जीवित देवी

- नारायण अमृत

आँखाका डिल हुँदै कन्सिरीसम्म तन्काइएको निक्खर कालो गाजल । ललाटभरि पोतिएको रातो टीका, जसको घेरामा देखिने मसिनो पहेँलो रङ । शिरमा सजाइएको कल्की आकारको आभूषण, सुन–चाँदीका टिकिया उनिएको परम्परागत जामा । इन्द्रजात्राका बेला रथमा राखेर घुमाइने यस्तै कुमारी दर्शनार्थ उपत्यकाका चोक, गल्ली र सडकमा मान्छेको महासागर नै उर्लन्छ । त्यस अवसरमा बज्ने नेवारी बाजा, भैरव, महाकाली अनि लाखे नाच र पूजा–अर्चनाका तमाम विधिले भदौ/असोजको यो शरदीय जात्राले ‘जीवित देवी’प्रतिको उत्सुकता र आकर्षण मात्र होइन, कुमारी परम्परासँग जोडिएका अनेक किस्सा र इतिहासको फेहरिस्त प्रकट गर्छ । 

कुमारी परम्पराको जरो ठ्याक्कै यही हो भन्न नसकिए पनि सांस्कृतिक अध्येता र इतिहासविद्हरू मध्यकालअघि कुनै न कुनै रूपमा कुमारी पूजा कायम रहेको दाबी गर्छन् । जीवित देवी कुमारीको पूजा–अर्चना गर्ने तान्त्रिक परम्परा भने उपत्यकामा सर्वप्रथम बौद्धमार्गीले सुरु गरेको मानिन्छ । लिच्छविकालमा राजा मानदेवको पालामा नै काठमाडौँका विभिन्न स्थानमा टोले कुमारी राख्ने र उनीहरूको पूजाआजा गर्ने चलन थियो । अहिले पनि काठमाडौँका ३२ वटा ज्यापू टोलमा कुमारी पुज्ने चलन छ । त्यसबाहेक साँखु, बुङमती, बनेपा, धुलिखेल, त्रिशूली र पाल्पाका नेवार समुदायमा पनि कुमारी पुजिन्छन् । “कुमारी परम्परा पुरानो तर महत्त्वपूर्ण परम्परा हो,” संस्कृतिविद् तेजेश्वबाबु ग्वंगका शब्दमा, “उहिल्यै टोलको रक्षा र समृद्धिका लागि कुमारी पुज्ने चलन थियो ।”

काठमाडौँ, भक्तपुर र ललितपुरमा छुट्टाछुट्टै कुमारी राख्ने परम्पराका बीच राजा जयप्रकाश मल्लले मूल कुमारी बनाएर पुज्ने चलन चलाए, जुन परम्परा अहिलेसम्म पनि काठमाडौँको हनुमानढोकास्थित कुमारीघरले धानेको छ । शाक्य परिवारबाट ३२ लक्षणको कसीमा छानिएकी राष्ट्रिय कुमारी हनुमानढोका दरबार गद्दी बैठकनजिकै रहेको कुमारीघरमा राखिन्छिन् । कुमारीघरको निर्माण राजा जयप्रकाश मल्लले गरेका हुन् । वास्तुशास्त्रका सबै विधि पूरा गरेर बनाइएको यो घरमा तान्त्रिक पूजाआजा हुन्छ । कुमारीघरको मूलद्वारमा दुईवटा सिंहका मूर्ति छन् र तोरणमा महिषमर्दिनी दुर्गाको मूर्ति राखिएको छ, जसलाई कुमारीकै प्रतीक मानिन्छ । 

संसारमै जीवित देउता मान्ने यो अनौठो र रहस्यमयी परम्परा नेपालमा मात्र छ, जसले नेपाली कलासंस्कृति र परम्पराको विश्वमाझ नयाँ ढंगले पहिचान दिन सक्छ । संस्कृतिपारखी, अध्येता र पर्यटकलाई ‘कुमारी ब्रान्ड’ बारे बुझाउन सकियो भने यसप्रति आकर्षण बढ्दै जान सक्छ । यसै पनि जीवित देवी भनेर कुमारीका बारे धेरै सोधखोज र अनुसन्धान भएका छन् । लामो समयसम्म काठमाडौँ उपत्यकाको संस्कृति र परम्पराबारे गहिरो अध्ययन गरेका विद्वान् मेरी स्लसरले पनि कुमारी परम्परा र यससँग जोडिएको इतिहासले चुम्बकीय रुचि पैदा गर्न सक्ने सम्भावना औँल्याएका छन् । 

स्लसरको खोजीनितीलाई इन्द्रजात्रामा ओइरिने विदेशी पर्यटकको संख्याले पनि पुष्टि गर्छ । उदाहरणका लागि इन्द्रजात्राका सात दिनमा मात्रै झन्डै डेढ लाख विदेशी पर्यटकले जात्रा अवलोकन गरेको रेकर्ड छ, कुमारीघर सञ्चालन समितिसँग । “अझ यसलाई सांस्कृतिक ब्रान्डकै रूपमा प्रचारप्रसार गर्न सकियो भने त गजब नै हुन्छ,” समितिका उपाध्यक्ष राजन महर्जन भन्छन्, “विश्वलाई आकर्षित गर्न कुमारी परम्परा महत्त्वपूर्ण विषय हुन सक्छ ।” 

प्रकाशित: कार्तिक २६, २०७३