[स्मरण] कोइरालाको पूर्वाग्रही निर्णय

- दामोदर गौतम

मुख्यसचिवबाट पजनीमा परेपछि बाराको कलैयास्थित आफ्नो घरमा गएर बसिरहेको थिएँ । स्वाभाविक ढंगले नै दैनन्दिन चलिरहेको थियो । विसं ०५५ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको टेलिफोन सन्देश पाएँ, ‘ तपाईंलाई राजदूत बनाउने सोच बनाएको छु, के छ विचार ?’ खुसी नै लाग्यो । सोचेँ, गिरिजाप्रसादलाई पनि महसुस भएछ क्यारे, पजनीबाट इमानदार मानिसलाई अन्याय गरेको छु भन्ने । काठमाडौँ आएर केही औपचारिक प्रक्रिया पूरा गरी अमेरिकाका लागि राजदूतमा नियुक्तिको पत्र बुझेँ र उडेँ ।

राजदूतका लागि स्वाभाविक रूपमा केही अधिकार हुन्छन् । त्यसै अन्तर्गत रहेर काम गर्नुपर्ने हो । मैले पनि त्यसै गरेँ । वास्तवमा त्यो पद भनेको ‘सेरेमोनियल’ हो । जस्तो : कुनै औपचारिक कार्यक्रममा  प्रतिनिधित्व गराउनुपर्ने भयो भने निम्तो आउँछ । त्यस्ता कार्यक्रममा औपचारिक रूपमा प्रस्तुत हुने हो । प्रवासी नेपालीले आयोजना गर्ने कुनै विशेष समारोह वा औपचारिक कार्यक्रम छ भने त्यसमा सहभागिता जनाउने हो । 

राजदूत भएको करिब दुई वर्षपछि प्रधानमन्त्री कोइराला सहस्राब्दी विकास लक्ष्यसम्बन्धी संयुक्त राष्ट्र संघीय विश्व सम्मेलनमा भाग लिन न्युयोर्क आउनुभयो । म उहाँलाई ‘रिसिभ’ गर्न विमानस्थल पुगेँ । औपचारिक ढंगको सामान्य भलाकुसारी भयो । एक जना राजदूतले प्रधानमन्त्रीलाई गर्नुपर्ने ब्रिफिङ मैले पनि गरेँ । त्यसपछि उहाँ आफ्ना कार्यक्रममा व्यस्त हुनुभयो । औपचारिक र राजदूत उपस्थित हुनुपर्ने कार्यक्रममा म उहाँसँगै सहभागी भएँ । कार्यक्रम समापनपछि स्वदेश फर्किने बेला विमानस्थलसम्म पुगेँ र उहाँको बिदाइ पनि गरेँ । सौहार्दपूर्ण वातावरणमै उहाँ बिदा हुनुभयो । अमेरिकामा भएको यत्ति हो ।

स्वदेश फर्किनासाथ उहाँलाई के लाग्यो अथवा उहाँका निकटस्थहरूले के भने, मैले जान्ने कुरा भएन । एकाएक मलाई परराष्ट्रसचिव नारायणशमशेर थापाको हस्ताक्षर रहेको पत्र आयो, ‘८ मंसिर ०५७ देखि लागू हुने गरी तपाईंलाई राजदूतबाट फिर्ता बोलाउने निर्णय भएको छ ।’ 

मेरी नातिनी पनि मसँगै न्युयोर्कमा बसेर पढिरहेकी थिइन् । दुई महिनापछि उनको फाइनल परीक्षा थियो । अर्कोतिर, राजा वीरेन्द्रको ५६औँ जन्मोत्सवको उपलक्ष्यमा दिइने ‘रिसेप्सन’को अन्तिम तयारी भइरहेको थियो । 

एकाएक राजदूतबाट फिर्ता बोलाउने निर्णय भएको जानकारी पाउँदा म त झसंग भएँ । राजदूतको पदमा रहेर चोरी, डकैती, तस्करी, भ्रष्टाचार वा गर्नुपर्ने कुनै काम नगरेको वा गर्न नहुने कुनै काम गरेको त थिइनँ । फेरि, एकाएक किन फिर्ता बोलाइयो ? मैले अनुमान लगाउन सकिनँ । त्यसैले मैले जवाफ पठाएँ, ‘सरकारी रकमको हानि–नोक्सानी गरेको वा शाही नेपाली राजदूतले गर्नुपर्ने कूटनीतिक वा अन्य दैनन्दिन काम पनि मर्यादित रूपमा सम्पादन गर्न नसकेको अवस्था भएको हो भने फिर्ता बोलाउने निर्णय उपयुक्त र स्वागतयोग्य मात्र नभई मैले कानुनबमोजिम अपराध वा गल्तीको मात्रानुसार सजाय पाउनैपर्छ, त्यसका लागि म तयार छु ।’

प्रधानमन्त्री कोइरालालाई सोध्न मन लागेको थियो, कुनै पनि कारण नभई मन्त्रिपरिषद्ले संविधानको कुन धारा वा ऐन–नियमको कुन दफा प्रयोग गरी मलाई फिर्ता बोलाएको हो, जानकारी पाऊँ ? तर, मेरो पद र गरिमाले त्यसो गर्न दिएन । मैले परराष्ट्रसचिवमार्फत कोइरालासमक्ष कुरा पुगोस् भनेर यति मात्र अनुरोध गरेँ, ‘सर्वसाधारण मानिसले पनि आफ्ना कमारा–कमारीलाई कामबाट निकाल्दा सामान्य शिष्टाचार देखाउनुपर्छ । तर, अधिकारसम्पन्न पदको मान–मर्यादा र गरिमाको मान–मर्दन हुने गरी निर्णय गर्दा त्यस्तो निर्णयले राष्ट्र तथा अन्तर्राष्ट्रिय जगत्मा नै अनुकूल वा प्रतिकूल कस्तो प्रभाव पार्ला ? यसतर्फ विचार गरेर विवेकपूर्ण निर्णय गर्ने/गराउने परम्परा बसाल्नुभएमा प्रजातान्त्रिक प्रणालीको विकास र सुदृढीकरणमा योगदान नै पुग्ने थियो कि ?’

मप्रति प्रधानमन्त्री कोइरालाले त्यस्तो द्वैष किन साँध्नुभयो, अहिलेसम्म पनि जान्न पाएको छैन । सरकारले कुनै पनि निर्णय गर्दा खुला, पारदर्शी, ऐन र कानुन अनुकूल विवेकपूर्ण निर्णय गर्नुपर्छ । वास्तवमा मप्रतिको कारबाही व्यक्तिगत रिस–ईबी, प्रतिशोध र बदलाको भावनाले प्रेरित कुनै अधिनायकले गर्नेजस्तो थियो । मन्त्रालय, मन्त्रिपरिषद्, सरकारजस्ता गरिमामय संस्था यस्तो (असमयमै राजदूत फिर्ता बोलाउने) निहित स्वार्थप्रेरित मुद्दामा मुछिनु वा संलग्न हुनु मर्यादित व्यवस्था र परम्पराको विकासमा सुहाउने कुरा अवश्य पनि थिएन । 

अप्रत्यासित ढंगले राजदूतबाट फिर्ता बोलाएपछि म नेपाल फर्किएँ । फर्किएपछि यता मेरी आमा बिरामी पर्नुभयो । उहाँलाई हेर्न कोइराला अस्पतालमै आउनुभएको थियो । त्यसबखत उहाँको कुराकानीबाट म अनुमान लगाउन सक्थेँ, उहाँ मसँग गुलामी र चाकडीको अपेक्षा गरिरहनुभएको थियो । तर, मेरो स्वाभिमानले त्यसो गर्न दिएन । 

सायद कोइरालाले भनेको र सोचेको कुरा मबाट पूरा हुन नसेकेको वा नसक्ने ठानेर नै मलाई फिर्ता बोलाउने निर्णय गर्नुभएको हो । कोइरालाको स्वभाव र व्यक्तित्वलाई चिन्न धेरै गाह्रो छ । सायद मलाई असमयमै राजदूतबाट फिर्ता बोलाउने कोइरालाको निर्णय राजनीतिक पूर्वाग्रहले प्रेरित थियो । 
किनभने, राजनीतिक रूपमा कहिल्यै पनि म उहाँको सन्निकट रहेर काम गर्न सकिनँ ।

प्रस्तुति: ईश्वरी ज्ञवाली

प्रकाशित: मंसिर २८, २०७३