माउरिन्होको भरमा म्यानचेस्टर

  • सबैभन्दा महँगो क्लब भए पनि म्यानचेस्टर युनाइटेडलाई ठुलो सफलताको खडेरी

- ज्ञानेन्द्र आचार्य

म्यानचेस्टर युनाइटेड यस्तो क्लब हो, जसको ट्रफी र पैसा दुवैमा धनी रहेको इतिहास छ । उसले सबैभन्दा बढी २० पटक प्रिमियर लिग जितेको छ । विश्वकै सबैभन्दा धनी क्लबहरुको सूची बनाउँदा युनाइटेडको नाम कहिल्यै छुट्दैन । सन् १९८६ देखि २०१३ सम्म युनाइटेडका लागि स्वर्ण युग थियो । यही समयमा युनाइटेडले १३ पटक प्रिमियर लिग र दुई पटक च्याम्यिन्स लिगको उपाधि जित्यो । त्यो बेला युनाइटेडका प्रशिक्षक थिए सर एलेक्स फर्गुसन । उनकै पालामा हो युनाइटेड पैसा र ट्रफी दुबैमा धनी भएको । फर्गुसनले छाडेपछि पनि युनाइटेड धनी नै छ, तर उपाधि भने खासै जितेको छैन । 

फर्गुसन पछि युनाइटेडमा तीन प्रशिक्षक आए । तर उनको पालामा जस्तो आशलाग्दो खेल अहिले युनाइटेडले विरलै खेलेको पाइन्छ । यसबीच उसले एक एफए कप र एक कम्युनिटी सिल्ड मात्रै जितेको छ । नयाँ प्रशिक्षकलाई फर्गुसनले कायम गरेको वर्चस्व जोगाउन दबाब रहनु स्वभाविक नै हो । यही दबाबमा उनी पछिका प्रशिक्षक डेभिड मोयस, लुइस भान गाल र अहिले जोसे माउरिन्हो पनि परेका छन् । तर यीमध्ये कसैले पनि त्यो दबाब सही तरिकाले झेल्न सकेका छैनन् । 

युनाइटेडलाई पहिलाकै जस्तै शक्तिशाली बनाउन क्लबका मालिकहरुले पनि कुनै कसर बाँकी राखेका छैनन् । उनीहरुले युनाइटेडका लागि डेभिड मोयस र भान गालजस्ता राम्रा प्रशिक्षक ल्याए । तर ती दुई जति समय युनाइटेडमा रहे त्यो उनीहरूको करियरमै सबैभन्दा खराब थियो । युनाइटेड पछि मोयस स्पेनको रियल सोसिडाड गए । त्यहाँ उनी झनै असफल भए । भान गाल निकै कडा र चलाख प्रशिक्षक मानिन्छन् । युनाइटेड आउनु अघि उनले आयाक्स, बार्सिलोना, वार्यन म्युनिख जस्ता ठूला क्लब र नेदरल्यान्डस्को राष्ट्रिय टिम पनि सम्हालेका थिए । तर उनको रणनीति पनि युनाइटेडमा फेल खायो ।

उनी पछि युनाइटेडलाई पहिलेकै लयमा फर्काउन सक्ने प्रशिक्षक भनेर माउरिन्होलाई ल्याइयो । भलै अघिल्लो सिजन माउरिन्हो चेल्सीमा रहँदा उनको टिमले निकै खराब खेलेको थियो । माउरिन्हो प्रशिक्षक रहँदा उनको टिमले त्यति खराब नतिजा निकाल्छ भनेर कसैले पनि सोचेका थिएनन् । किनभने उनी जहाँ गएका छन्, त्यहाँ उनको टिमले कम्तीमा एक पटक लिग जितेको छ । च्याम्पियन्स लिगका लागि त उनको टिम सधैँ दाबेदार मानिन्छ । 

माउरिन्हो युनाइटेड आएको छ महिना पनि पुगेको छैन । यति कम समयमै उनलाई असफल मान्नु गलत नै होला । तर पनि उनको प्रशिक्षणमा युनाइटेडले खासै जादुयी खेल देखाउन सकेको छैन, जति यसअघिका उनको टिमले देखाएका थिए । 

क्लबका मालिकहरुले माउरिन्होलाई युनाइटेड ल्याउनुमा एउटा अर्को कारण पनि छ । युनाइटेडको सबैभन्दा नजिकको प्रतिद्वन्द्वी म्यानचेस्टर सीटीले यसै सिजनमा पेप ग्वार्डिओलाई प्रशिक्षक बनायो । ग्वार्डिओलाले क्लब फुटबलमा सम्भव भए जति सबै प्रतियोगिता जितेका छन् ।

फुटबलमा एकै सहरका दुई क्लब बीचको खेललाई डर्बी भनिन्छ । ती क्लब एक आपसमा हार्न चाहँदैनन् । त्यसैले सीटीलाई रोक्न भए पनि युनाइटेडले माउरिन्होलाई ल्याउनु जरुरी थियो । दश वर्ष यता सीटीले महँगो रकम तिरेर राम्रा खेलाडी जम्मा पारिरहेको छ । फर्गुसन हुँदासम्म युनाइटेडले युवा खेलाडीलाई मौका दिएर बलियो टिम खडा गरेको थियो । फर्गुसनले महँगो रकम खर्चेर स्टार खेलाडी भित्र्याउन खासै ध्यान दिएनन् ।

अहिले युनाइटेडले बलियो टिम बनाउन निकै पैसा खर्च गरिरहेको छ । यसै सिजनमा पल पोग्बाका लागि मात्रै दश करोड डलरभन्दा बढी खर्च गर्‍यो । जुन अहिलेसम्मकै सबैभन्दा महँगो ट्रान्सफर हो । पोग्बाबाहेक हेन्रिक मख्तारियन र एरिक बेलीका लागि पनि युनाइटेडले धेरै पैसा खर्च गरेको छ । 

अहिले जोसे माउरिन्होले हेरिरहेको म्यानचेस्टर युनाइटेडको टिम सबैभन्दा धेरै रकम खर्च गरेर बनाएको टिम हो । खेलाडी ट्रान्सफर र उनीहरुलाई दिने पारिश्रमिक जोडेर युनाइटेडले यो टिम तयार पार्न ६२ करोड आठ लाख पाउन्ड खर्च गरेको छ । जुन अहिलेसम्मकै सबैभन्दा महँगो टिम हो । यसमा रियल म्याड्रीड पनि पछि परेको छ । रियल म्याड्रीड स्टार खेलाडीलाई किन्न धेरै पैसा खर्च खर्ने क्लब हो । तर जिनेदिन जिदान मुख्य प्रशिक्षक भएपछि रियलले खेलाडीका लागि त्यति धेरै खर्च गरेको छैन । 

माउरिन्होले युनाइटेडलाई फरक तरिकाले अगाडि बढाइरहेका छन् । युवा खेलाडीभन्दा पनि नाम चलेका खेलाडी जम्मा परेर टिम बनाउनकै लागि उनी चिनिन्छन् । चेल्सी, इन्टर मिलान र रियल म्याड्रीडको प्रशिक्षक रहँदा पनि उनले त्यसै गरेका थिए । ती क्लब सिजनको सुरुबाटै अंक तालिकामा शीर्ष स्थानका दाबेदार रहे । तर युनाइटेड सिजनको सुरुमै अंक तालिकामा पछि परेको छ । घरेलु मैदानमै युनाइटेडले सीटीसँगको डर्बी खेल पनि हार्‍यो । 

कप्तान वायन रुनीको फर्म युनाइटेडका लागि टाउको दुखाइ बनेको छ । अहिले रुनी त्यति प्रभावशाली छैनन् जति उनी तीन–चार सिजन अगाडि थिए । एक समय सबैभन्दा राम्रो स्ट्राइकर भनेर चिनिएका रुनीलाई भान गालले मिडफिल्ड खेलाएर पनि हेरे । अहिले माउरिन्होले उनलाई मुख्य स्ट्राइकरको पछाडि खेलाइरहेका छन् । यी दुवै स्थानमा रुनी खासै जम्न सकेका छैनन् । राष्ट्रिय टिमका लागि पनि उनले राम्रो भूमिका निर्वाह गर्न सकेका छैनन् । राम्रो फर्ममा नरहे पनि उनलाई नखेलाउने निर्णय लिन प्रशिक्षकलाई पनि गाह्रै हुन्छ । किनभने उनी निकै अनुभवी खेलाडी हुन् । 

युनाइटेडका लागि अहिले मार्कस रासफर्डले ठूलै सम्भावना देखाइरहेका छन् । युनाइटेडका लागि उनी रुनीको विकल्प बन्न सक्छन् । तर माउरिन्हो रासफर्डभन्दा रुनीमै भर परिरहेका छन् । रार्सफर्डले यो सिजन जति मौका पाएका छन् त्यतिमै पनि राम्रो खेलिरहेका छन् । मिडफिल्डमा पल पोग्बा पनि त्यति चामत्कारिक छैनन्, जति उनी पीएसजीका लागि थिए । युनाइटेडको मिडफिल्डबाट त्यति मौकाहरू सिर्जना भएका छैनन् । त्यसैले नै उसको खेल केही फिका देखिन गएको हो । 

लिगमा युनाइटेड अहिले सात खेलबाट १३ अंकसहित छैटौँ स्थानमा छ । प्रिमियर लिगमा अझै ३१ चरणका खेल बाँकी नै छन् । यति चाँडै माउरिन्होको टिमलाई उपाधि भिडन्तबाट अलग गर्न अवश्य सकिँदैन । गत सिजन चेल्सीमा असफल भए पनि उनी जतिबेला पनि पासा पल्टाउन सक्ने प्रशिक्षक हुन् । उनी जहाँ गए पनि दोस्रो सिजनमा लिग जितेकै छन् । तर तीन सिजनभन्दा बढी उनी कुनै क्लबमाटिकेका पनि छैनन् । 

प्रकाशित: कार्तिक ४, २०७३