‘मोफसलको साहित्य दुर्भाग्य बोक्छ’

- आश गुरुङ

लमजुङको दक्षिण–पश्चिम भेगमा पर्ने विकट पसगाउँ–३, सिङ्दीमा जन्मिएकी सञ्जीवनी गुरुङ, २७, यहाँको साहित्यिक क्षेत्रमा सुनिने नाममध्येको एक हो । दमौली, तनहुँकी सञ्जीवनीले पाँचौँ लमजुङ महोत्सव ०७३ को  छेकोमा २२ मंसिरमा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगितामा प्रथम स्थान हासिल गरिन् । उनीसँगको कुराकानी : 

प्रतियोगितामा प्रथम हुनुभयो, के यो अपेक्षित नै थियो ?  

सहभागिता मात्रै जनाउँछु भनेर आएकी थिएँ । पुरस्कारको अपेक्षा थिएन । नसोचेको नतिजा आयो । पुरस्कारले जिम्मेवारी थपेको महसुस भइरहेको छ ।

प्रतियोगिता जितेको तपार्इंको कविताको भाव के हो ?

‘सम्बोधन परदेशीलाई’ शीर्षकको कविता हो । विदेशिएका परदेशीलाई फर्केर आउन र आफ्नै माटोमा पसिना फलाउन आग्रह र सम्बोधन गरिएको छ ।

कविता लेखनको चरण कसरी प्रारम्भ भयो ? 

लक्ष्मीप्रसाद देवकोटाले चार कक्षा पढ्दै गर्दा कविता लेखेका हुन् रे भन्ने सुनेकी थिएँ । मैले चारमा सकिनँ, पाँच कक्षा पढ्दै गर्दा कविता लेखेँ । 

स्कुले जीवनका कविता संग्रह गर्नुभएको छ ? 

मेरा रचना जतन भएनन् । कविताभन्दा अझ गजल लेख्न रुचाउँछु । आठ कक्षा पढेदेखि नै मैले गजल लेख्न थालेकी हुँ । तर, ती गजल पनि मेरो साथमा छैनन् ।

साहित्यिक यात्रा कहाँ पुग्यो ? 

जब म विवाह भएर ०६८ सालमा दमौली झरेँ । लाग्यो, साहित्य यात्रा लगभग सकियो । बिनाकामको झन्झट लाग्थ्यो । पछि सिक्ने मौका पाएँ । अगाडि बढ्दै छु । 

सञ्जीवनी गजलसंग्रह निकाल्ने रकम कसरी जुट्यो ?

म आफैँले पनि केही जुटाएँ । गुरुले पनि मिलाइदिनुभयो । मेरो आफ्नै गाउँ सिङ्दीस्थित सत्यसेवा युवा क्लबले मेरो कृति प्रकाशनका लागि चन्दा अभियान नै चलायो । 

यसमा के छन् खास ? 

५१ वटा गजल छन् । भीरपाखा, म जन्मेको गाउँ र देशप्रतिको माया । विदेश पलायन भएका र स्वदेशमा रहेका युवाको अवस्था, गोठाले जिन्दगी, नारी उत्थानलगायतका विषय समेटिएका छन् । 

साहित्य लेख्न सजिलो छ ? 

हिजोआज एउटाको अर्काले सके पूरै, नसके आधा, त्यही पनि नसके वाक्य भने पनि चोरेर साहित्य सिर्जना गर्ने चलन बढेको छ । विषयको गहिराइमा पुगेर साहित्य लेख्न वास्तवमै गाह्रो छ । 

तपाईंको साहित्यिक यात्रामा परिवार वा अरू कसैको सहयोग ? 

बुबा हुनुहुन्न । माइतीमा आमा र दिदी मात्रै हुनुहुन्छ । उहाँहरूले साहित्य बुझ्नुहुन्न । मेरा श्रीमान् (भीम गुरुङ) साथमा हुनुहुन्छ । उहाँलगायतको परिवारको भरपूर सहयोग छ । 

तपाईंले लेख्ने साहित्यका विषय के हुन् ?

गाउँमा जन्मिएँ, हुर्किएँ । यही ठाउँको माया । विदेशिएका दाजुभाइ, दिदीबहिनीको पीडा, गरिबी, नारी चेतना, संघर्ष आदि मेरा विषयवस्तु हुन् ।

यो ठाउँको साहित्यिक गतिविधि कस्तो छ ?

यो भानुभक्त आचार्य जन्मेको ठाउँ हो । तैपनि, यहाँ साहित्यिक गतिविधि प्राय: हुँदैनन् । आफ्नो रचना आफ्नै कानले सुन्नुपर्छ ।

मोफसलमा लेखन कति सहज छ ? 

पोखरा, काठमाडौँमा भए सायद धेरै अघि बढिसक्थेँ होला । यहाँ साहित्यको सुखदु:ख साटौँ भने पनि कोही हुँदैन । मोफसलको साहित्य दुर्भाग्य बोक्छ । 

 

 

प्रकाशित: पुस १०, २०७३