ्न जरुरी हुन्छ । यसलाई अहिले आएर पक्कै पनि पश्चिम रोल्पाका खाम मगर, इलामका राई तथा झापाका बाहुनले पहिरिने गरेका छन् । यस अर्थमा ढाका टोपीलाई समग्र पहाडी नेपालसँग जोड्न सकिन्छ । तर, ढाका टोपीको पुरानो राजनीतिक सन्दर्भलाई भने बिर्सन मिल्दैन । राणाकालयता एक खास जातिको आभिजात्य वर्गले यस देशमा शासन गर्‍यो । तिनीहरू नेपाल राष्ट्रका सबै नागरिकभन्दा आर्थिक रूपमा पृथक् थिए । तर, सामाजिक–सांस्कृतिक रूपमा चाहिँ उनीहरू पहाडी नेपालकै एक विशेष जाति, भाषा र धर्मकै अंश थिए । शासक इतरका अन्य जाति, भाषा र धर्म विसं ०४६ अघि खुलेआम सांस्कृतिक बहिष्करणमा परेका थिए । राईले साकेला खेल्न पाउँदैनथे, मधेसीको राष्ट्रियतामाथि पञ्चायत सरकारले शंका गथ्र्योे । सरकारी कर्मचारीहरूले ढाका टोपी र दौरा–सुरुवाल अनिवार्य लगाउनुपर्ने नियम थियो । त्यस्तै, नागरिकताको फोटो खिच्दा पुरुषले ढाका टोपी लगाउनैपर्ने थियो । 

यस हिसाबमा, एक खास जाति, भाषा र धर्म मान्ने शासक वर्गको पहिरन, ढाका टोपी र दौरा–सुरुवाललाई राष्ट्रियताको बोझ बोकाइयो । ०४६ पछिको प्रजातन्त्रले भने केही हदसम्म अन्य जाति, भाषा र धर्मलाई राहत दिएकै हो । तर, प्रजातान्त्रिक युगमा समेत हरेक प्रधानमन्त्री–मन्त्री ढाका टोपी र दौरा–सुरुवाल पहिरिने नै हुन पुगे । यस अर्थमा, आर्थिक रूपमा प्रजातान्त्रिक शासकहरू पक्कै पनि जनताकै छोराहरू थिए (छोरी कोही हुन पाएका छैनन्) । तर, सांस्कृतिक रूपमा उनीहरू पहिलेका शासकभन्दा खासै फरक हुन सकेनन् । यसकारण, ढाका टोपी र दौरा–सुरुवाल निर्जीव पहिरन हुँदाहुँदै पनि तिनमा शासकको सांस्कृतिक आत्मालाई घुसाइयो ।

यस्तो परिवेशको राजनीतिक फाइदा नेपाली माओवादीले उठाए । पहिचानका मागहरूलाई शान्तिपूर्ण रूपमा उठाउन सकिने भए तापनि माओवादीले सशस्त्र आन्दोलन नै उचित सम्झे । माओवादी विद्रोहको हिंसात्मक औचित्य पुष्टि नभए पनि सांस्कृतिक बहिष्करणमा परेकाहरूको माग त्यसै आन्दोलनले उठाइदियो । पश्चिममा थारूलाई कमैया राख्नेहरूमध्ये ढाका टोपी लगाउनेहरू नै अगाडि देखिन्थे । पूर्वमा लिम्बूवान खोज्नेहरू पनि ढाका टोपीवालाकै विरोधमा देखिए । यसकारण पहिचानको आन्दोलन गर्नेहरूले ढाका टोपीलाई हेर्ने दृष्टिकोण शासक जातिको भन्दा फरक बन्न पुग्यो ।

अब ढाका टोपीले अरू सबैको पहिचान मेट्नु हुँदैन भन्ने स्वर नेपाली राजनीतिमा स्थापित भइसक्यो । बक्खु र धोतीले सोचेजस्तो चाँडो परिवर्तन नआए पनि परिवर्तनरूपी नदीले बेग लिइसक्यो । बिस्तारै, यसले पुराना ढुंगा–मुढालाई खुलाउँदै लानेछ । तर, यो नदीले ढाका टोपीलाई बगाएर पिँधमा पुर्‍याउने एजेन्डा भने बनाएको छैन । यद्यपि, दौरा–सुरुवाल, ढाका टोपी लगाउने एउटा ठूलो पंक्तिमा यस नदीले बगाई पो दिने हो कि भन्ने त्रास विद्यमान छ । अक्स्फोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताद्वय डेविड गेल्नर तथा कृष्ण अधिकारीका अनुसार कतिपय अवस्थामा असहिष्णु भएका पहिचानका आन्दोलनका कारण नेपालका बाहुनहरूमा एउटा ठूलो डर पैदा भएको छ । त्यसैले इतिहासमा सायदै कहिल्यै बाहुनहरूले नितान्त जातीय आधारका संगठनहरू खोलेका थिए होलान्, जति अचेल खोलेका छन् ।

गेल्नर–अधिकारीकै विश्लेषणलाई विस्तार गर्दा भन्न सकिन्छ– इतिहासमै कहिल्यै नचाहिएको टोपी दिवस, जसमा ढाका टोपीको मात्रै महत्व बुझाइयो, अहिले मनाउन थाल्नुको कारण पनि त्यही त्रास नै हो ।

ऐतिहासिक रूपमा बहिष्करणमा परेकाहरूले टोपी दिवसको विरोध गर्नुलाई स्वाभाविक रूपमा नै लिनुपर्छ । पहिचानका आन्दोलनहरू सामाजिक न्यायका अनुभवहरूले नै उठेका हुन् । यसकारण टोपी दिवसको विरोध गर्नेका स्वर पहिचानकै तर्कबाट सुसज्जित छन् । तर, अन्तिममा बक्खु, धोती र ढाका टोपी न्यायपूर्ण रूपमा सँगै बस्नुपर्ने अहिलेको राजनीतिक सत्यलाई पनि सबै पक्षले आत्मसात् गर्नु अति जरुरी छ । 

प्रकाशित: पुस २६, २०७३