नोटबन्दीले राहत

  • पाँच सय र एक हजार रुपियाँका भारतीय नोट गैरकानुनी भएपछि नेपाल प्रहरीलाई हाइसन्चो

- मनबहादुर बस्नेत

२७ र २८ माघ ०७१ मा सम्पन्न नेपाल–भारत सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको बैठकमा नेपालले नक्कली भारतीय मुद्राको छपाइ भारतबाटै हुने गरेको प्रमाण पेस गर्‍यो । रक्सौलको नोट बन्ने स्थल र वितरकको गिरोहबारे किटेरै नेपालले भारतीय पक्षलाई दस्तावेजसमेत बुझायो । वीरगन्जबाट २३ पुस ०७१ मा ९५ थान नक्कली भारुसहित पक्राउ परेका धीरेन्द्र यादव एवं बारा, जितपुरबाट २४ असार ०७१ मा पक्राउ परेका पर्साका  रामदयाल ठाकुर लोहार, ३४, र भारत मोतीहारी, जतनुवा–जेनरियाका मोहम्मद मुस्तकिम मिया, ५०, बाट यस्तो कुरा खुलेको थियो । 

भारतीय जाली नोटका कारण नेपालका गृह मन्त्रालयदेखि सुरक्षा निकायका अधिकारी वर्षौंदेखि तनावमा थिए । सीमावर्ती क्षेत्रका सुरक्षाकर्मीबीच हुने द्विपक्षीय बैठक होस् वा उपल्ला तहका छलफल, सबैमा भारतको पहिलो एजेन्डा नै नक्कली मुद्रा हुन्थ्यो । प्रहरीका अनुसार भारतीय सूत्रबाट तारन्तार सूचना आउँथे, सन्दिग्ध व्यक्तिका सूची थमाइन्थे । हाइप्रोफाइल व्यक्तिहरूसमेत यस्तो कारोबारमा संलग्न भएको सूचना आउँथ्यो । तर, अनुसन्धानका क्रममा कतिमा प्रमाण भेटिन्थ्यो, कतिमा भेटिँदैन थियो । नभेटिँदा दबाब बढ्थ्यो । 

महिना दिनअघिसम्म जाली नोटको अनुसन्धान गर्ने नेपाल प्रहरीको विशेष ब्युरो यस्तै दबाबमा हुन्थ्यो । तर, अहिले रत्तिभर बेचैनी छैन । गृह र प्रहरीको ठूलो टाउको दुखाइको विषय बनेको नक्कली नोटको कारोबारमा अहिले हाइसन्चो छ । कारण, पाँच सय र एक हजार रुपियाँका भारतीय नोट नचलाउने भारत सरकारको निर्णय । भारतले २४ कात्तिकदेखि यी नोट बन्द गरेपछि जाली नोटमा प्रहरीको व्यस्तता समेत स्वत: घटेको छ । ब्युरोका प्रहरी नायब महानिरीक्षक (डीआईजी) बमबहादुर भण्डारीका अनुसार तत्क्षणका लागि भए पनि यो लन्ठाबाट प्रहरीलाई राहत मिलेको छ । नयाँ नोटको ‘सेक्युरिटी फिचर्स’ अनुसार नक्कली सजिलो नभएको ब्युरोको आकलन छ । “अब यो समस्या आउँदैन,” भण्डारी भन्छन्, “तर, दुई नम्बरी गर्नेका अनेक दाउ हुन्छन् भन्नेमा हामी सजग छौँ ।” 

जाली भारतीय मुद्राको कारोबारका कारण नेपालमा जघन्य अपराधका घटनासमेत बढेका थिए । यही कारण अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको दाउपेचको सिकारसमेत हुनुपरेको छ, नेपाल । यसले गर्दा प्रहरीलाई झनै तनाव थियो । जाली मुद्रा कारोबारमा संलग्न भएको आरोपमा नेपालमा शृंखलाबद्ध रूपमा हत्याका घटनासमेत भएका छन् । कतिसम्म भने ०६६ असोजदेखि माघसम्मको पाँच महिनामै तीन जनाको हत्या भएको थियो, जसको जड जाली भारतीय नोट नै थियो । 

भारत र पाकिस्तानबीच जाली नोटका मामलामा सधैँ आरोप–प्रत्यारोप हुने गरेको छ । पाकिस्तानी दूतावासका कर्मचारी नक्कली भारुसहित पक्राउ परेका घटनाहरू पनि नभएका होइनन् । पुस ०५६ मा पाकिस्तानी दूतावासका कर्मचारी वसिम सब्बुर नक्कली भारुसहित पक्राउ परेपछि नेपालले अवाञ्छित व्यक्ति (पर्सना–नन–ग्राटा) घोषणा गरेर देश निकाला गरिदिएको थियो । त्यसपछि १९ पुस ०५८ मा अर्का कर्मचारी क्लर्क सिराज अहमद सिद्दिकीलाई नक्कली भारुसहित ठमेलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसको दुई वर्षपछि मुस्तफा नामक कर्मचारी नयाँ बानेश्वरबाट ४५ हजार नक्कली भारुसहित पक्राउ परेका थिए ।

जाली नोट भारतीय बजार छिर्ने मुख्यमध्येको एउटा रुट हो, नेपाल । त्यसैले नेपालसँगको हरेकजसो द्विपक्षीय भेटमा जाली नोट भारतको प्रमुख सरोकार बन्नु आफैँमा अस्वाभाविक पनि थिएन । “उसको मुख्य चासो नै जाली भारतीय मुद्रा हुने गर्छ,” नेपाल प्रहरीका प्रवक्ता डीआईजी हेमन्त मल्ल भन्छन्, “त्यसैले अब हामीले यो विषय सुन्नुपर्ने छैन ।”

भारतीय बजारमा पुर्‍याउन तयारी हालतमा राखिएका नक्कली भारु नेपालबाट ठूलो मात्रामा बरामद भएको प्रहरीको आँकडाले देखाउँछ । ०६६ देखि जेठ ०७३ सम्मको सातवर्षे अवधिमा मात्रै नेपालमा १३ करोड ७६ लाख ३३ हजार जाली भारु बरामद गरेको छ, प्रहरीले । ०७० मा प्रहरीले सबैभन्दा धेरै जाली भारु जफत गरेको थियो । उक्त वर्ष चार घटनामा ६ करोड ३९ लाख ५० हजार नक्कली भारु जफत भएको थियो । सबैभन्दा धेरै पटक भने ०६८ मा नक्कली भारु जफत भयो । उक्त वर्ष ११ पटक बरामद भएको थियो । नोटको बिगबिगीपछि नेपालमा पाँच सय र एक हजार दरका भारतीय नोटमा प्रतिबन्ध लागेको थियो । ३१ साउन ०५१ देखि पाँच सय र २६ फागुन ०५९ देखि एक हजारका भारतीय नोट चलनचल्तीमा प्रतिबन्ध लागेको थियो । तर, पुस ०७० देखि उक्त प्रतिबन्ध हटाइएको थियो, प्रतिव्यक्ति २५ हजार भारुसम्म नगद बोक्न पाउने सर्तमा ।

कारोबारको काइदा

प्रहरीका अनुसार पाकिस्तान, बंगलादेश, सिंगापुर, श्रीलंका, दुबई, मलेसिया हुँदै नेपाल भएर नक्कली नोटको कारोबार हुने गरेको छ । यी रुटका हवाई र स्थल दुवै मार्गबाट नेपालसम्म आइपुग्छ । सुरक्षा कडाइको अवस्था हेरेर उनीहरूले समय समयमा रुट बदल्छन् । डीआईजी भण्डारीका अनुसार कुरियरमार्फत पाकिस्तानदेखि दुबई हुँदै समेत भित्रिन्छ । पाकिस्तानदेखि थाइल्यान्ड, मलेसिया, श्रीलंका भएर आउने अर्को रुट हो । बंगलादेशदेखि नेपालको पूर्वी सीमा काँकडभिट्टा नाकासम्म आएर त्यहीँबाट भारतीय बजारमा समेत प्रवेश हुन्छ, स्थल मार्गबाट । चीनको भूमिबाट समेत भित्रिएको छ भारतीय जाली नोट । जस्तो : १० असार ०७० मा सेन्जेनबाट कुरियरमार्फत काठमाडौँ हुँदै वीरगन्ज पठाइएको ३० लाख नक्कली भारु प्रहरीले बरामद गरेको थियो । यो नै अहिलेसम्मको सबैभन्दा नयाँ रुट हो । पाकिस्तानी, भारतीय, नेपाली, थाइ, फिलिपिनो नागरिकको मिलेमतोमा यो कारोबार हुँदै आएको प्रहरी अनुसन्धानको निष्कर्ष छ । 

नेपालीको भूमिका भनेको काठमाडौँमा सुरक्षित तवरले भण्डारण गराइदिनु हो । काठमाडौँमा जम्मा भएको नोट धेरैजसो वीरगन्ज नाकाबाट पार गराइन्छ । प्रहरीका अनुसार यसमा भारतीयहरूको संलग्नता हुन्छ । एक अनुमान अनुसार जाली नोट नेपाल भित्र्याउनेहरूले एक करोड रुपियाँको ३० देखि ३५ लाख रुपियाँ लिने गर्छन् । नेपालबाट भारत पुर्‍याउन ४५ देखि ५० लाख रुपियाँ लाग्छ । 

अवैध धन र नक्कली भारुकै कारण भारतले पछिल्लो मुद्रा रणनीति लिएको हो । भारतीय जाली नोटका कारण नेपालमा धेरैको ज्यान जुनसुकै बेला जान सक्ने खतरा बढिरहेको थियो । मिर्जा दिलसाद वेगदेखि फैजान अहमदसम्मका हत्या शृंखलाले यसको पुष्टि गर्छ । एक जना पूर्वगृहसचिव भन्छन्, “यस्तो अवस्थामा यो नेपालका लागि पक्कै राहत हो ।” 

जाली नोटले निम्त्याएको अपराध 

१५ असार ०५५ : सांसद एवं पूर्वमन्त्री मिर्जा दिलसाद वेगको काठमाडौँको सिफलमा भारतीय भूमिगत गिरोह छोटा राजनको समूहले गोली हानी हत्या गर्‍यो । भारतमा ‘मस्ट वान्टेड’ सूचीमा रहेका मिर्जा ०३२ सालमा नेपाल आएर तस्करी, लागूऔषधको कारोबारमा संलग्न थिए । पाकिस्तानको भूमिगत गिरोहका नाइके दाउद इब्राहिमका लागि काम गरेको मिर्जामाथि आरोप थियो । दाउद नक्कली भारुको कारोबारीसमेत हुन् भन्ने आरोप भारतीय सुरक्षा निकायको छ । 

१९ असोज ०६६ : साँझ ५ बजे नेपालगन्जस्थित लालीगुँरास होटलमा ५६ वर्षीय अब्दुल मजिद मनिहार मृत फेला परे । उनको हत्यामा भारत बहराइचका इबरार तथा लखनउका विजेन्द्र र अजयको भूमिका रहेको प्रहरी अनुसन्धानमा खुलेको थियो । इबरारलाई भारतकै मनमित सिंहले होटलमा पुर्‍याइदिएको प्रहरीको दाबी थियो । सिंह तिनै हुन्, जसले पछि काठमाडौँस्थित केन्द्रीय कारागारभित्रै पसेर युनुस अन्सारीलाई समेत गोली हानेका थिए । २३ चैत ०६० मा जाली नोट काण्डमा मनिहारविरुद्ध सर्वोच्चमा मुद्दा चलेको थियो । १५ चैतमा उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो । पछि उनी धरौटीमा छुटे । मिर्जासँग जोडेर मनिहारले नक्कली भारतीय रुपियाँको कारोबार गर्ने गरेको भारतको दाबी थियो । अदालतमा मुद्दा विचाराधीन भएकै बेला मनिहार मारिए । 

१० पुस ०६६ : साँझ ५:२० बजे बुटवलको मैनाबगरमा सौकत वेगको हत्या भयो । भारत सरकारले सौकतलाई नक्कली नोटको कारोबारीसहित आतंकवादी संगठनसँग संलग्न रहेको भन्दै २० हजार भारतीय रुपियाँ इनामसहित ‘मोस्ट वान्टेड’ सूचीमा राखेको थियो । घटनास्थलमा भेटिएको मोटरसाइकलका आधारमा प्रहरी अनुसन्धानबाट मोहम्मद वाकर सइदले उनको हत्या गरेको खुलेको थियो । उक्त मोटरसाइकल भारत, जैनपुरका विनयराम यादवको भएको खुले पनि त्यसभन्दा अघि अनुसन्धान बढेन ।

२४ माघ ०६६ : सञ्चार उद्यमी जमिम शाह जाली नोट काण्डका अर्को सिकार हुन् । दाउद इब्राहिमसँग नेपालबाट जाली नोटको कारोबार गर्ने गरेको आरोप उनीमाथि थियो । तर, नेपाल प्रहरीले भने जमिमबाट यस्तो आरोपको कुनै प्रमाण फेला पार्न सकिरहेको थिएन । यही क्रममा काठमाडौँको लाजिम्पाटमा उनको हत्या भयो । भारतीय जेलमा रहेका बब्लु श्रीवास्तवको निर्देशनमा उनको हत्या भएको खुलेको थियो । 

२६ फागुन ०६७ : खोटाचलन मुद्दामा केन्द्रीय कारागारमा सजाय भोगिरहेका युनुस अन्सारीमाथि दिउँसो साढे ११ बजे गोली प्रहार भयो । मनमित सिंह (विजय सिंह भनिने जसजित सिंह)ले गोली हानेको तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (हाल : प्रहरी प्रवक्ता डीआईजी) हेमन्त मल्लको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । उक्त समितिलाई मनमितले बताए अनुसार अलिअध्यक्ष नामक व्यक्तिको आदेशमा अन्सारीलाई गोली हानिएको हो । ‘युनिस अन्सारी नामको व्यक्ति आईएसआईको एजेन्ट भएको र भारतमा नक्कली नोट पठाई देशको अर्थतन्त्र नै ध्वस्त बनाएकाले मनमितलाई गोली हान्न खटाएको’ उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । अन्सारीलाई जाली नोटसहित दुई पटक प्रहरीले पक्राउ गरिसकेको छ । 

१ वैशाख ०६८ : नेपालस्थित पाकिस्तानी दूतावासको भिसा शाखाका कर्मचारी महबुब असिफ गोली लागेर घाइते भए, महाराजगन्जमा । उनलाई पेट र हातमा गोली लागेको थियो । मोटरसाइकल चढेर आएका दुई जनाले उनलाई गोली हानेको भनिए पनि न उनीहरू पक्राउ परे, न त कसले घटना घटाएको हो भनेर नै थाहा लाग्यो । पाकिस्तानले भने घटनामा भारतको हात रहेको दाबी गरेको थियो । स्मरणीय छ, भारतले नेपालस्थित पाकिस्तानी दूतावासका केही कर्मचारीको संलग्नतामा जाली नोट कारोबार हुने गरेको आरोप लगाउँदै आएको थियो । 

९ असोज ०६८ : इस्लामिक संघ नेपालका महासचिव फैजान अहमदलाई दिउँसो २ बजे काठमाडौँको केन्द्र घन्टाघरमा गोली हानी हत्या भयो । सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित छानबिन समितिले विदेशी आपराधिक गिरोहले उनको हत्या गरेको प्रतिवेदन दियो । त्यसको दुई वर्षपछि सीआईबीले फैजान हत्या भारतीय जेलमा रहेका बब्लु श्रीवास्तवको निर्देशनमा भएको खुलायो । मोहम्मद फोहद भनिने विपिन यादवले फैजानमाथि गोली हानेका थिए । 

६ जेठ ०७० : राजविराजको पेट्रोल पम्पमा सुतिरहेकै बेला सप्तरी–५ का स्वतन्त्र सभासद् सदरुल मिया हकको घाँटी रेटेर हत्या भयो । बंगलादेशमा बसेर भारतीय जाली नोटको कारोबार गर्ने सुब्रतो बिन र उनका नेपाली एजेन्टहरूसँग हकको सम्बन्ध देखिएको थियो । सुब्रतोले हकको सहयोगमा सुनसरी जिल्लाबाट नागरिकता लिएका थिए । यही काण्डमा बिन सुनसरीको झुम्का जेलमा सजाय भोगिरहेका थिए । कात्तिक ०६९ मा जेल तोडेर बिन भाग्न सफल भए पनि त्यसको १९ दिनपछि उनी कोलकातामा समातिए । बिनको पक्राउपछि सदरुललाई नेपाल–भारत सीमा क्षेत्रबाट लगातार ज्यान मार्ने धम्की आउन थालेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानबाट खुलेको थियो । प्रहरीका अनुसार व्यवसायमा नातेदारसँग बेमेल बढेपछि श्रीमतीसँगको सम्बन्धमा समेत चरम दरार आएको थियो, हकको । यही पारिवारिक विवादको धमिलोपनमा छिरेर जाली नोटकै कारण उनको हत्या भएको प्रहरीको भनाइ छ । नक्कली भारुको कारोबारको अभियोगमा तीन वर्ष सिरहा जेलमा बिताएका सिरहा, चतरीका एलुन शेखको समेत हकको हत्यामा संलग्नता देखिएको थियो । 

प्रकाशित: मंसिर २२, २०७३