आवरण कथा» असाधारण आमा

  • सामाजिक सेवाकी रोलमोडल पुष्पा बस्नेत

- राजकुमार बानियाँ

पुतली घरको १२ वर्षे यात्रा एउटा सपनाजस्तो लाग्छ, पुष्पा बस्नेत, ३३, लाई । २१ वर्षे उमेरमा देखेको त्यही आलो– काँचो सपनालाई हातैले समातिसकिन् पुष्पाले । उनको सपना विपनामा हुबहु अनुवाद भइसक्यो । 

जेलबाट बाहिर निकालिएका छोराछोरीका निम्ति सहरको कुनै कुनोमा आफ्नै सुविधासम्पन्न घर, खुला चौर र सुन्दर बगैँचा होस् अनि नजिकै हरियो जंगल । सीएनएन हिरो–२०१२ बनेपछि चपली गाउँ, बाडेपाखामा त्यो महँगो सपना साबुत छ ।

पुष्पा बस्नेत यस्ती असाधारण आमा हुन्, जसको छत्रछायाँमा ३७ बालबालिका छन् । “मूलीे भएपछि छोराछोरीका लागि घर होस् भन्ने सोचिँदो रहेछ,” सीएनएन सुपर हिरो–२०१६ पनि आफ्नै पोल्टामा पारेपछि न्युयोर्कमा केही दिन थकाइ मारिरहेकी पुष्पा मध्यराती नेपालसँग गफिँदै थिइन्, “अब काँधको भारी केही हलुका भएजस्तो लागिरहेको छ । 

काठमाडौँ, डिल्लीबजारको सम्पन्न बस्नेत परिवारकी छोरी पुष्पा अहिले ‘रोलमोडल’ समाजसेवी भइसकेकी छन् । उनको सपना पाइलट बन्ने थियो, कुनै बेला । तर, समयले समाजसेवाकै पाइलट बनाइदिएको छ । “पाइलट बनेको भए कमर्सियल्ली कसैलाई गन्तव्यमा पुर्‍याउने काम गर्थें होला,” उनी हाँस्छिन्, “तर, अहिले त्यस्तो पाइलट भएकी छु, जहाँ साना नानीहरूले लामो गन्तव्य तय गर्न सक्छन् ।”

स्कुले जीवनमा कहिल्यै पहिलो, दोस्रो भइनन्, पुष्पा । जेनतेन पास हुन्थिन्, कक्षामा । ललितपुर लामाटारको द इलाइट्स को–एड स्कुलबाट एसएलसीमा फेल हुने एक्ली विद्यार्थी थिइन् । तर, एकपटक असफल हुँदैमा उनले हिम्मत हारिनन् ।

बुबा पूर्णबहादुरको हाइड्रोपावरसम्बन्धी इलेक्ट्रिकल सामग्रीको व्यवसायमा साथ दिने हिसाबले १२ कक्षासम्म कमर्स पढेकी पुष्पा नेतृत्व क्षमता र खेलकुदमा भने राम्रै थिइन् । गणितले हत्तु खेलाएकाले सेन्ट जेभियर्स कलेज, माइतीघरबाट स्नातक गर्दा ‘सोसल वर्क’ विषय रोजिन् ।

एक दिन कलेजको ‘फिल्ड वर्क’मा कालीमाटी प्रहरी चौकी पुगेकी थिइन् । त्यहाँ महिला बन्दीबारे जानकारी लिएपछि महिला सेल इन्चार्ज रहेकी प्रहरी निरीक्षक मीरा चौधरीसित ढिपी गरिहालिन्, ‘दिदी, हामीलाई जेलमा पनि लग्नूस् न !’

केन्द्रीय महिला कारागारमा देखिन्, बालबालिकाको बेहाल । त्यहाँबाट निस्कन लाग्दा आफ्नो सल कतै अल्झेजस्तो लाग्यो उनलाई । फर्केर हेर्दा आठमहिने सानुकान्छीले पो समातेकी रहिछन् । अनि, उनी भावुक भइहालिन् ।

घर पुग्दा पनि तिनै बालिकाको अनुहार नाचिरह्यो, उनको आँखामा । त्यसै दिन संकल्प गरिन्, अभिभावकको अपराधमा जेलमा रहेका सानुकान्छीजस्ता निर्दोष बालबालिकाका निम्ति जीवन सुम्पने । बिचरा आमाहरू विवश थिए, बच्चालाई कि जेलमै लानुपथ्र्यो कि सडकमै छाड्नुपथ्र्यो ।

सुरुमा उनले परिवारलाई सुनाइन्, आफ्नो सपना । परिवारले केही दिनमै बिर्सने घटना भन्यो भने अन्यले ‘केही दिनको लहड’ मात्र ठाने । जिद्दीवाल केटी न परिन्, आफ्नै सुनको बाला, आमा र साथीभाइसँग ७० हजार रुपियाँ सापटी लिएर पुनीत कार्यको शुभारम्भ गरिन् ।

समाजले के भन्ला ? कस्तो प्रतिक्रिया देला भन्नेतिर उनले ध्यान दिइनन् । आफ्नो कामलाई निरन्तरता दिनु नै जीवनको सूत्र बन्यो उनको । जेलबाट बालबालिका बाहिर निकाल्नु सजिलो थिएन । एक त आमाहरू मान्दैनथे, अर्कोतिर कानुनी झन्झट । 

बडो ‘क्रेजी’ खालकी छन्, पुष्पा । आँटेको काम गरेरै छाड्ने । उनले सानुकान्छीकी आमा सञ्चु तामाङलाई मनाइन् । तर, जेलरले बच्ची बाहिर लैजान दिएनन् । बच्चीलाई जेलभित्र कुनै सहयोग गर्न मिल्ने, जेलबाहिर लैजान दर्ता भएको सामाजिक संस्था चाहिने अत्तो थापिदिए । 

पढाइसढाइ हापेर संस्था दर्ताको दौडधुपमा लागिन् पुष्पा । जसोतसो नौ जना सदस्यको नागरिकता लिएर संस्था दर्ता गरिन्, प्रारम्भिक बालविकास केन्द्र अर्थात् अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर (ईसीडीसी) । 

संस्था दर्ताका बेला सरकारी कर्मचारीले आफ्नो मोटो ज्यान र ‘रफ टप’ पहिरनको खिल्ली उडाएको उनलाई सम्झना छ । जिल्ला प्रशासन कार्यालयको १४ नम्बर कोठाका कर्मचारीले प्याच्चै भनेछन्, ‘यस्तो व्यक्ति त अध्यक्ष † के गर्ली यो केटीले ?’ अहिले तिनै व्यक्ति नजिकै देखे फोटो खिचाउन आइपुग्छन् । पहिले नपत्याएकाहरू अहिले अनुभव सुन्छन्, क्लास लिन बोलाउँछन् ।

आठदेखि १८ महिने बालबालिकालाई बिहान ट्याक्सीमा कारागारबाट भाटभटेनी ल्याउँथिन्, दिनभरि स्याहारसुसार गरिदिन्थिन्, खेलाउँथिन्, पढाउँथिन् अनि बेलुकी जेलमै फर्काइदिन्थिन् । त्यसको दुई वर्षपछि शिक्षा, आवास र स्वास्थ्य सेवा दिने गरी बालगृह नै खोलिन् । कोही औँला चुस्थे, कोही बाहुलाले सिँगान पुछ्थे, कोही ओछ् यानमै पिसाब गरिदिन्थे । उनलाई पहिलोपटक बोध भयो– आमा हुनु, सृष्टिकै कठिन काम हो ।

उनको सम्पूर्ण ध्याउन्न जेलभित्र रहेका बालबालिकाको उद्धार गर्नु हुन्थ्यो । बारम्बार ‘ क्लास बंक’ गरेपछि सेन्ट जेभियर्स कलेजले एक वर्षका लागि निष्कासन गरिदियो उनलाई । उनले कलेज छाडिन् तर मिसन छाडिनन् ।

“म बदमास पनि थिएँ, चाप्लुसी गर्दिनथेँ, लागेको कुरा प्याच्चै भनिदिन्थेँ,” उनी आत्मसमीक्षा गर्छिन्, “कलेजले निकालिदिएका बेला जे सपना देखेकी थिएँ, त्यही काम गर्छु भनेर त्यसलाई निरन्तरता दिएँ ।” 

मन र मुठी खोलेर बाँच्ने पुष्पाको जीवनदर्शनबाट प्रभावित भए, पत्रकार विजयकुमार र अमेरिकी डकुमेन्ट्री निर्माता थोमस मोर्गन । विजयले उनलाई ०६६ मा ‘मेरो जिन्दगी मेरो विश्वास’ नामक कार्यक्रम कान्तिपुर टेलिभिजनमा देखाए भने अमेरिकामा भेट भएका मोर्गनले वेटिङ फर मामु डकुमेन्ट्री बनाए । टीभी कार्यक्रमले सहयोगी हात थपिए र जनमानसले विश्वास गर्न थाल्यो भने डकुमेन्ट्रीले आधा दर्जन अन्तर्राष्ट्रिय अवार्ड पाएपछि पुतली घरलाई भरथेग भयो । 

चार वर्षअघि सीएनएन हिरो भएपछि उनको ढोकामा कतिपय ‘यतिउति लाख दिने’ प्रस्ताव लिएर आउँछन् । तर, जो कसैसँग उनी सहकार्य गर्दिनन् । उनी सर्त तेस्र्याइहाल्छिन्, ‘पहिले मेरो मिसन बुझ्नूस् । अर्काको मिसन मात्र बुझेको मान्छेले मसँग काम गर्न सक्दैनन् ।’

नेपालीहरू विदेशले चलाएका संस्थामा जागिर मात्र खाँदैनन्, आफैँ पनि संस्था चलाउन सक्छन् भन्ने प्रमाणित गरेकी छन्, पुष्पाले । ‘कस्मे टिक’ समाजसेवालाई उनको चुनौती हो, आफू खुसी भए मात्र अरूलाई खुसी दिन सकिन्छ । आफ्ना लागि थोरै र अर्काका लागि धेरै बाँच्नुमै मजा छ । 

उनको ‘आइडल’ भने आफ्नै आमा सरिता बस्नेत हुन् । दया, माया र करुणा आमाबाटै संस्कारका रूपमा पाएको उनको धारणा छ । २९ वर्षको उमेरमा सीएनएन हिरो भएकी यी ‘ट्रेन्ड सेटर’ समाजसेवीको ‘मेरिटल स्टाटस’ अझै ‘सुश्री’ नै छ । अविवाहित आमा पुष्पालाई बिहे जरुरी त लाग्दैन । तर, जीवनसाथीको खाँचो अस्वीकार पनि गर्दिनन् । 

घरजम नभए पनि उनले भने बालगृहकै पुष्पाञ्जलीलाई छोरी बनाइसकेकी छन् । “चार वर्षअगाडि भाग्य लिएर मेरो जीवनमा पुष्पाञ्जली उदाएकी छन्,” उनी भन्छिन्, “उनलाई नढोगीकन कुनै शुभकार्य गर्दिनँ, कतै जानु छ भने पनि उनलाई ढोगेर मात्र जान्छु ।”  

अचम्म के भने, सीएनएन हिरो भएर विश्व चर्चित हुँदा मुलुकका प्रधानमन्त्री, नेताहरूले भने उनलाई बधाई पनि दिएनन् । उनको काम पनि हेर्न चाहेनन् । बरू, तत्कालीन राष्ट्रपति रामवरण यादवसित आफैँले समय लिएर भेटिन् । भारतमा किरण वेदी, जो पूर्वप्रहरी अधिकारी र अन्ना हजारेकी सहयोगी थिइन्, ले बोलाएर दिल्ली गइन् । मलेसियाका प्रधानमन्त्रीले खुसी भएर बधाई दिए । 

दक्षिण कोरियाको प्रतिष्ठित इल्गा युवा अवार्डसमेत पाएकी यी नेपाली चेली कलात्मक जीवनको पक्षमा छन् । फुर्सदमा बच्चाहरूलाई थोरै भए पनि आफ्नै बारीको अर्गानिक तरकारी खुवाउने कोसिस रहन्छ पुष्पाको । सँगसँगै छोराछोरीलाई पाककला सिकाउने धोको हुन्छ ।

बच्चालाई भगवान्लाई जस्तो पुजे मात्र भविष्य राम्रो हुन्छ भन्ने उनको मूलमन्त्र छ । त्यसैले त उनीहरूसँगै बस्छिन्, नाचगान गर्छिन्, जोक भन्छिन्, रमाइलो गर्छिन् । कस्तो सम्बन्ध छ भने कहिलेकाहीँ ढिलो घर पुग्दा केटाकेटी ढोकामै कुरेर बस्छन् । भेट्नेबित्तिकै गम्लङ्ग अँगालो मार्छन् । त्यही ‘नोस्टाल्जिया’मा उनलाई न्युयोर्क छाड्न हतार भइसकेको छ । भन्छिन्, “मलाई त बालगृह स्वर्गको सानो टुक्राजस्तो लाग्छ । चपली गाउँमै आफ्ना छोराछोरीको होहल्ला सुन्न मन लागिसक्यो ।” 

हुन पनि उनीहरू पुष्पालाई साथीकै व्यवहार गर्छन् तर ‘मामु’ भनेर बोलाउँछन् । उनीहरूलाई असली आमाबाबुबारे भने पुष्पा एक शब्द बताउँदिनन् । उनीहरू पनि कहिल्यै सोधखोज गर्दैनन् । उनी कति संवेदनशील छिन् भने बच्चाको निजत्व ख्याल गरेर स्कुले कार्यक्रममा समेत जाँदिनन् ।

“कहिलेकाहीँ बाहिर जाँदा अति जान्ने भएर कसैले प्याच्च भनिदिन्छन्,” पुष्पाको गुनासो छ, “त्यतिबेला साह्रै चित्त दुख्छ । बालबालिकाको भावनासँग खेलबाड गरिदिन्छन् ।” त्यसो त प्रशंसा र निन्दा उनका लागि सामान्य भइसक्यो । सीएनएन सुपर हिरो छनोट बेला पनि उनलाई कतिपयले प्रश्न गरेछन्, तँलाई किन भोट दिने ? तैँले के गरिस् ?

“अरू र ममा कति फरक भने अरू संस्थाभन्दा अगाडि दौडिन्छन् तर मेरा लागि सधैँ संस्था अगाडि छ,” पुष्पा भन्छिन्, “आफू अघि जाने होइन, संस्थालाई अघि बढाउने हो ।”

अबको १५ वर्षमै आफ्नो संस्थाको नेतृत्व यिनै बालबालिकाले गरून् भन्ने चाहना छ पुष्पाको । “पुतली घर अब उनीहरूकै सम्पत्ति हो । आमा जेल बसेको पीडा र सँगै थुनिनुपरेको मर्म उनीहरूले राम्रोसँग बुझेका छन्,” उनी भन्छिन्, “त्यसैले  कारागार जाँदा यहाँ भएका ठूला बच्चालाई साथै लाने गरेकी छु, संस्थाको भावी प्रतिनिधिका रूपमा ।”

पुष्पाको जीवनको सबभन्दा खुसीको दिन भने आउनै बाँकी रहेछ, आफ्ना छोराछोरीको ‘ग्य्राजुएसन’ । तिनको दीक्षान्त समारोहमा अभिभावक बनेर सहभागी हुने रहर छ उनलाई । “मैले दीक्षान्त लिँदा बुबाको अनुहारको चमक मलाई हेक्का छ,” उनी भन्छन्, “त्यो खुसी म आफ्नै अनुहारमा महसुस गर्न चाहन्छु ।” 

प्रारम्भिक बालविकास र सोसल वर्कमा स्नातकोत्तर पुष्पालाई आफ्ना छोरीले एसएलसीमा ‘डिस्टिङसन’ ल्याउँदा ‘फिल’ भयो, ‘मैले छोरी भएर राम्ररी नपढ्दा मेरा बाबुआमालाई कति दु:ख भयो होला ?’ तर, उनलाई केमा गर्व छ भने छोरीहरू आफैँले पढेको काठमाडौँ विश्वविद्यालयमै पढिरहेका छन् । 

बालगृह बसाइको गहिरो छाप बालबालिकामा परिसकेको छ । पुष्पाको सीएनएन हिरो, सीएनएन सुपर हिरो अवार्ड अनि देश/विदेश घुमघामको प्रभाव पनि । जेलभित्र सैनिक–पुलिस बन्ने सपना देखेका बालबालिकालाई अहिले के बन्ने भनेर सोध्दा सात सेकेन्डमै भनिसक्छन्, ‘ मामुजस्तो बन्ने !’ 

सानो स्वर्ग

‘आई लभ मामु !’

बाडेपाखा, चपली गाउँको ‘बटरफ्लाई होम’ (पुतली घर)मा २८ मंसिर दिउँसो पुग्दा दुई शब्द र एक चिह्न थिए, हरेक लालाबालाको निधार र गालामा । कोही आफ्नै धुनमा पुतलीजस्तै नाचिरहेका, कोही मग्नमस्त खेलिरहेका, कोही निर्धक्क गाइरहेका । 

यति रमाइलो बालसंसारलाई किन बिथोल्नु ? सीएनएन सुपर हिरो पुष्पा बस्नेतको सपनाको घरछेउ उभिएर सहकर्मी रवि मानन्धर र म आफ्नै बालापन सम्झिरह्यौँ । बालगृहका सम्पर्क व्यक्ति सविन सिंह कतै गएका रहेछन् । १५ मिनेटमै आइपुग्ने जनाउ दिए फोनमा । 

बालगृहको पुछारमा बाँसको लहरै हरियो झ्याङतिर तानिएका के थियौँ, एक बालकले उर्दी गरिहाले, “अनुमतिबिना डुल्न पाइँदैन ।” तत्कालै हामी सम्हालियौँ । बालगृहको अनुशासन तोडेकामा लज्जाबोध पनि भयो । 

अघि साना नानीहरूको नङ काट्न व्यस्त रहेकी युवती आएर र आफ्नो छोटो परिचय दिइन्, “म होम इन्चार्ज रूपा राई ।” रूपासँगै थिए, गाला रंगाएका डेढवर्षे बालक (होस्टेल नम्बर ३३) । तिनको पनि परिचय गराइन्, “पुष्पा मामुको कान्छो छोरा ।” 

उनलाई तीन महिनाको छँदा यहाँ ल्याइएको रहेछ । तिनले कति लाडप्यार पाएका छन् भने एकछिन पनि भुइँमा बस्न पाउँदैनन्, कहिले कसैको काखमा, कहिले कसैको काखमा । यहाँको विशेषता के भने ठूला बच्चाले सानाको हेरविचार गर्छन् । तिनका लागि आ–आफ्नै समूह बनेका छन् । 

रूपाकै काखमा लाडिन थालिन्, चारवर्षे पुष्पाञ्जली बस्नेत । उनको ब्रान्डेड परिचय छ, मामुकी प्यारी छोरी । न्युयोर्कमा रहेकी ‘पुष्पा मामुसित दैनिक सम्पर्क’ गर्ने हैसियतकी । 

जन्मेको ४५ दिनदेखि बालगृहमा रहेकी यी फुच्चीको अनुहारसमेत पुष्पासँग काटीकुटी मिल्छ । थर पनि आफ्नै दिएकी छन् । पुष्पाञ्जलीको चुलबुल र फर्‍याकफुरुक हेर्न लायकै छ । कसैले केही गर्‍यो कि धाक दिइहाल्छिन्, ‘म मामुलाई भन्दिन्छु ।’

१० वर्षदेखि बालगृहमै सघाइरहेकी रूपाका अनुसार पुतली घरमा ३७ जना बालबालिका छन् । अढाई वर्षका आयुष मगरदेखि १९ वर्षकी लक्ष्मी तामाङसम्म । आयुषले पढ्ने बेला भएको छैन भने लक्ष्मी काठमाडौँ विश्वविद्यालयमा फाइन आर्ट्समा स्नातक गर्दैछन् । अढाईवर्षे नानीदेखि १९ वर्षका किशोरकिशोरीसम्मले एकसाथ स्नेह, सुरक्षा र शिक्षा पाइरहेका छन् । 

यति गफगाफ भइसकेपछि हस्याङफस्याङ गर्दै आइपुगे, सविन सिंह, ३० । सेन्ट जेभियर्स कलेजबाट सँगै ‘पास आउट’ भएका पुष्पाका सहपाठी । सविन तिनै हुन््, जसले सीएनएन हिरो–२०१२ का लागि पुष्पाबारे डकुमेन्ट्री बनाएर सुटुक्क पठाएका थिए । त्यसपछि सीएनएन टुकडी रिसर्चका लागि यहीँ आएको थियो । तीन लाख डलरको त्यही अमेरिकी अनुदानले नै पुतली घरको मार्गप्रशस्त गरिदिएको हो । 

“जेलका बालबालिकासम्बन्धी मुद्दा विदेशीका लागि नयाँ भयो । किनभने, विदेशमा बालबालिकालाई जेलभित्र राखिँदैन,” सीएएनको रोजाइमा पुष्पा पर्नुको कारण खोल्छन् सविन, “त्यसैले धेरै विदेशीले पुष्पा दिदीलाई सोध्छन्, कलिलो उमेरमै तिमी यस्तो काम गरिरहेकी छौ, तिम्रो मुलुकले कसरी मूल्यांकन गरेको छ ?”

पाँच ठाउँको डेराबास

सविनसँग पाँच ठाउँ भाटभटेनी, ढल्को, महाराजगन्ज, बूढानीलकण्ठको साँघुरो डेरादेखि चपली गाउँको स्थायी बाससम्म बालगृह सरेको अनुभव छ । कतिपय ठाउँमा बच्चाले हल्ला गरे भनेर एकाध महिनामै निकालिनु पर्‍यो । सम्झिन्छन्, “पुष्पा दिदी घरमा ममीलाई नयाँ भाँडा, फर्निचर किन्न लगाएर पुरानो सामान बालगृहमा ल्याउनुहुन्थ्यो ।”

पुष्पाको मन राख्न मात्रै जोडिएका थिए, प्रारम्भिक बालविकास  केन्द्र (ईसीडीसी–२०६२) का संस्थापक साथीहरू । समयक्रममा आठ जना लाखापाखा लागिहाले । अहिले १७ जनाको समितिले बालगृह चलाइरहेको छ । 

संस्थाको अध्यक्ष पुष्पा हुन् भने बालगृहको आर्थिक र कार्यक्रम पाटो सविनले हेर्छन् । सविनका अनुसार बालगृहको मासिक खर्च चार लाख रुपियाँ छ । त्यसको व्यवस्था दाताहरूले गर्दै आएका छन् ।

बालगृहको जग्गा सीएनएन हिरोबापतको अनुदानबाट खरिद भएको हो भने बाँकी भवन सीएनएन र जर्मन संस्था हार्ट फर किन्डरले बनाइदिएका हुन् । भूकम्पका बेला निर्माणाधीन भवनमा धेरै क्षति भएकाले १२ करोड रुपियाँँ खर्च भएको सविनको भनाइ छ ।

बालबालिकाको नियमित र अनुशासित जीवनशैली छ । सखारै ५ बजे उठिसक्छन् । ६ देखि ७ बजेसम्म योगकक्षा लिन्छन् । ९ बजेसम्म पढ्छन् । त्यसपछि उनीहरू पाँच मिनेट पैदलमा रहेको बूढानीलकण्ठ मोडल कम्युनिटी स्कुल र महाराजगन्जको टासी वाल्डरफ स्कुलतिर लाग्छन् । स्कुलबाट फर्कनेबित्तिकै खाजा खान्छन् र होमवर्क गर्न थालिहाल्छन् । साँझको खानापछि साना सुत्छन्, ठूला साढे १० बजेसम्म पढ्छन् । 

प्रबल गुरूङ कनेक्सन 

आश्रित बालबालिकाको पठनपाठनका लागि ग्लास वाटर्स फाउन्डेसन र शिक्षा फाउन्डेसनले सघाएका छन् । शिक्षा फाउन्डेसन अमेरिकालाई कर्मथलो बनाएका हाइप्रोफाइल सेलिब्रिटी फेसन डिजाइनर प्रबल गुरुङको संस्था हो । त्यसले नियमित रूपमा २३ जना छात्राको स्कुल शुल्क तिरिदिँदै आएको छ । भलै, अहिले तीन जना घटेका छन् । यो सहयोग पढ्न चाहुन्जेल जारी रहने फाउन्डेसनले जनाएको छ ।

पुष्पा सीएनएन हिरो हुनुअगावै पुतली घर पुगेका थिए, प्रबल । “पहिलोपटक फुपू साधना श्रेष्ठ, दिदी कुमुदिनी श्रेष्ठ, दाइ प्रवेशसित प्रबल दाइ आउनुभएको रहेछ, मैले चिनिनँ,” पुष्पाले अनलाइन कुराकानीमा भनिन्, “उहाँ हिँडिसकेपछि हाम्रै बच्चाले भन्दा पो झल्याँस्स भएँ ।” 

पछि आर्मी अफिसर्स क्लबमा पुतली घरकै अर्थ संकलनका निम्ति कन्भरसेसन विद् प्रबल नाममा ‘टक सो’ नै भयो । त्यहाँ पुष्पाले सोधेकी थिइन्, ‘प्रबल दाइ, मलाई सुट हुने डिजाइन गर्नुहुन्छ कि ?’ प्रबलले जिस्किँदै भनेका थिए, ‘ पख् तँलाई । मैले गर्ने सानो डिजाइनमा पनि तँ अँट्छेस् ।’  

अब्बल बालबालिका 

यहाँका बालबालिका पढाइसँगै खेल, नाचगानमा पनि अब्बल छन् । रुचि अनुसार क्लासिकल गितार, तेक्वान्दो, नृत्य, चित्रकलाका अतिरिक्त कक्षा लिन्छन् । जस्तो : विराज गुरुङ बी–बोइङ क्लास जान्छन् । आफ्नो सोख अनुसार कक्षा लिन कसैलाई रोकटोक छैन । 

बालगृहमा टेलिभिजन छैन । अत्यावश्यक कुरा प्रोजेक्टरमार्फत देखाउने गरिएको छ । प्रविधिले दिमाग भुत्ते भयो भनेर सफा वातावरणमै खेल्न प्रोत्साहन गरिएको छ । “सीएनएन सुपर हिरो युट्युबमा हेरेको । नेट स्लो भएर राम्ररी हेर्न पाइएन,” रूपा थप्छिन् ।

यहाँ सबभन्दा धेरै गितार र तेक्वान्दो सिक्ने छन् । तेक्वान्दोमा भाग लिँदा कुनै प्रतियोगितामा खाली हात नआएको प्रशिक्षक कल्याण कुँवर सुनाउँछन् । कल्याण पारा तेक्वान्दोका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक पनि हुन् । उनी उत्साहित छन्, “मेडल राख्ने ठाउँ नभएर भित्तामा झुन्ड् याएका छौँ ।”

काठमाडौँ उपत्यकालाई मजाले हेर्न पाइने उचाइमा छ बालगृह । यसको क्षेत्रफल नै ५ रोपनी ८ आना छ । नेपाली मौलिक शैलीका चारवटा पक्की भवन छन् । तिनमा २० छोरी र १७ छोरालाई छुट्टाछुट्टै राखिएको छ । यति रमणीय डाँडामा बालगृह बनाउनुको पनि कारण बताउँछिन् पुष्पा, “ताकि काठमाडौँ तल होस्, म माथि हुँ ।”

यहाँ पूर्वको इलामदेखि पश्चिमको कैलालीसम्म २७ जिल्लाका बालबालिकाको आदर्श परिवार छ । यस क्रममा १ सय ४० जति बालबालिका यहाँ बसेर पनि घर फिरिसकेका छन् । सानुकान्छी तामाङ नै आमाको जेल रिहाइसँगै घर फर्किसकेकी छन् । 

आफ्ना आमासँगै जानेलाई संस्थाले पढाइ खर्च पनि दिँदै आएको छ । “हाम्रो मिसन जेलभित्रका बच्चालाई बाहिर ल्याई शिक्षादीक्षा दिएर असल नागरिक बनाइदिने हो,” पुष्पा भन्छिन्, “जेलबाट निस्केकी आमासँग घर गएनन् भने परिवारको कसरी पुन:मिलन हुन्छ ?”

त्यसो त कारागारमा रहेका केटाकेटीलाई हेरचार गर्ने पुतली घर या पुष्पा बस्नेत पहिलो व्यक्ति वा संस्था होइनन् । उहिल्यै लेखक पारिजातले बन्दी सेवा नियोग (पाम) खोलेर समाजसेवाको पुनीत सुरुआत गरेकी थिइन् । अहिले पनि जेलका बालबालिकाका निम्ति काम गर्ने दर्जन संस्था छन् । 

योजना : युथ होस्टेल

बालगृहको सरकारी मापदण्डभित्र रहेर काम गर्नु हो, पुतली घरको ध्येय । त्यसबाहेक बालगृह डलरखेती मात्र होइन भन्ने देखाउनु पनि हो । सीएनएन सुपर हिरोबापत प्राप्त ५० हजार अमेरिकी डलर युथ होस्टेलमा खर्चने सोचाइ छ, पुष्पाको । बालगृहका कतिपय बच्चा जवान भइसकेका छन् । तिनका लागि बालगृह नजिकै सुविधासम्पन्न युथ होस्टेलमा राख्ने योजना छ । 

कारागार व्यवस्थापन विभागको तथ्यांक अनुसार देशभरिका जेलमा झन्डै १ सय १०  बालबालिका छन् । कुनै पनि बच्चा जेलको चार पर्खालभित्र नरहून् भन्ने मिसन बोकेको पुतली घरले ७५ जिल्लाका कारागारमा खेल्ने सामग्रीसहितको बक्स, पोसिलो खाना र दूध पुर्‍याउने अर्को योजना पनि ल्याएको छ ।  

के हो ‘सीएनएन सुपर हिरो’ ?

संसारलाई अझ राम्रो बनाउन आफ्नै आसपासका मानिसलाई सहयोग र मानवता देखाउने आम जीवनका अगुवाको खोजी गर्नु ‘सीएनएन हिरोज : एन अल स्टार ट्रिब्युट’को उद्देश्य हो । अक्सर ठूला सम्मानका पर्याय बन्ने खेलाडी वा से लिब्रिटीहरू सन् २००७ यता बर्सेनि यी हिरोहरूलाई सम्मान गरिरहेका छन् । 

सीएनएन सुपर हिरो भने यस अभियानको एक दशक पुगेका अवसरमा पछिल्ला १० विजे ताले अवार्डसँगै आफ्ना कामलाई कसरी गति दिए भन्नेसँग जोडिएको छ । विश्वविख्यात टाइम वार्नर कम्पनी मातहतको अमेरिकी टेलिभिजन च्यानल सीएनएनको पुष्पाको कामको संक्षिप्त परिचयमा गत वर्षको भूकम्पले पूरा हुनै आँटेको पुतली घरको भवन चर्काएको कथा छ, जसलाई पुन:स्थापित गर्न एक जर्मन संस्थाले सघाएको थियो । सीएनएनले लेखेको छ, ‘पुष्पालाई त्यस घटनाले गलाउन सकेन । जसका कारण अर्ली चाइल्डहुड डेभलपमेन्ट से न्टर (ईसीडीसी) विगतभन्दा बलियो अवस्थामा छ ।’ 

‘सीएनएन हिरोज’को सूचीमा महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्नेहरूकै बाहुल्य छ । हालसम्मका १० हिरोमध्ये सुपर हिरोका लागि अन्तिम पाँच मनोनयनमा परेका थिए । तीमध्ये सन् २००८ की विजेता अमेरिकाकै लिज म्याकाट्र्नीले क्याट्रिना आँधीबाट क्षति पुगेका झन्डै १ हजार २ सय नयाँ घर बनाउने अभियानको नेतृत्व गरेकी थिइन् भने सन् २००९ का विजेता फिलिपिन्सका इर्फेन पेनाफ्लोरिडाले संसारभर स्कुल छाडेका ४० हजार बालबालिकालाई पढाएका थिए । सन् २०११ की विजेता अमेरिकी रबिन लिमले आफ् नो फाउन्डेसनमार्फत पछिल्लो दुई दशकमा तीन लाखभन्दा बढी महिला र बालबालिकाको स्वास्थ्य समस्यामा साथ दिइन् । सन् २०१३ का विजेता अमेरिकाकै चाड पिगार्केले अमेरिकाका नदीबाट दसौँ लाख किलो फोहोर र रासायनिक पदार्थ निकाल्ने अभियान चलाएका थिए ।   

अन्तिम पाँचबाट छनोटका लागि निर्णायक मण्डलका साथै अनलाइन भोटिङसमेत गरिएको थियो । नेपाली समय अनुसार २७ मंसिरको बिहान न्युयोर्कमा आयोजित एक कार्यक्रममा पुष्पालाई ‘सीएनएन सुपर हिरो’ घोषणा गरे, हलिउड सेलिब्रिटी केल्ली रिपा र टेलिभिजनकर्मी एन्डरसन कोपरले ।  

 

 

प्रकाशित: पुस ५, २०७३