वर्षौंदेखि बेरुतमा

  • लेबनान शान्त छ तर त्यहाँ पुगेका झन्डै १० हजार नेपाली भने अशान्त

- देवेन्द्र भट्टराई

बेरूत (लेबनान) ।। खासमा ‘दोरा’ नाम भए पनि नेपालीकरण भएर बनेको दाउरा–चोकमा भेटिए, पूर्णबहादुर गुरुङ, ५० । स्याङ्जा, कालीकोट गाउँका पूर्णलाई जे–जति बेरुत सहरबारे जानकारी छ, त्यति आफ्नो घरगाउँबारे पनि पत्तो छैन । कता हिँडिएको हो र के खोज्न हिँडेको भन्ने पत्तो नपाई १९ वर्षे उमेरमा घर छाडेर हिँडेका यिनका उर्वर दिनरात परदेशमै बितेका छन् । ३१ वर्षअघि घर छाड्दा उनले लेबनान भन्ने मुलुकको नक्सा पनि देखेका थिएनन् । एक जना भारतीय एजेन्टको पछि लागेर काठमाडौँ–इस्लामावाद–दमास्कस हुँदै बेरुत उत्रिएका उनी अहिले सम्झन्छन्, “त्यस बेला धेरै लामो बाटो काटिएको रै’छ भन्ने अहिले थाहा लाग्दै छ ।”

उनको समूहमा ११ जना बेरुत आइपुगेका रहेछन् । त्यसमा तीन जना नेपाली थिए । पूर्णसँगै पुण्य उप्रेती र खेमराज राई भन्ने तन्नेरी पनि बेरुत उत्रिएका थिए । तर, यतिका वर्ष बितिसके, ती सहयात्रीहरू को/कहाँ छन्, पत्तो छैन । “त्यस बेला सिंगो बेरुतमा म एक्लो नेपाली थिएँ,” पूर्ण सम्झन्छन्, “नेपाली बोल्नुपरेमा एक्लै गीत गाउनुपथ्र्यो, आफ्नै भाकामा ।”

गृहयुद्धमा जलिरहेको लेबनान भूमिको यथास्थिति केही पत्तो नपाई बेरुत उत्रिएका कारण पूर्णबहादुरले यता आएर कमाइ–धमाइभन्दा ज्यान जोगाउने जुक्ति ठूलो कुरा रहेछ भन्ने सिक्न पाएका थिए । “त्यस्तो बम–बारुदको दुनियाँ होला भन्ने थाहा थिएन,” उनी सम्झन्छन्, “सुरुङजस्तो अँध्यारो कोठामा दिनभर नान (खबुज) रोटी बनाउने काम हुन्थ्यो, राती पनि बंकरमै सुतिन्थ्यो ।” 

अझ कहिलेकाहीँ सुरक्षा खतरा आएका बेला हप्ता दिनसम्म बंकरमै दिनरात बिताउनुपर्ने अवस्था पनि आइपथ्र्यो । लेबनानमा १५ वर्षसम्म चलेको गृहयुद्धमा २ लाख ५० हजार लेबनानीहरू मारिएका थिए, अझै पनि झन्डै ७६ हजार मानिस आन्तरिक रूपमा विस्थापित छन् ।

युद्धको अप्ठ्यारो र सधैँको त्रास भए पनि कमाइ गर्न र जिन्दगी सुधार्न भनेर आएका पूर्णबहादुरले कहिल्यै हार मानेनन् । सन् १९९० मा गृहयुद्ध टुंगियो । सन् १९८६ मा बेरुत छिरेका उनी एकैचोटि सन् १९९३ मा नेपाल फिरेका थिए । कष्ट गरेरै पनि पूर्णबहादुरले काठमाडौँ, नेपालटारमा घर बनाएर परिवारलाई छहारी दिएका छन् । उनकी छोरी बेलायतमा छिन् भने छोरा काठमाडौँमा प्लस टू पढ्दै छन । यो परदेशमा कति संघर्षका दिन बिताउने भनेर पूर्णबहादुरले काठमाडौँका लगानीकर्ता विष्णु/अनन्त न्यौपानेसँग मिलेर झन्डै एक करोड रुपियाँमा खबुज कम्पनी पनि खोलेर हेरे । “तर, काठमाडौँमा खबुज अथवा नान कसले खाइदिने ?,” भन्छन्, “सबै जना म:म र भातमै रमाउने रहेछन्, त्यही भएर हाम्रो खबुज कम्पनी पूरै डुब्यो ।”

पूर्णबहादुरजस्तै लेबनानमा दुई दशकभन्दा लामो समयदेखि रोजीरोटी थेग्दै आउनेहरूमा झापा, गौरादहका मोहन र देवीमाया लिम्बू (पान्धाक)को चिनारी अग्रपंक्तिमा छ । १९९४ को डिसेम्बरमा चिनारु एजेन्टमार्फत बेरुत आइपुगेका मोहन सुरुमा कामको सीप र दक्षताबारे त्यति जानकार थिएनन् । खानेकुराको विशिष्ट प्रोडक्ट–प्याकेजिङको चेन–कम्पनी अल–वादीमा प्याकेजिङ/लेबलिङको काम गर्न थालेका मोहनले आफू आएको तीन वर्षमै श्रीमती देवीमायालाई पनि बेरुत ल्याए । अहिले लिम्बू दम्पती एउटै कम्पनीमा दक्षतायुक्त काम गरेर चित्तबुझ्दो कमाइ गरिरहेका छन् । उनीहरूले लेबनानकै कमाइले छोरालाई अस्ट्रेलिया पढ्न पठाएका छन् भने छोरी चितवन मेडिकल कलेजमा अध्यनरत छिन् ।

“लेबनानमा आउनेमध्ये ९० प्रतिशतभन्दा बढी घरेलु काममै आएका छन्,” गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितिकी सदस्यसमेत रहेकी देवीमाया लिम्बू भन्छिन्, “तर, काममा खटिन सक्ने क्षमता र कामको सीप भने लिएरै आएकाहरूको मात्रै यहाँ सहज स्थिति छ । सामान्य आइरन लगाउन नजान्ने नेपाली कामदारको स्थिति भने सोचेभन्दा असहज छ ।” उनका अनुसार लेबनानमा झन्डै दस हजार नेपाली कामदार रहेकामा नौ हजारजति महिला कामदार छन् । यसमा पनि झन्डै एक हजार गैरकानुनी (कागजातविहीन) अवस्थामा रहेका छन् ।

विशेषत: नेपाल सरकारले घरेलु कामदारका लागि तय गरेको कार्यविधि र निर्देशिकासँग असहमति जनाउँदै लेबनानले ६ महिनायता नेपाली कामदार लिन प्रतिबन्ध लगाएको छ । कार्यविधिमा घरेलु कामदार लैजान चाहने एजेन्सीले दस हजार डलर धरौटी राख्नुपर्ने र प्रतिकामदार एक हजार डलर धरौटी थप्नुपर्ने कडाइको नियमले लेबनानका म्यानपावर एजेन्सी यो प्रावधानमा असन्तुष्ट छन् । लेबनानमा रहेका नेपालीको कानुनी र कागजी काम गर्न नेपाल सरकारले नियुक्त गरेका अवैतनिक दूतलाई गत मे २४ देखि पदमुक्त गरिएपछि बेरुतमा रहेको सम्पर्क कार्यालय पनि बन्द छ । 

प्रकाशित: मंसिर २२, २०७३