हिमालपारि पाँच दिन

  • थोरै दिनमा पनि घुम्न सकिने, हप्तौँ बिताए पनि हरेक दिन नयाँ–नयाँ रोमाञ्च भेटिने गन्तव्य

- कुमार पौडेल

हिमालपारिका जिल्ला भनेर हाजिरीजवाफमा सानैदेखि पढिएको हो तर हिमालपारिको ठाउँ कस्तो हुन्छ भन्ने मेरो मनले पछिसम्म पनि आत्मसात् गर्न सकेको थिएन । मुस्ताङका लागि पोखराबाट हवाईजहाजमा उडेसँगै मेरो मनमा सानैदेखि गढेका जिज्ञासा एकाएक मेटिन थाले । दुईतिर ठिंग उभिएका धवलागिरि र अन्नपूर्णलाई बीचमा चिरेर बगेको कालीगण्डकीको तीर पछ्याउँदै नापिएको जोमसोमसम्मको हवाई यात्रा नै पहिलो सुखानुभूति भएकाले मेरो मन फुरुंग हुन थालिसकेको थियो । 

हुन त मेरा सहयात्री ज्यास्मिन र राजोलान्ट त्यो रुटको जहाड चढ्न नै डराएका थिए । तर, छोटो समयमै काठमाडौँ फर्कनुपर्ने हुँदा हामीसँग अर्को विकल्प पनि थिएन । जोमसोम एयरपोर्टमा झर्नेबित्तिकै, सबैका आँखा र क्यामरा नीलगिरि हिमालतर्फ सोझिए । हिमाललाई पृष्टभूमिमा राखेर हामीले सेल्फी लिनसमेत छाडेनौँ । जोमसोममा रहेको हिमालयन जाभामा कफी र बिहानको खाना खाएर हिँड्दै कागबेनी जाने निधो गर्‍यौँ । जोमसोमबाट कागबेनीसम्म जिपमा पनि जान सकिन्छ । तपनि, दिउँसोको घाममा हामी कालीगण्डकी बगरमा हिँड्ने विकल्प रोज्यौँ ।

उत्तरतिर लम्किरहँदा दक्षिणतिर हिमाल देखिन्थे । हिमाल भनेकै उत्तरमा हुन्छ भन्ने सोचेर, देखेर हुर्केका मजस्ता धेरैलाई त्यसले कतै दिशा नै त बिराइरहेको छैन भन्ने दोधारमा पार्दो रहेछ । सोचँें, यहाँका केटाकेटी भने मैजसरी दक्षिणतिर हिमाल छ भनेर नै पढ्छन् होला स्कुलमा ।

कालीगण्डकी उपत्यकालाई भूगोलविद्हरू विश्वकै गहिरो गल्छी मान्छन् । त्यो गल्छीको माथिल्लो भागमा रहेका पत्रे चट्टान नियाल्दै हिँड्दा, भौगर्भिक विज्ञानको कक्षामा भएको भान हुँदो रहेछ । हिमालबाट नदीहरू सुरु भएको पढिरहेका मजस्तालाई हिमालपारिबाटै आएको कालीगण्डकी देख्नु पनि अचम्म थियो । 

बगरमा बग्रेल्ती भेटिने फोसिल (सामुद्रिक प्राणीको अवशेष)ले पनि कैयाँैंपटक सोचमग्न बनायो । हिमालपारि र त्यो समुद्रबीच कहिले हजारौँ वर्षअघि कसरी भेट भयो होला, समुद्र यहाँ आयो वा हिमालपारिको भूभाग त्यहाँ थियो होला भन्नेजस्ता प्रश्न यात्राभर मनमा खेलिरहे ।

कागबेनी पुग्नै लाग्दा, त्यहाँ मान्छे उडाउला कि जस्तो चिसो हावा चल्दो रहेछ, अनुहार नै धलाम्य हुने गरी । मेरा अमेरिकी साथी भने त्यसैमा दंग परे र हावामा उफ्रिन थाले । ज्यास्मिन भन्दै थिई, “कुमार ! मैले कसरी फोसिल हिमालपारि आइपुग्यो भन्ने उत्तर थाहा पाएँ ।” मलाई थाहा थियो, यो सजिलो प्रश्न होइन र उत्तर कागबेनीको बगरमा तीन–चार घन्टा हिँड्दा भेटिन्न भन्ने । उसले नजिकै आएर चिच्याई, “ऊ हेर त यी फोसिल यही हावाले उडाएर ल्याएको हुनुपर्छ ।” उसको उरन्ठेउलो जवाफ सुनेर हामी निकै बेर मज्जाले हाँस्यौँ । बाटोभरका रूखलाई कपडाले बाँधेर राखेको पनि देखियो । तीव्र गतिको हावा र त्यससँगै उड्ने बालुवाबाट बचाउन त्यसो गरिँदो रहेछ । बाटाभर जनावरका अवशेष बाटामा छाडिएको पनि देखियो । कालीगण्डकी सभ्यताको एक अंश भनेकै मानव र जनावरबीचको यस्तो अन्तरसम्बन्ध पनि रहेछ । मरेका जनावरलाई त्यत्तिकै जमिनमा गाड्नुभन्दा चराहरूले खान पाऊन भनेर त्यसरी छाड्दा रहेछन् । तिब्बती संस्कृतिको त्यस्तो काम उपल्लो मुस्ताङतिर त मानवकै मृत शरीरसँग पनि गरिँदो रहेछ ।

मरुभूमिजस्ता भूभागमा हिँड्दा पनि शरीरमा चिसो हावा ठोक्किँदा विरक्त लाग्न पाउँदैन ।हरियालीलाई विम्ब मान्दै सुन्दरता बुझ्ने हामीलाई मरुभूमि पनि सुन्दर लाग्न थाल्छ । त्यस्तो ठाउँमा पनि उवा र फापर उब्जन्छ । 

तेस्रो दिन, मुक्तिनाथ पुग्दा दिउँसोको झन्डै २ बजेको थियो । पहाडको टुप्पोबाट निस्केको चिसो पानीको ठूलै मूल रहेछ त्यहाँ । त्यो चिसोमा पनि तीर्थयात्रीहरू नुहाइरहेका थिए । चौथो दिन, बिहान सबेरै नीलगिरि नियाल्दै धुम्बातालतिर हानियौँ । धुम्बाताल जोमसोमबाट नजिकै भए तापनि थौरै मानिस मात्र पुग्ने रहेछन् भन्ने अड्कल काट्न हामीलाई गाह्रो भएन । बाटो पहिल्याउन नै मुस्किल पर्‍यो, बाटामा मानिस पनि भेटिएनन् । करिब दुई घन्टा हिँडेपछि ज्यादै सुन्दर तालले हाम्रो स्वागत गर्‍यो । तालमा केही समय बिताएपछि तालछेउको घरमा भोटे चिया खायौँ । दूधमा नुन र घ्यु हालेर बनाइने त्यस्तो चिया यसअघि हामी कसैले चाखेका थिएनौँ । 

स्याउबारीले बाटोभर मन लोभ्याइरहे । बारीमा पुगेर आफैँले स्याउ टिपेर खाँदाको मज्जा नै बेग्लै । एक किलो स्याउको ८० रुपियाँ पर्ने रहेछ । तर, त्यहाँ त बाख्राले पनि स्याउ खाने रहेछन् । स्याउ सुकाएर बनाएका सुकुटी र झोलाभरि स्याउ बोकेर जोमसोम पुग्यौँ । एप्पलकै बारीमा बसेर एप्पलपाई खानु, एप्पलको फ्रेस जुसमा एप्पल ब्रान्डी मिसाएर खान पाएपछि हामी घुमन्तेलाई अरू के चाहिन्थ्यो ?

पाँचौँ दिन, कालीगण्डकी पछ्याउँदै पोखरा आइपुग्यौँ । पहाडका छेउमा मरुभूमिजस्तो ठाउँ नेपालमा पनि रहेछ भन्ने अचम्म लाग्ने । यो यात्राको विशिष्ठता के भने थोरै दिनमा पनि घुम्न सकिने, हप्तौँ बिताए पनि हरेक दिन नयाँ–नयाँ रोमाञ्च र तथ्य भेटिने । समय भएमा मुक्तिनाथबाट थोराङ पास हुँदै मनाङ निस्किने वा कागबेनीबाट उपल्लो मुस्ताङतिर पनि जान सकिन्थ्यो । सायद, हाम्रो व्यस्तताको अर्थ फेरि मुस्ताङ आउन लेखेजस्तो थियो । र, हामी त्यहीँबाट काठमाडौँ फर्कियौँ । 

प्रकाशित: मंसिर २, २०७३