[फिल्म] अन्तरिक्ष यानभित्रको संसार

- गोकर्ण गौतम

पृथ्वीभन्दा अन्तरिक्ष र त्यहाँसम्मको यात्राको कथामा हलिउडको झुकाव धेरै देखिन थालेको छ । धेरै धनराशिका फिल्म कि सुपरहिरोका हुन्छन् कि यस्तै साइन्स फिक्सन । जसमा विगत र वर्तमान भन्दा भविष्यमा हुन सक्ने यथार्थको अधिक आभास हुन्छ । द इमिटेसन गेममा ऐतिहासिक कथा भनेर प्रशंसा बटुलेका निर्देशक मोर्टेन ट्वाइलडमले नयाँ फिल्म प्यासेन्जर्समा अन्तरिक्षमै केन्द्रित विषय रोजेका छन् । जहाँ उनले हलिउडका ठूला स्टार क्रिस प्राट र जेनिफर लरेन्सलाई अन्तरिक्ष यात्री बनाएका छन् । त्यसैले रिलिज अगावै प्यासेन्जर्सले निकै चर्चा बटुलेको थियो । 

विशाल अन्तरिक्षमा बेहोसीमा यात्रा गरिरहेका जिम (क्रिस) एक्कासि ब्युझिन्छन् । एक सय २० वर्षको यात्रामा जिमको ९० वर्ष अगावै होस खुल्छ । यानमा आफूबाहेक कुनै प्राणी नभएको थाहा पाएपछि जिम धेरै आत्तिन्छन्, बल्ल–बल्ल उनले मानवरूपी रोबोट फेला पार्छन् । फेरि बेहोस भएर गन्तव्यसम्म पुग्ने प्रयास गरिरहेका बेला अर्की यात्री अउरोरा (जेनिफर)को पनि होस खुल्छ । उनीहरू एकअर्कामा अपरिचित हुन्छन् तर एउटै पीडामा रहेका जिम र अउरोराबीचको सम्बन्ध घनिष्ट हुँदै जान्छ । तर उनीहरूलाई आफू कहाँ छु भन्नेसम्म पत्तो हुन्न । त्यही बेला यान सूर्यझैँ बलिरहेको कुनै ग्रहसँग ठोक्किन थाल्छ । यस्तो अवस्था आफूलाई जोगाउन र फेरि बेहोसमै यात्राको संघर्षमै फिल्म केन्द्रित छ । 

अन्तरिक्ष यानमा सुरु हुने कथा यानमै सकिन्छ । तर यानभित्रै निर्देशकले सिर्जेको दुनियाँ आफैँमा भव्य छ । मानव नभए पनि मेसिन र मानवरूपी रोबोटकै भरमा यानभित्र जिम र अउरोराको आधारभूत आवश्यकता पूरा हुन्छ । जस्तै कठिन परिस्थितिमा पनि आफू बच्न मान्छेले गर्ने संघर्ष र मित्रतालाई पटकथामा महत्व दिइएको छ । लेखक जोन स्पाट्सले यात्रीको मनोविज्ञान र ग्रहसम्म पुग्ने भोकलाई मन छुने शैलीमा पस्केका छन् । तर कतिपय साइन्स फिक्सन फिल्ममा झैँ अन्तरिक्षसम्म पुग्ने क्रममा विभिन्न ग्रहहरू ठोक्किएका भयंकर दृश्य, त्यसबाट बच्न यात्रीहरूले गर्ने ठूला सघंर्ष अथवा सुपरहिरोहरूको उदय हुन्न प्यासेन्जर्समा । सिर्फ दुई यात्री बीचको सम्बन्ध र उदेश्यको भावनात्मक पक्षको फेहरिस्त छ । 

यानमा जिमको होस खुलेपछिका सुरुआती दृश्य रोचक छन, त्यसक्रममा यानभित्रको संसार नियाल्न पाइन्छ तर विस्तारै फिल्मको बहाब घट्छ । कुनै ठूला ‘इभेन्ट’ हुन्नन्, बिस्तारै झिँझो महसुस हुन थाल्छ तर अउरोरा ब्यूँझिएपछि  भने कथा रोचक बन्छ । उनीहरूले क्रु मेम्बर खोज्न पनि उत्तिकै संघर्ष गर्नुपर्छ । फिल्मको अन्त्य ‘ओपन इन्डेड’ छ ।

क्रिस र जेनिफरको रसायन फिल्मको सुन्दर पक्ष हो । उनीहरूको रोमान्सका भरपुर दृश्य देख्न पाइन्छ । मेकानिकल इन्जिनियर क्रिसलाई विभिन्न रूपमा देख्न पाइन्छ । पेसाले पत्रकार जेनिफरको अभिनय र सुन्दरता दुवैले दर्शकलाई तान्छ । विश्वकै सर्वाधिक कमाउने हिरोइनको सूचीको पहिलो नम्बरमा रहेकी जेनिफरलाई प्यासेन्जर्सले अझ भाउ बढाउनेछ । मिकेल सिन, लुरेन्स फिसबुर्ने, आन्डे गार्सियालगायतका सहायक कलाकारले पनि जबर्जस्त काम गरेका छन् । 

साइन्स फिक्सन फिल्मका पारखी र क्रिस–जेनिफरका फ्यानका लागि हो, प्यासेन्जर्स ।                                                         

 

प्रकाशित: पुस २२, २०७३