शिखर शैलीकै प्रतीक्षामा शिलु

  • मल्लकालीन मन्दिरलाई मौलिक स्वरूपमा पुन:निर्माण गर्ने तयारी

- गोकर्ण गौतम

विनाशले नोक्सान त पुर्‍याउँछ नै तर कहिलेकाहीँ विकास र समृद्धिले अवसर पनि जुटाइदिन्छ । हुनुपर्‍यो त केवल सरोकारवाला निकायसँग इच्छाशक्ति । त्यस्तै इच्छाशक्तिको पर्खाइमा छ, १२ वैशाख ०७२ मा ध्वस्त भएको भक्तपुर दरबार स्क्वायरमा अवस्थित शिलु महादेव मन्दिर । स्थानीयवासी मात्र होइन, हरेक सम्पदाप्रेमी मल्लकालीन यस मन्दिरलाई मौलिक अर्थात् शिखर शैलीमै पुन:निर्माण गर्नुपर्ने पक्षमा छन् । सम्पदा पुन:निर्माण निर्देशक समितिका सदस्य रवीन्द्र खरबुजा भन्छन्, “शिलु मन्दिरलाई मौलिक शैली दिएर आगामी पुस्तालाई हस्तान्तरण गर्नुको विकल्प छैन ।” हुन पनि शिलुको ऐतिहासिक र सांस्कृतिक विशेषता रोचक र महत्त्वपूर्ण छ । 

नेवारी भाषामा शिलुको अर्थ गोसाइँकुण्ड हो । गोसाइँकुण्ड तीर्थ जान नसक्ने बच्चा, बूढाबूढी र अशक्त भक्तजनका लागि यो मन्दिर सत्रौँ शताब्दीमा निर्माण गरिएको थियो । यसरी भक्तजन अनुकूल देवतालाई आह्वान गरेर मन्दिर बनाउने चलन चौधौँ शताब्दीबाटै सुरु भएको पाइन्छ । अर्को के जनविश्वास रहिआएको छ भने जतिबेला भक्तपुरमा पाँचतले मन्दिर बनिरहेको थियो, काठमाडौँका तत्कालीन राजाले भक्तपुरका राजालाई मन्दिर बनाइदिने इच्छा व्यक्त गरे, उपहारभन्दा पनि आफ्नो शक्ति प्रदर्शन गर्ने नियतसाथ । उनले काठमाडौँका राजाको प्रस्ताव स्वीकार त गरे तर मन्दिर बनाउन एक वर्ष समयावधि तोकिदिए । इतिहासकार तथा स्थानीयवासी पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार तोकिएको मितिमा मन्दिरको निर्माण कार्य सम्पन्न गर्न काठमाडौँका राजा असफल भए । मन्दिरको निर्माण बीचैमा रोकियो । त्यसैले यसको अर्को नाम ‘मजा: देग’ (अधुरो मन्दिर) रहिआएको छ । तर, पुरातत्त्व विभागको अभिलेखमा शिखर शैलीको यो मन्दिर राजा जितामित्र मल्लका पालामा बनेको उल्लेख छ ।

मन्दिरको निर्माण अवधि र निर्माणकर्ताका बारेमा विभिन्न मत भए पनि यो शिखर शैलीको थियो भन्नेमा कसैको विमति छैन । विसं १९१० मा हेनरी एम्ब्रोस ओल्डफिल्डले कोरेको चित्रमा शिलु महादेवलाई नेपालकै ठूलो शिखर शैलीको मन्दिरका रूपमा चिनाइएको छ । यद्यपि, शिखर शैली नेपालको मौलिक शैली होइन, सत्रौँ शताब्दीमा भित्र्याइएको मुगल शैली हो । तर, यही शैलीमा पनि नेपालीपन मिसाइएको छ, मन्दिरको चारै दिशामा वायुपंखी सिंह राखेर । शिलु मात्र होइन, भक्तपुरकै शिखर शैलीको नृत्यवत्सला मन्दिर र पाटनको कृष्ण मन्दिरमा पनि यस्तै पायुपंखी सिंह देख्न सकिन्छ । यसले मन्दिर जमिनमा नभई आकाशमा उडिरहेको सन्देश बुझिने संस्कृतिविद्हरू बताउँछन् । दुर्भाग्य † १९९० को भूकम्पले शिलु महादेवलाई तहसनहस बनायो । तर, मन्दिरको पेटी र तलदेखि क्रमश: राखिएका हात्ती, सिंह र साँढेका आकर्षक मूर्तिमा क्षति पुगेन । 

१९९० अगाडिको तस्बिरमा शिलु महादेवको बायाँपट्टि हरिशंकर मन्दिर देखिन्छ, जुन मन्दिर पनि भूकम्पले क्षतिग्रस्त भयो । विडम्बना ! पुन:निर्माण गर्न कसैले चासो देखाएनन् । अहिले यो मन्दिरको भौतिक अस्तित्व करिब हराइसकेको छ । हरिशंकरझैँ शिलु महादेवलाई बेवास्ता त गरिएन तर शिखर शैलीमा नभई गुम्बज शैलीमा ठड्याइयो, जुन तुलनात्मक रूपमा सजिलो र कम खर्चिलो मानिन्छ । सम्पदा संरक्षणमा सक्रिय रवीन्द्र पुरी भन्छन्, “शिलुको ऐतिहासिक महत्त्वलाई नजरअन्दाज गरेर झारोतिराइ शैलीमा पुन:निर्माण गरिएको छ । शैली र बनोट मात्र फेरिएन, इट्टाले बनेको मन्दिरमा सेतो रङ दलियो ।” कतिसम्म भने मन्दिरको स्वरूप फर्सीजस्तै बाटुलो भएकाले नामै बदलियो । १९९० पछि यसले ‘फसि : देग’ अर्थात् फर्सी मन्दिरको चिनारी पाएको श्रेष्ठ बताउँछन् । 

यो प्रसंग यहाँ किन उप्काइएको हो भने गुम्बज शैलीमा रूपान्तरित यो मन्दिर गत वर्षको भूकम्पबाट पुन: क्षतविक्षत भएको छ । मन्दिरको आधारपेटी मल्लकालझैँ जस्ताको त्यस्तै छ, माथिको संरचना तथा गजुर भने ध्वस्त । भूकम्पको डेढ वर्षपछि पुरातत्त्व विभाग र भक्तपुर नगरपालिकाको संयुक्त पहलमा यसको पुन:निर्माण त सुरु भएको छ तर १९९० पछि जस्तै गुम्बज शैलीमा बनाइन्छ वा शिखर शैलीमै बनाएर यसको मौलिक स्वरूप जीवित राखिन्छ ? सबैले चासोको साथ हेरिरहेका छन्, पुन:निर्माणसँगै मन्दिरको चारै दिशामा जडान गरिएका वायुपंखी सिंह आफ्नै पुरानो स्थानमा फर्कन पाउलान् ? 

जोन क्लाउड ह्वाइटले १९९० भन्दा पहिले खिचेको यस मन्दिरको चार दिशामा वायुपंखी सिंह प्रस्टै देखिन्छ । नेपालमा रहेका शिखर शैलीका मन्दिरको मूल विशेषता नै उड्ने सिंह हुन् तर १९९० पछि पुन:निर्माण गर्दा यी ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेका सिंह गायब भए । पुन:निर्माणका क्रममा मौलिक अवस्थामा झैँ मन्दिरमा ती सिंहले मन्दिरको चार दिशामा बस्न पाउनु त टाढाको कुरा, तिनको उचित संरक्षण पनि भएन । तस्बिर तथा अन्य दस्तावेजमा उड्ने सिंह भएको यकिन तथ्य हुँदा पनि पुरातत्त्व विभागले खोजीमा चासो देखाएन । 

यसको अर्थ ती आकर्षक सिंह गायब भए त ? सम्पदाकर्मी पुरीका अनुसार सिंह हराएका छैनन्, बेवास्ता गरिएको मात्र हो । “शिलु महादेवको एक जोडी सिंह मन्दिरको आडैमा छ भने अर्को जोडी करिब सात सय मिटरको दूरीमा रहेको गोल्मढीको गहटीको ढुंगेधारामा छ,” हराएका मूर्तिहरूको खोजीनीतिमा लामो समय बिताएका उनी भन्छन्, “ती चारै सिंहको अनुहार, बनोट र आकार समान हुनु अनि त्यस्ता सिंह शिखर शैलीका मन्दिरमा मात्र प्रयोग गरिनुले शिलुकै हो भन्नेमा शंकै छैन ।” पुन:निर्माण शिखर शैलीमै हुुनुपर्ने र ती सिंहलाई चारै सुरमा राखेर मन्दिरको सुन्दरता, साख र महत्त्व फर्काउनुपर्ने माग छ उनको । 

तर, पुन:निर्माणमा अग्रसरता देखाइरहेको पुरातत्त्व विभाग नै मन्दिरलाई कुन स्वरूपमा बनाउने भन्नेमा अलमलमा देखिन्छ । विभागका महानिर्देशक भेषनारायण दाहाल मल्लकालको झैँ शिखर शैलीमा बनाउन सम्भव नरहेको बताउँछन् । भन्छन्, “१९९० सालअगाडिको जस्तो बनाउन हामीसँग आधिकारिक अभिलेख छैन, युनेस्कोको सहमति लिनुपर्छ, समय पनि बढी लाग्छ । त्यसैले अघिल्लो वर्ष भुइँचालो जानुअघि जस्तो थियो, त्यस्तै बनाउँदै छौँ ।” उनले हराएका वायुपंखी सिंह संग्रहालय वा कता छन्, खोज्नुपर्ने पनि बताए । तर, विभाग अन्तर्गतकै भक्तपुर स्मारक संरक्षण तथा दरबार स्क्वायर कार्यालयकी प्रमुख मंगला प्रधानको भनाइ फरक छ । उनले ‘मन्दिर शिखर शैलीमै बनाइने र सिंह पनि जडान गरिने’मा विश्वस्त रहन आग्रह गरिन् । सोही अनुरूपको निर्माण कार्य सुरु भइसकेको जानकारी पनि दिइन् । 

यसरी विभागका दुई जिम्मेवार अधिकारीका विपरीत भनाइ र असमन्वयले शिलु महादेव शिखर शैलीमै बनाइन्छ भन्नेमा शंका उत्पन्न भएको छ । पुन:निर्माण मौलिक शैलीमा नहुँदा शिलुको सांस्कृतिक महत्त्व र सुन्दरता त संकटमा पर्छ नै, सँगै इतिहास पनि मेटिने डर पैदा भएको छ । इतिहासकार श्रेष्ठ भन्छन्, “मन्दिरको निर्माण सामग्री, आकार र बनोटका बारेमा हामीसँग यथेष्ट अभिलेख छन् । त्यसैले शिखर शैलीमै बनाइनुपर्छ ।” 

प्रकाशित: मंसिर २६, २०७३