'असल नियत राख्ने प्रहरीले कहिल्यै उल्झन झिक्दैन'

- मनबहादुर बस्नेत

इन्डियन पुलिस सर्भिस (आईपीएस)को तालिममा भारतले नेपाल, भुटान र माल्दिभ्सको प्रहरीलाई कोटा उपलब्ध गराउँदै आएको छ । सन् १९५४ देखि नेपाल प्रहरीले यो तालिममा अधिकृत पठाउँदै आएको छ । भारतसहित चार देशका प्रहरीले संयुक्त रुपमा लिने यो १० महिने आधारभूत तालिमको ६ दशकको इतिहासमा पहिलोपटक नेपालले ‘सर्वोत्कृष्ट अवार्ड’ पाएको छ । बाह्य प्रशिक्षण विधामा प्रहरी निरीक्षक (इन्स्पेक्टर) रघु विष्टले १ सय २९ प्रतिस्पर्धीलाई उछिन्दै उत्कृष्टसहित ६ विधामा अवार्ड जितेका हुन् । ०७० मा भर्ना भएर अहिले चितवनको भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा कार्यरत विष्टसँगको संक्षिप्त वार्तालाप :

उत्कृष्ट भएपछि खुसी त पक्कै लागेको होला । अब यो खुसीको उपयोगचाहिँ कसरी गर्नुहुन्छ ? 
खुसी र गर्व दुवै लागेको छ । यो अवार्ड मेरो व्यक्तिगत त हुँदै हो । त्यसबाहेक संगठन र देशको प्रतिनिधित्व गरेकाले मलाई अझै बढी गर्व छ । आफूले सिकेर आएको कुरालाई यहाँ लागू गराउने मेरो प्रयास हुनेछ । 

अहिले यहाँ भइरहेको तालिममा नयाँ के गर्न सकिने रहेछ ? 
नयाँ र उन्नत प्रविधिको प्रयोग गर्न सकिन्छ । नेपालको भन्दा भारतमा तालिमको ‘एक्स्पोजर’ बढी छ । यहाँ समेत त्यो तहको ‘एक्स्पोजर’ बढाउन सकिन्छ । हाम्रो भन्दा भारतको तालिम बढी प्रयोगात्मक हुन्छ । हामीले पनि त्यस्तो गर्न सक्छौँ । 

यो तालिमको खास महत्त्व के रहेछ ? 
दुई देशीय कूटनीतिक सम्बन्धमा आउने सुमधुरता नै हो । 

सांगठिक रूपमा चाहिँ यसले के महत्त्व राख्छ ? 
नेपाल र भारतको सीमा खुला भएकाले अन्तर्देशीय अपराधका घटना बढी हुने गरेको पाइन्छ, खास गरी सीमा क्षेत्रमा । तालिम सँगै लिएपछि हामी ‘ब्याचमेट’ हुन्छौँ । ‘ब्याचमेट’ हुँदा दुवैबीच गहिरो दोस्ती रहन्छ । यो दोस्तीले अन्तर्देशीय अपराध र दुवैतिरका सीमा क्षेत्रमा अपराध नियन्त्रण र अनुसन्धानमा समन्वय हुन सक्छ । 

बाह्य प्रशिक्षणमा उत्कृष्ट हुनुभयो । तर, कक्षाभित्र हुने सैद्धान्तिक प्रशिक्षण उछिन्न गाह्रो रहेछ, हो ? 
गाह्रो होइन । भारतीयहरूलाई अन्य मुलुकबाट गएकालाई भन्दा सजिलो हुनेचाहिँ हो । 

कसरी ? 
सैद्धान्तिक प्रशिक्षणमा हुने अपराध अनुसन्धानका विधि, अपराध शास्त्रबारे हामीलाई गाह्रो हुँदैन । तर, भारतीय कानुन र कानुनी प्रक्रियाहरू पढ्नुपर्ने भएकाले हामीलाई भन्दा उनीहरूलाई सजिलो हुन्छ । 

त्यसमा पनि जित्न केमा ध्यान दिनुपर्ने रहेछ त ? 
जानुअघि नै भारतीय कानुनबारे अध्ययन गरियो भने त्यसले सहजता प्रदान गर्छ । किनभने, विभिन्न विधागत क्षेत्रबाट खारिएर आएका भारतीय प्रहरीसँग हामीले प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । अझ उच्च 
अदालतका अधिकारीहरूसमेत थिए हामीले तालिम गर्दा । 

प्रहरीमा आगमन आकस्मिक हो कि पहिल्यैदेखिको रहर ? 
रहर नै भनौँ । 

किन ? 
युवाहरूको पलायन देखेर मलाई यहीँ केही गर्नुपर्छ भन्ने लाग्थ्यो । 

प्रहरी सेवाचाहिँ किन छान्नुभएको त ? सरकारी जागिरका अन्य विकल्प पनि थिए नि ? 
अन्यायमा पर्ने मानिस सबैभन्दा पहिले प्रहरीमा ठोकिन्छन् । सुरुमै उनीहरूलाई न्याय दिलाउने बाटो देखाउन सकिन्छ । समाजमा परिवर्तन ल्याउन र प्रणाली बसाल्ने कुरामा प्रहरीले चाहेमा धेरै कुरा गर्न सक्छ भनेर छानेको हुँ । 

तर, प्रहरीले सजिलै न्याय दिलाउन सहयोग गर्दैन । विभिन्न उल्झनहरू झिक्छ भन्ने गुनासो नि ?
प्रहरीले कानुन अनुसार काम गर्ने हो । कानुनी प्रक्रिया केही झन्झटिलो लागेको हुन सक्छ । हामीले तालिममा नागरिकको सहयोगी बनाउने कुरा नै गरेका हुन्छौँ । असल नियत राख्ने प्रहरीले कहिल्यै उल्झन झिक्दैन । 

असल नियत निर्माण कसरी हुन्छ, तालिमका क्रममा ?  
हामीले जहिल्यै ‘आइडियल’ प्रहरी बनाउने कोसिस गरिरहेका हुन्छौँ । पुलिस भनेको जहाँ रहँदा पनि दाग नलागेको पर्दा बन्नुपर्छ भनेर नैतिक शिक्षासमेत दिन्छौँ । 

 

प्रकाशित: पुस २२, २०७३