[स्मरण] पद्मशमशेरको निगाहमा हाकिम

- अनिरुद्धप्रसाद सिंह

राणा प्रधानमन्त्री पद्मशमशेरद्वारा आयोजित भेलाबाट फर्केलगत्तै उनको दरबारबाट प्रेषित पत्र हात पर्‍यो । सप्तरीबाट फेरि काठमाडौँ आउनुपर्ने भएकाले मनमा अनेक कुरा खेले । सिंहदरबारको त्यो बन्दोबस्ती भेलामा बोलेका कुरालाई लिएर मनमा केही आशंका पनि उब्जिएका थिए । कतै त्यही कुराले मलाई अप्ठ्यारो पार्ने त होइन ? आखिर मैले नचाहिने र नभएको कुरा त केही बोलेको थिइनँ । आफूले देखेभोगेकै कुरा गरेको थिएँ । तराईका जनताले भोग्नुपरेको यथार्थ बताउँदा म प्रताडित हुनुपरेछ भने केही बात छैन भन्ने पनि लाग्यो । 

अर्को मनले भन्थ्यो, अब पद्मशमशेरको दरबारमा बन्दी बन्नुपर्ने हो कि यातना दिएर छोडिने हो ? तैपनि, राणा दरबारको निर्देशन लत्याउने कसको हिम्मत ! म सरासर काठमाडौँ आएँ र श्री ३ महाराज पद्मशमशेरका हजुरिया जनरल सरदार सोमशमशेरलाई भेटेर आफू आउनुको कारण बताएँ । उनले मलाई सरासर विशालनगरस्थित पद्मशमशेर महाराज बसिरहेको वसन्त दरबारमा लिएर गए ।

त्यतिबेला पद्मशमशेर सिंहदरबार नसरी आफ्नै दरबारबाट मुलुकको शासन सत्ता सञ्चालन गरिरहेका थिए । कुनै विशेष सभा, समारोह र बैठक आदिको आयोजना हुँदा मात्र उनी सिंहदरबार जान्थे । अरू राणा महाराजहरूजस्तो उनी श्री ३ महाराज भएपछि पनि सिंहदरबारमा सरेका थिएनन् ।

वसन्त दरबारमा पद्मशमशेर आफ्नै ढंगमा विराजमान थिए । म त्यहाँ पुग्दा उनको चाकडी र सेवा–सुश्रुषामा खटिएका व्यक्तिको लावालस्कर नै लागेको थियो । सुरक्षाकर्मी र अनुचर पनि बाक्लै थिए । त्यही बीचबाट सरदार सोमशमशेरले मलाई अगाडि लिएर गए र महाराजका अगाडि मेरो परिचय दिए । मैले पहिला स्वस्ति गरेँ र श्री ३ महाराज पद्मशमशेरका पाउमा दाम राखेँ । यति गरेपछि दर्शन गरेको मानिँदो रहेछ । यतिन्जेल मेरो मुटु ढुकढुक गरिरहेको थियो ।

पद्मशमशेरले धेरै केही कुरा गरेनन् । सामान्य सोधपुछ गरे र विषय प्रवेश गरिहाले । ‘पढेलेखेका र आफ्नो गाउँबारे धेरै कुरा बुझेका रहेछौ । गाउँमै गएर केही काम गरेर देखाऊ न †’ उनका कुरा सुन्दा म अवाक् भएँ । उनी अगाडि भन्दै गए, ‘सरकारको भलो चिताउनू । तिमीलाई सरकारी सिन्दूर पहिर्‍याउने विचारले उपस्थित हुन बोलाएको हुँ ।’ 

मेरो खुसीको सीमा रहेन । के सोचेर आएको थिएँ, के भयो ! मुटुको चाल घट्नुको साटो झन् बढ्यो । पहिला आशंका र डरले ढुकढुकी असामान्य भएको थियो, पछिचाहिँ खुसीले । त्यसपछि सरासर दरबारबाट बाहिरियौँ । सोमशमशेरसँग सल्लाह गरी तुरुन्तै सप्तरी फर्किएँ ।

म सप्तरी फर्किएको एक महिना पनि बितेको थिएन, राजविराजको माल अड्डाका हाकिम चक्रभक्त उपाध्यायले मेरा नाममा सरकारी पत्र आएकाले तुरुन्त अड्डामा सम्पर्क राख्नू भन्ने सन्देशसहित एक जना सहयोगी मेरो घरमा पठाए । म उनको कार्यालय पुग्छु त लाहाछाप लागेको र अति गोप्य लेखिएको मेरो नामको पत्र त्यहाँ आएको रहेछ । उपाध्यायले बडो उत्साहित हुँदै ‘शुभ समाचार छे, पत्र हम खोलिछे’ भनेर अफिसमै त्यो पत्र खोल्न थाले । मैले ‘गोप्य लेखिएको पत्र अफिसमा नखोलौँ, बाहिर कतै गएर खोलेर हेरौँला’ भनेँ । त्यसपछि उनी र म बाहिर निस्कियौँ ।

विसं ००३ को बर्खाको कुरा हो यो । उनी असाध्यै राम्रो मैथिली भाषा बोल्थे । जिल्लाका बडाहाकिम कर्णेल गणेशबहादुर र माल अड्डाका उपाध्यायसँग मेरो बुबाको पनि राम्रो सम्बन्ध थियो । उनीहरू हाम्रो घरमा पनि बरोबर आउजाउ गर्थे । त्यसैले उनीसँग मनमा लागेका कुरा गर्न र घुलमिल हुन गाह्रो थिएन । बाहिर निस्केपछि उनले ‘मै कह रहुँ न शुभ समाचार है’ भन्दै फेरि पत्र खोल्न थाले । त्यो त उनी कायम रहेको माल अड्डाको हाकिममा मलाई नियुक्त गरिएको पत्र पो रहेछ । एउटै पत्रमा उनी जागिरबाट बेदखल होइन, बढुवा भएको र म त्यस पदमा नियुक्त भएको बेहोरा रहेछ । उनले पनि धेरैबेर पत्र हेरिरहे ।

यसरी कारबाही भोग्नुपर्ने मनस्थिति बनाएर काठमाडौँ गएको र सरकारी सिन्दूर पहिरिने कुरा गरेर फर्किंंदा जति आश्चर्यचकित भएको थिएँ, त्यसभन्दा बढी आश्चर्य एकैपटक माल अड्डाको हाकिम बनाएको पत्र पाउँदा भएँ । किनभने, त्यतिबेला सीधै हाकिम नियुक्त गर्ने प्रचलन थिएन । खरदार, सुब्बा, मिरसुब्बाजस्ता पद हुँदै माथिल्लो तहमा बढुवा गरिन्थ्यो । मेरो सन्दर्भमा पद्मशमशेरद्वारा एक्कासि त्यति ठूलो पद किन बक्स भयो, अहिलेसम्म बुझ्न सकेको छैन ।

प्रस्तुति : ईश्वरी ज्ञवाली

प्रकाशित: पुस १४, २०७३