कालापानी झापा

  • कटिहार रेलवे स्टेसन पुगेपछि भने बहादुरशमशेरले बिदाइका हात हल्लाउँदै भने, ‘वास्तवमा झापा त कालापानी नै रहेछ !’

- अनिरुद्धप्रसाद सिंह

सप्तरीमा माल अड्डाको हाकिम भएर काम गरेको एक वर्ष पनि पूरा भएको थिएन, विसं २००४ मा मुलुकको राजनीतिमा फेरबदल आयो । पद्मशमशेरको ठाउँमा मोहनशमशेर जबरा प्रधानमन्त्री भए । सत्ता परिवर्तनसँगै प्रशासनमा पनि सामान्य फेरबदल हुने चलनै थियो । नयाँ प्रधानमन्त्रीले मोफसलमा कार्यरत प्रशासनिक क्षेत्रका केही व्यक्तिलाई नयाँ जिम्मेवारी सुम्पिए । मैले पनि झापाको बडाहाकिम बनाएर पठाउने निर्णय भएको पत्र पाएँ ।

पद्मशमशेरकै कार्यकालमा एकपटक काठमाडौँ आउँदा तत्कालीन चिफसाहेब मोहनशमशेरसँग भेट्ने मौका पाएको थिएँ । त्यस भेटमा मोहनशमशेरले मोफसल र त्यसमा पनि खास गरी तराईका समस्यालाई लिएर चिन्ता व्यक्त गरेका थिए । उनले मलाई सिंहदरबारको एक बैठक कक्षमा झन्डै ५० मिनेटको समय दिएर सोधपुछ र भलाकुसारी गरेका थिए । साहै्र मसिनो गरी जनताका सरोकारबारे चाख राख्ने र समस्यामा केन्द्रित भएर कुरा गर्ने उनको स्वभावबाट म प्रभावित भएको थिएँ । 

नेपाली भाषामा मेरो कमजोर अवस्था बुझेर हो वा उनको रवाफ नै त्यस्तै भएर हो, उनले मसँग त्यतिबेला अंग्रेजीमा संवाद गरेका थिए । उनको अंग्रेजी राम्रो थियो । बडो स्पष्ट र ‘ कमान्डिङ’ शैली थियो उनको । सायद, त्यो भेटको प्रभाव पनि हो कि उनी प्रधानमन्त्री हुनासाथ मलाई बडाहाकिम बनाएको । मोहनशमशेर प्रधानमन्त्री भएपछिको भेटमा उनले भने, ‘ तिमी तराईको वस्तुस्थितिसँग जानकार रहेको र माल अड्डाको हाकिम भएर राजविराज (सप्तरी)मा गरेको काम सन्तोषजनक लागेकाले तिमीलाई झापाको बडाहाकिम बनाएर पठाउने निर्णय लिएको हुँ । राम्रो काम गरी सरकारको भलो र उन्नति हुने काम गर्नू ।’

म झापा जाँदा ‘प्रमोसन होइन, कारबाही गरिएको’ भनेर पनि मानिसहरूले कुरा गरे । तर, मलाई त्यस्तो लागेन । जहाँ गए पनि कामै गर्ने त हो भन्ने लागेर खुसीसाथ झापा जाने निर्णय गरेँ र काम गरेर देखाउने अठोट लिएँ । मलाई कारबाही गरेको भन्नेहरूको आफ्नै तर्क थियो । त्यतिबेला झापा ज्यादै विकट र कालापानी (कारबाही गरेर पठाइने)जस्तो क्षेत्र भनेर चर्चित थियो । अर्कोतर्फ, झापामा राणाविरोधी आन्दोलन पनि चर्केको थियो । विभिन्न जातजाति र समुदायबीचको झगडाका कारण पनि झापा त्यतिबेला चर्चामा थियो । त्यसकारण पनि जोकोही प्रशासक त्यहाँ जाने आँट नगर्ने रहेछन् ।

पूर्व, पश्चिम, उत्तर र दक्षिण गरी मुलुकका चार भागमा कमान्डिङ जर्नेलको व्यवस्था थियो । पूर्वतर्फका कमान्डिङ जनरल (पुकज) बहादुरशमशेर थिए भने पश्चिमतर्फ केशरशमशेर । विसं ००५ को कुरा हो । पुकज बहादुरशमशेर दौडाहामा थिए । उनले पूर्वका जनताका कुरा सुन्ने र ठाउँको ठाउँ न्याय–निसाफ दिने भनेर २५ दिने दौडाहा गरेका थिए । 

उनी भद्रपुर पश्चिमपट्टिको एउटा गाउँमा शिविर खडा गरेर बसेका थिए । उनले त्यस क्षेत्रका समस्या बुझ्ने र तत्काल समाधान हुने किसिमका विवाद ठाउँको ठाउँ समाधान गर्ने र समय लाग्ने किसिमका भए प्रधानमन्त्रीमा जाहेर गर्ने बताए । तर, त्यहाँ सामान्य किसिमका समस्या नै उठे र बहादुरशमशेरले ठाउँको ठाउँ निसाफ दिएर टुंग्याइदिए ।

बहादुरशमशेरको शिविरमा म पनि बरोबर गइरहनुपथ्र्यो । एक दिन बहादुरशमशेरले भने, ‘तिम्रो अनुहार रातोपिरो हुनुको राज बल्ल मैले चाल पाएँ । झापा कालापानी र औलो लागेर बिरामी हुने ठाउँ होइन, स्वस्थ र तन्दुरुस्त रहने ठाउँ पो रहेछ !’ उनी बेलाबेला यस्तै व्यंग्य गरिरहन्थे । मैले कुनै जवाफ दिइनँ ।

मसँग त्यति कुरा भएको दुई दिनमै बहादुरशमशेरकी श्रीमती एकाएक बिरामी भएको खबर आयो । उनले मलाई बोलाएर भने, ‘तुरुन्त भोलि नै काठमाडौँ फर्कने व्यवस्था गर, श्रीमती औलो लागेर सिकिस्त भएकाले भोलि नै फर्किनुपर्ने भयो ।’ 

त्यति छिटो भ्रमण दललाई फर्काउन सम्भव थिएन । मैले दुई दिनको समय मागेँ र राणा परिवारका लागि फस्ट क्लास, मातहतका कर्मचारीका लागि थर्ड क्लास र सामान आदिका लागि मालगाडीका केही डिब्बा छिट्टै आरक्षित गरी बिहार (भारत)को कटिहार हुँदै वीरगन्ज पठाउने र त्यहाँबाट काठमाडौँ जाने व्यवस्था मिलाएँ । कटिहार रेलवे स्टेसन पुगेपछि भने बहादुरशमशेरले बिदाइका हात हल्लाउँदै भने, ‘वास्तवमा झापा त कालापानी नै रहेछ !’

 प्रस्तुति : ईश्वरी ज्ञवाली

प्रकाशित: पुस २१, २०७३