[अनुभूति] मसिनो

  • मसित आएको मेरो तस्कर मित्र पनि जिल पर्‍यो । हाँस्यो मज्जाले ।

- नयनराज पाण्डे

त्यतिबेला मैले मोटरसाइकल चलाउन जानेकै थिइनँ । डेरा नजिकैको एउटा ड्राइभिङ इन्स्टिच्युटको गुरुजीसित केही दिनअघि पुतलीसडकको पुष्करको सेकुवामा चिनजान भएको थियो । त्यतिबेला म खसीको आँखा र जिब्रो फ्राइ खाँदै थिएँ । गुरुजी भने बोकाको राजखानी खाँदै थियो । राजखानी खाँदै गफ लगाएको थियो उसले, ‘राजखानी खायो भने पावर बढ्छ । गर्लफ्रेन्ड खुसी हुन्छन् ।’ 

उसको इन्स्टिच्युट देखाउनका लागि मात्र खोलिएको थियो । खासमा ऊ लाइसेन्स बनाइदिने धन्दामा लागेको थियो । बाइक चलाउन नआए पनि लाइसेन्सचाहिँ लिइराख्न मन लाग्यो मलाई । एक बिहान उसको इन्स्टिच्युटमा गएँ । तर, त्यतिबेला उसको कार्यालयबाहिर हिंस्रक स्थिति थियो । गुरुजीले आफ्नी प्रेमिकालाई कार्यालय सचिव बनाएर राखेका रहेछन् र हरेक बिहान उनीहरूबीच कार्यकक्षमै प्रेमलीला चल्दोरहेछ । यो कुरा गुरुजीकी जहानले थाहा पाएर बिहानै दुवैलाई ‘रेड ह्यान्ड’ समातेकी रहिछन् । म पुग्दा उनले पालैपालो कहिले लोग्ने र कहिले निजकी प्रेमिकालाई भुत्ल्याइरहेकी थिइन् । जे होस्, निकै बेरपछि स्थिति केही शान्त भयो । प्रेमिका भागिन् । उसले पत्नीसित हात जोड्यो । पत्नी रुँदै घर फर्किन् । 

पत्नीले भुत्ल्याएको कपाल मिलाउँदै गुरुजीले मलाई एक जना सईको नाम दियो । बग्गीखाना गएर निजसित चिनजान गरेँ । लाइसेन्सको कुरा भयो । लेनदेनको कुरा भयो । लिखितमा पास भएको तेस्रो दिन ट्रायल दिन सिंहदरबारअगाडिको नेसनल ट्रेडिङ परिसर पुग्नुपर्ने भयो ।

साइकल चलाएको अनुभव छँदै थियो । नेपाली सिनेमा र सिरियलहरूमा खलनायकको भूमिकामा बेलाबखत देखापर्ने गौतम थरका भाइले भोलिपल्ट दिनभरि बाइक चलाउन सिकाइदिए । तर, ट्रायलको दिन त्यो सिकाइ कामै लागेन । ट्रायलका लागि बाइकमा सवार हुनेबित्तिकै मेरो दिमागमा बादल लाग्यो । कुन बेला, कसरी बाइक स्टार्ट भयो र अगाडि बढ्यो भन्ने थाहै भएन मलाई । त्यहाँ लहरै राखिएका छ–सातवटा पोललाई नागबेली पार्दै क्रस गर्नु थियो । जसोतसो पहिलो पोल त क्रस भयो । तर, त्यसपछिका एउटै पोल साबुत भएनन् । भटाभट बाइकसित ठोक्किँदै ढले । टाढाबाट हवल्दार करायो, “बाइक रोक्नूस् !”

तर, कसरी रोक्नु ? ब्रेक लगाउने होस भए पो । दिमागमा बादल लागिसकेको थियो । एक्सिलेटर घुमाको घुमायै गरेँ । बाइक तीव्र गतिमा हुत्तिँदै नेसनल ट्रेडिङको भित्तातिर लाग्यो । अब ठोक्कियो कि तब ठोक्कियो । मुटु ठेगानमा थिएन । तर, भित्ता करिब डेढ–दुई सय मिटर टाढा भएकाले झन्डै ५० मिटर बाँकी हुँदा मेरो दिमागबाट बिस्तारै बादल हट्न थाल्यो । त्यसपछि हत्तपत्त ह्यान्ड ब्रेक लगाइहालेँ ।

बाइक ठामका ठाम झ्याप्पै रोकियो । म असन्तुलित भएँ । लडेँ । ममाथि बाइक लड् यो । टाढाबाट लाइसेन्स मिलाइदिने सई साब मेरो ताल हेरिरहेका थिए । मैले पनि लडिरहेकै स्थितिमा उनलाई हेरेँ । उनले टाउकोमा हात राखे । एकछिनपछि नजिक आएर खुसुक्क भने, “अलिअलि सिकेर त आउनुपर्छ । तपाईंजस्तोलाई कसरी लाइसेन्स मिलाउनू ? अब मैले भनेर मात्र पनि हुन्न, इन्स्पेक्टर साबलाई पनि मिलाउनुपर्छ । एक हजार लाग्छ ।”

साँझ पुरानो बानेश्वरदेखि मैतीदेवी लाग्ने बाटोको उकालोतिर कुनै डान्स रेस्टुराँमा भेट्ने कुरा भयो । मैले उनलाई त्यहीँ खानपिन गराएर एक हजार हस्तान्तरण गर्नुपर्ने भयो । उतिबेला काजल भन्ने डान्सर खुब चर्चित थिइन् । तिनले नाच देखाउने रहिछन् त्यहाँ । मस्त खाए सई साबले । लाग्यो उनलाई । मैले हजार दिएँ उनलाई । उनले त्यो हजार नृत्य गरिरहेकी काजलको चोलोमा हुलिदिए ।

फर्किंदा डान्स रेस्टुराँको ढोकैमा मारपिट भइरहेको देखेँ मैले । जिज्ञासावश यसो हुलभित्र पसेँ । हुलभित्र एक महिला र दुई पुरुषबीच हानाहान चलिरहेको थियो । थाहा भो, पति–पत्नी रहेछन् । पतिले आफ् नी स्वास्नीलाई उसको ब्वायफ्रेन्डसित ‘रेड ह्यान्ड’ समातेको थियो र पालैपालो स्वास्नी र ब्वायफ्रेन्डलाई भकुर्दै थियो । ब्वायफ्रेन्डको निधारमा ठूलै चोट लागेर ह्वालह्वाली रगत बगिरहेको थियो । एकैछिनमा पुलिस भ्यान आयो । तीनै जनालाई झ्याइँकुटी पार्दै भ्यानभित्र हुल्यो पुलिसले । एउटा जँड्याहा फत्फताउँदै थियो, ‘असईलाई कुट्यो । हातखुट्टा भाँच्छन् आज पुलिसले त्यो लोग्ने भनाउँदाको ।’

***

अर्को कुनै दिन । मैतीदेवी र डिल्लीबजारको बीचमा पुुलिसको चेकिङ रहेछ । बाइक रोकेँ मैले । त्यहीबेला कानमा भाइब्रेट भयो । दिमाग ठेगानमा आयो मेरो । मोबाइल त मेरो कानैमा रहेछ । म आफ् नो मूर्खतामा हाँसेँ मनमनै । 

असईले मेरो लाइसेन्स हेर्‍यो । लाइसेन्समा मेरो सल्यानको ठेगाना थियो । त्यही देखेर उसले सोध्यो, “दाइ सल्यानको हो ?”

“हो ।” मैले जवाफ दिएको थिएँ ।

“मरीचमानलाई चिन्नुहुन्छ ?”

“चिन्छु ।”

खासमा मैले मरीचमानका बारेमा सुनेको मात्र थिएँ । भेटघाट भएको थिएन । मेरो बुबाले उहिलेउहिले मरीचमानको प्रसंग आउँदा उत्साहित भएर भन्ने गर्नुहुन्थ्यो, “म सल्यानमा हेडमास्टर हुँदा मरीचमान मेरो अन्डरमा सहायक हेडमास्टर थियो ।”

मरीचमान प्रधानमन्त्री भएपछि मेरो बुबा उनलाई भेट्न काठमाडौँ आउनुभएको थियो । फर्कंदा भने उहाँको अनुहारमा खुसी थिएन । पछि भन्नु भयो, “बल्लबल्ल भेट त भयो । तर, चिनेजस्तै गरेन ।”

मैले असईको छातीको बिल्लामा त्यतिबेलै नाम हेरेँ । लामिछाने थर उल्लेख थियो । मैले नेपालगन्ज पढ्दाताकाका एक जना लामिछाने थरकै साथी थियो । सल्यानबाट एक पुस्ताअघि नेपालगन्ज झरेको र नेपालगन्जमै राजनीति र जडीबुटीको तस्करीमा संलग्न भएर अकूत कमाएको थियो त्यो साथीले । मैले उसकै नाम लिएँ र सोधेँ असईसित, “उसलाई चिन्नु हुन्छ ?”

असईले उत्साहित हुँदै भनेको थियो, “अरे, किन नचिन्नू ? उहाँ त मेरो काका हो ।”

त्यतिबेला मेरो लाइसेन्स फिर्ता गर्दै भनेको थियो असईले, “उसो भए त तपाईं पनि मेरो काका नै हुनुभयो । नमस्ते गरेँ काका ।”

मैले नमस्ते फर्काएँ । तर, मैले ऊसित सोधिनँ, “भतिज, केही महिनाअघि रेस्टुराँमा एक जना महिलाको श्रीमान्ले तिमीलाई हिर्काउँदा निधारमा लागेको चोट कति दिनमा निको भयो ?”

***

त्यसकै केही दिनपछिको कुरा त हो नि † जमलमा पुलिस चेकिङ रहेछ । मेरो लाइसेन्स केही महिनाअघि एक्सपायर भइसकेको थियो । चेकिङमा भएका असईलाई चिनेँ मैले । मेरो नेपालगन्जको साथीको भतिजो । लामिछाने थरको । तर, यसपटक भने भतिज झ्याप थियो । 

“एक्सपायर भइसकेको लाइसेन्स लिएर हिँड्नु भारै’छ । जरिवाना लाग्छ । चिट काट्नुुपर्छ ।” 

“सल्यानको हुँ । तिम्रो नेपालगन्ज बस्ने काकाको साथी ।” 

मैले छुटकारा पाइहाल्छु कि भन्ने आशासाथ परिचय दिएँ । उसले एकछिन आँखा तन्काएर हेर्‍यो मलाई । चिन्यो बल्ल ।

“लौ, काका पो पर्नुभएछ । उसो भए सय रुपियाँ दिएर जानूस् !”

***

आफन्तको छोराको व्रतबन्धमा नेपालगन्ज जानैपर्ने भयो । व्रतबन्धको भोलिपल्ट घरमा भव्य पार्टी थियो । मलाई त्यही दिन काम विशेषले गाउँ जानुपर्ने भयो । तर, साँझसम्म फर्किने योजना थियो । आफन्तले नै मलाई बाइकको साँचो दिए र भने, “कालो बाइक छ । गेटबाहिर ।”

बाइक लिएर म हिँडेँ । धम्बोझी । धम्बोझीबाट कोहलपुर । कोहलपुरबाट बाँसगढीतिर । तर, बाँसगढी नपुुग्दै डुँडुवाखोलाको पुलनेरै बाइक रोकियो । जति गर्दा पनि स्टार्ट भएन । रिजर्भको स्विच झार्न खोजेँ । तर, बाइक त पहिलेदेखि नै रिजर्भमा कुदिरहेको रहेछ । बाइकमा तेल सकिएको पक्कापक्की भयो । म आफन्तसित रिसाएँ । कमसेकम बाइकमा तेल छैन त भन्नुपर्छ नि !

बाँसगढीमा पेट्रोलपम्प थियो । तर, बाँसगढी दुई–अढाई किलोमिटर टाढा थियो । चैतको महिना, गर्मी चढिसकेको थियो । अब बाइक डोर्‍याउँदै बाँसगढी पुग्नुबाहेक अर्को उपाय थिएन । असिनपसिन हुँदै म बाँसगढीको पेट्रोलपम्प पुगेँ । साँचोले ट्यांकीको बिर्को खोल्न खोजेँ । मरिगए खुलेन । अन्त्यमा नजिकैको मेकानिकै बोलाएर ट्यांकीको बिर्को फोड्नैपर्ने भयो । उपाय थिएन । फोडियो । 

फोडिएको बिर्कोलाई काम चलाउ हिसाबले अड्काइदिएर मेकानिक भाइले सुझाव दियो, “नेपालगन्ज गएर नयाँ बिर्को हाल्नु होला । यसले अब काम गर्दैन ।”

अन्तत: तेल हालेँ । गाउँ गएँ । केही घन्टा बिताएँ । र, फेरि नेपालगन्जतिरै लागेँ । त्यही बेला भेटियो मेरो स्कुले साथी । म नेपालगन्ज आएका बेला ऊसित यदाकदा भेट हुन्थ्यो । स्कुलमा पढ्दा फिस तिर्ने पैसा हुँदैनथ्यो ऊसित । तर, अचेल कार चढेर हिँड्ने भइसकेको थियो । कांग्रेसबाट राजनीति सुरु गरेको थियो उसले । त्यसपछि एमाले हुँदै जनयुद्धताका माओवादीमा लागेको थियो ऊ । जनयुद्धको बेलै काठ र जडीबुटी तस्करीमा लागेर उधुम कमाएको थियो उसले । तर, बाँसगढीमा भेटिँदा भने ऊसित कार थिएन । पैदलै थियो । 

“केन्द्रबाट कामरेडहरू जिल्ला भ्रमणमा आउनुभएको छ । आफ्नो कार उहाँहरूलाई दिएको छु ।”

मेरै बाइकमा नेपालगन्ज फर्किने भयो ऊ पनि । बाटोमा उसले गुनासो गर्‍यो, “बाँसगढीमा मेरो भारत पठाउने जडीबुटी समातेछ पुलिसले । आज सईलाई गोदेर आएको मैले ।”

उसको दाहिने हत्केलामा हल्का चोट पनि लागेको थियो । समयक्रमले ऊ मेरो मित्रभन्दा बढी एउटा नामुद तस्कर भइसकेको थियो । तस्करलाई आफ्नो बाइकमा राख्नुपरेकाले ग्लानि पनि भइरहेको थियो मलाई । 

कारकाँदो कटेर धम्बोझी चोकनिर आउँदा नआउँदै तीन–चारवटा पुलिसहरूले एकैपटक तीन–चारतिरबाट सिट्टी बजाए । दौडादौड गरेर मेरो बाइक घेर्न आए । म भयानक आत्तिएँ । साथीलाई समात्नै दौडेका हुन् यी पुलिसहरू भन्ने पक्का भयो मलाई । तर, नजिक आएपछि पुलिसहरूले साथीलाई नमस्कार पो गरे । केरकार त मसित पो भयो । ती पुलिसमध्ये एउटाले वाकीटकीबाट कसैलाई खबर गर्‍यो, “बाइक फेला पर्‍यो साब ।”

केहीबेर बाइक चोरसँगझैँ सोधपुछ भयो मसित । मैले आफन्तलाई फोन गरेँ । आफन्त पनि हस्याङफस्याङ गर्दै आइपुगेपछि बल्ल कुरो खुल्यो । मैले आफन्तको हैन, पार्टीमा आएका एक जना पुलिसकै बाइक पो लिएर हिँडेको रहेछु । निकै सकसपछि कुरो मिल्यो । 

मसित आएको मेरो तस्कर मित्र पनि जिल पर्‍यो । हाँस्यो मज्जाले । मलाई उसको हाँसो पटक्कै मन परेन । उसको हाँसो ठीक उसको भतिजको जस्तै थियो । भतिज अर्थात् त्यही असई, जसले मलाई काठमाडौँमा काका भनेर सम्बोधन गरेको थियो र जसलाई मेरैअगाडि कुनै बेला ड्राइभिङ इन्स्टिच्युटको गुरुजीले आफ्नी स्वास्नीसित लागेको निहुँमा निधार फुट्ने गरी कुटेको थियो ।

त्यहीबेला । एकदम अचानक । बाइकसित जोडिएका मेरा यी केही थान अनुभवहरू एक ठाममा गाँसिए । त्यसपछि तयार भयो संयोगले भरिएको एउटा फिल्मी कथा र त्यसमा जोडियो चरित्रहरूको एउटा शृंखला । सबैभन्दा पहिला देखापर्‍यो गुरुजी, जसले यो कथाको आरम्भमै अर्की महिलासित लागेको आरोपमा आफ्नी श्रीमतीबाट कुटाइ खाएको थियो । त्यसपछि आइन् तिनै श्रीमती, जसलाई केही दिनपछि गुरुजी आफैँले ब्वायफ्रेन्डसित रेस्टुराँमा भेटेको थियो र त्यहीँ भकुरेको थियो उसले आफ् नी श्रीमती र उसको असई ब्वायफ्रेन्डलाई । त्यो असई फेरि यो कथामा मेरो साथीको भतिज भएर प्रकट भयो र मलाई काका भनेर नमस्कार गर्‍यो । कथामा त्यसपछि दृश्यवान भएर आयो असईको काका अर्थात् मेरो साथी, जो काठ र जडीबुटीको तस्करी गरेर गरिबबाट धनी भएको थियो ।

दृश्यहरू रोकिए । दृश्यसँगै जीवन–जगत्को एउटा सत्य पनि मेरो अगाडि स्थिर भएर रोकियो, जसमा स्पष्ट भएर आएको थियो समाजको बदलिँदो स्वरूप र धरापमा पर्दै गएको सम्बन्धहरूको एउटा 

मसिनो कथा । 

प्रकाशित: मंसिर ८, २०७३