[यात्रा] चिमाङको चित्र

  • मुस्ताङको तल्लो भेगमा बस्ने थकालीहरूको थाक सात सय, पाँच गाउँ र बाह्र गाउँ भनी कहलिने तीन क्षेत्रमध्ये तल्लो सीमावर्ती भागमा अवस्थित एक गाउँ हो, चिमाङ ।

- मोहनमूर्ति पन्त

चिमाङ, एक थकाली गाउँ । हामी १२ जनाको टोली मुस्ताङ, थाकखोला भेगको एक गाउँबस्तीको संयोजन र वास्तु संस्कृति अध्ययन गर्न चिमाङ पुग्यो । कालीगण्डकीको दुई किनारा भई जोडले बहने हावाको झोक्का अनि पवित्र धाम मुक्तिनाथ !

म्याग्दीको बेनीबाट कालीगण्डकीको किनारैकिनार बिस्तारै उकालो चढ्दै जब हामी तल्लो घासाबाट मुस्ताङ प्रवेश गर्छौं, कालीगण्डकीको फाँच तराई क्षेत्रका नदीका बगरझैँ फराकिलो हुन थाल्छ । कालीगण्डकीको किनारमा बसेका बस्ती कोबाङ, टुकुचे, छेरो अनि मार्फा । 

मुस्ताङको तल्लो भेगमा बस्ने थकालीहरूको थाक सात सय, पाँच गाउँ र बाह्र गाउँ भनी कहलिने तीन क्षेत्रमध्ये तल्लो सीमावर्ती भागमा अवस्थित एक गाउँ हो, चिमाङ । पाँच गाउँका अरू गाउँचाहिँ छेरो, मार्फा, स्याङ र ठिनी हुन् । यी सबै कालीगण्डकी किनारमै छन् । 

चिमाङ बस्ती कालीगण्डकी किनारको बगरबाट पूर्वतिर ठाडै करिब एक सय मिटर माथि उठेको ढिकमा छ । लगभग तीनतिरबाट ठाडो भीरपाखाले घेरिएको यस गाउँको पूर्वी भागमा भने लेकतर्फ चढ्दै गएको सल्ला र धूपीको जंगल छ । र, माथि करिब १२ हजार फिटसम्म भिरालो लमतन्न खर्क । 

असोज–कात्तिक बाली भित्र्याउने समय भएकाले चिमाङीहरू साह्रै व्यस्त । सबैभन्दा अग्लो भाग दक्षिणपूर्वी कुनातर्फ गारो जोडेर बनाइएका ३०—३५ घरको बस्ती छ । अनि, अलि समथर हुँदै गएको उत्तर–पश्चिमतिर चाहिँ खेतबारी । चिमाङ खोलाबाट कुलो काटी पानी ल्याइएको छ । यो कुलोले गाउँको बीचको बाटो हुँदै पुछारमा रहेको पानीघट्टलाई घुमाएपछि पूरै खेतबारीको सिञ्चन गर्छ । हिमाली भेगको सफा कञ्चन पानी बग्ने यो कुलो ०५२ सालसम्म पिउनेपानीको स्रोतसमेत थियो । अचेलचाहिँ पोलिथिन पाइपबाट खानेपानी गाउँमा पुर्‍याइएको छ । 

चिमाङ बस्तीको इतिहास जोमसोम नजिकै रहेको पुरानो गाउँ ठिनीसँग जोडिएको रहेछ । करिब तीन सय वर्षअघिको कुरा, त्यहाँका राजाले दक्षिणतर्फको सिमाना सुरक्षित राख्न आफ्ना एक भाइ–भारदारलाई चिमाङतर्फ पठाएछन् । पछि उनका सन्तानले डाँडाकाँडा ढाक्दै गए । अहिलेका चिमाङका थकाली उनैका सन्तान हुन् भनिन्छ । करिब सय वर्षजति अघि झाँक्री चाहिएपछि अर्को समूह यता आयो र उनका पनि सन्तानले डाँडाकाँडा ढाक्दै गए । चिमाङको बस्ती बनोट र पूजा संस्कारबाट त्यो दुई समूह स्पष्ट रूपमा थाहा पाइन्छ । थकालीबाहेक शिल्पी समुदायको पनि पातलो उपस्थिति छ चिमाङमा । 

चिमाङका परम्परागत घर नेपालको मध्यपश्चिम र सिञ्जा क्षेत्रका हिमाली भेगका घरसँग केही मिल्न आउँछन् । बस्ती बनोट जुम्लातिर भनिने ‘बाडा’ शैलीमा घरघर जोडिएर बनेका, घरको बनोट ‘थाडा’ शैलीमा अर्थात् माटो पिटेर बनाएको समथर छत भएको घर । ढुंगाको गारो, माटोको जडान । घर निर्माणमा काठको प्रयोग मनग्ये भएको छ । थाम, दलिन, झ्यालढोका सबै काठैकाठका हुने नै भए, काठका भुइँमा पनि सर्लक्क परेका फलेक छापिएको । 

गल्लीबाट भित्र पस्ने मूलढोकाबाट छिरेपछि तीनतिर घोडा, खच्चड र गधा बाँध्ने तबेला । बीचमा आकाश खुलेको सानो चोक सामुन्ने दुई—तीन तले मूलघर । भुइँ तल्लामा बाहिरी पर्खालमा झ्याल नराखी केही साना प्वाल मात्रै बनाउने चलन रहेछ । माथिल्लो तल्लामा चाहिँ खानपिन गर्ने, बस्ने, सुत्ने, पूजा खण्ड र राखनधरन । माथिल्लो तल्लामा चाहिँ ससाना झ्याल हुन्छन् । तर, अचेल साना झ्याललाई ठूला पार्ने, सिसा हाल्ने पनि चलन चलेछ । 

थाडा शैलीको छत चिमाङको घरको महत्त्वपूर्ण विशेषता हो । छत प्रयोग विविध छ । छतमा जान एक लिस्नु ठडिएको हुन्छ । थाडाको वरिपरि छेउतर्फ टन्नै दाउराका थाक राखिएका हुन्छन् । जति ठूला चिर्पट र उति धेरै धाक, त्यति नै सम्पन्नताको द्योतक मानिँदो रहेछ । छतको पूर्वोत्तर कुनामा चांगा (तुलसीको मोठजस्तो, तिब्बती भाषामा चन) हुन्छ भने छतको कुनै ठाउँमा १०–१२ हात अग्लो काठको मौलामा तिब्बती भाषामा बौद्ध सूत्र लेखिएका ध्वजा फर्फराइरहेको हुन्छ । पूजा कोठाको पूजा स्थान, चांगा र ध्वजाको मौलामाथि पनि पवित्र मानिने एक विशेष धुपी प्रजातिको पातसहितको साना हाँगा सिउरिएको हुन्छ । फरक समय र घर बन्ने घडेरीको विविधताले चिमाङका घरका संयोजनको यो मूल ढाँचा र चलनचल्तीमा केही हेरफेर भएको पाइन्छ । 

हावा बेजोडले चल्ने भएकाले घर सटेर बनाउनु, बाहिरपट्टि झ्याल नराखी भित्र चोक बनाउनु अनि ठाडो शैलीको छानो यस भेगमा घर बनाउने चालचलनका प्रमुख विशेषता हुन् । यी घरहरूले स्थानीय हावापानीसँग राम्रो तालमेल गरेका छन् । मध्य पहाडी गाउँमा छरिएका घर बस्तीमा एक छेउको घरबाट अर्को छेउको घर पुग्न आधा घन्टाजति लागिहाल्छ । यहाँ चाहिँ दुई मिनेटमा वल्लोबाट पल्लोमा पुगिन्छ । गाउँसमाजका परिवारबीचको ओहोरदोहोर, हेरविचार, सुरक्षा, जमिन र प्रकृतिको संरक्षण र समुचित प्रयोग आदिमा यसले असाध्यै धेरै फरक पार्छ । 

चिमाङ गाउँ पढ्न गएका विश्वविद्यालयका हामी शिक्षक र विद्यार्थीलाई भरपेट पाठ पढायो । घर र बाटाघाटा असाध्यै सफा । कुखुरा र हाँसलाई गल्लीमा छोड्नै नपाइने । छोडे जरिवाना लाग्ने । घरको कुकुरलाई पनि गल्लीमा छोड्न नपाइने । भुस्याहा कुकुरचाहिँ सहरी चरित्र हो, ग्रामीण चरित्र होइन । त्यसैले त्यसको चाहिँ पिर मान्नै परेन । प्रत्येक महिनामा एक पटक घरअगाडि सफा गर्नैपर्नै नियम रहेछ । नियम कहाँ पालना गर्छन् र ? पटकपटक सफा गरेर नियमै तोडिदिन्छन् । कस्तो लोभलाग्दो आश्चर्य ! प्लास्टिकको झोला र प्याकेट कतै मिल्किएर बसेको देखिएन । 

चिमाङका मानिस समयको पालनामा असाध्यै पक्का । भनेको समयमा राम्ररी हरेक काम गर्नु त्यहाँको विशिष्ट परम्परा हो । खेतीपाती, पशुपालनजस्ता कामसमेत यहाँ सामूहिक तालिका अनुसार नै हुने गर्छ । यसका लागि घरमूलीहरू भेला भएर सर्वस्वीकार्य निर्णय लिन्छन् । यस्तो भेलामा नआउनेलाई वा ढिलो आउनेलाई जरिवानासमेत तिराइने चलन रहेछ । सामाजिक र सांस्कृतिक काममा मुखियाको भूमिका असाध्यै महत्त्वपूर्ण रहेछ । ग्रामीण क्षेत्रमा समुदायको परिचालन गर्ने शैली र सामुदायिक संस्कृतिको ढाँचामा चिमाङ नमुना गाउँ हो । चिमाङ र कालीगण्डकीको सिंगो सेरोफेरोले दिन दुई गुणा रात चौगुणा उन्नति–प्रगति गर्ने कुरामा शंकै छैन । 

प्रकाशित: पुस ८, २०७३