आवरण कथा» जितको मनोबल

  • एक वर्षमा नेपाली फुटबल टिमको उत्साहजनक सफलता

- ज्ञानेन्द्र आचार्य

एएफसी सोलिडारिटी कप नेपालले यसै वर्ष मात्रै जितेको तेस्रो उपाधि हो । एसियाली फुटबल महासंघ (एएफसी) अन्तर्गत नेपालले जितेको यो पहिलो प्रतियोगिता पनि हो । आफ्नै स्तरका मात्रै सात टिम सहभागी भएपछि नेपालको लक्ष्य स्वाभाविक रूपमै उपाधि जित्नु थियो । र, त्यसमा जापानी नागरिक कोजी ग्योतोकुको प्रशिक्षणमा रहेको टिम सफल भयो । 

एउटै समूहमा रहेका बंगलादेश र पाकिस्तानले प्रतियोगिताबाट हात झिकेपछि नेपालका लागि यो काम झनै सहज भयो । किनभने, समूहमा टिमोर लिस्टे र ब्रुनाई मात्र बाँकी थिए । जो तुलनात्मक रूपमा नेपालभन्दा पनि कमजोर मानिन्छन् । 

सन् २०११ मा विश्वकप र एसिया कपको छनोटको पहिलो चरणमा नेपालले टिमोर लिस्टेलाई हराएको थियो । पहिलो चरणको दोस्रो लेगमा नेपालले ५–० को जित निकालेको थियो । त्यसैले पनि टिमोरविरुद्ध नेपाल हाबी रहने अनुमान थियो । तर, खेलमा वर्षा बाधक बन्यो । लगातारको वर्षाले मैदान पूरै भिजेको थियो । भिजेको मैदानमा खेल्न माहिर भए पनि नेपाल सोलिडारिटी कपमा पहिलो खेलमै गोलरहित बराबरीमा रोकियो । समूहकै अर्को खेलमा ब्रुनाईले टिमोर लिस्टेलाई ४–० ले हरायो । त्यसैले सेमिफाइनल पुग्न नेपाललाई ब्रुनाईमाथि जितको विकल्प थिएन, ३–० ले जित्यो पनि । सेमिफाइनलमा लाओसलाई पेनाल्टी सुट आउटमा हरायो ।

फाइनलको प्रतिस्पर्धी मकाउ पनि नेपालका लागि त्यति गाह्रो थिएन । मकाउविरुद्ध त्यसअघिका चार खेलमा नेपालको दुई जित, एक बराबर र अर्को हारको रेकर्ड थियो । फिफा वरीयतामा पनि नेपालभन्दा मकाउ १० स्थान तलको टिम हो । सुजल श्रेष्ठको एक मात्र गोल नै नेपाललाई मकाउविरुद्ध सोलिडारिटी कपको उपाधि जिताउन पर्याप्त भयो । 

बंगबन्धु गोल्डकप र साग फुटबलमा स्वर्ण जित्दाको लय पछ्याउँदै नेपालले सोलिडारिटी कप जितेको हो । तर, यो कुनै ठूलो प्रतियोगिता भने होइन । किनभने, विश्वकप र एसिया कप छनोटबाट बाहिरिएका कमजोर टिमहरूबीचको प्रतिस्पर्धा हो, सोलिडारिटी कप । यो प्रतियोगिता यसअघि भएको पनि थिएन । 

कमजोर र खासै महत्त्वको प्रतियोगिता नभए पनि यसमा पाएको सफलताले नेपाली फुटबल समर्थकमा उत्साह भने थपेको छ । किनभने, सेप्टेम्बर २०१३ देखि डिसेम्बर २०१५, यो २७ महिनाको अवधि नेपाली फुटबल फ्यानहरूले अझै भुलेका छैनन् । यो दसौँ र एघारौँ साफ च्याम्पियनसिपबीचको समय हो । यही २७ महिनामा नेपालले ११ अन्तर्राष्ट्रिय खेल खेल्यो । कुनै खेल जित्न त परै जाओस्, यो अवधिभर राष्ट्रिय फुटबल टिमले एक गोल पनि गर्न सकेन । राम्रो खेल्न नसकेपछि वरीयतामा राम्रो स्थानमा रहने कुरै भएन । परिणामत: फिफा वरीयतामा १७२ बाट १९६ औँ स्थानमा झर्‍यो, जुन नेपालको अहिलेसम्मकै खराब वरीयता हो । मात्रै एक गोलका लागि नेपालले २७ महिना सम्भवत: पहिलोपटक कुरेको हो । 

खेल मैदानमा मात्रै होइन, मैदानबाहिर पनि केही यस्ता घटना भए, जुन नेपाली फुटबलका शुभचिन्तकहरू सम्झन चाहँदैनन् । किनभने, ती घटना निकै पीडादायी थिए । २१ वर्षसम्म अखिल नेपाल फुटबल संघ (एन्फा)मा एकछत्र राज गरेका गणेश थापा भ्रष्टाचारको अभियोग प्रमाणित भएपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)को १० वर्षे निलम्बनमा परे । 

उनी एन्फाबाट बाहिरिएपछि नेपाली फुटबलले अर्को नमिठो झड्का बेहोर्‍यो । राष्ट्रिय टिमका तत्कालीन कप्तान सागर थापासहित अन्य चार जना खेल मिलेमतो प्रकरणमा परे । जब कि, नेपाली फुटबलले खासै उपलब्धि हात नपारे पनि सागरको सार्वजनिक छवि भने ‘सेलिब्रिटी’भन्दा कम थिएन । राष्ट्रिय टिमको लगातारको कमजोर प्रदर्शन र खेलाडीहरूले गोल गर्न नसक्दा निराश बनेका समर्थकलाई 
यस्ता घटनाक्रमले आक्रोशित बनाउनु स्वाभाविक थियो । 

तर, गणेश थापाको बहिर्गमन र खेल मिलेमतोको प्रकरणपछि नेपाली फुटबल फरक बाटोमा हिँड्यो । २०१५ को डिसेम्बरमा साफ च्याम्पियनसिपमा जाँदा नेपाली टिमको ‘मुड’ बेग्लै भइसकेको थियो । युवा र नयाँ खेलाडी अनि प्रशिक्षक पनि नयाँ । बेल्जियमका प्याट्रिक ओसेम्सले युवा खेलाडीलाई मौका दिएर आत्मविश्वासी भएर खेल्न सिकाए । साफ च्याम्पियनसिपमा ओसेम्सको टिमले कुनै चमत्कार त गरेन तर उनकै पालामा नेपालले साढे दुई वर्षदेखिको गोलको खडेरी भने मेट्यो । समूह चरणमा भारतविरुद्ध विमल घर्तीमगरले गोल गरे । भलै नेपालले खेल ४–१ ले गुमायो र समूह चरणबाटै बाहिरियो । सन् २०१३ मा काठमाडौँमा भएको दसौँ साफको समूह चरणमा भारतविरुद्ध जुमानु राईको गोल नै पहिलो गोल थियो, नेपालको । 

डिसेम्बर २०१५ पछि ओसेम्स प्रशिक्षक रहेनन् । तर, त्यसपछि पनि नेपाललाई गोलको खडेरी परेको छैन, लगातार गोल गरिरहेको छ । पछिल्लो ११ महिनामा नेपालले कुल ११ खेल खेलेको छ । र, त्यसमा मात्र तीनपटक गोल गर्न चुकेको छ । यही ११ महिनामा एक औपचारिक प्रतियोगिताका रूपमा एएफसी सोलिडारिटी कपसहित बंगबन्धु गोल्डकप र साग फुटबलमा स्वर्ण जितेको छ । कुनै बेला ११ खेलमा गोल गर्न नसकेको नेपाल अहिले पछिल्ला आठ खेलमा अपराजित छ ।
 
बदलावको कारण
नेपाली टिमको मुख्य कमजोरी भनेको बल ‘पोसेसन’ पर्याप्त नहुनु थियो । प्रशिक्षक ओसेम्स त्यही कमजोरी सुधार्न केन्द्रित भए । त्यसका लागि उनले सर्वप्रथम राष्ट्रिय टिममा युवाको उपस्थिति बढाए । हुन त नेपालको फुटबल टिममा ग्राहम रोबटर््स हुँदादेखि नै युवा खेलाडी बढी थिए । त्यसबेला भरत खवास, रोहित चन्द र रविन श्रेष्ठ राष्ट्रिय टिमका स्थायी सदस्यजस्तै बने । ग्राहम रोबर्ट्सदेखि प्याट्रिक ओसेम्सको बेलासम्म टिममा अन्य युवा खेलाडीले पनि मौका पाए, जसले उमेर समूहका प्रतियोगितामा राम्रो सम्भावना देखाएका थिए । अहिले नेपाली टिम राम्रो बन्नुमा कुनै विदेशी प्रशिक्षकलाई श्रेय जान्छ भने ती प्रशिक्षक ओसेम्स र ग्राहम रोबट्स नै हुन् । रोबट्सपछि नेपालको टिम ज्याक स्टेफानोस्कीले सम्हालेका थिए । र, त्यही बेला नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनल पनि पुगेको थियो । तर, उनी रणनीतिक हिसाबमा कमजोर प्रशिक्षक मानिन्थे । उनका पालामा नेपाली खेलाडीका प्रहारले बिरलै मात्र विपक्षीको गोलपोष्टका जाली चुम्न सके ।

यसबीच स्वदेशी प्रशिक्षकद्वय बालगोपाल महर्जन र राजुकाजी शाक्यको योगदान पनि उल्लेख्य रह्यो । हाल राष्ट्रिय टोलीमा रहेका अधिकांश खेलाडीलाई उमेर समूहको स्पर्धामा यी दुईले नै प्रशिक्षण दिएका थिए । विमल घर्तीमगर, अन्जन विष्ट र अनन्त तामाङ त बालगोपालका चेलाकै रूपमा चिनिन्छन् । बालगोपालले उनीहरूलाई एन्फा एकेडेमीमा हुँदादेखि हेरिरहेका थिए । यू–१६ साफमा नेपाल फाइनल पुग्दा र यू–१९ साफ जित्दा बालगोपाल नै उनीहरूका प्रशिक्षक थिए । हेमन गुरुङ र आदित्य चौधरी पनि विमलभन्दा अघिल्लो ब्याचका एन्फा एकेडेमीका उत्पादन हुन् । यू–१६ मा हुँदादेखि नै उनीहरू ग्राहम रोबट्स आँखामा परिसकेका थिए । 

काठमाडौँ ओर्लेदेखि नै ग्राहम रोबर्ट्सको ध्यान नेपाली टिममा आक्रामकता बढाउनमा थियो । त्यसै अनुरूप उनले प्रशिक्षणको पहिलो दिनदेखि खेलाडीहरूलाई आक्रामक भएर खेल्न सिकाए । र, प्याट्रिक ओसेम्सले बल आफ्नो नियन्त्रणमा राख्दै आत्मविश्वासी भएर खेल्ने मानसिकता खेलाडीमा जगाए । बालगोपाल र राजुकाजी शाक्यले पनि त्यही ‘सूत्र’लाई अनुसरण गरे । र, अहिले पनि नेपाली टिमले त्यही कौशललाई पछ्याइरहेको छ । फरक यति मात्रै हो कि पहिलाभन्दा अहिले नेपाली खेलाडीका प्रहार विपक्षीका गोलपोस्टमा छिर्न सफल भइरहेका छन् । यही वर्ष मात्रै नेपालले खेलेको आठ औपचारिक खेलमा १२ गोल गरेको छ ।

रणनीतिक हिसाबले पनि नेपाली टिम विपक्षीभन्दा एक कदम अगाडि देखिएको छ । पहिला विपक्षी जोसुकै भए पनि प्रशिक्षकले गोल कसरी गर्ने भनेर सोच्नमै धेरै समय लगाउनुपथ्र्यो । गोल हुन नसक्दा टिमका पूरै खेलाडी दबाबमा हुन्थे । एउटा गल्तीबाट सुरुमै गोल खाए टिमको सन्तुलन पूरै बिग्रिन्थ्यो । गोल नखाँदा पनि पर्याप्त मौका सिर्जना नहुँदा र पाएका मौकामा स्ट्राइकरहरू चुक्दा टिमका अन्य खेलाडी पनि दबाबमा पर्थे । लगातार गोल गर्न नसकेको ती ११ खेलमा नेपालको अकोर् कमजोरी यही नै थियो । 

कुशल खेलाडीको कमी नेपाललाई कहिल्यै पनि भएन । जति पनि विदेशी प्रशिक्षक आए, सबैले नेपाली खेलाडीको क्षमताको प्रशंसा गरेका छन् । यसमा अहिलेका जापानी प्रशिक्षक कोजी ग्योतोकु पनि पछि परेका छैनन् । आठ महिनाअगाडि नेपाली टिम सम्हाल्न आउँदा उनले यही भनेका थिए । खेलाडी जति नै राम्रा भए पनि नेपाली टिममा नभएको कुरा थियो आत्मविश्वास, जुन लामो समय गोल गर्न नसक्दा गुमेको थियो । तर, जब गोल हुन थाल्यो, त्यसपछि खेलाडीहरू पनि खुलेर खेल्न थाले । अहिले नेपालको यस्तो भएको छ कि कुनै खेलमा पहिला गोल खाए पनि टिम सन्तुलन र खेलको लय गुमाउँदैन । धेरैपछि नेपालले कमब्याक गर्न सिकेको छ । सोलिडारिटी कपमा लाओस र साग फाइनलमा भारतविरुद्धको खेल नेपालले कमब्याक गरेको पछिल्ला उत्कृष्ट उदाहरण हुन् ।

धेरै मौका सिर्जना गर्न प्रशिक्षक ग्योतोकुले एउटा फरक रणनीति पनि अवलम्बन गरे । मौका सिर्जना हुने सम्भावित ठाउँमा टिमका क्रियटिभ खेलाडी राख्ने, जस्तै : विमल । उमेर समूहदेखि नै विमललाई कुशल स्ट्राइकर रूपमा हेरियो । उनी सधैँ टिमको अघिल्लो पंक्ति अर्थात् फरवार्ड लाइनमै रहे । तर, प्रशिक्षक ग्योतोकुले उनलाई कहिले आक्रामक मिडफिल्ड त कहिले विङ्सबाट खेलाए । नेपालले अहिले विङ्सबाटै धेरै मौका सिर्जना गरिरहेको छ । सोलिडारिटी कपमा ब्रुनाईविरुद्ध बाहेक अन्य सबै खेलमा गरेको गोलको मौका विङ्सबाट आएका राम्रा क्रसबाटै आएका थिए । विङ्गरका रूपमा भरत खवासको भूमिका पनि यसपटक निकै प्रभावकारी रह्यो । सेमिफाइनल र फाइनलमा उनकै क्रसबाट गोल सम्भव भएको थियो । विङ्गरमा हुनुपर्ने ‘पेस’ र ‘स्टामिना’ भरतमा छ । 

नेपालले पहिलोपटक आयोजना भएको एएफसी सोलिडारिटी कप त जित्यो । तर, प्रशिक्षक कोजी ग्योतोकु नेपालको खेल्ने शैलीबाट अझै सन्तुष्ट छैनन् । फाइनल जितेपछिको उनको पहिलो प्रतिक्रिया नै यही थियो । मौकाहरू पर्याप्त मात्रामा सिर्जना भएको जस्तो उनलाई लागेको छैन । कमजोर र आफ्नै स्तरका टिमसँग खेल्दा यतिले नै पुग्यो । आफूभन्दा माथिल्लो स्तरको टिमसँग खेल्दा यो कमजोरीले सताउन सक्नेमा उनी सजग छन् । त्यसैले उनले नियमित प्रशिक्षण र धेरैभन्दा धेरै खेल खेल्नुपर्ने आवश्यकता औँल्याएका छन् । 

अहिलेको सफलतालाई एन्फाको नेतृत्व परिवर्तनसँग पनि जोडेर हेर्न सकिन्छ । गणेश थापा अध्यक्ष हुँदा टिममा खेलाडी छनोटदेखि लिएर कहिलेकाहीँ त कसलाई खेलाउने र कसलाई नखेलाउने भन्नेसम्मको निर्णय आफैँ गर्थे । जुन प्रशिक्षकले उनको कुरा मान्यो, उही टिक्थ्यो । यसको उदाहरण पनि ग्राहम रोबर्ट्स र प्याट्रिक ओसेम्स नै हुन् । एएफसी च्यालेन्ज कपमा गणेश थापाको नांगो हस्तक्षेप सहन नसकेर नै रोबर्ट्सले राजीनामा दिएका थिए । ओसेम्सले पनि यसै कारण साफ च्याम्पियनसिपपछि नेपाल छाडे । गणेश थापा हुँदासम्म एन्फा एकेडेमीबाहेकका राम्रा खेलाडीलाई राष्ट्रिय टिममा स्थान बनाउन गाह्रो थियो । एकेडेमीमा खेलाडी छान्दा पनि उनकै हैकम चल्थ्यो । 

फिफाले गशेण थापालाई १० वर्षको प्रतिबन्ध लगाएपछि अहिले राष्ट्रिय टिम स्वतन्त्र छ । प्रशिक्षकले पनि पूरै आफ्नो रणनीति अनुसार खेलाडीलाई प्रयोग गर्न पाएका छन् । नवयुग श्रेष्ठको उदय पनि एन्फामा नेतृत्व परिवर्तनपछि भएको हो । घरेलु प्रतियोगितामा नेपाल आर्मीका लागि उनी सधैँ राम्रै खेल्थे । सागमा बल्ल उनले राष्ट्रिय टिममा मौका पाए । त्यो पनि सब्स्टिच्युट खेलाडीका रूपमा । बंगबन्धु गोल्डकपमा मुख्य स्ट्राइकरको भूमिका पाएपछि उनले कमाल देखाउन थालिहाले । बंगबन्धु गोल्डकप र साग दुवैमा उनी सबैभन्दा बढी गोल गर्ने खेलाडी बने । उनले एकपछि अर्को खेलमा गोल गर्न थालेपछि टिमका अन्य स्ट्राइकरमाथिको दबाब पनि कम भएको छ ।

थापा बहिर्गमनपछिको तरंग
सन् १९९५ मा नेपाली फुटबलको आधिकारिक संस्था एन्फाको अध्यक्ष निर्वाचित भएपछि गणेश थापाले घोषणा गरेका थिए– अबको १० वर्षमा नेपाली फुटबलको कायापलट हुन्छ । नेपाली फुटबलले एसियामा छाप छोड्ने छ । 

उनले करिब २१ वर्ष एन्फामा एकलौटी शासन जमाउने क्रममा नेपाली फुटबलले एसियामा छाप जमाउनु त टाढाको कुरा, भ्रष्टाचार र ‘म्याच फिक्सिङ’का कारण नेपाली फुटबल तहसनहस बन्न पुग्यो । यतिबेला भ्रष्टाचारको मुद्दामा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले उनलाई फुटबलको कुनै गतिविधिमा समावेश हुन नपाउने गरी १० वर्षका लागि प्रतिबन्ध लगाएको छ । उनकै कार्यकालमा ‘ म्याच फिक्सिङ’का कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको बदनामी भयो । फिक्सिङमा नेपालका पूर्वकप्तान सागर थापा लगायत पाँच खेलाडी आजीवन प्रतिबन्धित छन् । 

यस्तो अवस्थामा नेपालले यस वर्ष लगातार फुटबलका तीनवटा उपाधि जितेर थापाको कार्यकालमा नेपाली फुटबल गलत व्यक्तिको हातमा भएको प्रमाणित भएको छ । आफ्नो कार्यकालमा उनी संघको अध्यक्ष मात्र होइन, छनोटकर्ता र प्रशिक्षक पनि बन्न खोजेको ‘ ओपन–सेक्रेट’ नै छ । 

यसैको सेरोफेरोमा नेपालले जितेको एएफसी सोलिडारिटी कपलाई आमफुटबल विश्लेषकले ठूलो उपलब्धिका रूपमा लिएका छन् । नेपालमा अहिले न राम्रोसँग खेल्ने मैदान छ, न ठूला प्रतियोगिताको आयोजना नै । यस्तो अवस्थामा सोलिडारिटी कपको हालको उपलब्धि मात्र होइन, बंगबन्धु कप र १२औँ दक्षिण एसियाली खेलकुदको जित आफैँमा तारिफयोग्य कुरा हो । यस विषयमा सागमा नेपालका प्रशिक्षक रहेका राजुकाजी शाक्य पनि सहमत छन् । भन्छन्, “लामो समयसम्म नेपालले कुनै उपाधि जितेन । खेल्नका लागि राम्रो मैदान पनि छैन । भएको एउटा रंगशाला पनि खेल्नयोग्य छैन । यस्तो अवस्थामा जुनसुकै प्रतियोगिता जिते पनि त्यो ठूलै कुरो हो ।”

नेपालले यही वर्ष बंगलादेशको राजधानी ढाकामा आयोजना भएको बंगबन्धु कप जितेको थियो । लगत्तै नेपाली यू–२३ टोलीले भारतको आसाम र सिलोङमा आयोजना भएको १२औँ दक्षिण एसियाली खेलकुदको उपाधि जित्यो । अहिले ६३ वर्षपछि एसियाली फुटबलको आधिकारिक प्रतियोगिता पहिलोपल्ट जितेर नेपाली फुटबलले इतिहास रचेको छ । 

विगतमा राष्ट्रिय टोलीको छनोट हुँदा त्यसमा थापाको प्रत्यक्ष हस्तक्षेप हुने गरेको सबैलाई थाहा भएको विषय हो । यसै कारण नाम चलेका थुप्रै खेलाडीले सन्न्यासको घोषणा नै नगरी बीचैमा फुटबल परित्याग गरेका थिए । अझ, अभ्यास खेलका नाममा ‘म्याच फिक्सिङ’ हुने गरेको कुरा एसियाली फुटबल महासंघ (एएफसी)ले नै पुष्टि गरिसकेको छ । थापाको कार्यकालमा ‘म्याच फिक्सिङ’ भएको जानकारी एएफसीले उनलाई दिएको थियो । तर, खेलाडीलाई कारबाही गर्नुको साटो उल्टो टिमको नेतृत्व गरेर पठाएपछि एएफसीका पदाधिकारीले उनीसँग वार्ता नगरी महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी अधिकारीसँग भेटेर गएको थियो । 

विगतमा नेपाली फुटबल असफल हुनुको कारण यति मात्र थिएन । नेपाली फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक लिग कहिल्यै व्यवस्थित भएन । कहिले लिगमा १२ टिम समावेश हुन्थे, कहिले १६ । काठमाडौँमा क्लबहरूले अधिकार मागेको खण्डमा निलम्बित अध्यक्ष थापा राष्ट्रिय लिग भनेर जिल्ला समेटेर फुटबल खेलाइदिन्थे । जिल्लाले अधिकार मागेको खण्डमा क्लबहरूलाई च्यापेर लिग गराउँथे । 
यति मात्र होइन, आफूलाई सहयोग गर्ने क्लबलाई ‘म्याच फिक्सिङ’ गर्नेसमेतको सुविधा थियो । राम्रा खेलाडीहरू पैसा नपाए पनि राष्ट्रिय टोलीमा नपर्ने डरले उधारोमै थापा ‘क्याम्प’को क्लबबाट फुटबल खेल्नुपर्ने बाध्यता थियो । 

थापाको बहिर्गमनपछि नेपाली प्रशिक्षकले स्वतन्त्र महसुस गरेका छन् । राम्रा खेलाडीमा पनि एउटा मनोविज्ञानले काम गरेको छ, राम्रो खेल्यो भने टिममा पर्न सकिन्छ भन्ने । थापाको हस्तक्षेपका कारण पहिले विदेशी प्रशिक्षकलाई एक वर्ष टिक्न धौ–धौ पथ्र्यो । अहिले जापानी प्रशिक्षक कोजी ग्योतोकु आफ्नो प्रयोग राष्ट्रिय टिममा निर्धक्क गर्न पाइरहेका छन् । त्यसैले उनी आफू नेपाली टिमसँग अनुबन्धित भएको एक वर्षमा दुईवटा मात्र मैत्रीपूर्ण खेल हुँदासमेत धैर्यताका साथ टिकिरहेका छन् । एएफसी सोलिडारिटी कपमा नेपाली टोलीको सफलता धेरै हदसम्म उनको धैर्यताको प्रतिफल पनि हो । 
पछिल्लो समय नेपालले जितेका तीनवटा उपाधिका कारण यतिबेला एन्फाको नयाँ नेतृत्व दंग छ । तर, यो उपलब्धि नयाँ नेतृत्वका लागि चुनौती पनि हो । 

नेपालमा अहिले एउटा पनि अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदान छैन । काठमाडौँमा भएको एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला गत वर्षको भूकम्पका कारण बन्द अवस्थामा छ । लिग फुटबल अझै व्यवस्थित हुन सकिरहेको छैन । निलम्बित अध्यक्ष गणेश थापाले फुटबलका नाममा विदेशबाट आउने करोडौँ रकमको हिसाब दिन सकेका छैनन् । थापाको भ्रष्टाचार मुद्दाका कारण फिफाले फुटबल विकासका लागि नेपालले पाउने ५४ करोड रुपियाँ अझैसम्म निकासा गरेको छैन । फेरि निर्वाचनका कारण क्लब र जिल्ला फुटबल संघ बाँडिएको अवस्थामा छ । वास्तवमा नेपाली फुटबलको भविष्य यिनै मुद्दामा रुमलिने पक्का छ । 

अब नेपालका अगाडि सन् ’८०–९० को दशकमा दक्षिण एसियाली फुटबलमा रहेको ‘ बाघ’को छाप फर्काउनु नै मुख्य उद्देश्य र लक्ष्य हुनेछ । यसका लागि एन्फाले अहिलेदेखि नै गृहकार्य गर्नु जरुरी छ । राजु शाक्यकै भनाइ अनुसार घरेलु लिग लगातार भइरहनुपर्छ । किनभने, लिगबाटै प्रतिभावान खेलाडीहरू निस्कछन् । 

भारतले १५ वर्षपछि एसियाको उत्कृष्ट टिम बन्नका लागि बलियो संरचनाका रूपमा इन्डियन सुपर लिग सुरु गरिसकेको छ । सन् २०१३ देखि सुरु भएको लिगका लागि रिलायन्स इन्डस्ट्रीले भारतीय फुटबल संघसँग १५ वर्षका लागि सात सय करोड रुपियाँको सम्झौता गरेको छ । अझ, लिगलाई देशव्यापी बनाउन स्टार स्पोटर््सले सम्पूर्ण ब्रोडकास्टको जिम्मा लिएको छ । अहिले लिगमा अन्तर्राष्ट्रिय फुटबलका ठूला हस्तीहरू खेल्ने गर्छन् । यस्तै ब्राजिलका जिको जस्ता प्रशिक्षक भारतीय क्लबलाई प्रशिक्षण दिन आएका छन् । 

भारतले प्रिमियर लिगको सुरुआत गरेको तीन वर्षभित्र नै आफ्नो देशको फुटबल स्तरलाई धेरै माथि उठाइसकेको छ । नेपालमा पनि फुटबल ‘क्रेज’ नभएको होइन । नेपाली फुटबललाई नेपालका उद्योग तथा कलकारखानाले माया नगरेका होइनन् । करोडौँ घोटालाका कारण गणेश थापा निलम्बनमा पर्दा पनि नेपाली फुटबलमा लगानी गर्न उनीहरू हिचकिचाएका छैनन् । 

२१ वर्ष फुटबलका नाममा आफ्नो दुनो सोझ्याउने व्यक्ति नेपाली फुटबलबाट बाहिरिसकेको अवस्थामा अहिलेको नेतृत्वका लागि ठूलो अवसर पनि जुरेको छ । अबको १० वर्ष नि:स्वार्थभावले काम गरेको खण्डमा नेपाली फुटबलको कायापलट कसो नहोला ? 

इन्डियन सुपर लिगमा अवसर

स्तर र खेल कौशलका हिसाबमा भारतीय र नेपाली खेलाडीमा खासै फरक छैन । यो भारतको जुनसुकै प्रक्षिक्षकले पनि स्वीकारेको कुरा हो । तर, इन्डियन सुपर लिगमा अहिलेसम्म कुनै नेपाली खेलाडीले मौका पाएका छैनन् । पहिला आई लिगमा नेपालका हरि खड्का, अनिल गुरुङ र रोहित चन्दले अवसर पाउँदा यो कुरा प्रमाणित पनि गरेका छन् । 

आईएसएलमा एक टिममा कुल २५ मध्ये बढीमा ११ विदेशी खेलाडी राख्न मिल्छ । र, अहिले आईएसएलका आठ टिममा ७० भन्दा बढी विदेशी खेलाडी छन् । त्यसमा एउटा पनि नेपाली खेलाडी परेका छैनन् । जुन नेपाली खेलाडीका लागि दुर्भाग्य पनि हो । जब कि, क्रिकेटमा भारतको स्तर नेपालको भन्दा निकै माथि छ । यस्तोमा नेपालका शक्ति गौचनले राजस्थान रोयल्सका लागि ट्रायल दिने मौका पाएका थिए । यहीबाट नै नेपाली फुटबलका जिम्मेवार अधिकारीले सिक्नुपर्ने अर्को कुरा छ ।

राम्रा खेलाडीलाई आईएसएलमा खेल्ने अवसर जुराइदिन पछि पर्नुहुँदैन । विश्वकप जितिसकेका केही खेलाडी अहिले आईएसएलमा छन् । जस्तै : ब्राजिलका रोबर्टो कार्लोस, इटालीका मार्को माटाराजी र अलेसेन्ड्रो डेल पियरो आदि । एक जमानाका अब्बल खेलाडीसँगको हिमचिमले मात्रै पनि नेपाली खेलाडीको मनोबल बढेर प्रदर्शनमा निखार आउने र यसले आखिरमा राष्ट्रिय टिमलाई फाइदा पुग्ने थियो ।

गेम चेन्जर्स

सुजल श्रेष्ठ:: 
सुजलले २०११ मा भुटानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका हुन् । घरेलु फुटबलमा मनाङ मस्र्याङ्दी क्लबबाट विङ्गरका रूपमा खेल्ने सुजलले राष्ट्रिय टिमबाट २०११ मै टिमोर लिस्टेविरुद्ध आफ्नो पहिलो गोल गरेका थिए । त्यसपछि राष्ट्रिय टिममा खासै जम्न सकेनन् । एएफसी सोलिडारिटी कपमा दुई वर्षपछि राष्ट्रिय टिममा फर्केका सुजलले फाइनलमा निर्णायक गोल गरे । उनकै गोलले नेपाललाई पहिलोपटक एएफसीको प्रतियोगितामा च्याम्पियन बनायो । 

विमल घर्तीमगर:: विमललाई नेपाली फुटबलको भविष्य भनेर हेर्ने गरिन्छ । राष्ट्रिय टिमबाट स्ट्राइकरहरूले गोल गर्न नसकिरहेका बेलामा उनले बंगलादेशविरुद्ध दशरथ रंगशालामा डेब्यु गरेका हुन् । त्यतिबेला विमल मात्रै १६ वर्षका थिए । सन् २०१४ को साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध गोल गर्दै राष्ट्रिय टिममा आफ्नो गोलको खाता खोलेका थिए । २०१५ को साफ च्याम्पियनसिपमा पनि उनले भारतविरुद्ध गोल गरेका थिए । भारतविरुद्धको उनको गोलबाट नै नेपालले लगातार ११ खेलमा गोल गर्न नसकेको क्रमलाई भंग गरेको थियो । त्यसपछि बंगबन्धु गोल्डकप, साग र एएफसी सोलिडारिटी कप जित्दा उनको भूमिका निकै महत्त्वपूर्ण रह्यो । एएफसी सोलिडारिटी कपको समूह चरणमा उनले ब्रुनाईविरुद्ध पेनाल्टी र सेमिफाइनलमा लाओसविरुद्ध गोल गरेका थिए । 

नवयुग श्रेष्ठ:: नवयुग एन्फामा गणेश थापाको बहिर्गमनपछि उदाएका स्टार हुन् । सन् २०१५ को साफ च्याम्पियनसिपमा उनले पहिलोपटक राष्ट्रिय टिममा मौका पाएका थिए । त्यसमा उनले खासै प्रभाव पार्न सकेनन् । तर, त्यसपछि नेपालले जितेका तीनै प्रतियोगिता बंगबन्धु गोल्डकप, साग र एएफसी सोलिडारिटी कपमा उनको योगदान अतुलनीय छ । नवयुगले साग र बंगबन्धु गोल्डकपको फाइनलमा गोल गरेका थिए । अहिले उनले लगातार गोल गरिरहेका छन् । सन् २०१६ मा मात्रै उनले नेपालका लागि १२ गोल गरे । बंगबन्धु गोल्डकपमा नेपालले माल्दिभ्स र बंगलादेशबाहेक मलेसिया र बहराइनको उमेर समूहको टिमसँग खेलेको थियो । यी दुई खेललाई फिफाले अन्तर्राष्ट्रिय खेलको मान्यता दिँदैन । र, सागमा यू–२३ टिमले प्रतिस्पर्धा गर्छन् । त्यसैले सोलिडारिटी कपमा ब्रुनाईविरुद्धको गोलसहित नवयुगले राष्ट्रिय टिमबाट अहिलेसम्म चार अन्तर्राष्ट्रिय गोल 
गरेका छन् ।

विराज महर्जन:: सागर थापा प्रतिबन्धमा परेपछि विराज महर्जनले राष्ट्रिय टिमको कप्तानीको जिम्मा पाए । र, त्यसपश्चात् नेपालले जितेका हरेक प्रतियोगितामा विराज नै नेपालको कप्तान थिए । राष्ट्रिय टिममा उनले सन् २००८ देखि मौका पाएका हुन् । डेब्यु खेलबाटै प्रभाव पार्न सफल विराज नेपालको डिफेन्समा निर्विवाद राइट ब्याक हुन् । अहिलेको टिममा उनी सबैभन्दा पाका खेलाडी पनि हुन् । उनले राष्ट्रिय टिमबाट ५० खेल खेलिसकेका छन् । राइट ब्याकबाट ओभरल्यापमा गएर लोभलाग्दो क्रस निकाल्न माहिर विराज डिफेन्समा युवा खेलाडीलाई राम्रो खेल्न हौस्याउने प्रेरणादायी कप्तान पनि हुन् ।

Follow Gyanendra Acharya on Twitter: @AcharyaGyanen

प्रकाशित: मंसिर ५, २०७३