महको म

  • मदनकृष्णलाई अब आफ्नो आत्मकथालाई मौलिक अवतार दिनु छ । ताकि त्यो आत्मकथा हरिवंश आचार्यको चिना हराएको मान्छेको पूरक होस् तर खजाना नजुधोस् ।

- राजकुमार बानियाँ

आत्मकथा प्रकाशनको अन्तिम धपेडीमा छन्, मदनकृष्ण श्रेष्ठ, ६६ । १ लाख ११ हजार शब्दले पनि उनको धीत मरेको छैन । उनी लेखनलाई सक्दो ‘ह्युमरस’ बनाउन चाहन्छन् तर भइदिन्छ ‘सिरियस’ । नहोस् पनि किन ? क्यान्सरपीडित पत्नी यशोदालाई ६३ पटक किमो दिइसकिएको छ । कहिले दिल्ली त कहिले बैंकक पुर्‍याएर जीवन लम्ब्याउने, मृत्युलाई धकेल्ने उपक्रम चलेकै छ । 

मदनकृष्ण आफैँ पनि पार्किन्सन रोगबाट पीडित यन्त्रमानव भइसकेका छन् । मौन बस्दा सामान्य मानिस ‘जिरो’ जस्ता देखिन्छन् भने उनी ‘ माइनस जिरो ।’ दसवर्षे ब्याट्रीसहितको पेसमेकर जोडिएको छ उनको तालुमा । मुलुकमै पहिलो पटक त्यस्तो मेसिन राखिएको थियो केही वर्ष पहिले । यसबीचमा उनले हरिवंश आचार्यसँगै अमेरिका र क्यानडाका ३४ ठाउँमा प्रहसन दिए । युरोपका साथै जापान, कोरिया, मकाउ, हङकङ पुगेर हँसाए । 

मदनकृष्ण र हरिवंश (मह) कति लोकप्रिय कलाकार जोडी भने विश्व मानचित्रका ४८ मुलुक पुगिसकेका छन् । हरेक कुनाका नेपालीले सद्भावना दूतजस्तो सम्मान दिन्छन्, घरकै सदस्यजस्तो व्यवहार गर्छन् । फर्कंदा खल्ती पनि भरिएकै हुन्छ । जहाँ गए पनि शुभेच्छुकका सद्भाव र शुभकामना पाएका छन् । त्यसलाई आफ्नो र पत्नीको आत्मबल अनि औषधीसरह मानेका छन् ।

देशभित्रै पनि उनको दौडधुप उस्तै हुन्छ । बैठक, सभा–समारोह, विमोचन, सम्मानमा भ्याइनभ्याइ । “कामै कस्तो भने आफूलाई गाह्रोसाह्रो जेसुकै होस्, हँसाउनुपर्ने, त्यसबाट फुर्सद नपाउने,” उनी चिरपरिचित मुद्रामा आउँछन्, “कोरियामा कार्यक्रम देखाउँदा मेरो पालो आइसकेछ । म त सोच्दासोच्दै अस्पतालको आईसीयूमा पो पुगेको रहेछु ।”

सुनाकोठीस्थित भ्याली होम्सको सी १५ नम्बर घरको आँगनमा बस्दा पनि मदनकृष्ण घरीघरी उत्तरी काठमाडौँको सुन्दर सांस्कृतिक गाउँ जीतपुर फेदी पुग्छन् । त्यहाँको फेदी बजारका ३१ घर सम्झन्छन् । नियमित जात्रामात्रा, नाचगान, भजनकीर्तन भइरहने । 

त्यही जन्मथलोमा उनले कहिले गुरु, कहिले माड्साप त कहिले दाइको चिनारी पाए । आमा लक्ष्मीदेवीलाई ६ महिनामै गुमाएछन् उनले । १५ वर्षे प्रधानपञ्च बाबु रामकृष्णलालले बिहे गरेका थप दुई आमा पनि परलोक पुगिगए । चौथी आमा उनीभन्दा नौ वर्ष मात्र जेठी छन् । बाबुको तीनवटा बिहे देखेका मदनकृष्णको स्कुले जीवन छ्यालब्याल्ल भयो । एसएलसीसम्म सातवटा स्कुल चहारेछन् । “मेरो जमानामा जाँच हापेर, फिस नतिरेर, फेल भएर स्कुल फेर्ने चलन थियो,” उनी स्पष्टीकरण दिन्छन्, “तर, मैले अपायक बसाइका कारण धेरै स्कुल सर्नुपर्‍यो ।”

गाउँमा हार्मोनियम र तबला बजाएर एक वर्ष अखण्ड भजन गाए मदनकृष्णले । गायन करिअर अघि बढाउन यमन कल्याणपुरी राग पनि सिकेकै हुन् । उनको औपचारिक गायनयात्रा भने ०२१ सालमा 

श्रीगणेश भयो । राजा महेन्द्र र रानी रत्न सहभागी जुद्धोदय पब्लिक स्कुलको रजत जयन्ती समारोहमा बाबुले लेखेको गीतमा वाहवाही पाए उनले ।

रेडियो नेपालको भ्वाइस टेस्ट (०२३ साल) दिँदा उनले विश्वबल्लभका शब्द र ज्ञानबहादुर श्रेष्ठको संगीतमा गाएछन्, ‘पसलबाट बिकिसकेको म मान्छे, सबको आँखाबाट झरेको म मान्छे ।’ जम्मा तीन जना पास भएछन्, रमेश ताम्राकार, अरबिन्द मालाकार र उनी । ०२६ सालमा नेवार गीत प्रतियोगितामा प्रथम भए । पिनासले सताउँदा पनि उनलाई मुकेशको जस्तो स्वर भनेर हौस्याउँथे दौँतरी । 

०२८ सालमा मुनास्व: (आवाजको जमघट) संस्थामार्फत टोलटोलमा नेवारी हास्यव्यंग्य कार्यक्रम सुरु भयो । त्यही कार्यक्रममा नरेन्द्र हाडाका शब्द र संगीतमा गाए, ‘मरु गनेद्योया गजु मरु, जि छम्हेसिया आतक कला मरु’ (मरुगणेशको गजूर छैन, यो उमेरमा पनि मेरो स्वास्नी छैन ।) यही गीतले नेवारी समुदायमा क्लिक भए मदनकृष्ण । उनको अनुपस्थिति दर्शकहरूलाई खल्लो/अधुरो अनुभव हुन थाल्यो । “सिरियस अनुहार भईकन पनि ह्युमर गर्न सकिने रहेछ भन्ने थाहा पाएँ मैले,” उनी जीवनकै टर्निङ प्वाइन्ट सम्झन्छन्, “त्यसपछि हरेक हास्यकार्यक्रमको अन्त्यमा अनिवार्य रूपमा मैले गीत गाउनुपर्ने भयो ।” 

माइक्रोफोनको लत कस्तो भयो भने मदनकृष्णले कर्मचारी सञ्चयकोषको लोभलाग्दो जागिर छाडे । कृषि सूचना शाखा (अहिले कृषि सञ्चार महाशाखा) सँग जोडिएर रेडियो नेपालको ‘कृषि कार्यक्रम’ चलाए पहिलेको भन्दा ६० रुपियाँ कम तलबमा । बीबीसी रेडियो कार्यक्रम उत्पादन तालिम लिएपछि उनी ‘रसरंग’ कार्यक्रम (०३५ साल)मा सामेल भए । उनको स्वर कति ‘युनिक’ भने मिरिक (भारत) पुग्दा एक श्रोताले ठम्याए, ‘तपाईं मदनकृष्ण श्रेष्ठ होइन ?’

मुनास्व:को खरो प्रस्तुतिबाट तानिएर तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव सत्यमोहन जोशीले गाईजात्रा राष्ट्रिय महोत्सव गराए । पञ्चायतकालमा राजनीतिक व्यंग्यलाई छुट नभए पनि सामाजिक व्यंग्य गर्न छाडेनन् मदनकृष्णले । उनको जागिरे गीत हिट भइहाल्यो, ‘जागिरदारलाई झन् झन् बाँच्नै कठिन भो, गरिबीको खम्बा ढाल्नै कठिन भो !’

गाईजात्रा महोत्सवको दोस्रो वर्ष चिनजान भएको हो हरिवंशसित । १४ वैशाख ०३८ मा नेपाल राष्ट्र बैंकको रजत महोत्सव समारोहमा प्रहसनका लागि मदनकृष्ण र हरिवंशलाई छुट्टाछुट्टै बोलाएका रहेछन् गायक रुबी जोशी (हालै दिवंगत)ले । राजा वीरेन्द्र र रानी ऐश्वर्य आउने कार्यक्रममा दुवै मिलेर ९० मिनेटको प्रहसन ‘बैंकेश्वर’ देखाए । त्यतिबेला राजारानी र आमदर्शक हाँसेको मदनकृष्णलाई अझै स्मरण छ ।

“भक्तपुर र नाचघरको कार्यक्रम जाँदा एउटा दुब्लो मान्छे आएर हँसाएर गयो भनेको सुन्थेँ, प्रत्यक्ष देखभेट भएको थिएन,” आफूभन्दा साढे सात वर्ष कान्छा हरिवंशको प्रसंगमा मदनकृष्ण भन्छन्, “गाईजात्रा, रसरंग आदिमा काम गर्दा हामी प्रतिद्वन्द्वीजस्ता थियौँ ।”

०४० तिर अर्को प्रहसन ‘विज्ञापन’ देखाउँदा उद्घोषक थिए राजाराम पौडेल । उनले ‘विज्ञापन’का लेखकको नाम न्वारन गरे, मह । को रहेछ मह ? सबैका कान ठाडा भए । पछि बुझेर दर्शक गलल्ल हाँसे । त्यो प्रहसन ३ सय ७६ पटक मञ्चन भयो भने त्यसबाट ४४ लाख रुपियाँ कमाएको गणना गरेका छन् मदनकृष्णले । त्यसपछि त गणनै झन्झटिलो भयो ।

त्यही प्रहसन लिएर हरिवंशसित धनकुटा पुगेका थिए मदनकृष्ण । राष्ट्र बैंकको रेडियो कार्यक्रम चलाउने हरिवंशको अस्थायी जागिर गएको सुने उनले । उनले पनि मनमनै अठोट गरे, ‘म पनि जागिर छाड्छु ।’ मन्त्री, सचिवको छड्के हाजिरीबाट हत्तु भएका थिए त्यतिबेला । क्यान्टिनमा खाजा खाएर पैसा झिक्ने बेला खल्तीमा जहिल्यै स्पष्टीकरणपत्र फेला पथ्र्यो । त्यसैले तीन महिना जागिर लम्ब्याउँदा आधा उपदान पाउने अवसर पनि छाडिदिए उनले ।

जागिर छाडेपछि दुवैले ‘मह सञ्चार’ नामक विज्ञापन एजेन्सी खोले । महको क्यासेट हातहातै बिक्री हुन्थ्यो । यमलोक नामक क्यासेट डेढ लाख प्रति बिक्री भएको रेकर्ड छ । त्यही पैसाले हरिवंशले घट्टेकुलोमा घर बनाए, मदनकृष्णले धोबीधारामा । क्यासेट प्रतिबन्धको हल्ला पनि चल्यो । पञ्चायतकालमा घरका झ्यालढोका थुनेर त्यो क्यासेट सुनिएको सम्झना गर्छन् कतिपय । 

पञ्चायतकालमै महको लोकप्रियता कति थियो भने नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईले संसदीय चुनावताका भनेछन्, ‘टिकट दिन्छु, इन्ट्रेस्ट छ ?’ महले जवाफ फर्काएछन्, ‘हामीलाई जे काम गरिरहेका छौँ, त्यही ठीक छ ।’ किसुनजी, गणेशमान, केपी ओलीलाई सेन्स अफ ह्युमरवाला नेता मान्छन् मदनकृष्ण । 

त्यही लोकप्रियताका कारण ०४६ को जगदम्बाश्री पुरस्कार पायो महले । नेपाल–भारत सम्बन्धबारे शोध गर्न आएकी जापानी युवती यामामोतो मायुमीले बुटवलमा महको कार्यक्रममा दर्शकहरू हाँसेको देखेर शोध शीर्षक नै बदलेकी थिइन्, सोसल एन्ड पोलिटिकल लाइफ अफ नेप्लिज पिपल । त्यही पुस्तकका जापानी पाठकको सहयोगमा काठमाडौँ मोडल अस्पताल स्थापना भयो । 

चिनियाँ र जापानी भाषाका प्रशिक्षक सुमन श्रेष्ठ (कवि दुर्गालाल श्रेष्ठका छोरा)को अगुवाइमा खोलिएको त्यो अस्पताल दुई शय्याबाट अहिले १ सय २५ पुगेको छ । कीर्तिपुर अस्पताल त्यसकै शाखा हो । मदनकृष्ण २५ वर्षदेखि अनवरत अस्पतालको अध्यक्ष छन् । “अस्पतालमा कसैको एक पैसा लगानी छैन,” उनी भन्छन्, “म र हरिवंशले बैठक भत्ता पनि लिँदैनौँ ।” 

मह जोडी बाँधिएकै ३६ वर्ष भइसक्यो । ‘मेल–मेलबीचको अनौठो मेल’का कारण कतिपय मदनवंश आचार्य र हरिकृष्ण श्रेष्ठ पनि भनिदिन्छन् । “हरिवंशसँग मेरो झगडा पनि भइरहन्छ । तर, त्यो राम्रोकै लागि हुन्छ, अझ राम्रो गर्नका लागि हुन्छ,” उनको दाबी छ, “हामी दुवै प्रजातान्त्रिक विचारका छौँ । हामीबीच समान दूरी होइन, समान सामीप्य छ ।” 

त्यसो त नेपालमा कला क्षेत्रलाई व्यावसायिकतासित जोड्ने श्रेय पनि मह जोडीलाई नै जान्छ । गोली हानिएका पत्रकार पदम ठकुराठीको उपचारमा १० हजार रुपियाँ जुटाइदिए त्यतिबेलै । “त्यसबेला कस्ता प्रशंसक थिए भने घोप्टिने गरी जाँडरक्सी खुवाउने तर एक पैसा नदिने,” उनी व्यथित हुन्छन्, “त्यसैले नारायण गोपाल, मदन परियार, द्वारिकालाल जोशी, हुतराज शर्मा, गोपाल योञ्जनलगायत थुप्रै कलाकारलाई रक्सीले बगाएर लग्यो ।” मदनकृष्ण आफैँ पनि रक्सी छुँदै नछुने होइनन् तर वर्षको एक–दुई पेग । मैले हिजो रक्सी खाइदिएँ भनेर सुनाउँदा संगीतकार हुतराज शर्माले उनलाई भनेछन्, ‘बल्ल तिमी कलाकार भयौ ।’ 

नारायण गोपालको ‘स्वर्णिम सन्ध्या’का क्रममा महजोडी काठमाडौँ, पोखरा, बुटवल, भैरहवा पुगेको छ । पोखरामा कार्यक्रम गर्दा तुलमा लेखिएको रहेछ, ‘स्वरसम्राट् नारायण गोपालका साथमा हास्यव्यंग्य–सम्राट् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ।’ कताकता लाज लाग्यो मदनकृष्णलाई । एक दिन नारायण गोपालले महलाई सोधेका थिए,

‘कमिक गर्दा कति पैसा लिन्छौ ?’ 

‘पाँच हजार ।’

‘अब म पनि पैसा लिएर मात्र काम गर्छु ।’

तिनै नारायण गोपाल माइतीघरस्थित मह सञ्चारको कार्यालयमा कहिले छोयला बजि, कहिले जेरी, स्वारी, हलुवा, कहिले गुदपाक लिएर जाँदा रहेछन् । “नारायण गोपाललाई चिनीरोग लागिसकेको रहेछ,” उनी सम्झन्छन्, “घरमा पेमाला भाउज्यूले खान नदिने भएकाले हाम्रो अफिसमा आउँदा रहेछन् ।” अर्का गायक बच्चुकैलाशको ‘पिकनिक पार्टनर’ पनि बन्यो मह । भलै सँगै कार्यक्रम गर्ने सुयोग जुरेन । 

समकालीन कलाकार गोपालराज मैनाली, सन्तोष पन्त, ध्रुव हाडा, राजपाल थापा, रामशेखर नकर्मीलाई पनि सम्मान गर्छन् मदनकृष्ण । अहिलेका जोडीमा दीपक–दीपालाई । “छक्कापन्जा फिल्म देखाएर दीपक–दीपाश्रीले १६ करोड कमाउनु कलाकारकै इज्जत हो,” उनी प्रसन्न छन्, “त्यति पैसा कमाएको कसैलाई रुवाएर होइन, सबैलाई हँसाएर ।”

कलाकारलाई जोकर, ख्याल: भनेर होच्याउने समाजमा कलालाई मुलुकको राजनीतिक र सामाजिक परिवर्तनका पक्षमा लगाउन पनि सफल भयो मह जोडी । उनीहरू कुनै दिन भेट नभए पनि फोनमा सल्लाह त गर्छन् नै । भोजमा जाँदा कहाँ भेट्ने ? कोट लगाउने कि ज्याकेट ? त्यसरी सल्लाह नगर्दा कहिलेकाहीँ एउटा बाबुसाहेबजस्ता देखिन्छन्, अर्का ढाक्रेजस्तो । सम्बोधन साबिक नाममा पनि गर्छन्, ध्रुवराम, हरिबहादुर, नेवारबहादुर, बाहुनबहादुर आदि पात्रका रूपमा पनि । 

हास्यव्यंग्यमा उनले कसैलाई गुरु मानेनन् । गुरु थापेर सिक्न सकिनेजस्तो पनि लाग्दैन । ‘बैंकेश्वर’देखि ‘ मह चौतारी’सम्मको यात्रामा हरिवंशको अभिनय कौशल र आशुलेखन अब्बल लाग्छ उनलाई । “हरिवंशसितको पहिलो भेट मेरो जन्मदिनभन्दा पनि ठूलो कुरा हो,” उनको टिप्पणी छ, “यस्तो उदाहरण संसारमा पहिलो हुन सक्छ वा कतै नहुन पनि सक्छ ।” 

हास्यव्यंग्य र सामाजिक काममा एकोहोरिएका मदनकृष्णले गायनमा भने पर्याप्त समय दिन सकेनन् । नेपाली गीतमा लोकप्रिय हुन लाग्दा नेवारी गीततिर लागे । त्यहाँ लोकप्रिय हुँदाहुँदै प्रहसनमा लागे । अनि, त्यहीँ लागेको लाग्यै भए । उनका केही सय नेवारी र ‘खोलावारि खोलापारि पीपल र वर,’ ‘करौडौँ मान्छेहरूमा तिमी एक...’लगायत केही दर्जन नेपाली गीत छन् । हालसालै उनले भारतीय गायिका सञ्जीवनीसँग पनि गाएका छन् । 

लजालु मदनकृष्णले सञ्चयकोषमा टेबल जोडिएको एउटै कोठामा भेटिएकी यशोदा सुवेदीसित ०३० सालमा अन्तरजातीय प्रेमविवाह गरे । तिनै यशोदामा चौथो चरणको क्यान्सर देखिएपछि १३ वर्षदेखि अमेरिका बसेका संगीतकार छोरा यमन, बुहारी र नातिनीलाई यतै बोलाए । उनीहरू अमेरिकी वैभव छाडेर बेच्ने कुरा बेचेर, फाल्ने कुरा फालेर, बाँड्ने कुरा बाँडेर यतै आए पनि । छोरी सर्‍हानाको परिवार भने अमेरिकामै छ । “जगदीश घिमिरेले भनेजस्तो खर्च सुनाउँदा धाक लगाएजस्तो हुन्छ,” उनी भन्छन्, “श्रीमतीको उपचारका लागि प्रत्येक महिना साढे पाँच लाख रुपियाँ लाग्छ ।” 

बहुमुखी प्रतिभा मदनकृष्ण कुनै बेला पेन्टिङ पनि गर्दा रहेछन् । महाबौद्धको भित्तामा कार्टुन टाँस्दा उनलाई बेग्लै आनन्द मिल्थ्यो । वासुदेव, के घर के डेरा, लोभीपापी, तँ त साह्रै बिग्रिस् नि बद्री, सुखदु:खलगायत फिल्म, एक हजार टेलिफिल्म अनि अनगन्ती प्रहसन क्यासेटमा उनले आफ्नो कला निखारेका छन् ।

मदनकृष्ण राम्रा कुरालाई धर्म मान्छन्, राम्रो कामलाई भगवान् । कतै मन्दिर देखे उनी हात जोडिहाल्छन् । पार्किन्सनका कारण कहिलेकाहीँ जुत्ता लगाउनै मुस्किल हुन्छ । छुट्टै गाडी चालक राखेका छन् । लेख्दा अक्षर एकै ठाउँमा गुजुल्टिन्छन् । अब आफ्नो आत्मकथालाई मौलिक अवतार दिनु छ । ताकि त्यो आत्मकथा हरिवंश आचार्यको चिना हराएको मान्छेको पूरक होस् तर खजाना नजुधोस् । 

प्रकाशित: मंसिर २०, २०७३