दरबार स्कुलको आत्मकथा

- पदमसिंह कार्की

बेलायत भ्रमण गरेपछि मुख्तियार जंगबहादुर राणाको मनमस्तिष्कमा मेरो गर्भ बसेछ। २७ असोज १९१० मा थापाथली दरबारको प्रांगणमा मेरो जायजन्म भयो। आफ्ना भाइ, छोरालाई आधुनिक शिक्षा दिने उद्देश्यले खुलेको स्कुलका संस्थापक प्रधानाध्यापक बेलायती नै भए, केनिङनाउ।

प्रारम्भकालमा विद्यार्थीका वैयक्तिक योग्यताका आधारमा अंग्रेजी, गणित, इतिहास र नेपाली विषय पढाइयो। खास गरेर धीरशमशेरका छोराहरूकै बाहुल्य भएकाले मलाई पनि १० कक्षासम्म उनकै जमलस्थित सेतो दरबारमा सारियो। रणोद्दिप सिंहले बरू उदारतापूर्वक राणाका जागिरदारका छोराछोरीलाई पनि पढाउने अनुमति दिए।

३८ वर्षसम्म विभिन्न दरबारका तबेला र पटांगिनी चहारेर वर्षौं बिताएँ। यसै गरी डेरामै जिन्दगी जाने भयो भनेको त १९४८ मा वीरशमशेरले काठमाडौँको मुटु रानीपोखरीको सान्निध्यमा मलाई दरबार स्कुलको नामकरण मात्र गरेनन्, बरू विशाल र भव्य भवन बनाइदिए। ’९० सालको महाभूकम्पले ढाड भाँचिएकी म केही हेरफेर र मर्मतसहित ०७२ को भूकम्पको महाप्रहार पर्खेर बसिरहेँ।

वीरशमशेरले नै मलाई गुठीमार्फत चलाएर आत्मनिर्भर गराएका थिए। तर, जुद्धशमशेरले उक्त व्यवस्था खारेज गरिदिए र सरकारले नै खर्च बेहोर्ने भयो। तर, उनले नै मेरा सन्तान गंगालाल, शुक्रराज शास्त्री, थीरबम मल्ल र चिनियाँ लाललाई सहिद बनाए र सन्तानशोकमा डुबाए। अहिले पनि सहिद दिवस मनाउँदा मेरो मन कोकिन्छ। शिक्षादानजस्तो पवित्रकार्यमा भेदभाव गरेर सीमित घेरामा राखेको पटक्कै चित बुझेको थिएन। देवशमशेरले मेरो इच्छालाई बुझेजस्तै गरेर १९५७ देखि सर्वसाधारणलाई पनि पढ्ने मौका दिए। बल्ल मेरो आङमा घाम लाग्यो। तर, विद्यार्थी संख्या खासै बढ्न सकेन। ००७ सालको प्रजातन्त्रपछि मात्रै पढ्ने लहर आयो।

०१५ सालसम्म गरिब परिवारका विद्यार्थीलाई सित्तैँ खाजा खुवाउने व्यवस्था थियो। ०१६ सालमा प्राइमरी कक्षा झिकियो र कक्षा ६ देखि १० सम्म पढाइ हुन थाल्यो। तत्कालीन प्रधानाध्यापक केदारनाथ च्याटर्जीले कलकत्ताको बंगाल विश्वविद्यालयबाट सम्बन्धन लिन सफल भए। मेरा सन्तानले कलकत्ताबाट प्रवेश परीक्षा दिन पाउने भए। खर्च नेपाल सरकारले नै बेहोथ्र्यो। पहिलोपटकको टोलीमा श्री ३ का छोरा खड्गशमशेर पनि थिए। उनलाई फेल भए पनि भाइसरायले तक्मा लगाइदिए। त्यस्तो थियो, ब्रिटिस राज। त्यही ब्याचका चन्द्रशमशेर, श्रीनिवास गिरी, केदार नरसिंह राणा, बलवानसिंह प्रधान र अष्टमान राजभण्डारी भने पासै भए।

पछि पटना विश्वविद्यालयलाई गुहारेर उसैको केन्द्र खोली काठमाडौँमा मेट्रिकुलेसनको परीक्षा चालू भयो। पहिलो ब्याचमा रामप्रसाद मानन्धर, प्रेमनरसिंह प्रधान, सूर्यप्रसाद उपाध्याय, डिल्लीरमण रेग्मी, शेषराज दली आदि पास भए। अन्तत: १९९० देखि पटनाकै रेखदेखमा नेपाल सरकारले एसएलसी परीक्षा सञ्चालन गर्न थाल्यो। ०१८ सालदेखि मेरा नानीहरूले खाइपाइ आएको खाजाको व्यवस्था खोसियो । गाउँफर्कको बाढीमा मेरो न्वारानको नाम पनि बग्यो। भानु माध्यमिक विद्यालय राखिदिए। तर, जनजिब्रोमा दरबार स्कुल झुन्डिन छाडेन।

पहिले कमसे कम वर्षको एकपटक पुरस्कार बाँड्थे। पुरस्कार भन्दा कवि मोतीराम भट्टले १९४८ मा १०औँ कक्षामा प्रथम भएर पुरस्कार थापेको सम्भँmदा अझै पुलकित हुन्छु। १३ असार १९५८ को पुरस्कार बाँड्न आएका देवशमशेरलाई स्कुलबाहिर निस्कन नपाई भाइहरूले सिकिस्त बिरामी हेर्ने बहानामा नारायणहिटी दरबारभित्र लगेर सुनियोजित रूपमा उनको ओहदा खोसी चन्द्रशमशेरलाई श्री ३ बनाए। १९७७ मा पाँच कक्षामा भर्ना भई ‘दरबार स्कुल’ शीर्षक कविता लेखेर ख्याति कमाएका महाकवि लक्ष्मीप्रसाद देवकोटा ०१३ सालमा शिक्षामन्त्री पनि भए।

०३० सालमा नयाँ शिक्षानीति लागू भएपछि पनि मेरा दिन फिरेनन्। नि:शुल्क शिक्षा हट्यो। अरू गैरसरकारी विद्यालयसरह चलाउनू भनी सूचना जारी भयो। दरबारिया संस्कारमा हुर्की बढेकी बूढीलाई नयाँ किशोरीसँग प्रतिस्पर्धामा दौडाए। यसबीचमा प्रधानाध्यापक सरदार यदुनाथ खनाल, मजमदार मुखर्जी, बटुकृष्ण मैत्री, शारदाप्रसाद मुखर्जी, रुद्रराज पाण्डे, बोधविक्रम अधिकारी, अमरेन्द्रनाथ, तुलसीप्रसाद ढुंगेल, तीर्थप्रसाद प्रधान, चन्द्रदेव ओझा, इन्द्रप्रसाद काफ्ले, पूर्णरत्न शाक्य मेरो बढोत्तरीमा होमिए। १९९० देखि २००४ सम्म बोर्ड फस्र्ट हुने क्रमश: पुष्पभक्त मल्ल, यदुनाथ खनाल, श्यामकृष्ण गौतम, चन्द्रदेव ओझा, तीर्थप्रसाद प्रधान, भरतबहादुर प्रधान, भुवनलाल प्रधान, रेणुलालसिंह, तीर्थबहादुर प्रधान, ज्ञानमणि, विष्णुप्रसाद धिताल, रञ्जनराज शर्मा, उपेन्द्रमान मल्ल, भवानीशंकर राजवंशीमध्ये मन्त्री, सचिव, राजदूत भए।

विसं १९१५ मा जंगबहादुरले दरबार स्कुल खोलेर अंग्रेजी शिक्षा भित्र्याए भने १९३१ मा उनका छोरा जगत्जंगले संस्कृत पाठशाला खोले। १ सय २२ वर्षदेखि मिलेर बसेका यी आदि संस्था नांगो रूपमा भिड्न थालेका छन्। मेरो नामको नौ रोपनी कम्पाउन्ड झगडाको बीउ भएको छ। मेरै अगाडिबाट झन्डा फहराएर शिक्षामन्त्री हरेक दिन मन्त्रालय जान्छन्। अभिवादन त परै जाओस्, छड्के आँखाले पनि हेर्दैनन्।

मेरै विद्यार्थी वीर गणेशमान सिंह शान्तिवाटिकामा मूकदर्शक भएर उभिएका छन्। म उनलाई देख्छु, उनी मलाई देख्दैनन्। हुँदाहुँदा असोज २०७० मा गोरखापत्रले मेरा दुई विद्यार्थीबीच भएको कुटाकुटको समाचार छाप्यो। यसरी नांगेझार पारेर अपमानित हुनुभन्दा किन भुइँचालोमा विसर्जन भइनँ? भूकम्पको अनुकम्पा भनौँ, छुट्टीको दिन परेकाले मेरा सन्तानले ज्यान गुमाउनु परेन। अब त मेरो क्षतविक्षत भग्नावशेष धेरै दिन लोक हँसाएर नराख्लान्। पुन:जन्म हुन्छ भने मेरो नयाँ अवतार बनाइदेऊ । 

प्रकाशित: कार्तिक २६, २०७३