गुफाभित्रका यी प्रतिभा

- पदमसिंह कार्की

विसं २००९ मा काठमाडौँको खिचापोखरीमा प्रजातन्त्रवादी युवाले  खोलेको ऐतिहासिक राष्ट्रिय पुस्तकालयका निमित्त प्रकाशक भएर पेवा लगानीमा रूपरेखाको प्रकाशन गर्दा त्रिचन्द्र कलेजका विद्यार्थी नै थिए, योगेन्द्र अर्याल  ।  रूपरेखा तत्कालीन नेपाली साहित्यको दर्पण मात्र होइन, आधुनिक नेपाली वाङमयको धरोहर नै थियो । राजनीतिशास्त्रमा एमए र कानुनमा स्नातक भएपछि ०३५ मा पशुपति छापाखानामा लगानी गरेर गोकर्णदेव पाण्डेको प्रतिध्वनि पाक्षिकलाई दैनिक गराएर सम्पादन गर्न थाले, अर्यालले । पाकिस्तानका राष्ट्रपति जुल्फिकर भुट्टोको फाँसीले नेपालको राजनीतिमा आएको परिवर्तन कसैबाट छिपेको छैन । भुट्टोको भूत जगाउने मिसनमा प्रतिध्वनि विद्यार्थी आन्दोलनको प्रतिछायाँ बनेर भिड्यो । फलस्वरूप जनमत संग्रहताका यो पत्रिकाको लोकप्रियता एक नम्बरमै पुग्यो  ।  यसको लोकप्रियता सरकारलाई सह्य भएन ।  सूर्यबहादुर थापाले राजद्रोहको बखेडा झिकेर पत्रिका बन्द गरिदिए । अन्य केही पत्रिकामा संलग्न भएर अर्यालले कलम तिखार्न खोजे तर सन्तुष्टि मिलेन । अपेक्षित रूपमा प्रतिक्रिया आएन । 

०४४ मा काठमाडौका नामी सम्पादक मणिराज उपाध्याय, गोपालदास श्रेष्ठ, गोविन्द वियोगी र मदनमणि दीक्षित मिलेर नयाँ व्यवस्थापनमा समाज दैनिक निकाले । त्यसको प्रबन्ध सम्पादकमा अर्यालले जिम्मेवारी पाए । नयाँ आशा र भरोसामा पत्रिका जम्दै थियो । राजदरबारले ०४५ मा गोकर्णदेव पाण्डे र गोपालदासलाई प्रेस किनिदियो ।  तर गोपालदासको त्यही प्रेस सगोल हो कि एकलौटि हो भन्ने विवादले समाज बन्द हुन पुग्यो । त्यस पछि देशान्तर र युगसंवाद साप्ताहिक मा नछाएको होइन । तर प्रश्न आत्मसन्तुष्टि र प्रतिक्रियाकै रह्यो । ७६ वर्षीय पूर्वसम्पादक अर्यालको रहस्य जे भए पनि पत्रकारिता क्षेत्रलाई घाटा पुगेकै हो ।  

सुगम संगीतको कोसेढुंगालाई पनि दुर्लभताले किंवदन्ती बनाएको छ । बच्चुकैलाशमा उर्लेको गीत, संगीत र रचनाको त्रिवेणी सेती जस्तै वर्षौंदेखि भूमिगत भएको छ । बाबु कर्णबहादुर बस्नेत र आमा कृष्णकुमारी पाँडेको कोखबाट खोटाङको सापातेलमा १६ मंसिर १९९४ मा जन्मे यी । जन्मेको दसौँ दिनमा आमाको निधन भयो । पछि काठमाडौँको मैतीदेवीको मावलीमा हुर्किए । पद्मोदय हाइस्कुल हुँदै कलेज अफ एजुकेसनबाट बीएड् गरेपछि ०३३ मा अंग्रेजीमा एमए गरे ।  यिनको कलाकारिताको पहिलो पाठशाला मावली नै हुनपुग्यो । किशोर छँदै ‘निरस नहोऊ साथी’ बोलको गीत रेडियो नेपालमा गाए ।

मास्टर रत्नदास प्रकाशको स्याबासीले यिनी हौसिए । कलेज सखी शान्ति शाहको ‘यो हो गीत तिमीलाई’सँग प्रीत साटेर प्रेमविवाहमा बाँधिए । त्यसैताका विरही स्वरसम्राट् बच्चुले ‘टाढा टाढा जानु छ साथी’ कालजयी गीत पनि गाए । ४० भन्दा बढी यस्ता गीतहरूमा ‘तिमीले त हैन तिम्रा भाकाहरूले’लाई नातिकाजीको संगीतमा क्षेत्रप्रताप अधिकारीले रचेका थिए भने ‘कल्पनाको गगन’ सुरेन्द्र शाहले रचेका थिए । यिनका प्रसिद्घ गीतहरूमा आफैँले संगीत भरेका गीतकारहरूमा हेम हमाल, किरण खरेल, लक्ष्मण लोहनी र यादव खरेल पर्छन् ।  त्यतिबेला संगीतको रियाजमा चुर्लुम्म डुब्दा क्षयरोगले च्यापेको चर्चा चल्न नपाउँदै मबीबी शाहले उपचार गरिदिएको पनि हल्ला आयो । हल्ला यसकारण कि उनी न कसैलाई अन्तर्वार्ता दिन्छन्, न त फोटो खिच्न नै ।  

हरेक सोमवार पशुपतिनाथको दर्शन गर्ने बानीले अध्यात्म चिन्तनमा लागेको अनुमान गर्न गाह्रो छैन । परिवर्तनको कुरा गर्दा साइकलमा गितार भिर्ने बच्चु मोटर चढेर सिरानी छेउमा पियानो बजाउँदा किन गीतहरू फुरेनन् ? सायद कला विपन्नतामै जन्मन्छ । 

१९९३ भदौ शुक्ल पूर्णिमाका दिन जन्मेका मनुजबाबु मिश्रले १३ वर्षको हुँदा मातापितासहित ६ जना अग्रज गुमाएका थिए । अभिभावकको लट्टाईबाट चट् भएर पनि भुइँमा नझरी भाइ मोहनलाई च्यापेर कला र संगीतको आकाशमा कावा खाँदै शिखरको क्षितिजमा उड्न थाले । आफन्तहरूबाट कठै भन्ने शब्द नसुनिएका होइनन् । तर त्यसको  चर्को मूल्य तिर्नुपर्दा जायजेथाको ठूलै अंश गुमाउनुपर्‍यो । बाँकी रहेको पर्याप्त माटोबाट पनि व्यवस्थापन गर्न नसक्दा धेरै रात दाजुभाइ भोकै सुत्न बाध्य भए । तर पनि बहुसाधनामा अभ्यस्त रहे । बोटबिरुवादेखि चराचुरुंगीमाथि अनेक प्रयोग गरे । नाटक खेले, खेलाए अनि लेखे । दसँैतिहारमा चाबहिल, बौद्घ र कपनमा नाटक प्रदर्शन गरे । सिफलमा नवजागरण पुस्तकालय खोले । कपनमा ग्रामशिक्षा मन्दिर खोलेर आठ कक्षा पढेका यिनले एसएलसीका विद्यार्थीलाई  पढाए ।  बाबु र प्रधानाध्यापकको चुटाइबाट पनि चित्रकारिताबाट नडगेका मनुजले छ्याके साहूको चंगामा चित्र कोरेर पनि साधनाको तुष्टि पूरा गरे । 

यसै बीच दिँउसो ग्रामविकासको पोस्टर बनाउने जागीर पाए भने बेलुका नेसनल कलेज धाए र त्रिविविबाट एमए गरे । यिनी ललितकला क्याम्पसको प्राध्यापक हुनुको साथै राप्रपाको पनि सदस्य भए । 

मनुजले राज्याभिषेकको अवसरमा राजा वीरेन्द्र दम्पतीको ६० फिट चौडा र २ सय ५० फिट लम्बाइको तेल चित्र बनाए । बक्सिसको त कुरै छाडौँ, रङको पैसा उबारेर फिर्ता गरे । त्यस्तै राजाले उनलाई छोरी श्रुतिलाई कला सिकाउन दरबार आऊ भन्दा आफू ‘हर्मिताज’ बाहिर जान असमर्थ रहेको व्यहोरा व्यक्त गरे । २६ वर्षको गुफावासको सन्दर्भ पनि नमुना नै छ । बौद्घ, महांकालको पुख्र्यौली थलोमा ‘हर्मिताज’ बनाएर एकान्तबास गर्ने निर्णय गरे । 

प्रकाशित: कार्तिक ५, २०७३