क्यान्सरको पीडा

- शिलु भट्टराई

जीवनमा अनगिन्ती समस्या आइपर्छन् भन्ने मलाई थाहा थियो । ती समाधान भएर जान्छन् भन्ने पनि थाहा थियो । अनि, शरीरमा रोग लाग्छ र त्यो निको हुन्छ भन्ने पनि मलाई थाहा थियो । अरूलाई क्यान्सर लागेको सुनेकी र पढेकी थिएँ । तर, आफैँलाई लाग्ला भन्ने कल्पना पनि गरेकी थिइनँ ।

तीन वर्षअघिको कुरा हो । मलाई एकाएक दिसा नै लाग्न छाड्यो । सुुरुमा त सोचेकी थिएँ कि यो सामान्य लक्षण हो । तर, होइन रहेछ, मैले सोच्दै नसोचेको रोग क्यान्सर पो लागेको रहेछ ।

यमराजले मेरो जीवनको अभिनय सकिएको संकेत दिँदैछ । अनि, म अन्तिम अभिनयका लागि खडा भएकी छु । क्षणभर एक्लै बस्दा पनि यस्तै कुरा मनभरि खेल्न थाल्थे । एक मुठी प्राण लिन छिट्टै नै यमराजको आगमन हुँदैछ । अनि, आर्यघाटमा मूढो बनेर लडेका लासहरूसँगै म पनि मिसिन पुग्छु । सोच्दा म विचलित हुन्थेँ । छोटो समयमा नै म खरानी बनेर सकिँदैछुु, मेरो जिन्दगी समाप्त हुँदैछ । सोच्दासोच्दै अत्यास लाग्थ्यो र रुन मन लागेर आउँथ्यो ।

विगतमा पनि म आफ्नो घरपरिवारसँग सदैव सन्तुष्ट थिएँ । परिवारमा प्रेमको अनुभूति गरेकी थिएँ । जीवनमा मायाको कहिल्यै अभाव हुन पाएको थिएन । तर, उपचाररहित भनिएको क्यान्सरले च्यापेको थाहा पाएपछि भने म घरिघरि टोलाइरहन्थेँ । आँसुले भरिएका आँखाले परिवारका सदस्यलाई हेर्थें र सोच्थँे, अब त म यी लालाबालालाई कहिल्यै देख्न नपाउने गरी टाढा जाँदैछु । मलाई माया गर्ने मेरा आफन्त कहिल्यै नभेटिने गरी अलग हुँदैछन् । मेरा नातिहरू कोपिला हुन्, यिनीहरू फुल्दैछन् र फक्रिँदैछन्, पढ्दैछन् र भोलि गएर राष्ट्रका लागि असल नागरिक र शिक्षित व्यक्तिका रूपमा चिनियून् भनेर भगवान्सँग प्रार्थना गर्थें । मैले उनीहरूको खुसी र प्रगति नियाल्न पाउने छैन भन्ने कुराले हतप्रभ हुन्थेँ । किनभने, क्यान्सरपीडित म सदाका लागि अस्ताउँदै थिएँ ।

जीवन र मृत्युको दोसाँधमा यमराजको आगमनलाई प्रतीक्षा गर्दै छटपटाउँदै अकल्पनीय यथार्थलाई स्वीकार गरेर बाँच्न म बाध्य थिएँ । मन दु:खी बनाएर यस्ता कुरा नसोचुँ जस्तो लाग्थ्यो नै । किनभने, म दु:खी हुँदा मेरा आफन्तको मुस्कान हराउँथ्यो । परिवारको शान्ति हराउँथ्यो । त्यसैले म खुसी रहने प्रयास गर्थें । मनलाई अन्तै मोड्ने कोसिस गर्थें । ध्यान अन्तै केन्द्रित गर्न खोज्थेँ । कहिले भगवान्लाई सम्झेर त, कहिले आफन्तसँग भेटेर मनलाई शान्त राख्न प्रयास गर्थें । तर पनि, मेरा प्रयास असफल हुन पुग्थे । आखाँभरि आँसु टिलपिलाइहाल्थे ।

मानसिक रूपमा त पीडा थियो नै । तर, दिनानुदिन शारीरिक रूपमा पनि पीडा हुँदै गयो । सुरुमा त क्यान्सर होला भन्ने कल्पना पनि गरेको होइन । दिसा बन्द हुने अवस्था औषधिले ठीक होला भन्ने सोचेकी थिएँ । आज ठीक होला वा भोलि त कसो ठीक नहोला भन्ने लाग्थ्यो । तर, रोगले मलाई झन् च्याप्दै लग्यो । असह्य वेदना हुने गरी पेट दुख्थ्यो । जति औषधि गरे पनि दुखाइ निको हुँदैनथ्यो ।
राम्रोसँग निदाउन सक्दिनथेँ । पीडाले छटपटाउँथँे । मध्यरातमा बालबच्चालाई असजिलो नहोस् भनेर पीडालाई मनमनै जबरजस्ती दबाउने प्रयत्न गर्थें । घरपरिवारलाई दुु:ख नदिऊँ भन्ने लाग्थ्यो । तर, के गर्नु † खप्नै नसक्ने गरी पीडा हुन्थ्यो । अनि, कहिले मध्यरातमा मलाई अस्पताल लैजानु पथ्र्यो । पछि–पछि त झन् लामो समयसम्म त्यसरी दुखिरहन्थ्यो ।

सास रहुन्जेल आश रहन्छ । मेरो दीर्घायुको कामना गर्दै परिवारका सदस्यहरू पनि मेरो जीवन बचाउने आशामा सधैँ संवेदनशील थिए । ग्रान्डी अस्पतालमा मेरो रोगको परीक्षण गर्ने क्रममा आन्द्रामा क्यान्सर भएको देखिएको थियो ।

क्यान्सरजस्तो प्राणघातक रोगको उपचार सम्भव हुँदैन भन्ने लाग्थ्यो । डा चक्रराज पाण्डेको पहलमा डा सुनीलकुमार शर्मालगायतका चिकित्सकले अनेक परीक्षण र सल्लाह गरेर क्यान्सर लागेको भाग काटेर फाल्ने भए । यसप्रकार क्यान्सरको उपचार सम्भव छ भन्ने भरपर्दो सान्त्वना पनि दिइरहन्थे । अनि, ममा पुन:जीवन भरिएको आभास हुन्थ्यो । मरिसकेका आशा पुन: कलकलाएर आउँथे । पछि ओम अस्पतालमा डा सुदीप श्रेष्ठको उपचार र सल्लाह अनुसार मैले लगातार केमोथेरापी लिनुपर्ने भयो । बूढो शरीर, थेरापी र अन्य औषधिको प्रभाव तथा पटक–पटकको शल्यक्रियाका कारण म यताउति हिँडडुलसम्म गर्न सक्दिनथेँ । तर पनि, जीवनमा आउने समस्यासँग जुध्न सक्नुपर्छ भन्ने लाग्थ्यो । अनि, कहाँकहाँबाट बाँच्ने आशा पलाएर आउँथे ।

मूल कुरा मैले औषधिमा विश्वास गरेँ । डाक्टरहरूको प्रयासमा विश्वास गरेँ । यथार्थमा मैले समग्र उपचारमा विश्वास गरेँ । आफैँले आफैँलाई आत्मविश्वास दिएँ । हरेस खाइनँ र सदैव एउटा नौलो भविष्यका लागि जिजीविषालाई जीवन्त बनाइराखेँ । हेर्दाहेर्दै पत्याउनै नसक्ने गरी म सामान्य अवस्थामा फर्किएकी छु । परिवारमा फेरि नयाँ उत्साह, जाँगर र प्रेम छाएको छ ।म भन्न सक्ने भएकी छ, ‘हरेस नखाएर ठीक समयमै सही उपचार पाए क्यान्सरजस्तो रोग पनि निको हुन सक्छ ।’ 

प्रकाशित: कार्तिक २५, २०७३