नोटबुक

- मनबहादुर बस्नेत

टिकट प्रणाली होइन, होटल प्रणाली
गत असोजको कुरा हो । पर्यटक आउने सिजन परेकाले लुक्ला उड्ने टिकटको मारामार थियो । टोलीमा सहभागी अन्य पाँच जनाको टिकट ‘कन्फर्म’ भए पनि मेरो टुंगो लागेको थिएन । बल्लतल्ल टिकट जुगाड भएपछि लुक्ला उडियो । उड्न त उडियो तर फर्कने टिकट हातमा थिएन । सँगै गएका सबै साथीको टिकट बुक थियो । उनीहरु बिन्दास थिए । आफूलाई भने फर्कने बेला समस्या हुने हो कि भनेर बेलाबखत पीर परिरहन्थ्यो । भलै टिकटका लागि आफूले होटलवालालाई अनुरोध गरिसकेको भनेर सहयात्री मिङ्मा शेर्पाले भनिरहेकी थिइन् । तर, काठमाडौँबाट उड्दा ठूलै ‘सोर्स’ लाएर टिकट पाएकाले ढुक्क हुन सकिरहेको थिइनँ । आठ दिनपछि उड्ने समय आयो । होटलवालाले टिकट दिएकै छैन । ‘बिहानै मिल्छ,’ जतिपटक सोधे पनि उसको जवाफ टेपरकर्डरजस्तो मात्र । 

होटल साहूजीको पछि लागेर भोलिपल्ट बिहानै टिकटबिनै विमानस्थल झरियो । हाम्रो समूहका टिकटवाला साथीद्वय आलोक र ज्ञानले टिकट देखाउँदै सीता एयरको काउन्टरमा पुगे । काउन्टरका कर्मचारीले टिकटै  हेरेनन् । उल्टै सोधे, ‘कुन होटलबाट ?’ 

‘हामी कुनै पनि होटलबाट होइन । काठमाडौँदेखि नै बुकिङ गरेको । टिकट यहाँ छ,’ मित्र आलोकले टिकटसहितको हात लम्काउँदै भने । तर, कर्मचारी एकछिन पर्खनूस् भन्दै पन्छिए । ‘ फलानो होटल’, ‘ढिस्कानो होटल’ भन्दै एयरलाइन्सका कर्मचारीले यात्रु बोलाउँदा रहेछन् । बुकिङको कुनै अर्थ नहुने रहेछ । होटलवाला र एयरलाइन्स कर्मचारीले जसलाई उडाउन चाहन्छ, ऊ उड्यो । म भने होटलवालालाई पछ्याइरहेकै थिएँ । नभन्दै टिकट बुकिङ नै नगरेको मलाई होटल साहूले उडायो । तर, टिकट ‘फिक्स’ भएका दुई जना साथीको पालो भने निकै पछि आएछ । त्यो पनि टिकट प्रणालीबाट होइन, होटल प्रणालीबाटै । 

खुम्जुङका सूचना

विदेशी पर्यटकको ओइरो लाग्ने क्षेत्र मनाङ, मुस्ताङ, सोलुखुम्बुतिर नेपालीलाई ‘भाउ’ नदिने कहानी अलिअलि सुनिएको थियो । नभन्दै खुम्बु क्षेत्र पुग्दा त्यसको केही आभास पाइयो नै । यात्राको तेस्रो दिन बिहानको खाना खान माछेर्मो भन्ने ठाउँमा पुगियो । खाना खाने रेस्टुराँको भित्तामा नेपालीका लागि छुट्टै ट्वाइलेट रहेको सूचना टाँसिएको थियो । सूचनाको फोटो खिचेर  होटलधनीलाई देखाउँदै सोधेँ, “यस्तो किन हो ?” उनले नेपालीहरुले फोहोर बनाइदिने, प्रयोग गर्न नजान्ने भन्दै उनीहरुको बानी नै ठीक नभएको खुलाइन् । 

नाम्चे बजारको सुपरमार्केटमा फेरि अर्को सूचना भेटियो । जसमा हिसाब मिलान गर्न बाँकी ग्राहकलाई मीठो भाषामा गाली गरिएको भेटियो । करोडपतिहरुले समेत हरहिसाब मिलान नगर्दा अप्ठ्यारो परेको बताउँदै व्यंग्य कसिएको, ‘आफैँलाई मपाईं बनाएर सामान बाँकी दिन बाध्य नगराई दिनुहुन विनम्र अनुरोध गर्दछु ।’ यी दुवै सूचना देखेपछि लाग्यो, विश्वकै उच्च क्षेत्र सगरमाथा अब कुनै पनि बेला यस्ता अनौठा सूचनाको खोजीका लागि समेत गन्तव्य बन्न के बेर !

सिनु सर्भ !
सोलुखुम्बुको जोरसलेमा बिहान उठ्दा झमझम पानी परिरहेको थियो । होटल साहुनीले बिहानै पानी पर्नु त्यहाँको प्राकृतिक ‘नित्य कर्म’ भएको र दिउँसो मौसम उघ्रने बताएपछि हामी ढुक्क बन्यौँ । अनि, पानी केही पातलिएपछि हामी बाटो लाग्यौँ । नभन्दै अलि मास्तिर पुग्नासाथै पानी रोकियो । दिन पनि उज्यालो भएर आयो । हामी आपसमा फोटो खिच्दै, खिचाउँदै र खिचिमाग्दै अघि लाग्यौँ । दूधकोसी र भोटेकोसीको संगमदेखि थोरै माथि एउटै खोला (दूधकोसीमा)मा खुड्किलो शैलीको जोडी पुल अनौठो र आकर्षक देखिँदोरहेछ । पुल तरेपछि उत्तरतिर हिमाल झलल्ल टल्कियो । चुत्रो बेस्सरी पाइँदो रहेछ । भर्खर अमिलो पसेको चुत्रोको फल चपाउँदै उकालो लागियो । विभिन्न प्रजातिका जंगली फूल मगमगाइरहेका थिए । पिठ्यूँमा भारी बोकेका जोक्यो, चौँरीका बथान भेटिए मात्रै यस्तो सुगन्धमय वातावरण केहीबेर अलप हुन्थ्यो । नत्र क्या वासनामय प्रकृति ।

तर, नाम्चे बजार आउने बेलामा एकाएक सुगन्धित वातावरणमा दुर्गन्धको हरक फैलियो । साथीहरु सबै नाक थुन्न थाले । थुक्न थाले । पदयात्रीहरु बाटो किनारातिर पन्छिन थाले, मानौँ ठूलै प्रकोप उत्पन्न भइरहेको छ । बाटोको भित्ता साइडतिर डोकोभित्र प्लास्टिकले बेरेका भारी बिसाइएको थियो । त्यसभित्र ‘बफ’ अर्थात् राँगा, भैँसीको मासु बाँधिएको रहेछ, जुन लुक्लादेखि माथिका होटल, रेस्टुराँहरुमा पाहुनालाई ‘सर्भ’ गरिँदोरहेछ । यो दृश्यपछि हाम्रो समूहका सबै मांसाहारी एकाएक यात्राभरका लागि शाकाहारी भए । 

त्यसको चौथो दिन नाम्चेबाट सगरमाथा आधारशिविर जाने बाटोमा मैले डोकोमा मासु बोकिरहेको अर्को एक जनालाई भेटेँ । उनले पाङबोचेका होटल साहू जर्सेको मासु बोकिरहेका थिए । यो क्षेत्रमा ‘ बफ’ सोलुखुम्बुको हेल्कु र खरीखोलाबाट ल्याइँदोरहेछ । जोखेर होइन, सिंगो फिला गोटाको हिसाबमा । नाम्चेसम्म फिलाको भारी बोकेर आउन हप्ता–दस दिन लाग्दो रहेछ । त्यतिन्जेल मासु बासनादार भइसक्दो रहेछ । अझ नाम्चेभन्दा माथि पुर्‍याउन थप केही दिन लाग्छ । अनि, होटल पुग्दा मासु ‘सिनु’सरह हुने नै भयो । 

प्रकाशित: मंसिर २४, २०७३