[स्मरण] सिंहदरबारको त्यो बन्दोबस्ती भेला

  • सभा सम्पन्न भएको करिब एक महिनामा मेरा नाममा सप्तरीस्थित घरमै चिट्ठी पुग्यो, ‘तुरुन्तै काठमाडौँ आई श्री ३ महाराजको हजुरमा हाजिर हुनू ।’

- अनिरुद्धप्रसाद सिंह

विसं २००२ मा भारतको पटनामा बीएल पढ्दै थिएँ । छुट्टीमा घर आएको मौकामा पिताजीले ‘गाउँमा गएर त्यहाँका समस्याबारे राम्रोसँग बुझेर सरकारलाई अवगत गराउन काठमाडौँ जानुपर्छ’ भन्नुभयो । १४ मंसिर ००२ मा पद्मशमशेरले आफू श्री ३ बनेलगत्तै मुलुकमा विद्यमान समस्या बुझ्ने र तिनको समाधान के कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले सिंहदरबारमा एक बन्दोबस्ती भेला गरेका थिए । यही भेलाका लागि सप्तरीका तत्कालीन बडाहाकिमले राजविराजमा जमघट गरेर हामीलाई छानेका थिए । मसँगै कारी सिंह र ठूलो बाबु भन्ने व्यक्ति पनि त्यही भेलाबाट छनोट भए । चौथो व्यक्ति को थिए भन्नेचाहिँ सम्झना छैन । केही कुरा सिक्ने र जान्ने अवसर पाइन्छ भनेरै मैले बन्दोबस्ती भेलामा जाने निश्चय गरेँ । 

त्यतिबेला मुलुकभरका ३१ जिल्लाका चार–चार जना प्रतिनिधिलाई त्यसरी काठमाडौँ बोलाइएको रहेछ, बडाहाकिमको सिफारिसमा । ‘बस्ने प्रबन्ध मिलाइएको छ, ओढ्ने/ओछ्याउने र खाने प्रबन्ध आफैँ मिलाउनू’ भन्ने बेहोराको निर्देशनात्मक पत्र सरकारद्वारा बडाहाकिमहरूलाई काटिएको रहेछ । बडाहाकिमले त्यो पत्र देखाएपछि रासन आदि बोकाएर भात पकाउने एउटा सहयोगी लिएर म काठमाडौँ आएँ । त्रिपुरेश्वरको धर्मशाला (हाल जंगबहादुरको श्राद्धस्थल)मा हामी १ सय २४ सहभागी प्रतिनिधि र तिनका सहयोगीहरूलाई बस्ने व्यवस्था मिलाइएको थियो ।

३६ दिन चलेको त्यस भेलाका लागि दिनहुँजसो त्रिपुरेश्वरबाट हामी बिहान १० बजे सिंहदरबार पुग्थ्यौँ । दिनभरि छलफल/बहस गरेर बेलुका ५ बजे धर्मशाला फर्किन्थ्यौँ । दिनमा त्यस्तै चार–पाँच जनाको बोल्ने पालो आउँथ्यो । बीचबीचमा मानिसहरू कसैले बोलेको कुरामा चित्त बुझेन भने सवालजवाफ हुन्थ्यो । भेलाका सहभागी धेरैजसोले नेपाली भाषामै आफ्ना कुरा राख्थे । हामीजस्ता फरक मातृभाषा हुनेहरूका लागि बुझ्न अलिक अप्ठ्यारो पनि थियो । यसबीचमा मैले आफ्नो नेपाली भाषाप्रतिको पहुँचलाई फराकिलो बनाउने काम गरेँ । शनिबार र भेला छिट्टै सकिएका दिन सिंहदरबारबाट सोझै जुद्धसडक पुग्थेँ र नेपाली भाषाका पुस्तक–पत्रपत्रिका किनेर पढ्थेँ । यो निकै उपयोगी साबित भयो ।

श्री ३ पद्मशमशेर त्यतिबेला मुलुकको शासनसत्ता आफ्नै निवास बसन्त दरबार, विशालनगरबाटै सञ्चालन गरिरहेका थिए, सिंहदरबारमा बसाइँ नसरीकनै । तर, सिंहदरबारमा आयोजना हुने भेलामा भने उनको उपस्थिति हुन्थ्यो । आफू महाराज भएको उपलक्ष्यमा उनले व्यक्त गरेको ‘मैले आफूलाई राष्ट्रको एक नोकर सम्झेको छु’ भन्ने भनाइ निकै चर्चित पनि भएको थियो । श्री ३ पद्मशमशेर, चिफसाहेब मोहनशमशेर, हजुरिया जनरल सरदार सोमशमशेर आदिको दिनहुँजसो त्यस बन्दोबस्ती भेलामा उपस्थिति हुन्थ्यो । सरकारी कर्मचारी, खास खास हजुरिया, नायब सुब्बा र सुब्बाहरूलाई सभामा बोलेका कुरा टिपोट गरेर सरकारमा जाहेर गर्नका लागि खटाइएको थियो । ती व्यक्ति सभाको अघिल्लो रोहमा बसेर सहभागीहरूले बोलेको कुरा टिपिरहेका देखिन्थे । श्री ३ महाराज र चिफसाहेब मोहनशमशेर गम्भीर मुद्रामा कुरा सुनिरहेका हुन्थे ।

धेरैजसो व्यक्ति सरकारको चाकडी र जे भइरहेको छ, त्यसभन्दा राम्रो केही गर्नै नसकिने ढंगले प्रस्तुत भइरहेका थिए । सायद सरकारको विरोध र विपक्षमा बोल्नुुहुन्न भनेर उनीहरू त्यसरी प्रस्तुत भएका हुन् कि ! २६औँ दिनसम्म मैले पनि सहभागीबाट त्यस्तै कुरा सुनेँ । मेरो पालो आएपछि भनेँ, ‘गाउँघरमा दाल–भात–तरकारी, जीउ–धन सरकारी भन्ने अवस्था छ । गाउँको विकास नभई मुलुकको विकास सम्भव छैन । तसर्थ, शिक्षा, स्वास्थ्य, यातायातजस्ता क्षेत्रमा विशेष कार्यक्रम ल्याउनुपर्‍यो । विकासका साथै शान्ति सुरक्षाको क्षेत्रमा पनि सरकारको ध्यान जानुपर्‍यो ।’ 

मैले यति कुरा गरिसक्दा नसक्दै मानिसहरू चुपचाप भए । सियो खसे पनि आवाज आउँछ कि जस्तो भयो । मैले आफूले गाउँघरमा देखेका समस्या मात्र त्यहाँ उल्लेख गरेको थिएँ । त्यतिबेला मानिसहरू देखेका र लागेका कुरा भन्न हिचकिचाउने भएकाले त्यही कुरा पनि ठूलो लाग्यो होला । मानौँ, मैले ठूलै कुनै क्रान्तिकारी कुरा गरेको थिएँ । बोलेर आफ्नो सिटमा बस्छु त भेलामा सहभागीहरूले क्वारक्वार्ती मलाई नै हेरिरहेका थिए । मैले के नै बोलेको थिएँ र ? किनभने, मनमा लागेका कुरा मनमै दबाएर बनावटी कुरा गर्ने समय थियो त्यो । तैपनि, त्यो घटनाबाट के बुझिन्थ्यो भने हाम्रा राजा–महाराजाले त्यतिबेला पनि जनताका प्रतिनिधिका कुरा सुन्ने प्रचलन बसालेका थिए । तर, त्यसरी आउने प्रतिनिधि चाकरी र चाप्लुसीबाट मुक्त हुन नसक्दा जनताका वास्तविक समस्या शासकहरूसम्म पुग्न सकेका थिएनन् ।

यसैबीच, मेरी आमाको निधनको खबर पाएपछि म त्यो भेला छोडेर २८औँ दिनमा सप्तरी फर्किएँ । श्री ३ पद्मशमशेर र चिफसाहेबले समापन मन्तव्य दिएर बन्दोबस्तीसभा ३६औँ दिन सम्पन्न भएको कुरा मैले सप्तरीमै थाहा पाएँ । सभा सम्पन्न भएको करिब एक महिनामा मेरा नाममा सप्तरीस्थित घरमै चिट्ठी पुग्यो, ‘तुरुन्तै काठमाडौँ आई श्री ३ महाराजको हजुरमा हाजिर हुनू ।’

(विभिन्न संवैधानिक आयोगको नेतृत्व सम्हालिसकेका सिंह सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश पनि हुन् ।)

प्रस्तुति : ईश्वरी ज्ञवाली

प्रकाशित: पुस ८, २०७३