नोटबुक

- रामबहादुर रावल

न्यायाधीशले कहाँ खोज्ने न्याय ?

२७ पुस ०६१ मा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा स्याङ्जा जिल्लाका तत्कालीन न्यायाधीश चित्रदेव जोशीले एउटा कार्यक्रममा मन्तव्य दिए, ‘प्रजातन्त्र भनेको कानुनको शासन हो । प्रजातन्त्रमा कानुनभन्दा माथि कोही हुँदैन ।’

उनको यही मन्तव्य आफैँलाई गलपासो बन्यो । न्यायाधीश भएर राजनीति गर्ने ? तत्कालीन शासकलाई यस्तै लाग्यो । न्यायपरिषद् सदस्य एवं तत्कालीन कानुनमन्त्री निरञ्जन थापाले उनीविरुद्धमा कारबाही उठाउन दबाब दिए । कार्यक्षमतामा कसैले प्रश्न उठाउन नसके पनि अशिष्ट र उच्छृंखल अभिव्यक्ति दिएको आरोपमा जोशी बर्खास्तीमा परे ।

जोशी न्याय खोज्न सर्वोच्च अदालतको शरण परे । सर्वोच्चले उनलाई निर्दोष साबित गर्‍यो । तर, ०६१ मा भएको कारबाहीमा ०६९ मा मात्र फैसला भयो । यसबीचमा निकै समय बितिसकेको थियो । उनी पुरानै पदमा पुन:स्थापित भए पनि उनीसँगैका न्यायकर्मीहरु निकै माथि पुगिसकेका थिए । उनीभन्दा निकै पछाडिका न्यायाधीशहरु अगाडि गइसकेका थिए । सर्वोच्च अदालतले उनको वृत्तिविकासमा असर नपर्ने गरी ससम्मान पुन:बहाली गर्नुपर्ने आदेश दिए पनि आफ्ना हकमा फैसला हुबहु कार्यान्वयन नभएको उनको गुनासो छ ।

सहकर्मीहरु पुनरावेदन हुँदै सर्वोच्च अदालतमा पुगिसकेका छन् । उनका अनुजहरु मुख्य र वरिष्ठ न्यायाधीश कहलिएका छन् । तर, उनी उच्च अदालतको मुख्य न्यायाधीशसमेत छैनन् । उनको नाम उच्च अदालतका न्यायाधीशहरुमा ४६ जनाको रोलक्रमपछि मात्र आउँछ । यसबीचमा प्रधानन्यायाधीश मात्र १० जना फेरिइसकेका छन् ।

मुद्दा हालौँ, कसका विरुद्ध ? फेरि न्यायाधीश भएर प्रधानन्यायाधीशविरुद्ध कसरी मुद्दा लड्नू ? अब भन्नूस्, यी न्यायाधीशले ‘न्याय’ खोज्न कहाँ जाने ? यसभन्दा पनि गम्भीर पक्ष के भने उनी आफ्नो कमजोरीले पछि परेका होइनन् । निरंकुश सत्ताको दबाबमा परी न्यायपरिषद्ले कारबाही गर्छ । सर्वोच्चले राजनीतिक व्यवस्था परिवर्तन भएपछि मात्र त्यो निर्णय उल्टाउँछ तर न्याय परिषद्ले सर्वोच्चका निर्णय कार्यान्वयन गर्दा आफ्नो सुविधा अनुकूल व्याख्या गर्छ । के सर्वोच्चभन्दा माथि न्यायपरिषद् छ ? यो प्रश्न पटकपटक उठ्दै आएको छ, जुन भ्रष्टाचार मुद्दामा फैसला गर्ने न्यायाधीशलाई कारबाही गर्नुपर्ने सर्वोच्चकै निर्णय न्यायपरिषद्ले कार्यान्वयन गर्नु नपर्ने निर्णय गर्दा पनि उठेको थियो ।

बहुमुखी विकासे

पत्रपत्रिकाका विचार पृष्ठ जसका आदर्श र उपदेशले रंगिन्छन् । एफएमहरु साँझ–बिहान उनकै स्वरले तरंगित हुन्छन् । संविधानविद्, संघीयताविद्, राजनीतिक विश्लेषक मात्रैले तिनको परिचय पूरा हुँदैन । भूराजनीतिविद्, सुरक्षाविद्देखि परिस्थिति अनुकूल सबै विद् बन्न सक्छन् उनी । कहिलेकाहीँ जलवायु परिवर्तनविद्, मौसमविद्को हैसियतसमेत उनलाई प्राप्त हुन्छ । दलहरुबीच दूरी बढ्नेबित्तिकै उनको बजारभाउ ह्वात्तै बढ्छ । अहिलेको समस्या के हो ? यसले जोखिम के निम्त्याउला ? समाधान कसरी होला ? यसका एकसे एक जवाफ तयार हुन्छन् । एजेन्डा जेसुकै होस्, रातारात कार्यपत्र तयार पार्न पनि उनी खप्पिस छन् ।

एउटा व्यक्तिमा यतिसारो क्षमता देखेर पंक्तिकार दंग पर्‍यो । उनको क्षमताको परख गर्ने क्रममा खोज्दै गयो, के हो त उनको वास्तविक क्षमता । उनले आफ्नो सफलताको राज खोले, एउटा सर्वदलीय संयन्त्र गठन गर्ने । सबै पार्टीका प्रभावशाली प्रतिनिधिलाई बोलाएर बेलाबेला चियाखाजा खुवाउने । देश–विदेश भ्रमणमा पठाउने । नेताजीका श्रीमती, साली, भाइ, भतिजालाई जागिर दिने । उस्तै परे राजनीतिक समझदारी जुटाउन कहिले राजधानीभित्रै, कहिलेकाहीँ काँठतिर त वर्षमा एकाधपटक सात समुद्रपारि नेताहरुलाई लैजाने सामथ्र्य उनीसँग छ । तर, कब्जा पार्टी खोलेजस्तो सजिलै तपाईं यो उद्यम सञ्चालन भने गर्न सक्नुहुन्न । राजनीतिक छलफलका प्रतिवेदन, दस्तावेजका मस्यौदा उनीहरुले बुझ्ने भाषामा यथासमयमा दातासम्म पुर्‍याउने दक्षता भने आवश्यक छ ।

कब्जा पार्टीको करामत

सबै भन्छन्, मुलुकमा बहुदल फापेन । तर, मुलुकमा सबैभन्दा फस्टाएको उद्योग नै दल हो भन्दा फरक पर्दैन । दल पनि यस्तो कि जसले कुनै निर्वाचन जित्नुपर्दैन । संसद्मा प्रतिनिधित्व हुनुपर्दैन । देशव्यापी संगठन पनि चाहिँदैन । केही मूल्यवान् जग्गा भएको क्षेत्रमा दुई–चार जना सुन्डमुसुन्ड भए पुग्छ । दुई–चार मिटर तुल बनाउने कपडा भए हुन्छ । एकाध राजनीतिक एजेन्डालाई सिद्धान्तको आवरण दिएर विरोध र भाषणका वाक्य बोल्न जाने पुग्छ ।

यति सामथ्र्य छ भने तपाईंले पनि एउटा पार्टी खोले हुन्छ । पार्टीको पहिलो रणनीति तराईतिर एकमुष्ट ठूलो जग्गा खोज्ने बनाउनुपर्छ । सकेसम्म काठमाडौँका बिर्तावाल भए राम्रो । शोषक–सामन्तको जग्गा कब्जा गर्ने रणनीति अनुरुप पार्टीले जग्गा कब्जा गर्छ । झन्डा गाड्छ । पर्चा बाँड्छ । उता पार्टीले कब्जा गरेकै बखत जग्गा दलालहरु जग्गाधनीलाई फोन गर्छन्, ‘जग्गा त गयो । अब के गर्ने ?’ 

जग्गाधनी हायलकायल । अब के गर्ने ? जग्गा दलालको नि:शुल्क परामर्श, ‘मेरो कुरा मान्नुहुन्छ भने बेच्नूस् । अलिअलि भए पनि त मोल आउँछ ।’ जग्गाधनी ६० लाखको जग्गा ३० लाखमा बेच्छ । जग्गा दलाल सरर डोजर चलाउँछ । प्लटिङ गर्छ । र, करोड कमाउँछ । 

पार्टी र दलाल दुवै मालामाल । कि कसो ? 

प्रकाशित: पुस १०, २०७३