नोटबुक

- जनक नेपाल

 

अस्तव्यस्त अस्पताल 

त्यसै त फ्लाइट डिले । त्यसमाथि एयर ट्राफिकजामले भैरहवा–काठमाडौँ उडानमै बुद्ध एयरले झन्डै एक घन्टा लगायो । मोटरसाइकल दुर्घटनामा घाइते भाइ विनोदलाई लिएर थप उपचारका लागि गएको थिएँ । बिरामी लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर निस्कँदा उस्तै ट्राफिक जाम । विमानस्थलदेखि शिक्षण अस्पताल, महाराजगन्ज सडक राष्ट्रपति र प्रधानमन्त्रीको ‘सवारी’ले अर्को ट्राफिक जाममा थियो । अस्पताल पुग्नै डेढ घन्टा लाग्यो । 

अस्पताल त जसोतसो पुगियो । अब इमर्जेन्सीमा बेड पाउन मुस्किल । तरकारी बजारझैँ इमर्जेन्सीमा भीडभाड र हल्लाखल्ला थियो । सिकिस्त बिरामीका लागि बेड थिएन । एउटै बेडमा तीन जनासम्म बिरामी थिए । कुनै गम्भीर सरुवा रोग भए एकअर्को बिरामीमा सर्लाजस्तो । भाग्यवश ! भाइको उपचार अघि बढ्यो । उसलाई अब्जर्भेसन वार्डमा सारियो । तर, इमर्जेन्सी वार्डमा भने बिरामीलाई तर्साउने गरी अबेर रातीसम्म विभिन्न दुर्घटनाका रक्ताम्मे घाइतेहरु एकपछि अर्को आइरहे । 
शिक्षण अस्पतालको अस्तव्यस्त इमर्जेन्सी अनौठो लाग्यो । साथै, कारण जान्न मन लाग्यो । मैले इमर्जेन्सी मेडिसिनका डीएम डा रामप्रसाद न्यौपानेलाई सोधेँ । उनले अनौठो मानेनन् । इमर्जेन्सीमा ६० बेड रहेछन् । तर, बिरामी भने दोब्बर–तेब्बर । “इमर्जेन्सीमा ६ घन्टाभन्दा धेरै कुनै बिरामी राखिन्न,” डा न्यौपानेले बुझाए, “त्यसपछि कि त डिस्चार्ज हुनुपर्छ कि वार्डमा सार्नुपर्छ । हामीकहाँ वार्ड अपुग छ ।” बिरामीलाई तीन दिनसम्म इमर्जेन्सीमा राख्नुपर्ने बाध्यता रहेछ । अनि, किन नहोस् त अस्तव्यस्त !  

भाटभटेनी इमर्जेन्सी

भनिन्छ, दाम कमाउनुभन्दा नाम कमाउन गाह्रो । यो पनि भनिन्छ, धन हुनुभन्दा मन हुनु ठूलो । धन र मन दुवै हुनेले भने सजिलै नाम कमाउने रहेछ । त्यसका राम्रा उदाहरण हुन्, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ । 

गुरुङले आफ्नो मन र धन आफ्ना दिवंगत बुबा बृषबहादुर र आमा धनमायाको स्मृतिमा खर्चिएका रहेछन् । त्यो पनि स्वास्थ्यजस्तो मानवीय क्षेत्रमा । ०६८ असोजदेखि सञ्चालनमा आएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको अत्याधुनिक इमर्जेन्सी भवनले अस्पताललाई ठूलै राहत मिलेको छ । अरु उद्यमी–व्यवसायीले पनि स्वास्थ्यमा यस्तै लगानी गरे सरकारी अस्पतालहरुका मुहार फेरिन्थे कि ? कम्तीमा सामाजिक उत्तरदायित्वको केही अंश स्वास्थ्य क्षेत्रमा लगाएर अरुले पनि यसबाट पाठ सिक्ने कि ? 

त्यसो त, तीन दशकअघि जापान सरकारले शिक्षण अस्पताल निर्माण गरिदिँदा मुलुककै सबैभन्दा अत्याधुनिक अस्पताल थियो, यो । अहिले पनि यो अस्पताल भौतिक रुपमा प्रतिस्पर्धी छ । निजी अस्पताल छाडेर बिरामीहरु पुग्छन् । म आफैँ डेन्टल वार्डसमेत नभएको अस्पतालमा मेसिलोफेसियल सर्जन डा कृष्ण केसीलाई खोज्दै पहिलोपल्ट पुगेको थिएँ । उपचार सेवा हेर्दा लाग्यो, सातवटै प्रदेशमा एक–एकवटा यस्तै अस्पताल खुल्न सके सरकारी अस्पतालमा उपचार गराउन हिचकिचाउनुपर्ने थिएन । 

अस्पतालको गेटमै बिरामी

बिरामी कुरुवा हुनुमा जे तनाव हुन्छ, त्यति पट्यारलाग्दो कुराइ अरु हुन्न सायद । चिया पिउन निस्किनसमेत पालो पर्खिनुपर्ने । अस्पताल छिर्न गेट पास । कहाँ खाने, कहाँ जाने ? अस्पतालको दुई हप्ते बसाइँमा धेरै मन छुने दृश्य देखिए । त्यसमध्ये एक हो, शिक्षण अस्पतालको गेट । जहाँ रामेछाप, भीरपानी–१ का मिर्गौला पीडित विष्णुकुमार श्रेष्ठ दिनभर सहयोग उठाउँछन् । मिर्गौला उपचार गर्दा गर्दै उनको सम्पत्ति सकिएछ । सरकारले नि:शुल्क डाइलासिस सेवा दिने भनेको छ । तर, उपचार र मिर्गौला प्रत्यारोपण गर्न कुनै सघाउ छैन । 

डाइलासिस गर्नैका लागि उनी काठमाडौँमा छन् । अर्को आयस्रोत छैन । त्यसैले सहयोगका लागि हात थाप्न थाले । आफ्नो दु:खको कथा भन्दाभन्दै उनी आजित भए । अनि, भ्वाइस रेकर्ड गरेछन् । दिनभर उनको ‘हार्दिक अनुरोध’ बजिरहन्छ । जति पैसा संकलन हुन्छ, त्यसैबाट उनी जीविका चलाउँछन् । अस्पतालको गेटैमा किन बस्नुभएको ? मेरो प्रश्न खस्न नपाउँदै उनले उत्तर फर्काए, “बिरामीको दु:ख अरुले नबुझे पनि कुरुवाले पक्कै बुझ्लान् नि !” 

भर नपर्दा मेडिकल कलेज 

बुटवल–भैरहवा सडकमा भाइको मोटरसाइकल दुर्घटना भएको थियो । टाउकोमा चोट देखिएकाले लुम्बिनी अञ्चल अस्पतालले सिटीस्क्यान गर्न युनिभर्सल मेडिकल कलेज, भैरहवा रिफर गर्‍यो । न्युरोमा खासै समस्या देखिएन । तर, मेसिलोफेसियल सर्जरी गर्नुपूर्व न्युरो सर्जनले अनिवार्य स्वीकृत दिनुपर्ने भनियो । 

बिदामा रहेका न्युरो सर्जन डा डम्बरविक्रम शाहलाई कुर्दा एक/दुई दिन ढिला भयो । आएकै दिन तेस्रो सिटीस्क्यान गराएर हेराइयो । उनले सबै नर्मल बताए । अब पालो सर्जरीको । मेसिलोफेसियल सर्जरीका लागि मेडिकल कलेज राम्रै मानिँदो रहेछ । सम्बद्ध विज्ञ र अस्पताल प्रशासनले पनि मलाई फकायो । तर, भैरहवामै बस्ने मेरो भाइ, बुबाआमा र आफन्तले पटक्कै मान्नुभएन । कारण, त्यहाँ पटक–पटक दोहोरिएका गम्भीर त्रुटिले आमसर्वसाधारणप्रति अस्पतालको अविश्वसनीय छवि बनेको मैले पाएँ । नत्र, घरआँगनकै अस्पताल छाडेर काठमाडौँ धाउने रहर कसलाई हुन्छ र ?

प्रकाशित: पुस १९, २०७३