मेनुमा जमेको म:म

- उपहारजंग शाह

वन्यजन्तुका तस्बिर खिच्न संसार चहारिरहने वाइल्ड लाइफ फोटोग्राफर बुच लामाले जहाँ जहाँ नेपाली समुदाय भेटे, त्यहाँको खान्कीमा म:म छुटेको पाएनन् । मेनुमा म:म देखेपछि उनी लख काटिहाल्छन्, रेस्टुराँ पक्कै कतै न कतै नेपाल र नेपालीसँग जोडिएको छ । म:मले थोरै भए पनि देशको न्यास्रो मेटाइदिन्छ उनको ।

हुन त म:म नेपालको रैथाने परिकार होइन । विशेष गरी काठमाडौँ उपत्यकाका नेवार समुदाय व्यापारका सिलसिलामा तिब्बत जाने–आउने क्रम चल्दा म:म बनाउने कला पनि नेपाल भित्रियो । तर, रमाइलो के भने स्थानीयले म:मलाई आफ्नै स्वाद र शैलीमा ढाले, त्यसमा नयाँपन दिए । विशेषत: तिब्बती म:ममा मसलाको प्रयोग हुँदैन । अचारमा पनि खासै विविधता हुँदैन । तर, नेवार समुदायको भान्छामा हुर्किन पाएको म:मले भने त्यही अनुसार ट्वाक्क स्वाद पायो । नेपालमा फास्ट फुड कल्चर भित्र्याएको चेन रेस्टुराँ नाङ्लोका सञ्चालक श्यामसुन्दर कक्षपति पनि म:मको लोकप्रियता देखेर छक्क पर्छन् । भन्छन्, “म:मले चार दशकभित्र काठमाडौँ गल्लीका खाजाघरबाट संसारभरिकै रेस्टुराँ र पाँचतारे होटलसम्मको यात्रा तय गरेको छ ।”

यसबीचमा नेपालीको ‘अल टाइम फेभरेट’ खाजा म:मको विविधता र स्वादले समेत व्यापक रूप पाएको छ । मांसाहारीदेखि शाकाहारीसम्मका लागि विभिन्न स्वादमा म:म उपलब्ध छ । त्यसमाथि मसलाको मिश्रण र अचारको स्वादमा भिन्नता हुने भएकाले भान्छा अनुसार स्वादमा पनि नयाँपन आउँछ । त्यसैले त स्वदेशी हुन् वा विदेशी, म:मको स्वादमा नरम्ने सायदै कोही होलान् । भलै, रुचि अनुसार म:म खाने गन्तव्य फरक–फरक होलान् । रेस्टुराँ व्यवसायीहरूको अनुभवमा विदेशीले समेत एकपटक खाएपछि म:मका बारेमा बुझेर र बनाउने तरिका सिकेरै जान्छन् । नेपाल आउनासाथ म:म खोज्ने पर्यटक पनि अनगिन्ती भेटेका छन्, व्यवसायी कक्षपतिले । भन्छन्, “९९ प्रतिशत विदेशीको मन म:मको स्वादले जितेको छ ।”

फास्ट फुड व्यवसायमा म:मको हिस्सा उल्लेख्य वृद्धि हुँदै गएको छ । नेपालीलाई नभई नहुने अनि एकपटक स्वादको चस्का परेपछि विदेशीसमेत पल्किने । यही कारण होला, विदेशका रेस्टुराँका मेनुमा समेत अचेल म:म थपिन थालेको छ । भारतमा समेत ‘स्ट्रिड फुड’का रूपमा होस् वा छिटोछरितो खाजाका रूपमा, म:म लोकप्रिय बन्दै छ । कोलकातामा सन् २००८ मा नेपालीले नै सुरु गरेको रेस्टुराँ ‘वाउ म:म’का अहिले देशका विभिन्न स्थानमा ३५ वटा आउटलेट खुलिसकेका छन् । त्यसमाथि वैदेशिक रोजगार, शिक्षा आदिका लागि बाक्लो संख्याका नेपाली संसारभर छरिएर रहेकाले नेपाली लक्षित रेस्टुराँ खुल्ने क्रम पनि बढेको छ । जसका मेनुमा म:म विरलै हुन्नन् । 

नेपाली म:म विश्वभरि लोकप्रिय हुँदै जानुको मुख्य कारणचाहिँ स्वादिलो हुनु नै हो । त्यसमाथि नयाँ ठाउँको नयाँ स्वादसँग जोखिम लिन नचाहनेले म:मको विकल्प विरलै खोज्छन् । कक्षपति भन्छन्, “अहिले संसारभर लोकप्रिय भइरहेको म:मलाई नेपालको मौलिक ब्रान्ड भन्दा फरक पर्दैन ।”

संसारभर लोकप्रियता कमाइरहेको यही नेपाली ब्रान्डको अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय चेनचाहिँ छैन । म:मको फैलिँदो व्यापारले देखाएको छ, नेपाली म:मका नाममा त्यस्तो चेन अगाडि बढ्न सके त्यो रेमिट्यान्सको भरपर्दो माध्यम हुन सक्छ । 

प्रकाशित: कार्तिक २६, २०७३