व्यवसायी मालामाल, सरकार अनभिज्ञ

  • उच्च हिमाली क्षेत्रमा सरकारलाई पत्तै नदिई महँगा साहसिक खेलको आयोजना

- मनबहादुर बस्नेत

‘अब सुरु हुनेछ, अप्रिल २०१७ मा’ दावा शेर्पा एक्सपेरियन्स डटकम नामक वेबसाइटको शिरमै उच्च हिमाली क्षेत्रमा आयोजना हुने दौडबारे सूचना छ । त्यसको मुन्तिर १ सय २९ दिन १२ घन्टा बाँकी छ भन्ने अर्को सूचनासमेत बगिरहेको छ । रसुवाको लाङटाङ, धादिङ र गोरखाको सीमाक्षत्रेमा पर्ने गणेश हिमाल र गोरखाको मनास्लु गरी तीनवटा उपत्यका पार गर्नुपर्ने यो हिमाली ट्रेल दौडका क्रममा ४ हजार ६ सय मिटर उचाइको लौरीविनायक र ५ हजार १ सय मिटरको लार्के भञ्ज्याङ (पास) पार गर्नुपर्ने समेत त्यो वेबसाइटमा उल्लेख छ । 

सन् २०१४ देखि सञ्चालित यो हिमाली दौड एनि शेर्पा र दावा शेर्पाले बर्सेनि सञ्चालन गर्छन् । वेबसाइटमा दावाको ठेगाना स्वीट्जरल्यान्ड भनिएको छ भने एनिको फ्रान्स । ३ सय ५३ किलोमिटरको यो दौड उनीहरूले युरोपबाटै बुकिङ गर्छन् र सञ्चालनको अवधिमा मात्र नेपाल आउँछन् । 

यही समूहले सगरमाथा क्षेत्रमा समेत अर्को हिमाली म्याराथन सञ्चालन गर्छ, जसको नाम हो– सोलुखुम्बु ट्रेल । २ सय ८५ किलोमिटर लामो यो ‘ट्रेल रेस’ सन् २०१३ देखि सुरु भएको हो । यसको सन् २०१६ को संस्करण यही महिना मात्र सकिएको छ । यो दौड दोलखाको जिरीबाट सुरु भएर सोलुखुम्बुको फाक्दिङ हुँदै सगरमाथा क्षेत्रमा पुगेर टुंगिन्छ । 

एउटै समूहले सञ्चालन गर्ने यी दुईवटा हिमाली म्याराथनमा सहभागी हुनका लागि विदेशीका लागि ३ हजार युरो (करिब ३ लाख ४५ हजार रुपियाँ) लिने गरिएको छ, जो वेबसाइटमै लेखिएको छ । यो शुल्क सहभागीहरूले तीन किस्तामा तिर्न सक्ने सुविधा पनि दिइएको छ । तीन वर्षअघिदेखि दावा–एनिको समूहले यी दुई क्षेत्रमा म्याराथन सञ्चालन गरिरहेका छन् । 

पर्यटन सेवा प्रवाह उद्योग निर्देशिका–२०७० का अनुसार पर्यटकीय क्षेत्रमा आयोजना हुने यस्ता कार्यक्रमका लागि तालुकदार निकाय पर्यटन विभागसँग अनुमति लिनुपर्छ । तर, विभागलाई थाहै नदिई सुटुक्क उच्च हिमाली शृंखलाहरूमा मनपरी ढंगले यस्ता साहसिक खेलका स्पर्धा भइरहेका छन् । उल्लिखित प्रसंग त उदाहरण मात्रै हुन् । सगरमाथा, लाङटाङ, मनास्लु, गणेश, अन्नपूर्णजस्ता हिमाली शृंखलामा अचेल विदेशी एवं स्वदेशीहरूलाई सहभागी गराएर स्पर्धा गराउने क्रम बाक्लो छ । विभागले यसको चाल पाएकै छैन या नपाएजस्तो गरिरहेको छ । 

जस्तो कि, मनास्लु माउन्टेन ट्रेल रेस सञ्चालन भएको चार वर्ष बितिसकेको छ । २ सय १२ किलोमिटर दूरीको यो रुटमा अबको एक वर्षपछि यस्तो दौड फेरि हुँदैछ । यो वर्षचाहिँ २० कात्तिकदेखि २ मंसिरसम्म यो प्रतियोगिता भइसकेको छ । यस वर्षको दौडमा ६० जना सहभागी थिए, जसमध्ये ५१ जना विदेशी थिए । विदेशीहरूका लागि यो रुटमा २ हजार १५ अमेरिकी डलर (करिब २ लाख १७ हजार रुपियाँ) शुल्क लाग्छ । यस हिसाबले करिब एक करोड रुपियाँभन्दा बढी आम्दानी शुल्कबाट मात्रै भएको छ । 

दौडका निर्देशक बेलायती नागरिक रिचार्ड बुल हुन् भने आयोजक कम्पनीचाहिँ नेपाली हो र यसका सञ्चालक हुन, धीरललित प्रिय । उनको यही समूहले अर्को दौड उच्च हिमाली क्षेत्र मुस्ताङमा पनि सञ्चालन गर्छ, जसको नाम हो, मुस्ताङ ट्रेल रेस । मुस्ताङको कागबेनी, लोमान्थाङ, यारा, छुसाङ हुँदै जोमसोममा आइपुगेर यो दौड पूरा हुन्छ । 

नौ दिने यो म्याराथनमा १ सय ६५ किलोमिटरको दूरी छिचोल्नुपर्छ । दौडको दर्ता शुल्क प्रतिव्यक्ति ३ हजार ४ सय ५० अमेरिकी डलर (करिब ३ लाख ६८ हजार रुपियाँ) छ । यो निकै महँगो ‘सेगमेन्ट’को पर्यटकीय आयोजना भनेर चिनिन्छ । 

पर्यटन विभागका अनुसार अहिलेसम्म दुईवटा कम्पनीले मात्रै उच्च भेगीय म्याराथनका लागि अनुमति लिएका छन् । विभागका उपसचिव एवं प्रवक्ता दुर्गादत्त ढकाल भन्छन्, “दुईवटा आयोजनाले मात्रै अनुमति लिएका छन् । तीमध्ये सगरमाथा क्षेत्रको आधार शिविरबाट सञ्चालन हुने तेन्जिङ हिलारी एभरेस्ट म्याराथन र दोलखाको जिरीबाट सुरु हुने एभरेस्ट ट्रेल रेसले मात्रै विभागबाट अनुमति प्राप्त आयोजना हुन् ।” तर, नेपालको खोजले त्यसबाहेक आधा दर्जनभन्दा बेसीले उच्च भौगोलिक क्षेत्रमा नियमित दौड प्रतियोगिता सञ्चालन गरिरहेको देखाएको छ । 

सगरमाथा क्षेत्रमा रोयल पेन्गुइनले दुई वर्षदेखि ६५ किलोमिटरको अल्ट्रा म्याराथन गर्छ, बर्सेनि । यसमा स्पर्धीहरूले नाम्चे, डोले, गोकियो, रेन्जो पास, थामे हुँदै नाम्चेसम्मको एक फन्को लगाउँछन् । गत १९ असोजमा यो स्पर्धाको पछिल्लो संस्करण आयोजना गरिएको थियो । यो दौड ठमेलमा रहेको रोयल पेन्गुइन होटलले सञ्चालन गर्छ । 

राज्यका निकायहरूको अनुमतिबिनै म्याराथन गर्दा सरकारले समेत कहिलेकाहीँ नम्र नीति लिइदिन्छ । विदेशीसमेत दौडने हुँदा अन्तर्राष्ट्रिय क्षेत्रमा ‘नेपालको बेइज्जत हुने’ र त्यसले पर्यटन उद्योगलाई असर गर्ने ठानेर सरकार नम्र हुने गरेको हो । ६ वर्षअगाडि यस्तै घटना भएको थियो । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का पूर्वमहासचिव हरि धरेलको हिमालयन ट्रेल्सले लाङटाङमा एक्सन एसिया अल्ट्रा म्याराथन आयोजना गर्दा राष्ट्रिय निकुञ्जलाई समेत पत्तो दिएन । त्यसपछि निकुञ्जले म्याराथन नै रद्द गरिदिने तयारी गर्‍यो । तर, विश्व जगत्मा नराम्रो सन्देश जाने भन्दै मन्त्रालय तहदेखि नै छोडिदिनु भन्ने दबाब आएपछि कार्यक्रम सञ्चालन भएको थियो । “सामान्य विवाद भएको थियो । पछि कुरा मिल्यो र कार्यक्रम सफल रूपमा सम्पन्न भयो,” धरेलले भने ।

स्किमा पनि उही प्रवृत्ति

हिमाली भेगमा हुने अर्को साहसिक खेल हिउँ चिप्लेटी (स्कि)को प्याकेज बेच्नेहरूले समेत सरकारी निकायलाई छल्ने गरेका छन् । पर्यटन विभागसँग स्वीकृति लिएर स्कि गराउनुपर्ने नियम छ तर सरकारी निकायलाई खबरै हुँदैन । अल्पाइन क्लब नेपालले एभरेस्ट रेन्ज र मकालुको बीचमा पर्ने मेरा पिक, मुस्ताङको सारिबुङ पिक, अन्नपूर्ण–४, डोल्पाको खुदा हिउँचुलीमा स्कि गराउँछ । यो क्लब इन्टरनेसनल शेर्पा एड्भेन्चर अन्तर्गतको हो, जो कपनमा छ ।

इन्टरनेसनल शेर्पा एड्भेन्चरका नुरु जाङ्बु शेर्पा कुन क्षेत्रमा स्कि गराउने भन्ने सहभागीहरूको रोजाइमा भर पर्ने बताउँछन् । पोखरामा रहेका उनले टेलिफोनमा बताए अनुसार स्किइङका लागि प्रतिव्यक्ति साढे चार हजारदेखि ७ हजार ३ सय युरोसम्म पर्छ । नेपालीमा यो रकम अधिकतम आठ लाख रुपियाँभन्दा बढी हुन आउँछ । आफूले चार वर्षदेखि विदेशीहरू ल्याएर वर्षमा करिब चारवटा समूहलाई स्किङ गराइरहेको उनको भनाइ थियो । एक समूहमा कम्तीमा चार सदस्य र बढीमा १५ जनासम्म हुन्छन् । शेर्पा आफूले नेपाल पर्वतारोहण संघबाट स्वीकृति लिएको बताउँछन् । तर, संघलाई पर्वतारोहणबाहेक अरू क्रियाकलापका लागि अनुमति दिने अधिकार छैन । पर्यटन विभागका अनुसार हालसम्म एभरेस्ट गाइड्स नामक ट्रेकिङ कम्पनीले मात्रै अनुमति पाएको छ, स्किङका लागि ।

एउटाले मात्रै अनुमति पाए पनि नेपालमा स्किङ गराउने कम्पनीहरू भने थुप्रै छन् । तीमध्ये हेली स्कि नेपाल र थामसेर्कु ट्रेकिङ प्रमुख हुन् । हेली स्कि गर्न आउनेलाई पर्यटन व्यवसायीहरू भीआईपी गु्रप भन्छन्, जो काठमाडौँ ओर्लेर सोझै हेलिकप्टरमा हिमालतिर लाग्छन् र केही घन्टा हिउँमा स्कि खेलेर फर्कन्छन् । यसको जानकारी सरकारी निकायलाई समेत नहुन सक्छ । “गु्रुप पाउनासाथ झ्याप्पझुप्प गराउने, कसैलाई थाहै नदिने प्रवृत्ति छ,” नेपाल पर्वतीय खेलकुद संघका उपाध्यक्ष कृष्णकुमार अर्याल भन्छन् । 

अंग्रेजी महिना फेबु्रअरीदेखि अप्रिलसम्म नेपालको हिमाली क्षेत्र स्किङका उपयुक्त मौसम मानिन्छ । चार जनाभन्दा माथिको गु्रप बनाएर गरिने स्कि नेपालमा अन्नपूर्ण, सगरमाथा र हुम्लाका हिमालमा प्रचलित छ । स्कि संसारमै महँगो साहसिक खेलमा गनिन्छ । १० जनासम्मको समूह भए एक हजार अमेरिकी डलर र त्यसभन्दा माथि भए थप प्रतिव्यक्ति एक सय डलर लिन पाउने कानुनी व्यवस्था छ । तर, अनुमतिबिना सञ्चालन गर्ने प्रवृत्तिले राज्यले यो राजस्व गुमाइरहेको छ । नेपाल स्कि संघका अध्यक्ष जीवनराम श्रेष्ठ भन्छन्, “स्किलाई केही पर्यटन व्यवसायीहरूले मात्रै कमाइ खाने भाँडो बनाइरहेका छन् ।”

कानुनको बर्खिलाफ

कानुन अनुसार पर्यटकीय क्षेत्रमा सञ्चालन हुने साहसिक तथा मनोरञ्जनात्मक खेल सञ्चालन गर्न पर्यटन विभागमा दर्ता गर्नुपर्छ । उच्च भेगमा हुने म्याराथन, स्किलाई साहसिक एवं मनोरञ्जनात्मक खेलमा राखिएको छ । पर्यटन उद्योग सेवा प्रवाह निर्देशिका, २०७० को अनुच्छेद ९ मा यस्तो व्यवस्था छ । त्यस अनुसार म्याराथन, स्कि सञ्चालन गर्न सकिने/नसकिने सम्भाव्यता अध्ययनपछि मात्र टुंगोमा पुग्ने हो । यसका लागि विभागले उपसचिवको संयोजकत्वमा प्राविधिकसहितको टोली बनाउँछ र स्थलगत निरीक्षणपछि अनुमति दिने/नदिने निर्णय गर्छ । म्याराथन र स्किको अनुमतिका लागि ५० हजार रुपियाँ दस्तुर तिर्नुपर्छ भने हरेक पाँच वर्षमा २५ हजार रुपियाँ तिरेर नवीकरण गर्नुपर्छ । 

तर, केही ट्राभल तथा ट्रेकिङ एजेन्सीले यो कानुनी प्रावधानलाई बेवास्ता गर्दै हिमाली भेगमा आफूखुसी पर्यटकहरूलाई दौडाउने र हिउँमा चिप्लेटी खेलाउने गरिरहेका छन् । पर्यटन व्यवसायीसमेत रहेका संघका उपाध्यक्ष अर्याल उच्च हिमाली भेगमा दौडन बर्सेनि करिब दुई हजार जनासम्म विदेशी पर्यटक आउने गरेको अनुमान लगाउँछन् । सरकारी निकायको निगरानीमा नहुने हँुदा कति विदेशी नेपालका हिमाली भेगमा दौडन्छन् भन्ने आधिकारिक अभिलेख कहीँ भेटिँदैन । ट्रेकिङ एजेन्सीहरूले प्राय: विदेशीसँग मिलेर म्याराथन, स्किजस्ता स्पर्धा सञ्चालन गर्छन् । धेरै विदेशीले उतैबाट यी कार्यक्रमको बुकिङ गरेर स्पर्धीहरू ल्याएका हुन्छन् । नेपाली कम्पनीहरूले पाउने जिम्मा भनेको बन्दोबस्तीको मात्र हो । 

स्कि र म्याराथनलाई ट्रेकिङ कम्पनीहरूले नियमित ‘प्याकेज’ नै बनाएर बेचिरहेका छन् । म्याराथनमा भाग लिन आउनेलाई महँगो पर्यटकका रूपमा लिइन्छ । एकैपटक समूहमा आउने हुँदा व्यवसायीले मनग्य फाइदा कमाउँछन् । 

यसको अर्थ हो, सीमित व्यवसायीहरू मालामाल भइरहेका छन् तर सरकारलाई भने अत्तोपत्तो छैन । यसबाट सरकारी कोषमा जम्मा हुने रकम पनि व्यवसायी र विदेशीहरूकै पोल्टामा गइरहेको छ । पर्यटन विभागका प्रवक्ता ढकाल यसबारेमा भर्खरै थाहा पाएको र पत्र काटेर कडाइ गर्ने तयारी भइरहेको बताउँछन् । तर, हल्लाखल्लाबीच खुलेआम आयोजना हुँदै आएका म्याराथन र स्किङबारे सरकारलाई जानकारी नहुनुले यसमा सरकारी अधिकारीहरूको संलग्नता त छैन भन्ने सन्देह पैदा गरिदिएको छ । 

छैन रोयल्टी

सगरमाथा क्षेत्रमा निजी कम्पनी एक्स्प्लोर हिमालयनले स्काइडाइभिङ सञ्चालन गर्छ । यो खेल निकै महँगो हो, नेपालका लागि । यसका लागि प्रतिव्यक्ति न्यूनतम २२ हजार अमेरिकी डलर (करिब २२ लाख रुपियाँभन्दा बढी) लिन्छ । कार्यक्रमको अवधि, स्तर हेरेर यो शुल्क बढ्छ पनि । बर्सेनि १० देखि १५ जनासम्म विदेशी पर्यटक स्काइडाइभिङका लागि नेपाल आउने गर्छन् । यस हिसाबले व्यवसायीले न्यूनतम दुई करोड रुपियाँभन्दा बढी कमाउँछन् । 

तर, राज्यले भने यसमा रोयल्टी नै पाउँदैन, यस्तो व्यवस्था नै छैन । कानुनत: राष्ट्रिय निकुञ्ज एवं वन्यजन्तु विभागलाई निकुञ्ज क्षेत्रमा खेलमा भाग लिन प्रतिव्यक्ति एक सय अमेरिकी डलर तिर्नुपर्छ । पर्यटन मन्त्रालय नागरिक उड्डयन महाशाखाका प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछाने जोखिम र नाफा दुवै व्यवसायीको हुने हुँदा राज्यले रोयल्टीको व्यवस्था नगरेको बताउँछन् । जब कि, हिमाल आरोहणका लागि भने सरकारले रोयल्टी पाउने व्यवस्था छ ।

निषेधित क्षेत्रमै गतिविधि

उपल्लो मुस्ताङ विदेशीहरूका लागि निषेधित क्षेत्र हो । तर, यहीँको सेराबिङ पिकमा स्कि गराउँदै आएको छ, अल्पाइन क्लब नेपालले । उपल्लो मुस्ताङ क्षेत्र भएरै मुस्ताङ ट्रेल रेस पनि हुन्छ । निषेधित क्षेत्रमा प्रवेशका लागि गृह मन्त्रालयको अनुमति चाहिन्छ । तर, मुस्ताङ ट्रेल रेस र सेराबिङ स्किका लागि यस्तो अनुमति लिइएको छैन । गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थी पनि त्यसलाई पुष्टि गर्छन् । भन्छन्, “कसैले पनि निषेधित क्षेत्रमा म्याराथन एवं स्कि सञ्चालन गर्न गृहबाट स्वीकृति लिएका छैनन् ।”

स्मरणीय छ, मनाङ–मुस्ताङ क्षेत्रमा करिब आधा दर्जन म्याराथन सञ्चालनमा छन् । अन्नपूर्ण १००, अन्नपूर्ण फास्ट प्याक, अन्नपूर्ण म्याराथन, अन्नपूर्ण सर्किट रेस, अन्नपूर्ण अल्ट्रा म्याराथन उक्त क्षेत्रमा सञ्चालित हिमाली म्याराथन हुन् । 

 

प्रकाशित: मंसिर १४, २०७३