नोटबुक

- राजकुमार बानियाँ

नारायण गोपालको ‘स्टक मेलोडी’

स्वरसम्राट् नारायण गोपालका प्रशंसकहरुका लागि सुखद समाचार छ । दुनियाँबाट दैहिक विश्राम लिएको २६ वर्षपछि नारायण गोपालको घरमै ‘स्टक मेलोडी’को क्यासेट भेटिएको छ । अर्थात् त्यो मेलोडीले नारायण गोपाललाई पुन:जीवन दिएको छ । नेपाली स्वर्णिम संगीतलाई फेरि एकपटक तरोताजा बनाइदिएको छ । 

हुन पनि नारायण गोपालका प्रशंसकका लागि समुद्रमा डुबेको जहाजमा अमूल्य खजाना भेटिएजस्तै भयो, १९ मंसिरमा । नेपाली कला संस्कृति विकास केन्द्र र भ्वाइस आर्ट एकेडेमीद्वारा नारायण गोपाल चोकमा आयोजित स्मृति सभामा त्यही मेलोडीले विष्णुबाबु देवकोटाका शब्द, कुशल पौडेलको गायकी र प्रदीप श्रेष्ठको संगीत संयोजन पाएको छ । 

‘मेरो भूगोल त्यही नै हो जहाँ तिमी अटाउँछौ

मेरो जीवन त्यति नै हो जति तिमी कटाउँछौ’

भारतीय संगीतकार मदनमोहन बितेको ३० वर्षपछि त्यस्तै धुन भेटिएको थियो ।  त्यसमा जावेद अख्तरले शब्द लेखे, लता मंगेशकर, उदितनारायण, सोनु निगम, रुपकुमार राठौडलगायत कलाकारले गाए, दो पल रुका..., तेरे लिए..., ऐसा देश है मेरा... ।

छ–आठ मिटर अर्थात् खेक्टा बिटको त्यस्तो मेलोडी नारायण गोपाल समर्पण र जीवनदर्शनका गीतमा प्रयोग गरेको संगीतकार सुरेश अधिकारीको अनुभव छ । ‘यसै गरी बिताइदिन्छु, दुई दिनको जिन्दगी’ होस् या ‘तिमीलाई भुल्दा म एक्लो भएछु’ त्यही बिटमा छन् ।

खेम्टा बिटलाई बेग्लै उचाइ दिने जादू थियो नारायण गोपालमा । संगीतकार अधिकारी चुकचुकाउँछन्, फत्तेमान बाँचेकै बेला त्यो मेलोडी भेटिएको भए... । नारायण गोपालले पत्याएका गायक थिए फत्तेमान । नारायण गोपालको सांगीतिक धीत मारिदिने गायक, यो ‘कम्पोज’ कस्तो लाग्यो भनेर सोध्ने गायक, आफूले राम्राराम्रा कम्पोज सुम्पिने गायक ।

रमाइलो के भने नारायण गोपाल र फत्तेमान एकले अर्कोलाई ‘ महाराज’ भनेर सम्बोधन गर्थे । हामीले ‘स्वरसम्राट्’ भन्ने उनीहरुलाई पहिल्यै थाहा थियो सायद ।  “नारायण गोपाल वजनदार शब्द छानेर आफ्नो गीतलाई वजन दिन्थे वा उनको वजनदार आवाजले शब्दलाई वजन दिन्थ्यो भन्ने प्रश्न घोत्लिएर सोच्नेका लागि गम्भीर छ,” अधिकारी भन्छन् ।

त्यसमा नारायण गोपालकै आवाज नभए पनि अतिरिक्त मेलोडी आफैँमा महँगो छ । केही भारतीय ठुमरी, सुफीहरुको ‘स्याम्पलिङ साउन्ड’मा मात्रै पर्याप्त हुने छैन, त्यसमा नारायण गोपालकालीन अर्केस्ट्रा र वजनदार आवाजको खोजी पनि उत्तिकै जरुरी छ । अर्थात्, नारायण गोपालको उत्खनन कहिल्यै सकिने छैन । 

कवि दिल खोलेर

राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कारमैत्री छन् । आफूले पाएका पुरस्कार जतनसित राखेका छन् । तर, पुरस्कारको तस्बिर लिन अनुरोध गर्दा भने सजिलै मानेनन् । फोनमा दर्जन बिन्ती बिसाएपछि बल्ल ससर्त राजी भए, दुइटाभन्दा बढी फोटो खिच्न नपाइने । आधा घन्टाभन्दा बढी समय पनि लिन नपाइने ।

राष्ट्रकविकै समयमा लैनचौरस्थित निवास पुग्दा कविज्यू तयार भइसकेका थिएनन् । उनलाई दाह्री काट्न र नुहाउन एक घन्टा लाग्यो । त्यसपछि सफेद पोसाकमा निस्केका कविजीले एक घन्टा ‘ननस्टप पोज’ दिए । त्यसपछि ‘श्रीमतीजी, महाकालीजी, राष्ट्रकवियत्रीजी’ आदि इत्यादि भन्दै पत्नी महाकाली घिमिरेलाई बोलाए । र, हनिमुन जोडीको जस्तो विभिन्न एंगलमा फोटो खिचाए ।

अनि मात्र अन्तर्वार्ताका लागि बसे । एकघन्टे कुराकानीमा चित्त बुझाएनन् । भन्न थाले, “अब आइहाल्नुभयो, लौ जत्ति सोध्नुहुन्छ, सोध्नूस् ।” मैले पहिलेका सर्त सम्झाइदिएँ । उनले स्पष्टीकरण दिए, “कविले समय दिएपछि दिल खोलेर दिन्छ ।” त्यसपछि चार घन्टामा बल्ल फुर्सद मिल्यो ।

छाउपडी–साहित्य

अचेल लेखक–साहित्यकारहरु पनि कमाउ धन्दामा लागेका छन् । कसैका उपन्यासको बिक्री अपत्यारिलो छ, कसैले कुस्तै पुरस्कार पाएका छन्, कसैले प्रशस्त विकासे काम पाएका छन् । अझ कतिपय लेखक त कति भाग्यमानी छन् भने पुस्तक बिक्री, पुरस्कार र विकासे काम पनि एउटैको झोलामा परेका छन् ।

लेखक–साहित्यकारको भ्रम के हुन्छ भने उनीहरुले हात हालेको हरेक चीज साहित्य नै हो । अहिले सबभन्दा फस्टाएको विधा भने छाउपडी साहित्य हो । त्यसैले त छाउपडीका साहित्य आएको आयै छन् । कतिपय आउनेवाला छन् । अखबारका पाना पनि तिनले नै रंगाएका छन् । यस्तो लाग्छ, छाउपडी भनेकै साहित्य हो, साहित्य भनेकै छाउपडी । 

एनजीओ, आईएनजीओका लागि हजारचोटि छाउपडी सकियो, हजारचोटि छाउपडी उदायो । नहोस् पनि किन ? छाउपडी तिनीहरुका लागि कामधेनु गाई जो भएको छ । छाउपडीकै दरबन्दीमा फलिफाप भएपछि अरुतिर किन ध्यान दिने ? छाउपडीमै नोट वर्षा भएपछि अरु किन लेख्ने ? कि कसो त लेखकज्यू ? 

प्रकाशित: मंसिर ३०, २०७३