पृथ्वीनारायण शाह यस कारण राष्ट्रनिर्माता

  • एकीकृत नेपाल राष्ट्रको निर्माण ऐतिहासिक तथ्य हो भने यसका निर्माता वा सूत्रधार राजा पृथ्वीनारायण शाह नै हुन् भन्ने पनि त्यत्तिकै सत्य हो ।

- विपिन अधिकारी

त्यो सामन्तवादी सोचको समय थियो । कानुनको शासन थिएन । मानवीय संवेदनाका आधारमा शासन चल्थ्यो । मौलिक अधिकारको अवधारणाको विकास भइसकेको थिएन । शिक्षा प्रदान गर्ने कुनै संगठित संरचना थिएन । लगभग कबिला अवस्थामा समाज  चलेको थियो । मान्छेले जाने अनुसार धर्मकर्म र सामुदायिक शिष्टाचारका आधारमा राम्रो-नराम्रो कुरालाई परिभाषित गर्थे । समाजशास्त्र भन्ने कुनै अवधारणा नै थिएन । प्रजातन्त्रको सोच थियो होला तर संरचनाहरूको विकास भइसकेको थिएन । राजनीतिक  रूपमा त्यो अत्यन्त अस्थिर समय थियो । उत्तर र दक्षिणतर्फका दुवै शासकसँग जुध्न सक्ने क्षमता हिमवत् खण्डमा थिएन । स्वाभिमानको कमी थियो । दुवैतर्फका छिमेकी राज्य विस्तारमा लागेका थिए । संसारमा साम्राज्यवाद सुरु भइसकेको थियो । यस्तो  अवस्थामा हिमवत् खण्डको सुरक्षा एउटा चुनौतीपूर्ण प्रश्न थियो । आज पृथ्वीनारायण शाहलाई अध्ययन गर्न बस्दा त्यस बेलाको मापदण्डले हेर्नुपर्छ ।

नेपाललाई संसारको प्राचीनतम मुलुकमध्ये एक भएको गौरव छ । नेपाल उपत्यका ऐतिहासिक कालदेखि नै हिमवत् खण्डमा अलग सांस्कृतिक पहिचानयुक्त रहँदै आएको छ । इसापछिको तेस्रो शताब्दीसँगै लिखित इतिहास पाइएदेखि लगातार काठमाडौँ समग्र  हिमवत् खण्डको सांस्कृतिक राजधानी रहँदै आएको हो । यहाँका अति प्रभावशाली लिच्छवि राजाहरूको पतनपछि क्रमशः विभिन्न सानाठूला राज्य बन्दै-भत्कँदै गए । गोरखाका युवा राजा पृथ्वीनारायण शाहले अठारौँ शताब्दीको मध्यतिर बाइसी-चौबीसी  राज्य-रजौटाहरूलाई राजनीतिक रूपमा समेत एकीकरण गरे ।

उनले काठमाडौँलाई राजनीतिक राजधानी बनाए, यसको इज्जत-आमद, वैभव र उच्चतम् मर्यादालाई आत्मसात् गर्दै । एकीकरणको भूमिका निर्वाह गर्ने गोरखा राज्य नै नेपाल राज्यमा विलीन भयो । विजेता राज्य पराजित राज्यमा विलीन भएको उदाहरण संसारका एकीकरण इतिहासमा विरलै भेटिन्छ । तर, यही विन्दुबाट हजारौँ वर्षदेखि सँगसँगै सुखदुःख गर्दै बाँचेका तथा कुनै सिमानाले छेकबार नगरेका विभिन्न क्षेत्र, जाति, धर्म, संस्कृति एउटा नयाँ रूपमा संगठित र एकाकार भए । एकीकृत राष्ट्र निर्माणको प्रक्रिया  सुरु भयो ।

यसकारण भन्न सकिन्छ, एकीकृत नेपाल राष्ट्रको निर्माण ऐतिहासिक तथ्य हो भने यसका निर्माता वा सूत्रधार राजा पृथ्वीनारायण शाह नै हुन् भन्ने पनि त्यत्तिकै सत्य हो । नेपालको इतिहासमा पृथ्वीनारायणको त्यति नै महत्त्व छ, जति फ्रान्सको इतिहासमा नेपो लियन बोनापार्ट (सन् १७६९-१८२९), जर्मनीको इतिहासमा अट्टोभान विस्मार्क (सन् १८१५-९८) र इटलीको इतिहासमा जुसेप्प गरिबाल्डी (सन् १८०७-८२) वा प्रधानमन्त्री काभोर (सन् १८१०-६१)को छ ।

यी सबैका राष्ट्रिय चुनौती र परिवेश फरक थिए । विस्मार्कले जर्मनीका भुरेटाकुरे राज्यहरू तथा पर्सियालाई मिलाएर एउटा ठूलो जर्मन राज्यको एकीकरण गरे । उनले त्यो नयाँ मुलुक रगत र इस्पातले बनेको हो भनेका थिए । जर्नेल नेपोलियन बोनापार्टले  क्रान्तिको माध्यमबाट फ्रान्सलाई विश्वस्तरीय साम्राज्यमा रूपान्तरण गरे । जर्नेल गरिबाल्डी र प्रधानमन्त्री काभोरको क्षमताका कारण इटली एउटा समृद्धशाली एकीकृत मुलुकका रूपमा निर्माण हुन पुग्यो । यी सबै इतिहासका लौहपुरुष मानिन्छन् ।

यी सबैभन्दा पुराना थिए, पृथ्वीनारायण शाह । तैपनि, उनी बढी आधुनिक तथा बहुआयामिक र राजनीतिक रूपमा बढी परिपक्व देखिन्छन् । उनले नेपाल एकीकरण मात्र गरेनन् । नेपालको स्थापनाकालीन सिद्धान्तहरू पनि कायम गरे । यी सिद्धान्त नेपालका  सम्बन्धमा आज पनि अकाट्य सत्यका रूपमा पढिन्छन् । एकताका सूत्रका रूपमा ऐतिहासिक कालमा यसको ठूलो महत्त्व थियो । आज पनि तिनको महत्त्व घटेको छैन ।

महत्त्वाकांक्षी र रणनीतिक

संसारमा कुनै पनि व्यक्ति जात वा नस्लका आधारमा राष्ट्रनिर्माता हुन सक्दैन । कुनै विशेष जात, धर्म, वर्ण, लिंग र क्षेत्रलाई राष्ट्राधार बनाउने व्यक्ति लामो समयसम्म राष्ट्रनिर्माता हुन वा टिकिरहन गाह्रो हुन्छ । पृथ्वीनारायण खस वा मगर कुन मूलका थिए, ठोकुवा गर्न सकिने स्थिति छैन । तथापि, उनले आफूलाई मगरातको राजा मै हुँ भनेका छन् । सुरथसिं राना आफ्नो मामाघरको हजुरबुबा भएको उनले उल्लेख गरेका छन् । त्यस्तै उनले मकवानपुरका दिग्बन्द सेनकी बहिनी बिहे गरेको इतिहासमा उल्लेख छ ।  उनको दरबारमा पाण्डे (बाहुन) र बस्नेत (क्षेत्री)को बिहेबारी चल्थ्यो । यी सबै पृष्ठभूमिबाट के देखिन्छ भने या त उनी मगर कुलका थिए, या मगर र खस राजपरिवारबीच राम्रै बिहेबारी चलेको अवस्था थियो । जात जे भए पनि उनी पढेलेखेका थिएनन् । देश-देशान्तर घुमेका पनि होइनन् । ससुराली मकवानपुरबाट र्फकंदा चन्द्रागिरिको डाँडोबाट उनले पहिलोपटक काठमाडौँका तीन सहर देखेका हुन् ।

उनको समयमा गोरखा आफैँमा धनी वा वैभवशाली राज्य पनि थिएन । पृथ्वीनारायणका बाबु नरभूपाल शाह विशेष योग्यता भएका मान्छे थिएनन् । तर, करिब २० वर्षकै उमेरमा राजा भएका पृथ्वीनारायण महत्त्वाकांक्षी र होनहार दुवै थिए । उनमा गोरखा  राज्यको विस्तार र वैभवशाली एवं सम्पन्न जनताको परिकल्पना पनि थियो । उनलाई राजा राम शाह, भूपतिन्द्र मल्ल वा महिन्द्र मल्लजस्तो न्यायप्रिय राजा बन्ने रहर थियो । ठूलो देशको अधिपति हुनका लागि हिमवत् खण्डको एकीकरण आवश्यक थियो भने  परम्परागत रूपमा आर्थिक समृद्धिका लागि भोटसँग व्यापार गर्ने हिमाली नाकाहरू तथा दक्षिणतर्फको मुगलानसम्मको पहुँच नभई सम्भव थिएन । यो परिकल्पनाले पृथ्वीनारायणलाई राज्य विस्तार एवं एकीकरणतर्फ उन्मुख गरायो ।

नेपाल एकीकरणको प्रयास गर्ने पृथ्वीनारायण पहिलोे व्यक्ति थिएनन् । मानदेवलगायतका लिच्छविकालीन राजाहरू सम्भवतः सबैभन्दा प्रभावशाली थिए । अहिलेको नेपालभन्दा लगभग ठूलो नेपालमा उनीहरूले शासन गरेको मानिन्छ । तर, नेपाल सोही रूपमा  रहिरहन सकेन । वास्तवमा अठारौँ शताब्दीका राजा अरमुडी, बाह्रौँ शताब्दीका राजा नागराज, सत्रौँ शताब्दीका राजा प्रताप मल्ल र राम शाहले पनि यस हिमवत् खण्डमा एकीकरणको भगीरथ प्रयत्न गरेका हुन् ।

पृथ्वीनारायण र अरूका बीचको मुख्य फरक के  हो भने उनी ती प्रतापी राजाहरूभन्दा बढी महत्त्वाकांक्षी र रणनीतिक थिए । यो क्षमताले उनलाई राज्य विजेता मात्र नभई समग्र नेपालको एकीकरणकर्ता बनायो । यो अवसर प्रताप मल्लजस्ता सम्पन्न नेपालका राजा र अरमुडी वा नागराजजस्ता कश्मीरसम्म  शासन गर्ने राजालाई प्राप्त भएन । किनभने, एकीकरण गर्न चाहिने सामरिक क्षमता र एकीकृत देशलाई धान्न सक्ने सामाजिक, आर्थिक, राजनीतिक र प्रशासकीय हुति सबैमा उत्तिकै थिएन । पृथ्वीनारायणले यो पुरुषार्थ गरेरै देखाएका हुन् ।

विश्व परिस्थिति

एकीकरण राजा पृथ्वीनारायणको महत्त्वाकांक्षा मात्र थिएन । यसका लागि तत्कालीन अवस्थाका वस्तुगत परिस्थितिहरू पनि विद्यमान थिए । उनी जन्मनुअघि रोबर्ट वालपोल बेलायतका प्रधानमन्त्री भएका थिए । बेलायतको बढ्दो सैन्यशक्ति त्रासको विषय भइसकेको  थियो । रुसका राजा (जार) पिटर द ग्रेटले राज्यमा ठूलो भूमिका पाएको अर्थोडक्स चर्चको सुधार गर्न थालेका थिए । तथापि, रुस र पर्सियाबीच युद्ध सुरु भइसकेको थियो । अफगानहरूले त्यस बेलाको शक्तिशाली राष्ट्र इरानलाई जितिसकेका थिए । चीनका कांशी  बादशाह भर्खर बितेका थिए ।

पृथ्वीनारायणको जन्मपछि नै पर्सियालाई कन्स्ट्यान्टटिनोपोल सन्धि अन्तर्गत रुस र अटोमान साम्राज्यले बाँडीचुँडी खाएका थिए । अंग्रेज र स्पेनीहरूबीचको युद्ध त्यसपछिको अर्को ठूलो घटना थियो । पृथ्वीनारायण शाह किशोर उमेरमा टेक्दा नटेक्दै रुस र टर्कीबीच  चारवर्षे घमासान युद्ध सुरु भइसकेको थियो । चीनका प्रभावशाली सिङ लङ बादशाहको राज्य विस्तारको कार्यक्रम त्यत्तिकै दह्रो थियो ।

यता हिन्दुस्थानमा मुगलहरूको बिजोग सुरु भइसकेको थियो । जो टुक्राटुक्रा हुँदै थिए । पर्सियाका नादिर शाहको आक्रमणबाट  मोहम्मद शाह निकै पीडित थिए । युरोपमा प्रोटेस्टेन्ट र क्याथोलिकबीच पटक-पटक युद्ध भएझैँ यस क्षेत्रमा मुस्लिम र हिन्दु राज्यहरू भिड्न सुरु गरिसकेका थिए । चतुर बेलायती तथा फ्रान्सेलीहरू हिन्दुस्थानमाथि आधिपत्य स्थापित गर्ने तयारीमा जुटिसकेका थिए ।  यो खेलमा बेलायती महाचतुर देखिए । दिव्योपदेशमा टर्की, चीन र हिन्दुस्थानका बारेमा सावधान गर्नुपर्ने कारण सम्भवतः तिनै थिए ।

राष्ट्र निर्माणका आधार

पृथ्वीनारायण नयाँ नेपाली मुलुकका एकीकरणकर्ता मात्र होइनन् । आफ्नो जिन्दगीको अन्तिम लडाइँ उनले सन् १७७३ मा लडेको देखिन्छ । करिब ४६ वर्षको उमेरमा काठमाडौँमा राजधानी सारेपछि पृथ्वीनारायणमा देखिएको राजनीतिक कौशलले उनको  परिपक्वता दर्साउँछ । उनले टिपाएको 'दिव्योपदेश' र उनका बारेमा लेखिएका ग्रन्थहरूले यसबारे प्रकाश पार्छन् । उनले पुनः एकीकृत नेपाललाई पाको राजनेताका रूपमा चार जात छत्तीस वर्णको साझा फूलबारीका रूपमा देख्न चाहे ।

हिमवत् खण्डको असंलग्न  परराष्ट्र नीतिको सूत्रधार उनै भए । उपनिवेशवादविरुद्ध राष्ट्रिय सुरक्षाको अवधारणा उनीमार्फत नै आयो । एकीकरणमा परेका अधिकांश भुरेटाकुरे राज्यलाई उनले स्वशासन दिए । आफ्नो र अन्य क्षेत्रका फौजलाई नेपाली फौजमा परिणत गरे । राष्ट्रिय सेनाको  निर्माण एउटा ठूलो प्रयोग थियो । आन्तरिक पुँजी निर्माणका लागि उद्योग र वाणिज्य क्षेत्रमा उनीद्वारा प्रतिपादित नीतिहरू आज पनि त्यत्तिकै महत्त्वपूर्ण छन् । नवएकीकृत देशको सामूहिक क्षमतामै त्यसपछिका उत्तर तथा दक्षिण दुवैतर्फ नेपालले पटकपटक लडाइँ  लडेको थियो । यी लडाइँले नै नेपाललाई सम्पूर्ण रूपमा एक ढिक्का पारेको थियो । नेपाली पहिचान र नेपाली राष्ट्रवादको शिल्पकारिता पृथ्वीनारायण शाहले नै सुरु गरेका हुन्, जसमा अरूको पनि पर्याप्त लगानी छ । तथापि, सूत्रधार पृथ्वीनारायण नै हुन् भन्ने  कुरामा विवाद छैन ।

पृथ्वीनारायणले निर्माण गरेको एकीकृत नेपाल उनको जमाना अनुसार हेर्दा सबैभन्दा टिकाउ भएको मान्नुपर्छ । उनको जमानामा यस क्षेत्रमा विभिन्न लडाइँ भए । तर, एकीकरणको प्रयास भएन । चिनियाँ प्रयोगलाई अलग गर्ने हो भने उनीपछि बनेको यस क्षेत्रको  वैभावशाली सिख साम्राज्य ४८ वर्ष पनि टिक्न सकेन । यसका संस्थापक रञ्जित सिंह बितेपछि यो मूलतः सकियो । यसै बेला छत्रपति शिवाजीले मराठा साम्राज्य पनि स्थापित गरेका थिए, जसलाई हिन्दु राज्य भनिन्थ्यो । यो सन् १६७४ देखि १८१८ सम्म मात्र  टिक्यो ।

सन् १८५८ देखि १९४७ का बीच उपनिवेशउन्मुख बेलायतीहरूले यस क्षेत्रका धेरैजसो राज्यलाई आफ्नो नियन्त्रणमा लिए । उपनिवेश नै नभने पनि करिब ५ सय ६२ वटा बाइसी-चौबीसी प्रकारका राज्य बेलायत सरकारलाई राजनीतिक-आर्थिक कूत  बुझाउँथे । यो परिस्थितिलाई हेर्ने हो भने पृथ्वीनारायणले निर्माण गरेको नेपालले आफ्नो स्वतन्त्रता मात्र कायम राखेन, यसले बेलायती साम्राज्य र शक्तिशाली चिनियाँहरूसँग पनि जटिल कूटनीति निर्वाह गरी निरन्तर गन्तव्य पहिचान गर्‍यो ।

विस्तारवाद, जातीयता र धर्म

जतिसुकै राम्रा व्यक्तिका पनि कमीकमजोरी हुन्छन् । व्यक्तिको क्षमता जति बढी हुन्छ, उसका विरोधी पनि त्यति नै बढ्छन् । कतिपयले पृथ्वीनारायणलाई विस्तारवादी भनेका छन् भने कतिपयले हिन्दु धर्मलाई जनतामा लाद्ने शासक । त्यस्तै जातीय  शासनलाई उनले भताभुंग पारेको पनि कतिपयको आरोप छ । उनको पालादेखि नै विभिन्न जनजातिले शासन गुमाएको पनि भनिएको छ । एकीकरणको लडाइँ बर्बरतापूर्ण थियो भन्ने मान्यता पनि व्यक्त गरेको देखिन्छ । प्रकाशित सामग्रीका आधारमा हेर्दा पृथ्वीनारायणले नेपाललाई 'असली हिन्दुस्थान' बनाउन खोजेको आरोप लगाइएको छ । यी सबै आरोपका बारे विभिन्न मान्छेका विभिन्न दृष्टिकोण हुन सक्छन् । तथापि, राज्य जित्ने अभिलाषा नभएको भए एकीकरणको परिप्रेक्ष्य आउने थिएन भन्न सकिन्छ ।

उनले नेपाललाई असली हिन्दुस्थान बनाउन खोजे भन्ने आरोपको आधार देखिँदैन । मुगल वा अंग्रेजबाट यो बिटुलिएको छैन भन्ने प्रसंगमा उनले 'असली हिन्दुस्थान रहेछ' भनेका छन् । उनले देखेबुझेसम्मको वस्तुस्थितिका आधारमा निकालिएको निष्कर्ष थियो त्यो ।  त्यस्तै, उनको समयमा कतै जातीय राज्य वा शासन भएको इतिहासले देखाउँदैन । यस अर्थमा उनले कसैसँग जातीय लडाइँ लडेका थिएनन् । जस्तो: एकीकरणको वृत्तान्तमा गोर्खालीहरूले राजा जयप्रकाश मल्लको खस एवं मगर सेनासँग समेत लडाइँ लडेको  पढ्न सकिन्छ ।

आस्था र विश्वासका कुरा राष्ट्र निर्माणमा धेरै महत्त्वपूर्ण हुन्छन् । विभिन्न मिथक, मूर्ति, प्रतिमा र प्रतीकलाई पनि एकताको आधारका रूपमा स्थापित गरिएका हुन्छन् । प्रकृतिको अवधारणालाई नियति र ईश्वरको अवधारणालाई मिथक भनिएकै छ । तर, त्यसबिना  साधारण मान्छेको जीवनको परिकल्पना सम्भव हुँदैन । आममान्छेले बुझ्ने ससाना ऐतिहासिक तथ्य, वीरता, लडाइँ र शान्तिका गीतहरू आफ्नो भाषा, धर्म-संस्कृति, खोलानाला, जंगल, तरुण र तरुणीको सम्बन्ध, मेलापात, दुःख एवं विस्मात्का प्रसंगले मान्छे,  समाज अनि राष्ट्रलाई जोडेका हुन्छन् ।

कतिपय कुरा असत्य पनि होलान्, तथापि यी समग्र परिस्थितिले देश र राष्ट्रियताको भावना जागृत गर्ने हो । प्रजातन्त्र, समानता र मौलिक अधिकार एवं शासनमा सहभागिताका कारण बन्ने राष्ट्रवाद त आजको सिर्जना हो ।  इतिहासलाई यसका आधारमा मूल्यांकन गर्न खोज्नु हुँदैन । राज्यहरू सेनाले टिक्लान्, नटिक्लान् तर यी साधारण सत्यका आधारमा ठूल्ठूला साम्राज्य बनेका पनि छन्, ढलेका पनि छन् । पृथ्वीनारायणका बारेमा नेपालीले गौरवान्वित हुनुपर्छ, नेपाल टिकेको मात्र छैन,  आवश्यक पर्दा यसले शत्रुलाई ढालेको पनि छ ।

पृथ्वीनारायणको जन्म नभएको भए आजको नेपाल सम्भव हुन्थेन । एकीकरण आजको अकाट्य र चुनौती दिन नसकिने यथार्थ हो । यो नभएको भए नेपाल राज्य सम्भवतः कथा भइसकेको हुने थियो । प्रजातन्त्र र संविधानवादले मुलुकलाई बलियो बनाउने आधार  उनले छाडेर गए । आजका नेपाली आजको आवश्यकताबमोजिम देशको शासन व्यवस्था, राजनीतिक प्रणाली तथा राज्य व्यवस्थापनको कुरो गर्न सक्षम छन् । अतः उनको जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनु इतिहासप्रतिको इमानदारी मात्र  होइन, शान्त, सुन्दर र समृद्ध नेपालको निर्माणका लागि एउटा बलियो पूर्वाधार पनि हो । उनले निर्माण गरेको राज्य गौरवको विषय हुने तर निर्माताचाहिँ अभिशाप हुने भन्ने हुनै सक्दैन ।

प्रथम प्रकाशित मिति: २७ पुस २०७१ 

 
 
प्रकाशित: पुस २६, २०७३