दलनको बर्बर शृंखला

  • दलित परिवारमा जन्मेकै कारण आततायी यातनाको सिकार

- शिवहरि ज्ञवाली

आठ वर्षयता देशका विभिन्न ठाउँ डुल्दाघुम्दा मलाई लागेको छ, हामीभित्र गढेर बसेको कथित उच्च र निम्न जातको संकीर्ण र अमानवीय सोच ज्यूँका त्यूँ छ । मुखले त हामी गणतन्त्र, समानता, समता, न्याय जप्छौँ तर हाम्रो व्यवहार भने यति आततायी छ कि आजको २१औँ शताब्दीमा पनि हामी निर्दाेष दलित समुदायलाई गुहुमुत खुवाइरहेका छौँ, बर्बर तरिकाले हत्या गरिरहेका छौँ । उदेकलाग्दो पक्ष त के छ भने यस्ता घटनामा आफूलाई परिवर्तनकामी भन्ने दलका नेता–कार्यकर्ता, विवेकशील भनिएका शिक्षक, कारबाही गर्नुपर्ने पुलिस–प्रशासन र स्थानीय स्तरमै विरोध गर्नुपर्ने हाम्रो समाज रमिते हुन्छ । दलितको हकहितका लागि खुलेका सरकारी र गैरसरकारी संस्थाहरू पनि घटनापछि विज्ञप्ति निकाल्न र मिडियामा ठूलठूलो स्वरले आफैँ प्रदर्शित हुन मात्र चाहिरहेको देखिन्छ । यसमा यो वा त्यो पक्षलाई दोष दिएर पानीमाथिको ओभानो हुनेभन्दा पनि एउटा सशक्त सांस्कृतिक क्रान्तिका लागि सबैले हातेमालो गर्न जरुरी छ । केही प्रमाणित प्रतिनिधि घटना–अध्ययन लिऊँ : 

१५ भदौमा दैलेख सदरमुकाममा सन्तबहादुर दमाई, २७, भेटिए । बाबुको तिथि बारेर सदरमुकाम आएका उनलाई मैले उनको गाउँनजिकै रहेको तामेखोलाको बगरमा खिचेको तस्बिर देखाएँ । तस्बिरमा जलाउन ठिक्क पारिएको लासमाथि घोप्टो परेर बिलौना गरिरहेकी उनकै आमा (अमृता दमाई) र आँखा पुछ्दै हातमा स्याउला छोपेर रोइरहेका उनै छन् । तस्बिर हेरेपछि मेरो हात चपक्क समातेर बरर आँसु मात्र खसाले । एक शब्द बोल्न सकेनन् । दैलेख, तोली–२, धनीगाउँका उनै सन्तबहादुर र छिमेकी भक्तबहादुर शाही (ठकुरी)की छोरी राजकुमारी शाहीसँग प्रेम सम्बन्ध थियो । सम्बन्ध छुटाउन जति खोजे पनि उनीहरूको प्रेम टुट्न सकेन । आखिर २८ साउन ०६८ मा उनीहरूले भागेर विवाह गरे । 

विवाहपछि पनि उनीहरूलाई छुटाउन केटी पक्षले जोरजुलुम गर्‍यो । कसैको केही चलेन । अन्त्यमा राजकुमारीकी फुपू तथा नेपाल पत्रकार महासंघ, दैलेख शाखाका पूर्वकोषाध्यक्ष बिन्दकला शाहीले सन्तबहादुर र राजकुमारीको ज्यानै लिने योजनासहित रातको समयमा सन्तबहादुरको परिवारमाथि आक्रमण गराइन् । आक्रमणमा नवविवाहित छोरा–बुहारीलाई जोगाउन खोज्दा सन्तबहादुरका बाबु सेते दमाईको छातीमै खुकुरी रोपेर आक्रमणकारीहरू भागे । घटनाको भोलिपल्ट उनलाई उपचारका लागि सदरमुकाम लगियो । तर, त्यहाँ उपचार हुन नसकेपछि क्षेत्रीय अस्पताल सुर्खेत पुर्‍याइएका सेतेको १४ भदौको राती ज्यान गयो । स्मरणीय छ, सेतेको मृत्युभन्दा ठीक तीन महिनाअघि सरकारले जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन, २०६८ लागू गरेको थियो ।

सन्तबहादुरसँग भेट भएको भोलिपल्ट १६ भदौमा जिल्ला विकास समितिको कार्यालयमा ‘मानव अधिकार र आत्मसम्मानका लागि सामूहिक आवाज’को नारासहित मिडिया संवाद कार्यक्रम हुँदै थियो । करिब ८० जना सहभागी रहेको कार्यक्रमका वक्ता थिए, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्री, जिल्ला प्रहरी प्रमुख केदार रजौरे र मानव अधिकार एलाइन्सका जिल्ला अध्यक्ष खड्ग सिजापती । 

संवादका क्रममा उमेरले ६० कटेजस्ती देखिने महिलाले रुँदै आफ्नो १४ वर्षको छोराको जन्मदर्ता नभएको गुनासो गरिन् । प्रजिअले समस्याको समाधान गरिदिने आश्वासन दिए । तर, त्यो १४ वर्षको बालकले बिनासित्तैँमा दु:ख पाउनुको कहानी भने बेग्लै थियो । बडाभैरव–४, दैलेखकी सीता विश्वकर्मा, ४८, लाई १४ वर्षअघि घाँस काट्न गएका बेला बडाभैरव–५ का नरबहादुर थापा, ५४, ले बलात्कार गरे । गर्भ रहेपछि उनले सीतालाई स्थानीय गंगाबहादुर विक, ६९, को साथ लगाइदिए । यसबापत गंगाबहादुरले ६० हजार रुपियाँ नगद पाए र नरबहादुरको गर्भसहितकी सीतालाई स्वीकारे ।

गंगाबहादुरसँग बस्दै गर्दा सीताले गएको १३ वर्षमा अरू तीन छोरीसमेत जन्माइन् । गंगाबहादुरले छोरीहरूको जन्मदर्ता गराइदिए तर गोपाल आफ्नो छोरा नभएको र आफूले अंश दिन नसक्ने भन्दै जन्मदर्ता गरिदिएनन् । हाल माइतीमै रहेकी सीता सदरमुकाममा छोरासहित न्यायका लागि रुँदै भौँतारिइरहेकी छन् । 

२५ असारमा काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका–६ का अजित मिजार, १७, र सोही जिल्ला ज्याम्दी–८ की एक गैरदलित समुदायकी युवतीले प्रेमविवाह गरे । उनीहरूलाई दुई दिनपछि इलाका प्रहरी कार्यालय, पाँचखालले उमेर नपुगेको भन्दै केटा वा केटीको ज्यान तलमाथि भएमा कोही जवाफदेही नहुने बेहोरासहितको लिखित सहमति गराई अभिभावकको जिम्मा लगाइदियो । त्यसको दुई दिनपछि मलेखु बजारको ठ्याक्कै पारि धादिङ, कुम्पुर–३, स्थित एक ठाँटीमा घुँडाले भुइँ छोएको अवस्थामा प्रहरी बिटको सय मिटर पर एक युवकको लास भेटियो । 

प्रहरीले नै लास गन्हाएको भन्दै झूटो पोस्टमार्टम गरी फुर्के खोलाको बगरमा बर्खाको बाढीले बगाउन सक्ने गरी गाडिदियो । अजितका परिवार छोरा खोज्दै धादिङ पुगे । र, गाडिएको लास हेर्न प्रहरीसँग अनुरोध गरे । गाडिएको लास स्काभेटरले बाहिर निकाल्दा अजितको कपालका रौँ झरेको बाहेक न त पोस्टमार्टमको कुनै दाग थियो, न त शरीरमा कतै चोट । 

पुन: पोस्टमार्टमका लागि अजितको लास त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा ल्याइयो । पोस्टमार्टम रिपोर्टले झुन्डिएर आत्महत्या नभएको पुष्टि गर्‍यो । अजित मिजारको हत्या घटनामा दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिसहित दलित नागरिक समाज र संयुक्त राजनीतिक दलित संघर्ष समितिले काभ्रे र राजधानीमा विरोध र्‍याली गरे । तर, अहिले ६ महिना हुँदासम्म पनि अजितका हत्यारालाई प्रहरीले पत्ता लगाउन सकेको छैन । अजितको लास अझै शिक्षण अस्पतालमै छ । 

यी त भए केही पुराना घटना । हालै मात्र २० मंसिरमा काभ्रेपलाञ्चोक, सानो बाङथली–७ की लक्ष्मी परियार, ३२, लाई मलमूत्र खुवाई कुटपिट गरे, स्थानीय शिक्षक हीरा लामा र उनकी आमा काइँलीमाया लामालगायतले । कुटपिटपछि उल्टै उल्टो लक्ष्मीलाई दोषी ठहर्‍याउँदै प्रहरीले ६ हजार रुपियाँ जरिवानासहित मिलापत्र गरायो । तर कुटपिट भएको चार दिनपछि घरबाट केही पर रहेको गोठमा लक्ष्मीको लास भेटियो । लक्ष्मी परियार हत्याविरुद्ध दलित समुदाय १ पुसमा सडकमा आयो । उनका छोरा सुमन पनि न्यायका लागि सडकमै आए । तर, आमाको मृत्युपछि हिरासतमा रहेका बाबुको समेत माया पाउन नसकेका उनी सडकमा उभिन सकेनन् । जेनतेन उनका काकाले ढाडमा बोकेर उठाए । यो पंक्तिकारले आधा खुलेका सुमनका आँखा, निन्याउरो मुख र आक्रोशले चिच्याउँदै गरेका काकाको तस्बिर खिच्न भ्यायो । 

यी केही प्रतिनिधि घटना मात्र हुन् । आफैँलाई महसुस हुन्छ, दलितहरूको आँसु कचौरामा थोपाथोपा जम्मा गरेर त्यसैको बिक्री त गरिरहेका छैनौँ हामी ? सेते, मनवीर, शिव, अजित, कुमार र लक्ष्मीहरू मारिइरहँदा हामी मौन छौँ भने के हामी सामाजिक न्याय र समताका पक्षपाती हौँ त ? कल्पना गरौँ– सेते, मनवीर, शिव, अजित, कुमार र लक्ष्मीहरू कथित उच्च जातका भएका भए के हुन्थ्यो ? अनाहकमा ज्यान जानु भनेको परिवारको कत्रो शोक हो, खै हामी र हाम्रो समाजले जोडदार र धूवाँदार विरोधको स्वर उचालेको ? 

जन्मकै कारण यो हदको यातनाको सिकार भइरहँदा विरोधमा बोल्नुपर्ने दलित मात्रै कि हामी गैरदलित पनि ? यस्ता अमानवीय र आततायी हत्या, दुव्र्यहार, बलात्कार शृंखलाले हाम्रो समाज र सभ्यतालाई गिज्याइरहेको छैन र ? यदि हामी दलित परिवारमा जन्मेका भए, हाम्री आमालाई दिसा कोच्याइएको भए, प्रेम गर्दा मारिनुपरेको, भाग्नुपरेको भए, छोएको  भनेर हाम्रा बाआमालाई सार्वजनिक रूपमा कसैले अपमानित गथ्र्याे भने हामीलाई कति दुख्थ्यो होला ? त्यसैले दलित भएर सोचौँ, उनीहरूले बिनाकारण पलपल भोग्नुपर्ने दुव्र्यवहार आजै अन्त्य गरौँ । 

प्रकाशित: पुस २५, २०७३