समाजका सर्जन

  • राजनीतिक वितृष्णाले घायल नेपाली जनमानसमा डा गोविन्द केसी अथक योद्धाका रूपमा परिचित छन् ।

- राजकुमार बानियाँ

कहिल्यै सेतो कोटमा देखिँदैनन्, हाडजोर्नी सर्जन गोविन्द केसी, ५८ । पोसाक जे लगाए पनि बिरामीले डाक्टरका रूपमा सजिलै चिन्छन्, विद्यार्थीले प्राध्यापकका रूपमा उत्तिकै सम्मान गर्छन् । उनलाई न डाक्टरको पगरी चाहिएको छ, न त प्राध्यापकको । 

त्यसो त विदेशतिर सर्जनलाई कोट अनिवार्य छैन । टाईमै ठाँटिएको पनि देखेका छन् उनले । उनी न कोट लगाउँछन्, न त टाई नै । “डाक्टरको पहिचान र सुरक्षाका हिसाबले ह्वाइट कोट लगाउनु राम्रो हो,” उनी विनम्रता देखाउँछन्, “शिक्षकको नाताले त्यसरी नलगाउनु मेरै कमजोरी हुन सक्छ ।”
यी भलाद्मी डाक्टर जन्मेका रहेछन्, रामेछाप जिल्लाको पुरानो सदरमुकामबाट एकदिने पैदल दूरीमा रहेको दुर्गम गाउँ माकादुम–सिम्लेमा । हुनेखाने केसी परिवारका जेठा सन्तान उनका दुई बहिनी र दुई 
भाइ छन् । 

उनको बाल्यकाल भने मावली गाउँ दोलखाको जफे झुलेमा बित्यो । एक रात बास बसेर मात्र पुगिन्थ्यो झुले । १० कक्षासम्म पढ्दा पाँचवटा पाठशाला चहारेछन् उनले । एसएलसी भने दोलखाको भीम पब्लिक हाई स्कुलबाट दिए, विसं ०२९ मा । “कान्छा मामासँग काठमाडौँको पद्मोदय हाई स्कुल र जिरी हाई स्कुलमा पनि पढेँ,” उनी सम्झन्छन्, “स्कुल फेरे पनि पहिलो, दोस्रो हुन छाडिनँ ।” 

पहाडमा मास्टर मात्रै देखिन्थे । डाक्टर बन्ने सपना कसरी देख्नु ? बरू दसैँमा टीका थाप्दा कसैले लप्टन हुनु भन्थे, कसैले मन्त्री । कतिसम्म भने महाराजगन्ज केन्द्रीय क्याम्पसमा हेल्थ असिस्टेन्ट (एचए) पढुन्जेल पनि उनले डाक्टर बन्ने मेसो पाएका थिएनन् । दुई वर्षमा पढाइ सकिएपछि केही महिना एचएलाई नै पढाए ।

शिक्षा मन्त्रालयको छात्रवृत्तिमा एमबीबीएसका लागि बंगलादेश जाने सुयोग मिल्यो उनलाई । ढाकाको राजशाही मेडिकल कलेज पढे । सन् १९८५ मा फर्किनेबित्तिकै शिक्षण अस्पतालको हाडजोर्नी विभागमा हाउस अफिसर भए । एक वर्षपछि लोकसेवा दिएर टेकु अस्पतालमा मेडिकल अफिसरको नियुक्ति पाए ।

त्यसको दुई वर्षमा एमएसका लागि कोसिस गरे उनले । फेरि ढाकाकै छात्रवृत्ति पाए । त्यसमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले अत्तो थापे । बल्लतल्ल अध्ययन बिदा मिलाएर गए । सन् १९९३ मा फर्किएपछि सेवामा पुन: प्रवेश गर्न खोज्दा जिल्लातिर खेद्न खोजे । “हुन त म दुर्गम ठाउँसँग डराउने डाक्टर होइन,” उनी भन्छन्, “त्यतिबेला वरिष्ठ डाक्टरसँग काम सिक्न ठूला अस्पताल ताकेको मात्रै हो ।” वीर अस्पतालमा काम गर्न नपाएको झोकमा उनले स्थायी जागिर नै हापिदिए । 

त्यतिखेर हाडजोर्नीका डाक्टर आधा दर्जन पनि थिएनन् । त्यसैले शिक्षण अस्पताल महाराजगन्जमा आठ महिना स्वयंसेवा गरे । सन् १९९४ मा औपचारिक रूपमा प्राध्यापन र शल्यचिकित्सा एकसाथ सुरु भयो । “सर्जनमा हातको गुण चाहिन्छ । चीलका जस्ता आँखा र साहस चाहिन्छ,” उनी अथ्र्याउँछन्, “शल्यचिकित्सा परिणाममुखी पनि छ ।” उनी हाडजोर्नी खुस्किँदा तानिदिन्छन्, भाँचिँदा जोडिदिन्छन् । बिरामी र डाक्टर दुवै सन्तुष्ट ।

डा केसीको समाजसेवी छवि एमबीबीएस सकिएलगत्तै बनेको हो । टेकुमा मेडिकल अफिसर हुँदा पहिलोपटक शिविर राखे, सर्लाहीको बरहथवामा । “जानुपर्छ, गर्नुपर्छ भन्ने लाग्थ्यो,” उनलाई थाहा छैन, “खोइ केले उत्प्रेरणा दियो कुन्नि ?” 

त्यो क्रम भंग भएको छैन, अहिलेसम्म । झोलामा १५/२० किलोजति औषधी, पुस्तक र उपकरण खाँदेर वर्षको दुईपटक गाउँतिर निस्कन्छन् । यस क्रममा ७५ जिल्ला चहारेछन् उनले । पछिल्लो वर्ष हुम्ला र मुगु पुगेछन् । त्यसो त बिरामी जाँच्नुभन्दा पनि दुर्गमका स्वास्थ्यकर्मीलाई आधारभूत ज्ञान र सीप दिनु उनको ध्येय हो । “स्वास्थ्यकर्मीसँग ज्ञान र सीप आदानप्रदान गर्छु,” उनी भन्छन्, “ताकि, म नहुँदा पनि सेवा नरोकियोस् ।”

उनको विचारमा डाक्टर नमरुन्जेल विद्यार्थी नै हुन्छ । “कस्तो समस्या पर्छ भने तालिम लिन आउनेले भत्ता मागिदिन्छन्,” उनी हाँस्दै भन्छन्, “म विकासे संस्थाले जस्तो भत्ता पस्किन सक्दिनँ ।” कहिलेकाहीँ परिचय लुकाउनुपर्ने अवस्था आउँछ । आवश्यकता भएको ठाउँमा मात्र डाक्टर भन्छन्, अरू ठाउँमा शिक्षक । सुनाउँछन्, “डाक्टर हुँ भन्दा गाउँले केही नभए पनि लौ न चेक गर्नुपर्‍यो भन्दै आउँछन् । असली बिरामीले अवसरै पाउँदैनन् ।” 

दसवर्षे सशस्त्र द्वन्द्वमा समेत यी डाक्टर गाउँघर जान छाडेनन् । माओवादीले ‘सरकारी सुराकी’ भने, सेना–प्रहरीले ‘माओवादी मिलिसिया’ । दोलखाको रोल्वालिङ क्षेत्रका मिलिसियाहरूले डाक्टर भन्दा पनि पत्याएनन् । स्वास्थ्यकर्मी नै नदेखिने ठाउँमा आफ्नै पैसा खर्च गरेर डाक्टर आएको कसरी पत्याउनु ? “कतिपय ठाउँमा मिलिसिया भनेर गाउँलेले खाना खुवाएनन्,” उनी सम्झन्छन्, “एक ठाउँमा सुराकी भनेर १९ घन्टा थुनिएँ ।” 

उनी न सरकारको मुख ताक्छन्, न त दाताको । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले खोलिदिएको बैंक खातामा जति छ, त्यति खर्चन्छन्, बस् । कहिलेकाहीँ भाइहरूले स्वत:स्फूर्त रूपमा सघाउँछन् । भन्छन्, “कुनै सरकारी र गैरसरकारी पुरस्कार या सहयोग सहज महसुस गर्दिनँ, मलाई आफ्नै पसिनाको कमाइमा सन्तोष छ ।” 

महामारी, बाढी, भूकम्पका बेला यी समाजसेवी डाक्टर प्रभावित क्षेत्रमा पुगिहाल्छन् । ०४५ मा महाभूकम्प जाँदा रात्रिबस चढेर स्वयंसेवकका रूपमा धरान पुगे भने ०६६ मा हैजा फैलिँदा खच्चडमा औषधी बोकाएर जाजरकोट । ०६४ मा कोसी तटबन्ध भत्किँदा पनि पीडितमाझ नै थिए ।

उनको परोपकारी भावनालाई जाति, भूगोल र धर्मको परिधिले रोक्दैन । गुजरात (भारत), कश्मीर (पाकिस्तान) र हाइटीको महाभूकम्प, पाकिस्तान र उत्तराखण्ड (भारत)को बाढी अनि बर्मा र फिलिपिन्सको समुद्री तुफानका बेला पनि स्वयंसेवी डाक्टरका रूपमा खटिएकै हुन् । “सन् २००८ मा बर्मामा आँधी आउँदा स्थानीय शिक्षकको सहयोगमा भेष बदलेर उपचार गरेँ,” उनी भन्छन्, “सरकारले सुइँको पाएको भए १५ वर्ष जेल हाल्न सक्थ्यो ।” 

उनले कहिल्यै क्लिनिक खोल्ने जाँगर चलाएनन् । जापान गएका डाक्टर साथीका निम्ति एक वर्ष निजी अस्पतालमा काम गरे, त्यो पनि बाध्यतामा । “मलाई बेला कुबेला हिँड्नुपर्ने हुन्छ । बिरामीलाई समय दिन भ्याउँदिनँ,” कारण खोल्छन्, “बिरामीलाई धोका दिनुभन्दा क्लिनिक नखोलेकै जाती ।”

पैसा उनको जीवनको मेनुमै छैन । अतिरिक्त कमाइमा उनले कहिल्यै विश्वास गरेनन् । आवश्यकताहरू सीमित छन् । नियमित तलब पनि दैनिक गुजारामा सकिँदैन । लाग्छ, अविवाहित हुनुको लाभ उठाएका हुन् उनले । उनीसँग कार पनि छैन, घरबार पनि छैन । शिक्षण अस्पतालकै क्वार्टरमा बसेर बिरामी र विद्यार्थीलाई समय दिन्छन् । “अहिले त विवाहको अफर पनि आउँदैन, दबाब पनि आउँदैन,” उनी लजाउँछन्, “मलाई यही जिन्दगी ठीक छ ।” 

तीन करोड नेपालीको स्वास्थ्य र शिक्षासँग प्रत्यक्ष जोडिएको छ आईओएम । कुनै बेला दक्षिण एसियाकै उत्कृष्ट शिक्षण संस्थामा गनिएको आईओएमका आरोह–अवरोहका साक्षी हुन्, डा केसी । राजनीतिक भागबन्डाले बेथिति कति बढ्यो भने प्राध्यापकहरू चाकरीमा मात्र कुद्ने । न राम्रोसँग बिरामी जाँच्ने, न राम्ररी पढाउने । प्रवेश परीक्षा दिएर फेल भएका अनि परीक्षा नै नदिएकालाई एमबीबीएस भर्ना दिने । जथाभावी सम्बन्धन बाँड्ने । 

हेर्दाहेर्दै मेडिकल शिक्षा सहरमुखी र महँगो भयो । ९५ प्रतिशत विद्यार्थी पढ्ने सरकारी मेडिकल कलेजलाई ३ सय ५० सिट, पाँच प्रतिशत पढ्ने निजी मेडिकल कलेजलाई दुई हजार सिट । कालोपट्टी बाँधे, विभिन्न शक्तिकेन्द्र धाए । ६ वर्षसम्म पर्खंदा पनि कुनै सुधार नआएपछि उनी सत्याग्रह थाल्ने निधोमा पुगे । “त्यसको अभ्यासका लागि ११ महिना उपवास बसेँ,” उनी सम्झन्छन्, “दिउँसो एक बोतल कोकाकोला, साँझ ग्रिन सलाद र दही मात्र खाएँ ।” २१ असार ०६९ मा पहिलोपटक अनशन बसे । चार दिनमै सकियो । त्यसको एक महिनामै दोस्रो अनशन बस्नुपर्‍यो । “शरीरमा रिजर्भ नहुँदा तंग्रिन समय लाग्दो रहेछ,” उनी सुनाउँछन्, “त्यसपछि उपवास बस्नै छाडिदिएँ ।”

तीन वर्षयता पाँच चरणमा ४३ दिन अनशन बसिसके । तर, माफियाको जालोका कारण आईओएमले पुन:जीवन पाउन सकेको छैन । “पाँचौँ चरणको अनशनको १२औँ दिन सरकारले बाध्यतावश ११ बुँदे सम्झौता गर्‍यो,” उनी भन्छन्, “यसपटक टाइमलाइन पनि तोकिएकाले केही आशा छ ।”

त्यसो त उनका माग कुनै व्यक्ति, समूह या दलका होइनन् । सबै नेपालीले गुणस्तरीय स्वास्थ्य सेवा पाऊन् भन्ने आकांक्षा छ उनको । त्यसका निम्ति फेरि पनि आमरण अनशन बस्न तयार छन् । “संस्थाभन्दा ठूलो जीवन होइन,” उनी भन्छन्, “पद्धति बसाल्नु ठूलो कुरा हो । व्यक्ति भएर के, नभएर के ?” उनले पाँच वर्षपछि अनिवार्य अवकाश पाउँदै छन् । 

सादगी डा गोविन्द केसीको स्पष्ट चिनारी हो । फुर्सदमा कि पढ्छन् कि त जल्दाबल्दा विषयमा लेख्छन् । आत्मकथा लेख्ने योजना भने छैन उनको । आफ्नो जीवनमा त्यस्ता मसला पनि देख्दैनन् । उनको एक मात्र सोख फोटोग्राफी हो । ७५ जिल्लाका वेशभूषा, संस्कृति, रहनसहन समेटिएको फोटो प्रदर्शनी पनि गरे । एउटा पोखरा, बाटुलेचौरको गन्धर्व टोलमा, अर्को शिक्षण अस्पताल, महाराजगन्जमा । 

शाकाहारी व्यञ्जनमा रमाउने यी डाक्टरको बिहानीको खान्की दूध र जाम–पाउरोटी मात्र हो । दिउँसो कोक र मफिन केक खान्छन्, साँझ दही, चिउरा र ग्रिन सलाद । क्वार्टरमा दूध र पानी मात्रै उमाल्छन् । भात खाने भनेको भाइहरूकहाँ गएका बेला मात्र हो । “भात खायो भने निद्रा ज्यादा लाग्छ,” उनी भन्छन्, “पकाएर खाने समय बिरामीलाई दिन्छु ।”

खानाका सोखिन नभए पनि आकलझुकल दुई ठाउँमा पुग्छन्, ओशो तपोवनको जोर्बा दी बुद्ध र बेकरी क्याफे । जोर्बामा नागार्जुनको हरियो जंगलको बाटो हिँड्ने लोभले पुग्छन् भने बेकरी क्याफेमा बहिरा कामदारप्रतिको भावनात्मक सम्बन्धले । 

राजनीतिक वितृष्णाले घायल नेपाली जनमानसमा डा गोविन्द केसी अथक योद्धाका रूपमा परिचित छन् । पछिल्लो अनशनमा सात किलो घटेका यी डाक्टरको गान्धी–छाप सत्याग्रहलाई ‘गोविन्दगिरी’ भन्न थालिएको छ । अब राजनीतिमा गोविन्दगिरी देख्न पाइएला ? “म साधारण डाक्टर हुँ । आफ्नै पेसामा सन्तुष्ट छु,” उनी भन्छन्, “मेरो बढाइचढाइ गर्दा कसैको अपमान होला ।” 

प्रथम प्रकाशित मिति: १३ वैशाख २०७२

प्रकाशित: मंसिर १६, २०७३