बैंकमा रैथाने बीउ

  • सय वर्षका लागि सुरक्षित छन् ११ हजार स्थानीय प्रजाति

- बाबुराम विश्वकर्मा

‘हुलमुलमा जीउ जोगाउनू अनिकालमा बीउ जोगाउनू’

यो चर्चित नेपाली उखानलाई व्यवहारमा लागू गर्न पाँच वर्षदेखि गरिएको सरकारको विशेष जमर्कोले रङ देखाउन थालेको छ । सरकारी जमर्कोले ११ हजारभन्दा बढी नेपाली रैथाने बीउ कम्तीमा सय वर्ष जोगिने निश्चित भएको छ । त्यो कसरी भने ललितपुरको खुमलटारमा स्थापना गरिएको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक)मा कृषि वैज्ञानिकहरूले गाउँ गाउँबाट संकलन गरेर ल्याएका रैथाने नेपाली बीउ सुरक्षित तवरले जोगाइएको छ । 

जीन बैंकका अनुसार, कृषि र जैविक विविधताका दृष्टिले नेपाल विश्वको ३१औँ धनी देश हो । यहाँ उपलब्ध अन्न तथा अन्य बालीमध्ये सबैभन्दा बढी विविधता धानमा छ । धानका रैथाने जातिका २ हजार ३ सय भन्दा बढी बीउ छन् । जीन बैंकका वरिष्ठ वैज्ञानिक बालकृष्ण जोशीका अनुसार यी धान त पहिचान गरिएका स्थानीय जात मात्र हुन्, पहिचान हुन बाँकी स्थानीय जात धेरै हुन सक्छन् । भन्छन्, ‘‘हामी स्थानीय जातका बीउमा विश्वमै धनी देशमा पर्छौं । तर सबै नेपाली जातका बीउ पहिचान गरेर सुरक्षित गर्न सकिएको छैन ।’’ 

जीन बैंकमा कार्यरत अर्की वरिष्ठ वैज्ञानिक दीपासिंह बस्नेतका अनुसार बैंकमा सय वर्षका लागि सुरक्षित धानका २ हजार ३ सय स्थानीय जातमध्ये केही रैथाने धान विश्व बजारमै प्रख्यात हुन सक्ने खालका छन् । जस्तो, तराईमा फल्ने लल्का बासमती र करिया कमोद, मध्य पहाडको जेठो बुढो र लुम्ले–२ अनि हिमाली क्षेत्रमा फल्ने रातो मार्सी अरू देशमा पनि लोकप्रिय हुन सक्छन् ।

धानका स्थानीय जात धेरै भए पनि खाँचो छ त केवल बजारीकरणको । रैथाने धानमध्ये स्थानीय स्तरमा यी धान सबैका रोजाइ हुन्  । चिसो मौसमा फल्ने हिमाली धानको रूपमा चिनिएको रातो मार्सी नेपालको चिनारी नै हुन सक्छ । किनभने यो धान हुम्ला र जुम्लामा मात्र फल्छ । यता अरू जिल्लामा नफल्ने जेठो बुढो पोखराको पामेको मौलिक धान हो । 

अन्न बाली होस् वा तरकारी र फलफूल यिनको विविधता र विशिष्टता नै नेपाली बीउको विशिष्ट पहिचान हो । तर त्यही बीउ जोगाउन लामो समयसम्म सरकारी स्तरबाट खासै प्रयास भएको थिएन । किसानहरूको बुताले मात्र स्थानीय प्रजाति जोगिएको थियो ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकहरूको जोडमा रैथाने बीउको संरक्षण र उपयोग गर्न ०६७ मा कृषि मन्त्रालयले स्थापना गरेको हो, जीन बैंक । यो बैंक स्थापनाको उद्देश्य नै खाद्य सुरक्षा, जीवनस्तर तथा आर्थिक समृद्धिको निम्ति सम्पूर्ण कृषि आनुवांशिक स्रोतहरूको संरक्षण तथा उपयोग गर्ने हो । बैंक स्थापनाको पहल गर्ने तत्कालीन कृषि मन्त्री छविलाल विश्वकर्मा भन्छन्, ‘‘नेपाली बीउहरू आउँदो पुस्ताका लागि समेत जोगाइदिनु हाम्रो दायित्व हो ।’’ 

हुन पनि जीन बैंकको स्थापनाका कारण अब बीउ जोगाउन किसानमा मात्र भर पर्नु पर्दैन । नेपालमा उपलब्ध बीउ अब राज्यकै संयन्त्रले वैज्ञानिक तवरले सुरक्षित गरेको छ । जीन बैंकका चार जना वैज्ञानिक, दुई जना प्रविधिज्ञ र १० जना सहयोगीसहित १६ जनाको टिम रैथाने प्रजाति जोगाउन खटिएको छ । बैंकमा रैथाने बीउको डीएनए परीक्षण गरी त्यसको फिंगर प्रिन्ट पनि राख्ने गरिएको छ, जसले हाम्रो बीउको प्रतिलिपि अधिकार नेपालसँग मात्र सुरक्षित रहने अवस्था सृजना गरेको छ । अहिलेसम्म बैंकमा सुरक्षितमध्ये तीन सय जति स्थानीय बीउको डीएनएको फिंगर प्रिन्ट सुरक्षित गरिसकिएको छ । 

विगतमा जीन बैंक नहुँदा रैथाने जातिका बीउमध्ये ५० प्रतिशत लोप भएका छन् । जल वायु परिवर्तन, बसाइँसराइ, युवाहरूको विदेश पलायन आदि कारणले नेपाली रैथाने बीउहरू लोप भएको जीन बैंकको अध्ययनले देखाएको छ । ‘‘अहिले जे जति उपलब्ध छन्, तिनको संरक्षण र उपयोग कसरी गर्न सकिन्छ भन्नेमा हाम्रो ध्यान केन्द्रित छ । ७५ जिल्लाबाट बीउ खोजेर ल्याउने अनि वैज्ञानिक प्रशोधन तथा परीक्षण गरेर बैंकमा थप्दै जाने गरेका छौँ,” नार्ककी वरिष्ठ वैज्ञानिक बस्नेत भन्छिन् ।

 

भौगोलिक दृष्टिमा चाहिँ नेपाली रैथाने बीउको उपलब्धता र विविधतामा सबैभन्दा धनी मध्यपश्चिम र सुदूरपश्चिम हुन् । यी दुई क्षेत्रलाई कृषि वैज्ञानिकहरू रैथाने र नेपाली मौलिक बीउको थलो नै मान्छन् । जुम्लामा जंगली ओखर, स्याउ, सिमी, लट्टे, कागुनो, कोदो, फापर, भान्टा, नासपाती, आरुबखडा, कालो आलु पाइन्छ । यी प्रजातिका जंगली तथा गैरजंगली दुवै खाले पाइएका छन् । यता हुम्लामा चिनो कागुनाका १० जात पाइएका छन । अहिले यी सबै जीन बैंकमा सुरक्षित भइसकेका छन् ।

नेपाली फलफूलको लोकप्रियता बुझ्न फर्पिङको नासपाती, जुम्लाको स्याउ, सिन्धुलीको जुनार, मनकामनाको सुन्तला, बाह्रमासे आँप र मालभोग केरा नै पर्याप्त छन् । जीन बैंकको संरक्षणमा परेका यी फलफूलको स्वादले धेरैको मन जितेका छन् । 

संसारमा अन्त कतै नपाइने अत्यन्तै दुर्लभ अन्नबाली तथा तरकारीका प्रजाति नेपालमै उपलब्ध छन् । नेपालमा कोदोका मात्र ५ सय २० रैथाने जाति रहेको जीन बैंकको अध्ययनले देखाउँछ ।  रातो कोदो, सेतो कोदो र ज्वाइँ कोदोलाई व्यवसायीकरण गर्न सक्ने सम्भावना देख्छन् कृषि जैविक विविधताका अध्येताहरू । तर, आमरूपमा नेपाली दुर्लभ रैथाने बीउका बारेमा जे जति प्रचार र उपयोग हुनुपर्ने हो त्यो भने अझै भएको छैन ।

जीन बैंकमा संरक्षित नेपाली रैथाने तरकारीका प्रजाति पनि लोभलाग्दा छन् । अकबरे खुसार्नी, हरियो काँक्रो, कालो आलु, लोकल मुला, हरियो काउली नेपाली रैथाने तरकारीका प्रजातिमध्ये सर्वाधिक लोकप्रियमा पर्छन् । ‘‘हरियो काउली त मासुजस्तै स्वादिलो हुन्छ । यी नेपाली माटोले हामीलाई दिएका अनुपम उपहार हुन्,’’ नेपाली रैथाने बीउका अध्येता रितेष पौडेल भन्छन् । 

तर बोलवाला उन्नत बीउको रैथाने बीउ जोगाउन सरकार जुटे पनि बजारको बढ्दो माग र किसानले व्यावसायिक खेती गर्न थालेका कारण दैनिक उपयोगमा चाहिँ उन्नत जातका तरकारीको बोलवाला छ । विदेशी तरकारीको उपयोगले नेपाली रैथाने तरकारीका सबै प्रजाति जोखिममा परेका छन् । जस्तो, धेरैले चिन्न बाँकी रहेको भक्तपुरको ज्यापु काउलीको भन्दा आयातित काउलीको खेती व्यापक छ । भक्तपुरको ज्यापु काउलीलाई अरू कुनै पनि काउलीले उछिन्न नसक्ने बस्नेत बताउँछिन् । भन्छिन्, ‘‘तर, बढी उत्पादन गर्न र नाफा कमाउनका लागि रैथाने जातका बीउ उपेक्षामा परेका छन् ।’’

एकातिर सरकारी तवरबाट रैथाने बीउ जोगाउनका लागि संगठित रूपमा व्यवस्थित प्रयास गरिएको छ तर अर्कोतिर सरकारले नै किसानलाई विदेशी जातकै बीउ लगाउन उक्साइरहेको छ । कृषि मन्त्रालयको आँकडा अनुसार सरकारले किसानलाई सुझाएमध्ये ९५ प्रतिशत विदेशी जातिका बीउ छन् भने पाँच प्रतिशत मात्र रैथाने । 

सरकारले सिफारिस गरेकामध्ये आलु, गहुँ, मकै, तरकारीमा शतप्रतिशत विदेशी बीउका विभिन्न जाति छन् । 

उन्नत जात वा विदेशी बीउको तुलनामा रैथाने बीउबाट लाभ बढी हुने कुरा सरकारलाई थाहा नभएको होइन । तर स्वार्थ समूहको चलखेलका कारण रैथाने बीउ उपेक्षामा छ । कतिसम्म भने नेपाली बीउको परिचय पनि राष्ट्रिय पाठ्यक्रममा नराखिएको दुखेसो गर्छन्, जीन बैंकका अधिकारीहरू । पाठ्यक्रम र पाठ्यपुस्तकमा विदेशी जातको प्रचार बढी गरिएकोले रैथाने बीउ जोखिम र उपेक्षामा परेको उनीहरूको बुझाइ छ । 

नेपालले विदेशी बीउ लगाउन किसानलाई उक्साए पनि संसारका विभिन्न देशमा भने नेपालका करिब २३ हजार रैथाने बीउ पुगेको जीन बैंकको अध्ययनको निष्कर्ष छ । बिजोग त कतिसम्म छ भने विभिन्न तरिकाले विदेश लगिएका ती नेपाली रैथाने प्रजातिको प्रतिलिपि अधिकारसमेत उनीहरूकै भइसकेको छ । ‘‘हामी आफूतिर फर्किएका छैनौँ, विदेशी मोहमा फसेका छौँ । तर, संसारले नेपाली बीउको महत्त्व र स्वाद दुवै चाखेको छ,’’ वरिष्ठ कृषि वैज्ञानिक जोशी भन्छन् । 

सरकारले किसानलाई खेती गर्न सुझाएका बीउबाटभन्दा रैथाने बीउबाट हुने फाइदा बढी छन् । रैथाने बीउ सबै मौसममा फल्छ भने हाइब्रीड सबै मौसममा टिक्न सक्दैन । स्थानीय र हाइब्रीडको स्वादमा आकाश जमिनको फरक नहुने भए स्वादका पारखीहरू जैविक उत्पादनको खोजीमा भाैँतारिने थिएनन् । जोशी भन्छन्, ‘‘सबैले अचेल लोकल र अग्र्यानिक वस्तु खोज्नुको अर्थ हो, रैथानेलाई जित्ने कुरा संसारमा केही छैन । तैपनि हामी रैथाने बीउ रोज्ने कुरामा धेरै पछि छौँ ।’’ 

यसमा सन्देह छैन कि हाइब्रीड बीउ छिटो फल्ने भएकाले किसान त्यता आकर्षित भएका हुन् । त्यसैले हाम्रा वैज्ञानिकहरूले पनि रैथाने बीउलाई छिटो फल्ने गरी नश्ल सुधार गर्न थालेका छन् । दृष्टान्तका लागि ज्यापु काउली फल्न छ महिना लाग्ने हुनाले कृषि वैज्ञानिकहरूले यसको बीउको नश्ल सुधार गरेर चार महिनामा फल्ने बनाएका छन् । त्यस्तै भक्तपुरको काँक्रोको पनि नश्ल सुधार गरेर पहिलाभन्दा छिटो फल्ने बनाइएको छ ।

जीन बैंकमा संरक्षण गरिएकामध्ये १० वटा रैथाने बीउको नश्ल सुधार गरिसकिएको छ । नेपाली मौलिक अन्न बाली तथा तरकारीको नश्ल सुधार गरेर तिनलाई विश्व बजारमा चिनाउने प्रयास गरिएको जीन बैंकका जोशी बताउँछन् । भन्छन, “रातो कोदो, काँक्रो, अकबरे खुर्सानी आदिको नश्ल सुधार हुँदै छ । हामीसँग भएकामध्ये केहीलाई नेपाली र विश्व बजारमा लैजाने हो भने त्यसले नेपाली बीउको पहिचानलाई प्रख्यात बनाउँछ ।”

जीन बैंकमा ११ हजार प्रजातिका बीउ मात्र संरक्षण गरिएको भए पनि नेपाली रैथाने बीउको संख्या ३० हजारभन्दा बढी रहेको अनुमान  छ । यी सबै अहिले नेपाली माटोमा कुनै न कुनै ठाउँमा अस्तित्वमा रहेका छन् । खाँचो छ, संकलन र सुरक्षाको । 

यो हो जीन बैंक

सय वर्ष बीउ जोगाउन सकिने गरी ललितपुरको खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद् मातहत रहने गरी जीन बैंक स्थापना गरिएको हो, ०६७ मा । यहाँ एक लाख प्रजातिका बीउ सुरक्षित गर्न सकिने माइनस २० डिग्री सेल्सियस तापक्रमका दुई वटा संरक्षण कक्ष छन् । त्यस्तै ५० हजार थरीका बीउ २० वर्षसम्म सुरक्षित गर्न मिल्ने माइनस ४ देखि माइनस १० डिग्री सेल्सियसका दुईवटा भण्डारण कक्ष छन् । 

त्यसैगरी जीन बैंक परिसर खुलमटार र नेपाल कृषि अनुसन्धान परिषद्का विभिन्न केन्द्रमा बीउ नहुने र सुकाएर संरक्षण गर्न नमिल्ने आनुवंशिक स्रोतहरूका लागि फिल्डमै संरक्षण गर्न फिल्ड जीन बैंकको व्यवस्था छ  । जीन बैंकमा बीउहरूको आनुवंशिक विश्लेषण र पहिचानका निम्ति प्रयोगशाला छ, जहाँ बीउ परीक्षण तथा पहिचान गरिन्छ । त्यस्तै कृषि वैज्ञानिकले देशका विभिन्न भागबाट संकलन गरेर ल्याएका रैथाने बीउको सरसफाइ, स्वास्थ्य परीक्षण, उमार शक्ति परीक्षण, बीउ चित्रण तथा बीउ सुकाउनका निम्ति छुट्टै प्रयोगशाला छ ।

 

प्रकाशित: कार्तिक १, २०७३