कहाँको जन्म, कहाँको कर्म

  • नेपाली आधुनिक संगीतमा प्रवासबाट उदाएका प्रतिभाको प्रभाव

- नारायण अमृत

जसो गर, जे भन 

जतासुकै लैजाऊ मलाई 

यो मन त मेरो नेपाली हो...। 

पछिल्लो पुस्ताले सर्वाधिक गुनगुनाएको गीत हो यो । लोकप्रिय सांगीतिक समूह १९७४ एडीका लागि गाइएको यस गीतका रचनाकार, संगीतकार र गायक भौगोलिक हिसाबले नेपालको सीमापारिका हुन् । यसमा कालिङ्पोङमा जन्मे–हुर्केका एड्रिएन प्रधानले स्वर र मपन भुसालले लेखन तथा संगीत गरेका छन् ।

नेपाली गीतसंगीतको भकारीमा यस्ता धेरै चर्चित गीत छन्, जसलाई सीमापारिका नेपालीभाषीले बनाए । त्यस्ता गीतसंगीतको प्रभाव नेपालभित्रैको समाजमा गहिरो र स्मरणीय छ । त्यसो त प्रवासी भूमिमा रहेर नेपाली कला, संस्कृति, साहित्य र संगीतमा साधना गर्ने परम्परा धेरै पहिले सुरु भएको हो । 

सांगीतिक इतिहास केलाउने हो भने मास्टर मित्रसेन त्यस्ता व्यक्ति थिए, जसले आजभन्दा एक सय वर्षभन्दा अगाडि नेपाली गीत गाएर अत्यधिक चर्चा बटुलेका थिए । मास्टर मित्रसेन थापा सिंजाली मगर भारतको हिमाचल प्रदेश जिल्ला काँगडा, भाग्सु धर्मशाला तोतारानी गाउँमा जन्मे–हुर्केका थिए । पुर्खाहरू सैनिक सेवामा भएकाले उनी पनि प्रथम गोर्खा राइफल्समा भर्ना भए । प्रथम विश्वयुद्ध लडेर सन् १९२० मा उनले सैनिक जीवनबाट अवकाश लिएपछि मित्रसेन नेपाली गीत संगीतको साधना र नाटक लेखन तथा प्रदर्शनमा उत्रिए । 

“त्यस बेलामा आधुनिक र परिष्कृत संगीतको विकास भइसकेको थिएन, त्यसैले मित्रसेनका गीतहरू सबैको मुखमा झुन्डिने लोकगीतजस्ता छन्,” संगीतकर्मी आभास भन्छन्, “मित्रसेनको योगदान साँच्चै लोभलाग्दो छ ।” 

हुन पनि त्यतिबेलै उनले ग्रामोफोनमा रेकर्ड गराएका गीतहरू आजसम्म पनि त्यत्तिकै लोकप्रिय छन् । झ्याउरे लयका ‘मलाई खुत्रुक्कै पार्‍यो जेठान तिम्रो बहिनीले...’, ‘धानको बाला झुल्यो हजुर देशै रमाइलो...’, ‘लाहुरेको रेलीमाई फेसनै राम्रो...’, ‘अब त जाऊँ कान्छी घर बाटो छ उकाली ओराली...’, ‘नजाऊ छाडी विदेश...’, ‘किन गर्छौ तानातानी दुई दिनको छ जिन्दगी...’ र ‘चुईं चुर्इं चुइँकिने जुत्ता...’जस्ता गीत अजर र अमर बनका छन् । 

मित्रसेनपछि पनि प्रवासबाट हुने सिर्जनाकर्म रोकिएन । सांगीतिक वृत्तमा विसं २०२० को दशकमा दार्जीलिङ, सिक्किम, डुअर्स र आसामजस्ता नेपालीभाषी समाजबाट करिअरको खोजीमा महत्त्वपूर्ण सर्जकहरू नेपाल आए, जसले सिंगो नेपाली संगीतको रूप–रंग नै बदल्न भूमिका खेले । 

खासमा ०२६ सालमा संगीतकर्मी अम्बर गुरुङलाई राजा महेन्द्रले काठमाडौँमै बस्ने व्यवस्था मिलाएपछि उनको सिर्जनशील सक्रियताले नेपाली आधुनिक संगीतमा नयाँ रंग थप्यो । नेपाल आउनुपूर्व नै गुरुङले अगमसिंह गिरीले लेखेको ‘नौ लाख तारा उदाए...’ भन्ने गीत रेकर्ड गरेर दार्जीलिङमा तहल्का मच्चाएका थिए । राजनीतिक गन्ध आएको भन्दै उक्त गीतलाई अल इन्डिया रेडियोले प्रतिबन्धित गरेको थियो । गुरुङलगत्तै गोपाल योञ्जन, भक्तराज आचार्य, दिव्य खालिङ र रञ्जित गजमेरको उपस्थितिले त नेपाली आधुनिक संगीतको जग र जुहिनामा नयाँ आयाम नै थप्यो । विविध रचनागत चरित्र, रुचि र शैलीले गर्दा नेपाली संगीतको रूप नै अलग भयो । 

“अम्बर गुरुङ, त्यतिबेलादेखि नै प्रयोगशील चरित्रका संगीतकर्मी थिए,” संगीतकर्मी आभासका शब्दमा, “अम्बरसँग काव्यचेत उच्च भएकाले राम्रा गीत छान्न सक्ने खुबी पनि थियो ।”

हुन पनि हो, अम्बर गुरुङका साथी–सर्कलमा शंकर लामिछाने र भूपी शेरचनजस्ता साहित्यकार थिए । दार्जीलिङमा हुँदा नै उनले पूर्वीय र पश्चिमा संगीतको पर्याप्त अभ्यास गरेका थिए । कहिले लहर कहिले तरंगका गीतहरू संगीतको संरचना, बहाव र संवेगका हिसाबले सुन्ने मात्र हो भने पत्तो लाग्छ, उनी पश्चिमाहरूको हार्मोनी र पूर्वका मेलोडीलाई कतिसम्म फ्युजन गर्न सक्छन् भन्ने । उनका ‘म अम्बर हुँ...’ र ‘उकाली चढ्दा पसिना पुछ्ने...’ बोलका गीत त प्रयोगशीलताका नमुना नै मानिन्छन् । 

मूर्त नोटका शृंखलामा अमूर्त नोटको अभ्यास गर्न सक्ने यी शिल्पीले संगीत प्रमुख, संगीत–संयोजक र संगीत निर्देशकका रूपमा झन्डै तीन दशकसम्म प्रज्ञा प्रतिष्ठानमा काम गरे । उनले सत्यमोहन जोशीका चार नाटकलगायत माधवप्रसाद घिमिरेको मालती मंगलेमा समेत संगीत दिएका छन्, जसमा लोकलयलाई आधुनिक रूपमा परिष्करण गरिएको छ । त्यति मात्र होइन, उनले चलचित्र मनको बाँध र जीवनरेखामा पृष्ठ र पाश्र्व संगीतको काम पनि गरे । नेपालको वर्तमान राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी...’का समेत संगीतकार रहेका गुरुङ भन्छन्, “मेरो संगीतले आधुनिक संगीतमा के प्रभाव पार्‍यो भन्ने कुरा मैले होइन, अरूले नै समीक्षा गर्ने हो ।” 

गुरुङकै समकालीन गोपाल योञ्जन पनि संगीतको आधुनिक चरणका अर्का महत्त्वपूर्ण खम्बा हुन् । दार्जीलिङबाट काठमाडाँै आएपछि उनले जीवनकै महत्त्वपूर्ण संगीत रचना गरेका थिए । त्यसो त १९ वर्षकै उमेरमा ‘मेरो गीत मेरो प्रतिविम्ब होइन, जो फुटिजाने छैन, टुटिजाने छैन...’जस्तो गीत लेखेका र संगीत गरेका योञ्जन संगीत क्षेत्रका सम्पूर्ण प्रतिभा थिए । “लेख्न, बजाउन, कम्पोज गर्न, संगीत दिन पोख्त एउटै मानिस संसारमा विरलै भेटिन्छ,” अघिल्लो पुस्ताका गीतकार रत्नशमशेर थापा भन्छन्, “गोपाल योञ्जनको संगीतमा अलग खालको मिठास थियो ।”

सांगीतिक चरित्रका हिसाबले योञ्जनको संगीतमा परम्परागत लोक रंग र रवीन्द्र संगीतको घुमाउरो प्रयोग भेटिन्छ । ‘मलाई माफ गरिदेऊ....’, ‘गल्ती हजार हुन्छन्...’, ‘ए मलाई माया गर्नेहरू...’, ‘केही चोटले...’, ‘लौ सुन म भन्छु...’, ‘चुमेर पानाभरि...’, ‘यति चोखो यति मीठो दिऊँला तिम्लाई माया...’, ‘जीवनको हरेक मोडमा...’, ‘तिम्रो जस्तो मुटु मेरो पनि...’ र ‘बनेको छ पहराले...’जस्ता दर्जनौँ सदाबहार गीतका संगीतकार योञ्जनले आफ्नो निधनअघिको एउटा अन्तर्वार्तामा भनेका छन्, ‘मैले खुसी हुनलाई बाँसुरी बजाएँ, संगीतमा काम गरेँ, सुन्नेहरू खुसी भए मलाई पुग्छ ।’ 

विसं ’२० को दशकसम्म आइपुग्दा पनि नेपाली आधुनिक संगीतमा परम्परागत लोकलय, मन्दिरहरूमा बज्ने भजनकीर्तन र शास्त्रीय संगीतको एकोहोरो प्रभाव दखिन्छ । पुराना त्यस्ता गीतलाई सारगत रूपमा आधुनिक संगीत भन्ने या नभन्ने बहस हुन पनि सक्छ । तर, संगीतमा अम्बर गुरुङ र गोपाल योञ्जनकै समकालमा उदाएका दिव्य खालिङको संगीतले टड्कारो आधुनिकतालाई अभिव्यञ्जित गर्छ ।

सिलगुडीबाट काठमाडाँै आएपछि उनै संगीतकर्मी खालिङका विषयमा स्वरसम्राट नारायण गोपालले भनेका थिए, ‘दिव्यको संगीत सुनेपछि अनौठो आनन्द मिल्छ ।’ झन्डै एक हजार सांगीतिक रचनामा काम गरेका खालिङको पृष्ठभूमि चर्च संगीतसँग जोडिएको थियो । पश्चिमा संगीतभित्रको परम्परागत र हिम्स संगीतको गहिरो ज्ञान र अभ्यास भएकाले नै उनले अरुण थापाले गाएको ‘मेरो गीत सबै तिमीलाई...’ र नारायण गोपालले गाएको ‘प्रेयसीका यादहरू...’जस्ता नमुना संगीत रचना गर्न सके । 

त्यसै गरी यही छिमलमा भारतका डुबर्सबाट आएका भक्तराज आचार्यले त नेपाली भजन गायन र आधुनिक गीतमा स्मरणीय छलाङ मारे । ०३० सालको राष्ट्रव्यापी गायन प्रतियोगितामा अमर गुरुङको संगीत र रचनामा गीत गाएर सर्वोत्कृष्ट बनेका आचार्यले बीचमा संगीत र गायनमा उच्चकोटीको कला देखाए । ‘मुटु जलिरहेछ...’, ‘जति चोट दिन्छौ देऊ मायालु...’, ‘जहाँ छन् बुद्धका आँखा...’, ‘हजार सपनाको माया...’, ‘माया मेरी सधैँ बनी...’, ‘हजार आँखा हेर्ने मेरी मायालुलाई...’ र ‘प्रिया तिम्रो मुहारमा...’जस्ता गीत मात्र होइन, ‘मेरो साधनाको...’, ‘तनमन वचनले...’, ‘जय गुरु गणपति...’ र ‘एक दिन मैले...’जस्ता आधुनिक भजन दिएर संगीत क्षेत्रलाई महत्त्वपूर्ण योगदान दिएका छन् । 

“स्वाभाविक रूपमा प्रवासमा नेपाली संगीतको बजार सानो छ, त्यसैले पनि धेरै संगीतकर्मीले काठमाडौँलाई मुकाम गराए,” गीतसंगीत विश्लेषक तथा फिल्म निर्देशक प्रकाश सायमी भन्छन्, “उताका प्रतिभा यता आउँदा, त्यहाँको समाज, ज्ञान, अनुभव र संस्कृतिका कुरा पनि स्वाभाविक रूपमा रचनामार्फत यता आएका छन् ।” 

हुन पनि हो, नेपालमा व्यावसायिक रूपमा फिल्म निर्माण बाक्लिएपछि रञ्जित गजमेरले दर्जनभन्दा बढी फिल्मका गीतमा संगीत दिएका छन् । उनको त्यो बिँडो कालिङपोङबाट काठमाडौँ आएका संगीतकार सचिन सिंहले थामे । गीतसंगीतको सिलसिलामा दार्जीलिङबाटै उभिन आइपुगेका संगीतकर्मी प्रकाश गुरुङले सुगम संगीतमा अमिट छाप छोड्न सफल छन् । खास गरी ओमविक्रम विष्ट र सुक्मित गुरुङको आवाजका लागि त उनी वरदान नै भए । स्मरण रहोस्, सुक्मित गुरुङ सिक्किमकी हुन् । 

त्यसै गरी, पछिल्लो चरणमा दार्जीलिङको सांगीतिक परिवारबाट यता झुल्किएकी अभया सुब्बाले रक संगीतमा चर्चाको मुकाम हासिल गरिसकेकी छन् । आधुनिक गीतसंगीतमा जमेका शिलाबहादुर र कुन्ती मोक्तान अनि उदय र मनिला सोताङ पनि दार्जीलिङबाट करिअर बनाउन काठमाडौँ आएका हुन् । यी दुई जोडीको योगदान र अभ्यासलाई पनि भविष्यले सधैँ सम्झिरहनेछ । 

त्यसै गरी मेघालयबाट उदाएका संगीतकर्मी सीके रसाइलीलाई पनि नेपाली संगीतले कहिल्यै बिर्सन सक्दैन । संगीतको लिपि लेख्न, विद्यालयहरूमा संगीत प्रशिक्षण गर्न र सानोतिनो अर्केस्ट्रा डिजाइन गरी प्रस्तुति र रेकर्डिङलाई व्यवस्थित पार्न प्रवासबाट उदाएका संगीतकारहरूको योगदान अझै महत्त्वपूर्ण छ । 

प्रकाशित: कार्तिक २६, २०७३