एकताका सूत्रधार

  • गीतमा कहिले शान्ति र शिक्षाको विगुल त कहिले सामाजिक र जातीय सद्भावको सन्देश

- गोकर्ण गौतम

 

प्रथम पटक प्रकाशित : भाद्र २७ ,२०७२ 

नेपथ्य ब्यान्ड ०६३ को मध्य पुसमासिरहाको लहान पुगेको थियो, ‘शान्तिका लागि शिक्षा’ अभियान लिएर । माओवादी सशस्त्र विद्रोह रोकिए पनि मधेस आन्दोलन चर्किरहेको थियो । मधेसी–पहाडीबीचको सुमधुर सम्बन्ध शत्रुतामा परिणत भइरहेको कठिन परिस्थितिमा कथित पहाडीले भरिएको ब्यान्डले सहर घन्काउन खोज्नु एक खालको दुस्साहस नै थियो । 

लहानको वातावरण यति उराठ र भयावह थियो कि अन्तिम समयसम्म कन्सर्ट हुने/नहुने टुंगो थिएन । यस्तै असहजताको घाउमा संगीतमार्फत मल्हम लगाउन नेपथ्य र यसका गायक अमृत माहिर थिए, सशस्त्र विद्रोहकालमै । जसै कन्सर्ट सुरु भयो, अमृत गीत गाउन हतारिई हालेनन् । बरू गहभरि आँसु पार्दै स्टेजबाट बिन्ती बिसाए, ‘के मधेस, के पहाड, के हिमाल । हामी एउटै देशका नेपाली हौँ । पहाडको जति अधिकार छ, मधेसको पनि त्यति नै छ । त्यसैले हामी नेपाली भएरै बाँच्नुपर्छ ।’ उनका यी मार्मिक शब्दले कन्सर्टको माहौल पूरै भावुक बनायो ।

उनै अमृतले १२ भदौमा विदेशिएका नेपालीमाझ अमेरिकाको म्यानहटनमा भव्य कन्सर्ट गरे । स्वदेशमा जस्तै विदेशमा पनि जात, धर्म, वाद र स्थानविशेषका नाममा नेपाली–नेपाली अलग हुने प्रवृत्ति बढेको छ । त्यसैले त उनले त्यहाँ पनि स्टेजबाट नेपाली हुनुप्रति गर्व गर्न र एक हुन आह्वान गरे । यति मात्र होइन, अमेरिकाको प्रदर्शनलाई ‘म्युजिक फर युनिटी’ (एकताका निम्ति संगीत) नामै दिए ।

लहानदेखि म्यानहटनका बीचमा अमृतले दर्जनौँ कन्सर्ट गरिसकेका छन् । आमगायकको जस्तै उनको कन्सर्टमा संगीतको चुस्की त हुन्छ नै, राष्ट्रप्रेम र सामाजिक सद्भावको भाव पनि कहिल्यै छुट्दैन । कन्सर्टका लागि जहिले जहाँ पुगे पनि राष्ट्रिय एकता जोगाउन उनी हात जोडिरहेका हुन्छन् । गीतसँगै देशप्रेम र सामाजिक सद्भाव जगाउनु उनको कन्सर्टको मौलिकता नै बनिसकेको छ । भन्छन्, “जहाँ–जहाँ पुगेँ, त्यहाँ–त्यहाँ नेपालीहरू विभाजित हुँदै गएको देख्नु परिरहेको छ । त्यसैले संगीतको माध्यमबाट नेपालीलाई एकताको सूत्रमा बाँधिन आग्रह गर्छु ।” विद्रोहकालमा शान्ति र शिक्षाका लागि गाउँदै हिँडेका उनी शान्ति प्रक्रिया सुरु भएसँगै सामाजिक र जातीय सद्भावको भावना जगाउन तल्लीन छन् । 

नौ वर्षअगाडि लहानको हालत जति भयावह थियो, अहिले पूरा तराईको अवस्था त्यति नै विकराल छ । प्रदेश सीमांकनको विवादले त्यहाँ अशान्ति फैलिएको छ । जाति र समुदायको विवाद त छँदै थियो, त्यसमा धर्म पनि मिसिएको छ । अर्थात् नेपाली समाजको लोभलाग्दो सामाजिक सद्भाव र सहिष्णुता खलबलिएको छ । 

यस्तो बेला अमनचैन कायम राखी सबैलाई एकताको मालामा उन्न कलाकारको भूमिका ठूलो हुन्छ । विडम्बना ! हामीकहाँ यतिविघ्न सामाजिक चेत र उत्तरदायित्व महसुस भएका कलाकारको खडेरी छ । अमृत भने यसमा अपवाद बनेका छन् । र, कन्सर्टलाई गीत गाउने थलो मात्र होइन, सन्देश प्रवाह गर्ने प्रभावकारी प्लेटफर्मसमेत बनाइरहेका छन् उनी । सायद यही गुणले उनलाई आमगायकभन्दा अलग र अग्लो बनाएको छ, सामाजिक एकताका सूत्रधारका रूपमा । 

गीतले दर्शक/श्रोतालाई रिझाउन नसकेको भए अमृतको शान्ति, शिक्षा र सद्भावको अभियान फितलो रहन्थ्यो । उनको स्वर कोइलीको जस्तो सुमधुर त छैन तर भावना र आत्मादेखि नै उनी लय हाल्छन्, जसले २३ वर्षदेखि संगीतमा सक्रिय रहन उनलाई ऊर्जा दिइरहेको छ । नेपाली लोक–रकका क्षेत्रमा यति लामो समयदेखि साधनारत सर्जक सायदै अरू कोही होला । तर, उनले भोगेका पीडा र संघर्षका सामु भने यो सफलता फिक्का लाग्छ ।

किनभने धेरैलाई थाहा नहुन सक्छ, जसरी एउटा गायकका रूपमा अमृतले कमाएको प्रसिद्धि लोभलाग्दो र उदाहरणीय छ, त्यसभन्दा कैयौँ गुणा अनुशरणयोग्य छ, उनको शालीन जीवनशैली । एउटा लोकप्रिय र महँगो गायक भईकन उनी औसत नेपालीको जीवन जिइरहेका छन् । बाहिरबाट स्टार अमृत मात्र देखिन्छन् तर उनी आफैँ भने कृषक/गाउँले अमृतका रूपमा अझ सन्तुष्ट जीवन बाँचिरहेछन् । देशप्रेम र सामाजिक अभियन्ताका रूपमा उनको भूमिका प्रखर पनि छ । तिनै अमृतका तीन रूप :

गायक अमृत

‘पोखरा बाटुलेचौरमा नपढेका गाइने छन्, मेरो छोरा पढेको गाइने भयो,’ अमृतका भनाइमा, उनका बाबु हितकाजी गुरुङ आफ्ना इष्टमित्र र छरछिमेकीसँग सधैँ यस्तै भन्थे । पीडा र व्यंग्यमिश्रित यही वाक्यांश नै उनी अमृतको गायनविरुद्धमा कति आक्रोशित र असन्तुष्ट थिए भन्ने अनुमान लगाउन काफी छ । हुन पनि संगीत नै बाबु र छोराबीचको तगारो बन्यो, आजीवन । “मैले गीत गाएको, बाँसुरी र मादल बजाएको, पेन्टिङ गरेको बुबाले कहिल्यै देखिसहनु भएन,” अमृत भावुक सुनिए, “तर, उहाँ आफैँ भने मज्जाले गीत गाउनुहुन्थ्यो ।” 

खासमा बाबु र छोराको स्वभाव नै विपरीत । बाबु अगाडिबाट आइरहेको देख्दा अमृत कि अर्को बाटो लाग्थे, कि फर्कन्थे । घरदेखि बाटोघाटो कतै पनि सकेसम्म बाबुको सामुन्ने नपर्ने । उनी लाहुर जाने संस्कार भएको समाजमा हुर्किए, जातले पनि लाहुर जान सहज हुन्थ्यो । तर, न बाबुले लाहुर जान कर गरे, न अमृतमै इच्छा पलायो । हितकाजी चाहन्थे, छोरा नेपाली सेनामा भर्ती होस् । बाबुको यो दबाब उनले किशोरवयदेखि नै झेल्नुपर्‍यो । तर, उनमा बच्चैदेखि कलाको रस पसिसकेको थियो, सैनिक बनेको कल्पना गर्दा पनि आँत सुक्थ्यो ।

“सानैबाट एकान्त र प्रकृतिप्रेमी थिएँ । डाँडाको टुप्पोमा बस्नुपर्ने, हिमाल हेर्नुपर्ने, बाजा बजाउनुपर्ने र चित्र कोर्नुपर्ने हुन्थ्यो मलाई,” अमृत सम्झन्छन्, “कलाप्रति यति गाढा मोह कसरी पलायो, म आफैँले भेउ पाउन सकेको छैन ।” 

अनायासै पलाएका यी चाह बुबासँग लुकेर/छिपेर पूरा गर्नुपथ्र्यो, अमृतले । मन भए पनि स्टेजमा उक्लिएर गाउने आँट बुबाकै डरले आउँदैनथ्यो । कहीँ गाएको वा बजाएको देख्यो भने बाबुले सातो खान्थे । त्यसैले एक्लै गाएर मनको तिर्सना मेट्नुको विकल्प हुन्थेन उनीसँग । यो क्रम चलिरह्यो, ०४१ सालमा एसएलसी नगरुन्जेल । 

यसपछि भने बाबुको पञ्जाबाट फुत्कने मौका पाए । उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ छिरे । तर, यहाँ आएपछि पनि उनले सोचेजस्तो सहज कहाँ हुन्थ्यो र ! आखिर खर्चपानी जुटाइदिने त बाबुले नै हो । त्यसैले ललितकला पढ्ने आफ्नो ईच्छा मार्न बाध्य भए, रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा भर्ना गरिदिए बाबुले । कला भनेपछि मरिहत्ते गर्ने अमृत गणित विषयमा जाक्किए । साँच्चै कति पीडादायी थियो होला त्यो पल ?

बाबु काठमाडौँमा नबस्ने भएकाले केही स्वतन्त्रता उपभोग गर्न भने पाए, त्यो भनेको उनी आरआरका विद्यार्थी थिए तर धेरैजसो समय ललितकलामा बित्थ्यो । साथीहरू पनि ललितकलामा पढ्ने मात्र थिए । त्यहीताका साथीहरूसँग मिलेर काठमाडौँका धेरै गल्लीमा पेन्टिङ गरेको सुनाउँछन् उनी । यता उनी पेन्टिङमा मस्त थिए, उता बाबु छोराले जागिर खाएन भन्ने चिन्तामा । 

त्यसमाथि काठमाडौँमा अमृतको आनाबानी थाहा पाएपछि बाबु आगो भएछन् । उसै त अन्तरमुखी स्वभाव, त्यसमाथि बाबुको गाली अनि त उनलाई पनि के चाहियो र ! तीन वर्ष घरै गएनन्, घरबाट खर्च पनि लिएनन् । बालबालिकालाई पेन्टिङ सिकाएर दैनिकी चलाए । सायद यही पीडा भुल्न उनी संगीतप्रति हेलिँदै गए । दीपक राना (हाल पाइलट)को संगत उनको जीवनमा बहार बनेर आयो । त्यसपछि नै भएको हो, नेपथ्यको जन्म ।

अमृत, दीपक र भीम पुन (हाल हङकङ) मिलेर ब्यान्ड खोले, ०४८ तिर । अमृत लोकगीत सुनेर हुर्किए, संगत आधुनिक गायकहरूसँग भयो तर गाउनचाहिँ रक गीत गाए । किन त ? भन्छन्, “आधुनिक गीत गाउन सक्दैनथ्यौँ । पश्चिमा शैलीका गीत गाउन त सकिन्थ्यो, मनले मानेन । त्यसैले लोक र रकलाई फ्युजन गरेर गाउने निधो गर्‍यौँ ।”

कस्ता गीत गाउने भनेर स्पष्ट भए पनि दीर्घकालीन सोच राखेर ब्यान्ड खोलिएको थिएन । केही वर्ष रमाइलो गर्ने, त्यसपछि आ–आफ्नो पेसामा लाग्ने योजनामा ब्यान्ड सुरु गरेका रहेछन् उनीहरूले । दीपक र भीमलाई त करिब त्यस्तै भयो । तर, अमृतका लागि भने जीवन नै नेपथ्यमय बनिदियो । बीचमा डेढ दर्जन नयाँ सदस्य आए/गए, अमृत भने सदा ब्यान्डसँगै रहे । 

नेपथ्य र हिमाल चुचुरे गरी दुई एल्बम निकालेपछि भीम हङकङ हानिए, दीपक पाइलट बन्न रसिया उडे । त्यतिबेला उनलाई ब्यान्ड सकियो भन्दा दीपकसँग टाढिनु परेको पीडाले बढी सताएको थियो । किनभने, आजपर्यन्त उनको सबैभन्दा नजिकका साथी भनेका दीपक नै हुन् । ‘अभावै–अभाव भयो तिमीबिना यो जिन्दगी...’ दीपकलाई विमानस्थलमा बिदाइ गरेर फर्किएको रात कम्पोज गरे उनले, त्यो पनि एकै बसाइमा । दीपक र ब्यान्ड दुवै नभएकाले निकै एक्लो महसुस गरे । केही समयपछि दीपक फर्किए र ब्यान्ड पुन:गठन गर्न सुझाए । तेस्रो एल्बम मीनपचास निक्लनुमा पर्दापछाडिबाट दीपकको अथाह योगदान भएको अमृत सुनाउँछन् । 

‘जोमसोमै बजारमा...’, ‘चरी मर्‍यो सिसैको गोलीले...’ जस्ता गीत समाविष्ट यो एल्बम सार्वजनिक भएपछि नेपथ्यको लोकप्रियता अकासियो । कन्सर्ट गर्न भ्याइनभ्याइ हुन थाल्यो । चौथो एल्बम श्रीनगर निक्लेपछि विदेशमा पनि कार्यक्रम गर्ने मौका पाए । तर, ०५७ को जापान भ्रमण भने उनको जीन्दगीकै सबैभन्दा दु:खद क्षणमध्ये एक बन्यो । किनभने, ब्यान्डका केही सदस्य जापानमै लुके । सोही कारण पैसा लिएर मान्छे जापान लगेको आरोप खेप्नुपर्‍यो उनले । “यहाँ राम्रो वातावरण नभएकाले ब्यान्डका केही साथी उतै बस्ने सहमतिमै गएको हो,” अमृत दु:खेसो पोख्छन्, “तर, पैसा खाएर लग्यो भन्ने आरोपले मलाई छिन्नभिन्न तुल्यायो ।” 

हल्ला कतिसम्म भयो भने, पोखरास्थित उनको घरमा जापान जाने मान्छेको भीड लाग्न थाल्यो । अनि, बाबुले गर्नुसम्म गाली गरे । विवाह गरेको दुई वर्ष बितेको थिएन, एकातिर बदनामी, अर्कातिर करिअर नै डामाडोल । परिणामत: उनी डिप्रेसनको सिकार भए । 

संगीतकै कारण बित्थामा आरोप आइलागेपछि उनले संगीत नै छाड्ने निधो गरे र डकुमेन्ट्री (वृत्तचित्र) निर्माणको तालिम लिन थाले । नेपाल वातावरण पत्रकार समूहसँग मिलेर केही वृत्तचित्र पनि बनाए तर मनखुस थिएन, रातभर निद्रा पर्दैनथ्यो । अति भएपछि काठमाडौँ नै छाडे, पोखरामा नियमित बस्न थाले । त्यहाँ पनि मन के थीर हुन्थ्यो र ! यस्तै पीडामा पिल्सिरहेका बेला दीपक फेरि उनको जीवनमा उज्यालो दीयो बनेर आइपुगे । तीलचामले भएका कपाल सुमसुम्याउँदै उनले भने, “त्यतिबेला संगीत नछोड भनेर दीपकले गाली नगरेको भए सायद मेरो जिन्दगीको कथै अर्को हुन्थ्यो ।” 

दीपकले सम्पूर्ण खर्च बेहोर्ने भएपछि काठमाडौँ फर्किए, ब्यान्डमा नयाँ सदस्य भित्र्याए । र, बजारमा आयो, एल्बम रेशम । यसपछि भने सांगीतिक करिअरमा नेपथ्य र अमृतले पछाडि फर्केर हेर्नु परेको छैन । झन् नेपालयसँग जोडिएपछि त नेपथ्य अझ व्यवस्थित हुँदै गयो । नेपालयबाटै नेपथ्यका चार एल्बम बजारमा आइसकेका छन् । दसौँ र नेपालयसँगको पाँचौँ एल्बमका लागि गीत रेकर्डिङ भइसकेको छ, प्राविधिक काम मात्र बाँकी छ । यति सफल गायक भए पनि उनमा घमन्डको एक अंश पनि भेटिँदैन । बरू भन्छन्, “म त कामचलाउ गायक मात्र हुँ । मभन्दा राम्रो गाउने सयौँ गायक थिए र छन् । फरक कति हो भने म उद्देश्यका निम्ति गाउँछु ।”

नेपाली जनमानसमा भएका तर बिर्सिएका गीत गाएर हजारौँ नेपालीको मन जितेको छ नेपथ्यले । अरू ब्यान्डभन्दा नेपथ्यलाई अलग बनाएको चाहिँ उनको रक शैलीले नै हो । ‘जोमसोमै बजारमा...’ ‘छेक्यो छेक्यो देउराली डाँडा...’, ‘चरी मर्‍यो सिसैको गोलीले...’, ‘जोगले हुन्छ भेट...’लगायतका लोक–रक सर्वकालीन लोकप्रिय छन् । गाउँगाउँ पुगेर अमृतले यी भाका संकलन गरेका थिए, कम्पोजिसनका क्रममा त्यसमा रक फ्लेभर दिइयो । शब्द ग्रामीण र शैली पाश्चात्य भएकाले नेपथ्य हरेक उमेर समूहमा दर्शक/श्रोतामाझ प्रिय छ । 

विद्रोह कालमा ‘घटना...’ जस्ता यथार्थपरक र मार्मिक गीत पनि गाए अमृतले । बजारमा आउन लागेको नयाँ एल्बममा पनि नेपथ्यको यही शैलीले निरन्तरता पाएको छ । उनले बच्चामै सुनेको ‘नैनीताल...नैनीताल...’ बोलको गीत पनि आउन लागेको एल्बममा छ, जुन गीत भारतीय गोर्खा रेजिमेन्टमाझ विशेष बज्थ्यो । विशेष खाले सांस्कृतिक माहोलमा अमृतको आवाज नभई नहुने भयो ।

अभियन्ता अमृत

०५८ सालतिर अमृत आफ्ना साथी किरणकृष्ण श्रेष्ठसँग घुम्दै इलाम पुगेका थिए । माइखोलाको किनारमा केही स्कुले विद्यार्थी रोइरहेका देखे । बच्चाको निर्दोष आँखामा आँसु देख्दा अमृतको मन कटक्क खायो ।

भएको के रहेछ भने अघिल्लो दिन माओवादीले ती विद्यार्थी पढ्ने विद्यालयमा आगो लगाइदिएछन् । आगोले विद्यालय भवन मात्र होइन, एसएलसीको फर्म पनि जलेछ । फर्म जलेपछि परीक्षा दिन नपाइने भयो भनेर खोला किनारमा आँसु झारिरहेका थिए कलिला नानीहरू । त्यो आँसुसँगै भोलिको नेपाल अन्धकार देखे अमृतले ।

“विद्यालय भनेको विद्यार्थी र शिक्षकको मात्र हो तर विद्रोही र राज्य दुवै पक्षले विद्यालयलाई नै निसाना बनाइरहेका थिए,” अमृतले सुनाए, “त्यसैले शिक्षा पाउने अधिकारलाई द्वन्द्वका नाममा बिथोलिनु हुँदैन भन्ने आवाज उठाउनु आवश्यक छ जस्तो लाग्यो ।” त्यसकै परिणाम थियो, शान्तिका लागि शिक्षा अभियान । जसको मूल ध्येय स्थानीय विद्यालयसँग सहकार्य गर्दै शान्ति र शिक्षाका लागि गीत गाउने थियो । 

अभियान पोखराबाट सुरु हुने भनियो, २८ फागुन ०५८ मा । त्यसको अघिल्लो दिन ब्यान्ड पोखरा प्रस्थान गर्दै थियो, सोही दिन बाटैमा माओवादीले एम्बुस थापेर सेनालाई मारे । बल्ल–बल्ल पोखरा त पुगे तर ब्यान्डका सदस्यहरू कन्सर्ट गर्न मानेनन्, सबैमा भय पैदा भयो । पहिलो गाँसमै ढुंगाजस्तो †

यस्ता व्यवधान आउँछन् भन्ने पहिल्यै हेक्का थियो अमृतलाई, त्यसैले साथीहरूलाई हात जोडेर बिन्ती गरे । कार्यक्रम त जसोतसो भयो तर सदस्यहरूबीच मनमुटाव पैदा भइसकेको थियो । त्यही यात्रामा बाँकी चार सहरमा गीत गाउनुपर्ने थियो । अमृत सम्झन्छन्, “तर, यात्रा नसकिँदै ब्यान्ड टुक्रेलाजस्तो भयो ।” धन्न यात्रा पनि सकियो, ब्यान्ड पनि टुक्रियो ।

ब्यान्ड छिन्नभिन्न भए पनि कन्सर्टबाट सकारात्मक प्रतिक्रिया आएकाले हौसिएका थिए, अमृत । संकटकालले गर्दा १० जना मान्छे जम्मा हुन डराउँथे तर नेपथ्यको कन्सर्टमा सयौँ मान्छे एकसाथ रमाउँथे । त्यही मौकामा अमृत शान्ति फैलाउन र बालबालिकाको शैक्षिक अधिकार जोगाउन सबैसँग अपिल गर्थे । बीबीसीले उनको सांगीतिक यात्राबारे रिपोर्ट नै बजाएको थियो, ०६२ सालमा । 

अर्को वर्ष नयाँ टिमसँग मिलेर त्यसभन्दा बृहत् सांस्कृतिक अभियान ‘सुन्दर शान्त नेपाल’मा सहभागी भए । विद्रोही र सरकार पक्षबीच शान्तिवार्ता चलिरहेका बेला यो कार्यक्रम देशका विभिन्न ६ सहरमा भव्यताका साथ सम्पन्न भएको थियो । जसमा नेपथ्यसँगै दीप श्रेष्ठ, कुन्ती मोक्तान, सपनाश्री, सुक्मित गुरुङजस्ता चर्चित कलाकार सम्मिलित थिए ।

सुन्दर शान्त नेपाल सफल भएपछि अमृतलाई सांगीतिक यात्राको लत नै लाग्यो । हुन पनि त्यति बेला त्यस्ता कार्यक्रम बिरलै आयोजना हुन्थे । त्यसैले जनताका लागि पीडा भुल्ने बहाना हुन्थे कन्सर्टहरू । सोही कारण शान्तिका लागि शिक्षा र सुन्दर शान्त नेपाल दुवै यात्रालाई बर्सेनि निरन्तरता दिए । त्यसले अमृतप्रतिको आमधारणा सम्मानित बनाउँदै लग्यो भने उनमा देशप्रेमको भावना अझ घनिभूत हुन थाल्यो । किनभने, विद्रोहकालमा घुम्दै–घुम्दै देशका कुना–कुना पुगे र द्वन्द्वले दिएका पीडालाई नजिकबाट अनुभूत गरे । 

द्वन्द्वकालको कुरा गर्दा अमृत अहिले पनि निकै भावुक हुन्छन् । किनभने, मान्छेसँग मान्छे डराउने समय थियो त्यो । सबैमा भय मात्र । बास दिनु त परको कुरा, बात मार्न पनि डराउँथे । अमृत काला दिनहरू सम्झन्छन्, “पहिले वनको बीचमा भेटेको मान्छे साथी हुन्थे, दु:खसुखका कुरा साटासाट हुन्थे तर युद्धकालमा जो देख्दा पनि डर लाग्थ्यो । सबैको मनमा भय थियो ।” 

गाउँ–गाउँ डुल्दा उनी आफैँले पनि विद्रोही र राज्य पक्षबाट अप्रत्यक्ष धम्कीको सामना गर्नुपर्‍यो । रोल्पा जाँदा बीचबाटोमा माओवादीले समाएर दिनभर थुने । बाटोमा हिँड्दा उनीहरूको खप्की सहनु त सामान्य भइसकेको थियो । त्यस्तो डरलाग्दो समयमा पनि उनी कुनाकाप्चा पुगिरहे, कहिले एक्लै त कहिले साथीभाइसँग । भन्छन्, “उसै त अन्तरमुखी स्वभावको थिएँ, गाउँ–गाउँ पुगेर युद्धको पीडा प्रत्यक्ष अनुभूत गरेपछि म थप संवेदनशील भएँ ।” 

द्वन्द्व त रोकियो तर सांस्कृतिक भाइचारा भने गुम्यो । अमृतको अनुभवमा मान्छेले मान्छेलाई विश्वास गर्ने आधार हरायो । हार्दिकतामा वाद हावी भयो । हामी नेपाली भन्नुमा भन्दा कुनै जात, धर्म र क्षेत्रविशेषमा गर्व गर्न थाल्यौँ । कुनाकन्दरादेखि विदेशमा यो रोगले गाँजेको छ । त्यसैले त अमृत जहाँ पुगे पनि नेपाल र नेपालीप्रति गर्व गर्न हारगुहार गरिरहेका हुन्छन् । अक्सर जाति वा समुदाय विशेषले आयोजना गर्ने कार्यक्रममा सहभागी हुँदैनन् । 

अनेकतामा एकता हुँदा कति मज्जा हुन्छ भन्ने अमृत आफ्नै ब्यान्डको उदाहरण दिन्छन् । किनभने, स्टेजमा ६ जना हुन्छन्, जसमा पाँच जातिका छन् । अमृत र लिड गिटारिस्ट निरज गुरुङ हुन्, बेस गिटार सुविन शाक्य, मादल शान्ति रायमाझी, किबोर्ड सुरज थापा अनि ड्रम धु्रव लामा । तर, अमृत कन्सर्टका बेला गराइने परिचयमा आफ्ना सहकर्मीको थर कहिल्यै भन्दैनन्, नाम मात्रै चिनाउँछन् । “हामी यसरी भिन्न जातका नभएको भए यति मीठो सिर्जना हुँदैनथ्यो । यसबाट पनि हामीबीचको एकता कति आवश्यक छ भन्ने बुझ्नुपर्छ,” उनी हरेक कन्सर्टमा नबिराई भनिरहेका हुन्छन् । 

कृषक अमृत

पोखराबाट स्याङ्जा जाँदा १२ किलोमिटर पार गरेपछि मूलपानी भन्ने ठाउँ छ । त्यहाँ खोरिया, खर्क, खरबारी र खेत गरी करिब ७१ रोपनी फाँट छ । त्यसको छेवैवाट सिद्धार्थ राजमार्ग हुइँकिएको छ । यदि तपाईं शुक्रबारदेखि सोमबारसम्म त्यहाँ पुग्नुभयो भने अमृतलाई तरकारी गोडमेल गरिरहेको वा वस्तुभाउको गोबर सोहोरिरहेको देख्न सक्नुहुन्छ । त्यहाँ उनी गोठकै ओतमा पाकेको खाना खान्छन् र त्यहीँ सुत्छन् । 

अमृतको यो किसानी यात्रा सुरु भएको चार वर्ष बित्यो । देशविदेशमा गाउँदै फुर्सद नपाउने यी गायक साताको चार दिन खेतमा पसेर दु:ख बिसाउँछन् । सामान्य अवस्थामा शुक्रबार खेतमा पुग्ने उनी साप्ताहिक खेती किसानी सकेर सोमबारको बेलुकीसम्म काठमाडौँ आइपुग्छन् । 

यसको पृष्ठभूमिमा किसान अमृतको मार्मिक कथा छ । यो त्यही फाँट हो, जहाँ उनकी बज्यै भाइमाया गुरुङले आफ्नो जीवन बिताइन् । अमृत त्यहीँ फलेका अन्न र सागसब्जी खाएर हुर्किए । उनले पढेका किताब, कापी, त्यहीँका अन्न बेचेर किनिएका थिए । तर, त्यही उर्वर फाँट बज्यैको देहावसानपछि उराठ बन्यो । नियमित रेखदेख नहुँदा अन्तपात र फलफूल फल्न छाडे, चराचुरुंगी हराए । सहरको व्यस्ततामा रुमल्लिरहेका अमृतको ध्यान त्यो फाँटमा पुगेन ।

एक दिन आमा चिजकुमारीले उनलाई त्यहाँ लगिन् र फाँटसँग हजुरआमा र उनको सम्बन्ध कति प्रिय थियो भन्ने कहानी सुनाइन् । हजुरआमा र आमाले जीवनका स्वर्णिम समयमा पसिना बगाएको त्यो भूमि उजाडिएको देख्दा अमृतका आँखा रसाए । र, त्यही दिनबाट त्यो फाँटलाई फेरि हराभरा बनाउने प्रण गरे उनले । अनि, सुरु भयो उनको किसानी जीवन । 

यो फाँटमा नियमित रूपमा १० जना बस्छन् । उनीहरूलाई नै सबै जिम्मा सुम्पिएका छन् अमृतले । अहिले उनकै निगरानी र संलग्नतामा आधुनिक तर अग्र्यानिक खेती भइरहेको छ । यहाँका बालीले गाईबस्तुका मल मात्र पाउँछन् अनि गाईबस्तुले चाहिँ सहरिया दाना होइन, त्यही फाँटमा उम्रिएका घाँसपात मात्र खान्छन् । बालीमा कीरा लाग्दा पनि बजारु विषादी छरिँदैन, नीम, तीतेपाती र गहुँत हाल्छन् । 

खेतबारीमा छोटो अवधिमा फल्ने काँक्रो, फर्सी, लौका, भान्टा, सिमीजस्ता नगदेवाली र धानमकै त छँदैछ, त्यसबाहेक रुद्राक्ष, लप्सी, चाँपजस्ता वृक्ष पनि छन् । गोलभेँडाचाहिँ रोप्दैनन् किनभने त्यसको अम्लियपनाले माटो बिगार्छ रे † वृक्ष रोप्दा र हुर्कंदा सबैभन्दा स्वर्णिम आनन्द महसुस हुँदोरहेछ । आफ्नो वृक्षप्रेम पोख्छन् अमृत, “म मरेर गए पनि मैले रोपेका वृक्ष जिउँदो रहनेछन् । अहिले त त्यति रमाइलो र हराभर देखिन्छ भने म मरेपछि झन् कति सुन्दर होलान् ।” 

कास्कीको पुम्दीभुम्दीस्थित कालाबाङ, जहाँ जन्मिए अमृत, त्यसैको फेदमा पर्छ, मूलपानी । त्यसैले यो फाँटप्रति उनको असीमित आशक्ति छ । अबको बढीमा चार वर्षमा अमृतले आफू कालाबाङ फर्कने निर्णय गरिसकेका छन् । “काठमाडौँले खान, बस्न, शिक्षा र प्रसिद्धि सबै दियो तर सन्तुष्टि दिएन,” अमृत भन्छन्, “गाउँमा चाहिँ अत्यन्त सुखानुभूति हुन्छ । त्यसैले जीवनको उत्तराद्र्ध कालबाङमै बिताउँछु ।” 

आठ रोचक तथ्य

  • १३ वर्षयता अमृतलाई ‘सुन्दर शान्त नेपाल’ अंकित टि–सर्टबाहेक अन्य कपडा लगाएको देख्ने सायदै कोही होला । घर, खेत वा कन्सर्ट जता जाँदा होस्, उनी यही सन्देश लेखिएको टि–सर्ट मात्र लगाउँछन् । 
  • गीत रेकर्ड गरेपछि फेरि कहिल्यै सुन्दैनन् किनभने उनी आफ्ना दर्जनौँ कमजोरी भेट्छन् । त्यसैले थकथकी मान्नुभन्दा बरु सुन्दै–सुन्दैनन् । 
  • भैँसेपाटीस्थित विनायक कोलोनीबाट प्रत्येक दिन करिब ८० मिनेट हिँडेरै डिल्लीबजारमा रहेको नेपालय पुग्छन् । फर्कंदाचाहिँ अक्सर टेम्पुमा । 
  • लाइभ ब्यान्डका साथ मात्र गाउँछन् । ट्रयाकमा नगाएको डेढ दशक नाघ्यो तर आफू स्टेजमा गितार वा अन्य बाजा केही बजाउँदैनन्  ।
  • देशका ७३ जिल्ला पुगिसकेका छन् । कालीकोट र मुगु पुग्न बाँकी छ । अधिकांश जिल्ला हिँडेरै घुमेका हुन् ।
  • २३ वर्षे करिअरमा जम्माजम्मी ७८ गीत गाएका छन् । अधिकांश गीतका कम्पोजर उनी आफैँ हुन् । 
  • अमृत कम्युनिस्ट होइनन् तर हरेक कन्सर्टमा ‘गाउँ गाउँबाट उठ...’ गीत छुटाउँदैनन् । उनका भनाइमा यो कम्युनिस्ट होइन, निमुखा र अवसर नपाएका वर्गको गीत हो । 
  • कुन्द दीक्षित सम्पादित चर्चित फोटो पुस्तक लडाइँमा जनताको आवरण फोटो अमृतले खिचेका हुन् ।

प्रकाशित: मंसिर १, २०७३